सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘मरुभूमि नारायणको ‘छेपारोको रङ’मा व्यङ्ग्य

यसर्थ सम्भवतः ‘छेपारोको रङ’ नेपाली गजल संसारमा पहिलो व्यङ्ग्य गजलसङ्ग्रह पनि हो । यस हिसावले नेपाली गजल परम्परामा यस किसिमको नयाँ प्रवृत्ति देखा पर्नु हामी हास्यव्यङ्ग्यका पारखीहरूका निम्ति ज्यादै खुसीको कुरा पनि हो ।

Nepal Telecom ad

नरनाथ लुइँटेल

यो देशमा तानाशाही नायक चाहिन्छ
धोतीपाटा फेरिदिने सहायक चाहिन्छ ।

गजलमा यस्तो व्यङ्ग्यात्मक बान्की लिएर उपस्थित हुनुभएको छ मरूभूमि नारायण । वर्तमानमा युवा र नवयुवा पुस्ता गजलमा रमिरहेको छ । प्रेम र प्रणय प्रसङ्गको परम्पराबाट अघि बढेको नेपाली गजलले आज समसायिक सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक प्रसङ्गलाई समेत प्रभावपूणर् ढङ्गले अभिव्यक्त गरिरहेको छ । विषय र प्रसङ्गले यस किसिमको विविधतालाई समेट्न थालेदेखिनै नेपाली गजल बढी लोकप्रिय बन्न थालेको हो भन्ने मलाई लाग्छ ।

अहिले मेरो हातमा मरूभूमि नारायणको गजल सङ्ग्रह ‘छेपाराको रङ’ को टङ्कण प्रति छ । यसअघि विभिन्न पत्रपत्रिकामा प्रकाशित उहाँका केही गजलहरूको रसास्वादन गर्ने अवसर पाइएको थियो । उहाँका गजलमा अभिव्यक्त व्यङ्ग्य शैलीले मेरो ध्यान तानेको कुरा स्मरण गर्दै सङ्ग्रहका गजलहरूलाई सरसर्ती पठन गरेँ । गजल सिद्धान्तका बारेमा म त्यति धेरै जानकार व्यक्ति होइन । सिद्धान्त र मत-मान्यताका कसिमा मरूभूमिका गजल के कस्ता छन् भनेर निक्र्योल दिने क्षमता पनि मसित छैन । म त उहाँका गजलमा अभिव्यक्त व्यङ्ग्यात्मक शैलीका बारेमा आफ्ना केही पाठकीय धारणा राख्न चाहन्छु ।

गजलशिल्पी मरूभूमिको गजल सिर्जनामा विषयवस्तुको मूलस्रोत नेपाली समाजको वर्तमान विसङ्गत पर्यावरण रहेको छ । यही विसङ्गतिबोधले उहाँलाई समसामयिक युवा गजलस्रष्टाहरू भन्दा अलिक भिन्न कित्तामा उभ्याएको छ । ‘छेपारोको रङ’ गजलसङ्ग्रहमा परेका अधिकांश गजलले नेपाली समाजमा व्याप्त अनाचार, दूराचार, नेताका भ्रष्ट मानसिकता, परनिर्भर चिन्तन र तस्करतन्त्रले खडा गरेको बिब्ल्याँटो परिस्थितिलाई परिरहासपूर्ण तरिकाले प्रस्तुत गरेका छन् । गजलमा अभिव्यक्त भावभूमिको केन्द्रीय विषय यही रहेको देखिन्छ ।

मरूभूमि आफ्ना हरेक गजलका फाँकीहरूमा हामीले भोगिरहेको बिब्ल्याँटो परिस्थितिलाई कोट्याउनु हुन्छ । हाम्रो सामाजिक राजनीतिक जीवनका प्रतिकूलताहरूलाई उहाँका गजलहरूले यसरी ठुँगेका छन् :

बिपनामा तर्सन्छु सपनामा झस्कन्छु
के मैले चोरेको छु र गैँडाको खाग ?

खाए गिद्धले झैं नेपाल खोक्रो बनाएर
देशलाई चिलाउनेको बोक्रो बनाएर ।

नाच्नेलाई नचाउँछ रिमोट कन्ट्रोलले
बुझ्नेलाई त इशाारा काफी उतै छ ।

हाम्रो देशको राज्य व्यवस्थाको उपल्लो तहमा गैंडाका खाग चोर्ने तस्कर, आन्द्राभुँडी लुछ्ने गिद्ध र रिमोटद्वारा नियन्त्रित यन्त्रहरू पुगेका छन् । उनीहरूकै अकर्मण्यताको शिकार भएर देशले अधोगति लिइरहेको कटु यथार्थलाई सङ्ग्रहमा परेका अधिकांश गजल-पङ्क्तिले उद्घाटन गरेको देखिन्छ । नेपाली राजनीतिज्ञहरूको विकृत मनोदशालाई चित्रण गर्न मरूभूमि ‘नाच्नेलाई नचाउँछ रिमोट कन्ट्रोलले’ भन्न समेत पछि पर्नुभएको छैन । नेपाली राजनीतिको पछिल्लो विसङ्गत पर्यावरणलाई हँसिमजाक गर्ने सङ्ग्रह भित्रको एउटा फाँकी यस्तो छ ः

अर्काकै काँध चढी फटाफट हिन्नु पर्छ अब
करोडौं पैसा तिरी सभासद किन्नु पर्छ अब ।

प्रेम र प्रणयको सन्दर्भ पनि मरूभूमिका गजलमा भिन्न तबरले प्रस्तुत भएको देखिन्छ । उदाहरणका रूपमा केही फाँकी यहाँ उद्धरण गरौं :

तिमी मेरी म तिम्रो जुठो माया छ हाम्रो
लोडसेडिङ्मा बत्ती निभाई भेट्न नआऊ प्रिय ।

बल्ल एउटी भेटें सेकेण्ड ह्याण्ड रैछ
त्यो पनि गई हजुर बाइक नभएर ।

फनक्क फन्की रनक्क रन्क्यौ तिमी
गुन्द्रुके कपालले मुख छेक्दा डराएँ ।

नेपाली समाजमा व्याप्त विसङ्गत पर्यावरणमाथि यसरी व्यङ्ग्यात्मक ढङ्गले गम्भीर प्रहार गर्ने मरूभूमिका गजलहरू ‘छेपारोको रङ’ मा सङ्गृहित छन् । यसर्थ व्यङ्ग्य शैलीको प्रधान पक्ष यस सङ्ग्रहको मूल विशेषता हो । गजल-लेखनमा रमिरहेको युवा पुस्ताका बीच विषयवस्तु, कथ्य र शैलीका दृष्टिले मरूभूमिको पृथक प्रवृत्ति र पहिचान प्रष्ट हुन्छ ।

नेपाली गजलको पुरानो पुस्ता र नयाँ पुस्ताका गजलकारहरूले गजलका फाँकीहरूमा यदाकदा व्यङ्ग्य र हँसिमजाक गरेको पाइए पनि व्यङ्ग्यात्मक शैलीलाई नै आत्मसात गरी रचना गरिएको सिङ्गै गजलसङ्ग्रह प्रकाशित भएको जानकारी कमसेकम मलाई थिएन । यसर्थ सम्भवतः ‘छेपारोको रङ’ नेपाली गजल संसारमा पहिलो व्यङ्ग्य गजलसङ्ग्रह पनि हो । यस हिसावले नेपाली गजल परम्परामा यस किसिमको नयाँ प्रवृत्ति देखा पर्नु हामी हास्यव्यङ्ग्यका पारखीहरूका निम्ति ज्यादै खुसीको कुरा पनि हो ।

विभिन्न विधाको आड लिएर हुर्कदै र मौलाउँदै गैरहेको हास्यव्यङ्ग्य अब गजल जस्तो गेयात्मक विधामा पनि ओर्लिन थालेको यस शुभसङ्केतलाई हास्यव्यङ्ग्यकर्मीका नाताले म हार्दिक सुस्वागतम् गर्दछु । व्यङ्ग्य गजलस्रष्टा मरूभूमिलाई हृदयदेखि बधाई ज्ञापन गर्दै उहाँबाट अझ धेरै परिहासपूर्ण व्यङ्ग्य र हास्य गजल प्राप्त गरी नेपाली हास्यव्यङ्ग्य साहित्य समृद्ध हुन सकोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।

२० पुस ०७०
कलङ्की, काठमाडौं
सम्पादक
सम्पूर्ण हास्यव्यङ्ग्य पत्रिका फित्कौली
narnath@gmail.com

०००
‘छेपारोको रङ’ (२०७०) बाट जस्ताको तस्तै

Fitkauli Publication Books comming soon
Nepal Telecom ad