अशोककुमार शिवाअङ्ग्रेजी बोलौँ पटापट, नेपाली सफाचट
आफ्ना छोराछोरीलाई चाहिँ विदेश पठाएर अङ्ग्रेजी भाषामा पढाउने अनि विदेशतिर जान नसक्नेहरूका लागि नेपालमा नै अङ्ग्रेजी भाषाको माध्यममा पढाउने निर्णय गर्दा अनुचित भयो भनी विरोध गर्ने ? यो त भएन नि ।

अशाेककुमार सिवा :
सन् १९९० को दशकदेखि विश्वमा नवीन विषयहरूले प्रचार पाउन थाले । यसरी प्रचारमा आएका विषयहरूमा विश्वव्यापीकरण र उदारीकरण प्रमुख हुन् । यसैकालदेखि विभिन्न मिडियाहरूले विश्वलाई एउटा गाउँ अर्थात् ग्लोबल भिलेज बनाउन थाले । विश्वका जुनसुकै कुनामा घटेका घटनाहरू तुरुन्त विश्वभर प्रचार हुन थाले ।
विज्ञापनको विकासले गर्दा विश्वमा सञ्चारका नयाँ-नयाँ साधनहरूको प्रयोग वढ्न थाल्यो । पत्र-पत्रिका, रेडियो, टेलिफोन तथा टेलिभिजन हुँदै हुर्किएको सञ्चार जगत्मा स्याटेलाइटको प्रवेशसँगै सञ्चारको नयाँ युग सुरु भयो । इन्टरनेट, इ-मेल, फ्याक्सिमेल आदि सहित कम्प्युटरको नयाँ जेनेरेसन तयार भयो । यी सुविधाहरू अधिकांश अङ्ग्रेजी माध्यमले सञ्चालित हुने गर्दछन् । यिनले अङ्ग्रेजी नै वोल्दछन् र बुझ्छन् पनि ।
अवको युग भनेको अङ्ग्रेजीको युग हो । आजभोलिका यड जेनेरेसनले डेटिङ गर्न होस् वा च्याटिङ गर्न होस् अङ्ग्रेजीलाई नै माध्यम वनाउने गर्छन् । त्यसैले अव अङ्ग्रेजीमा पारङ्गत हुनु अति जरुरी छ । यसै कुरालाई मध्यनजर गरी नेपालमा उच्च शिक्षामा नेपाली विषयलाई हटाउने निर्णय हुन लाग्या छ रे भन्ने सुन्नमा आएको छ । वडो बुद्धिमानी निर्णय हुन लागेछ । निर्णय होस् त यस्तो पो ।
आजको आवश्यकतालाई पहिचान गरी कदम चाल्नु भनेको राम्रो कुरा हो। वरु अङ्ग्रेजीलाई नै पाँचै पिरियडमा विभक्त गरेर दैनिक पाँचै पिरियडको पढाइ हुनुपर्दछ । किन चाहियो नेपाली भाषा विनसित्ति ? फेरि नेपाली भाषा ग्लोबलाइज पनि त हुन सक्दैन नि हैन ?
नेपाली त त्यसै घरैमा पनि प्राक्टिस भैहाल्छ नि । नेपाली भाषाको विकासलाई नै अवरुद्ध गर्ने निर्णय हुन लाग्यो भनी विरोध गर्ने हरिलठ्ठकहरूलाई के थाहा ! आफ्ना छोराछोरीलाई चाहिँ विदेश पठाएर अङ्ग्रेजी भाषामा पढाउने अनि विदेशतिर जान नसक्नेहरूका लागि नेपालमा नै अङ्ग्रेजी भाषाको माध्यममा पढाउने निर्णय गर्दा अनुचित भयो भनी विरोध गर्ने ? यो त भएन नि ।
यदि समयको मागलाई नबुझी गल्ती गर्ने हो भने विज्ञानले उल्टो दिशा लिनेछ । ग्लोवलाइजेसन लोकलाइजेसन, सेपरेटलाइजेसन हुँदै पर्सनलाइजेसनमा सीमित हुनेछ भने लिवरलाइजेसन इन्स्पेक्सनाइजेसन, गाइडाइजेसन हुँदै कन्ट्रोलाइजेसनमा थुरिंन पुग्नेछ । त्यसैले अव छाडौँ नेपालीको रट, अङ्ग्रेजी बोलौं पटापट, नेपाली सफाचट ।
०००
घोक्रेठ्याक (२०७१)
Subscribe
Login
0 Comments
Oldest







































