अशोककुमार शिवाविरासत
मेरो जिजुबा, हजुरबा त मैले देख्न भेट्न पाइनँ तर पिताको सङ्गत चाहि लामै गरेँ । पिताले कसैको डाढ गरेको देखिनँ मैले । तर मलाई किन डाढ लाग्छ ? छोरोमा माईलो मेरो पिता अनि म पनि पिताको माईलो छोरो नम्बरको विरासत चाहि सत्प्रतिशत लिएको छु ।

अशोककुमार सिवा :
विरासत विरासत भनेको सुन्छु यसको चित्तबुझ्दो शाब्दिक अर्थ कसैले भनेको सुन्दिनँ । वास्तवमा विरासत भनेको के हो ? वीर+आसतको सन्धिबाट विरासत बनेको हुनुपर्छ । यदि यो हो भने वीर र वीरताको कुरा आउनुपर्ने हो । तर शब्दकोश हेर्दा यसको अर्थ अनुवांशिक रूपमा सर्दै आएको स्वाभाव, अधिकार वा विशेषता भनेर भनिएको छ । अब मैले कुरा बुझेँ ।
म जसकर्णकाे पनाती, गंगारामको नाति लक्ष्मीकान्तको छोरा हो भन्दा पनि मेरो वंश लगायत विरासत बुझिने रहेछ । तर विरासत वंशको अंश भए पनि वंशले देखाएको वीरत्वको अनुसरण भएको छ कि छैन त्यो चाहिँ हेरिनु पर्ने होला । मेरो जिजुबुबाले के वीरता देखाउनु भएको थियो होला मलाई केही पत्तो छैन तर बाजेले केही गर्न नसके पनि आफ्नो व्यक्तित्व बनाउनु भएको थियो रे । मैले मेरो बाजेलाई देख्न पाइनँ । वहाँ कलिलै उमेरमा स्वर्गसिधार हुनुभएछ । वहाँ एक्लो छोरा भएर हो कि किन हो वहाँलाई सबैले एक्लेको उपनामले बोलाउँथे रे । वहाँमा एक विलक्षण कला थियो रे बासुरी वादनको । त्यसैले वहाँको अर्को नाम बासुरे थियो रे । हो यहीँ सानो विरासत मैले अनुवांशिक रुपमा बोकेँछु त्यसैले मैले सम्हालेको विरासत बासुरी, बजाउन न सिपालु छैन तर फुक्छु ।
पिता लक्ष्मीकान्त एक कुशल कलाकार हुनुहुन्थ्यो । वहाँमा गीत सुन्ने गाउनेमा अधिक चाह थियो । पिता फूलहरूको पारखी हुनुहुन्थ्यो त्यसैले घर वरिपरी फूलका रमणीय बगैँचा साथै गमलाहरू सजिसजाउ हुने गर्थे । ममा पिताको विरासत आयो त्यो हो गायनकला र श्रवण पारखता । मेरो विरासत मेरा छोरानातिले पनि बोक्दै जालान् तर विश्वास लाग्दो लक्षण नास्ती ।
यो विरासत भन्ने चिज राजनीतिमा अझ रमाइलो सँग जोडिएको हुँदोरहेछ । उहिले बिपीको पालादेखी अहिले केपी र पिके कालसम्म आउँदा धेरै विरासतहरू देखिए । कोशी विक्रीको विरासत थाम्दै गण्डकी, महाकाली अनि अझ कता के के सुक्रिविक्रिका कुरा पनि विरासत अन्तर्गत नै पर्दोरहेछ । आउँदा दिनहरूमा विरासत लम्बिएर कता कताका जङ्गेपिलरहरू नेपालतिर छिरासत हुने हुन देख्न भोग्न बाँकी छ । बिआरआई र एमसिसी अनि अन्य के के सिसीहरू कुनै फुत्त निस्किएका विरासत त कुनै पाइपलाइनमा निस्किन ठेलम्ठेल गर्दै होलान् ।
यस्तै राजनीतिज्ञको विरासतको कुरा गर्दा हाम्रा महान् जननेता मदनको विरासत के कसरी थामियो देखियो । मदन स्वयम एक धरोहर थिए तर धरोहरलाई अल्पसमयमा नै ढालेर उनको विरासतमा रङ्गिएकाहरूले त्यो विरासतको नाम कतिको राख्नसके त्यो इतिहासले आफ्नो विरासत थामेर लेख्ला । तर मैले चाहिँ विरासत थामेको त देखिन बरू छामेको मात्रै देखेँ त्यो पनि मदन स्मृति दिवसका दिन । एकदिन माला परिराई दिएपछि थामियो विरासत । यसो भन्दा धेरैलाई रिसको पारो कन्पारोमा पुग्नसक्छ तर आत्मा छाम्नु ल ।
अहिले फेरी खै कता कस्ले कस्को विरासत लियो रे सुन्दैछु । सतप्रतिशत विरासत हस्तान्तरण भएको थ्यो भने फेरी पनि परेको बेला चुक्क नबोल्ने विरासत आयो । यस्तो विरासतले केही काम गर्दैन स्वामी भक्त विरासत । बरू स्वामीका चरणमा नतमस्तक विरासत चाहिँ बलियो गरी लागु हुने पक्का छ । अनि बिँडो थाम्ने भनेको पनि विरासत नै त होला । बाबुको बिँडो थाम्ने हो भने बाबुलेझैँ कसैलाई पाखा पारेर अर्को चेप्नु पर्यो नत्र केको विरासत केको बिँडो ?
फेरी मलाई चाहिँ यो अर्काको डाढ गर्ने विरासत कताबाट आयो ? म आफै खोज्दैछु । मेरो जिजुबा, हजुरबा त मैले देख्न भेट्न पाइनँ तर पिताको सङ्गत चाहि लामै गरेँ । पिताले कसैको डाढ गरेको देखिनँ मैले । तर मलाई किन डाढ लाग्छ ? छोरोमा माईलो मेरो पिता अनि म पनि पिताको माईलो छोरो नम्बरको विरासत चाहि सत्प्रतिशत लिएको छु । अर्काले पितापुर्खाको नाममा विरासत लिए त मलाई केको डाढ ? ताई न तुई ।
०००
गल्कोपाखा, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest







































