अशोककुमार शिवाफल थाम्न नसक्ने फेद के काम ?
हुन त त्यसै चाउरेको त कहाँ हो र मरिच चाहुरेको सिद्धान्त लाग्या हो । भ्रष्टाचारी सम्झ्यो कि दिमाग त्यसै रागिन्छ । अनि चाउरी नपरेर के परोस् ।

अशोककुमार शिवा :
जुनसुकै कुराको पनि जग बलियो हुनु आवश्यक छ । जग बलियो भएपछि माथी जतिसुकै तलाहरू थप्नुस् थाम्छ । यो सिद्धान्त हरेक ठाउॅ, वस्तु, परिवेस अनि परिस्थितिमा लागु हुने गर्दछ । पहिला कुरा गरौ स्वास्थ्यको जन्मदा दरिलो कर्म मात्र लिएर रोग बोकेर जन्मियो, शिक्षाका आधारभुत कुराहरू दरिलो संग मस्तिष्कमा राखेन भने पछि केही काम लाग्दैन । त्यसैले जड दरो, स्वस्थ्य अनि तन्दुरुस्त हुनै पर्छ ।
मेरो करेसावारीमा एभोकार्डो लगाएको करिव १० वर्षमा फल्नथाल्यो । गतवर्ष १५/२० दाना फल्यो बोटलाई आरामै भयो मजाले फल पाक्यो । यसपाली बोटभरी लटरम्मै फल्यो र फल केही ठूला हॅुदैजादा भार थाम्न नसकेर रूख ढल्यो । अब जाबो आफ्नो बोटमा फलेको फलको बोझ पनि थाम्न नसक्ने पनि रुख होला त? रिस उठ्ने । कुनै कुनै जराले जमिन नछाडेकोले बोट हरियै लडिरहेको छ मैले केही गर्ने सोचेकै छैन । पातहरू सुक्न थाल्या भए यतिखेर अस्ति करंग खुस्काई सक्ने थिए ।
देशमा यत्रा भ्रष्टाचारीहरू छन् कि कुरा नगरौ । भ्रष्टाचारीको हॅागाविगा सबैतिर उत्तिकै लटरम्म फल लागेको छ तर बोट ढल्दैन त! बुझ्नु के पर्छ त भन्दा भ्रष्टाचारको बोट दह्रो, स्वस्थ र बुद्धिमान छ । बुद्धिमान केमा छ त भन्दा भ्रष्टाचारलाई कसरी स्वादिलो अचार बनाउने भन्ने कुरामा सिपालु छ । त्यलैले बोटमा भ्रष्टाचारको कालिपोकै लागेपनि थाम्छ । उस्ले फल बोक्छ र सिधासाधा जो भ्रष्टाचार गर्दैनन् र लुकेरै भए पनि बिरोध गर्छन् तिनलाई फल टिप्दै टाउकोमा हानेर ठहरै बनाउॅछ ।
कोही त भ्रष्टाचारीको फलको झटारो लागेर आईसियु छिरेको फर्क्या छैनन् । वकिल हुन कि डाक्टर, फ्याक्टर होस कि रियाक्टर होस् सबै बलियो कै पक्षमा हस् हस्, तर गन्हाएका हुन्छन् ठस् ठस् । जति गन्हाए पनि उनिहरूलाई त अत्तरको बहत्तर स्वाद आएजस्तो पो छ । कति हॅास्नु हॅास्दा हॅास्दा आफ्नो गाला चाउरी परेर घरमा बोलाउने नाम नै चाउरे हुन थाल्या छ । हुन त त्यसै चाउरेको त कहाँ हो र मरिच चाहुरेको सिद्धान्त लाग्या हो । भ्रष्टाचारी सम्झ्यो कि दिमाग त्यसै रागिन्छ । अनि चाउरी नपरेर के परोस् ।
लाउडाको रुख हेर्यो उस्तै खाईलाग्दो छ । वाईडबडीको रुख कपुरको जस्तै बास्नादार छ । धमिजा उस्तै खै कुनचाहि चिया कमान भन्थे त्यो उस्तै छ । ललिता बगैंचा उस्तै सुन्दर अरे वाह क्या वात मात्रै भन्ने हो अरुभन्न शकिन्न । सबै कुरा थाहा हुदाहुदै पनि बस्नुपर्या छ रुदै । यो भ्रष्टारको दरिलो रुखलाई स्याहार सम्भार गर्ने किसान चाहिॅ को रहेछ? खै कहिले चिन्न सकिएला ।
म यिनै कुराहरू सम्झेर बेलाबेला चित्त बुझाउॅछु । एभोकार्डोको रुखमा बाक्लै फल लाग्न थाल्दै फेद बलियो पार्ने उपाय सोचिहाल्नु पर्थ्यो । बेलामा बुद्धि नपुर्याए पछि अहिले के को बिलौना कहनु है आ ….. आ छोडिदिउॅ । कार्तिकसम्म बोट हरियै रहेछ भने फल टिपेर खाउँला नत्र हिस्स बुडी हरियो दाँत ।
०००
२०८२/०४/११
गल्कोपाखा, काठमाण्डौ ।
Subscribe
Login
0 Comments
Oldest







































