डा. छायादत्त न्यौपाने ‘बगर’कुशल प्रस्तुति !
बाेल्ने विषय एकपटक तयार गरेपछि थाेरै परिमार्जनसहित जहाँ पनि जहिले काम लाग्ने । बाेल्ने कला भएसी जति ठाउँको वक्ता भए नि फरक नपर्ने । छैन त याे गजबकाे अवसर ? यसलाई भनिन्छ- चतुर वक्ताकाे कुशल प्रस्तुति !

डा. छायादत्त न्याैपाने :
सामाजिक सञ्जालतिर देखाउँदै – सविना ! हेर न मान्छेहरू कहाँ कहाँ पुग्छन् है ! कार्यक्रम भ्याउँछन् । फेरि मानसम्मान पाेक्याउन पनि उस्तै चटाराे के ! कति सिपालु मान्छेहरू ! जहाँसुकै उनै उनैकाे भिडभाड ! सविनाले देखाएतिर फर्केर अजिताले -किन यसमा यत्रो विघ्न आश्चर्य के भाे र ? भन्दै थिइन् । उता सविनाले -ती ठाउँ ठाउँ पुगेर विज्ञापनमा व्यस्त रहने स्वघाेषित वरिष्ठ स्रष्टातिर औंला तेर्स्याएकाे देखेर अजिताले थपिन्- त्यै त भन्दै छु यसलाई याँ-माकाे अनौठो ठान्नुपर्ने के छ र ?
ल, मेचीमहाकाली वारिपारि यात्रामा निस्केर कार्यक्रम गर्दै हिँड्छन् नि साहित्यकारहरू याे कसरी सम्भव भाे ? यी क्या यी ! मानसम्मान थाप्दै हिँड्ने सर्जकले साँच्चै सञ्जालमा तस्बिर साटिएजस्तै स्वतस्फूर्त मनदेखि सम्मान पाएका हुन् कि प्रायाेजित ? मैले ठम्याउन नसक्या नि ! सविनाले प्रस्ट्याउने चेष्टा गरिन् । ए.. बुझेँ बुझेँ । याे त चलेकै छ नि खुल्ला गाेप्य ! (ओपनसेक्रेट) अर्थव्यस्था स्वयंले गर्ने बाँकी आयोजनाकाे लागि स्थानीय स्राेत परिचालन हुने याे त आधुनिक कला प्रदर्शनी हाे नि ! कस्तो कुराे नबुझ्या कि बुझ्न नखाेज्या तिमीले ? अजिताले प्रतिप्रश्न गरिन् ।
त्यै त सिर्जनामा साख नभेटा मान्छे पनि धमाधम कविता वाचनदेखि पुरस्कार थापनसम्मका झाेला बाेकेर कुद्याकुद्यै छन् अनि लाग्दैन त अचम्म ! सविनाकाे तर्क ।
मैले तिमी गलत छौ भन्या हाेइन महाशय ! मेरो भनाइ छताछुल्ल छ नि ! मान्छेले चर्चामा आउन आफै खाम, दाेसल्ला, सम्मानपत्रकाे चाजाे मिलाएर पाँजा सुकाउने हाेडबाजीमा देश दौडाहा गर्छन् । निवेदन मागेर पुरस्कार दिने र बढाइ चढाइ सिफारिस सहितका निवेदन ठाेकेर पुरस्कार हत्याउने महामारी छ नि ! तिमी यसबाट परिचित छैनौ ? मैले कसरी कम आँक्नु त तिमीलाई ! यत्रो बजार तातेकाे बेला तिमी ताजगी (अपडेट) छैनौ भनेर । मैले साेझै व्याख्या गरेँ भनेँ ठानौली ए, मलाई यतिसाराे पछौटे ठानेकाे ? के चलिराछ समाजमा ? थाहै नपाउने मनहुस मानेकाे ? प्रश्न ठाेकेर मलाई तर्साउली भनेर सुरुमा बेलीविस्तारतिर हाम नफाल्या नि मैयाँ ! यदि यसाे भयाे भने ममाथि आइलागेन त अर्को आपत् ? अनि म कहाँ जाने काेसँग ठाेक्किने ? भन तिमी आफै ।
कुरा गरिसाध्यै छैन है ! नेता माला किन्न पैसा बाँड्छन् । स्रष्टा पुरस्कार पाउन पैसा बाँड्छन् । फरक के छ भने नेता राज्यको धुकुटी बाँड्छन् स्रष्टा बाउबाजेकाे जेथा, बाँड्न त दुवैले बाँड्ने नै हुन् । बाँड्नुकाे गूढ भने- आफू ठुलाे मान्छे भएको स्वघाेषणालाई जनपक्षीय घाेषणा बनाउने प्रायाेजित अन्तरकथा हुने रहेछ हाेइन त ? यसमा द्विविधा हुनुपर्ने क्यै छैन जे छ छर्लङ्गै छ यहीँ हाे यस्तै अभ्यास छ चल्तीमा । त्यसैले आश्चर्य नमाने हुन्छ बरु कार्यक्रमहरूमा प्रमुख अतिथि हुने कतै पुरस्कार पाेक्याउने मनसाय हाे भने मन मिल्ने तन मिल्ने साथीहरू जुटाई धन पुग्ने गरी एउटा समूह बनाइहाल्ने आलाेपालाे मिलाउने चर्चामा आइहाल्ने हाे । शुभस्य शीघ्रम्, शुभ कार्यमा ढिलाे नगर्ने हाे । समय अनुसार हिँड्ने भनेको यै हाे, मादल बजेसरि कम्मर मर्काउने कलापारखीहरू कहाँ कहाँ पुगिसके ! तिमी कुन जमानमा छौ ? उइ बासी चिन्तन मुलाबारीमा ।
हाे नि है ! यत्रो लेनदेन चलिरहेको वर्तमान परिप्रेक्ष्य साटासाट पद्धति नबुझेर त हाेला कतै कार्यक्रममा सहभागी हुनै नपाइने । सामाजिक सञ्जालका निम्तो पत्याउँदै कति ठाउँ कुद्नु ? फेरि मान्छेहरू पनि के भा भन्या ! उइ- उइ प्रमुख अतिथि, उइ-उइ वक्ता ! अरु मान्छे छैनन् झैँ । नयाँ पात्र, नयाँ शैली, नयाँ विश्लेषण सुन्न पाइन्छ कि भन्ठान्याे ! अँ हँ छैन, सबैतिर उइ बासी ! एक दिन त ३ ओटा कार्यक्रममा पुगेको ३ ओटैमा उनै वक्ता ! लाग्याे वक्ताहरूकाे खडेरी परेछ । हुन त अचेल कसकाे कुरा कसले सुन्छ र ! हातमा माेबाइल छँदाछँदै फेरि कानेखुसी गर्ने प्रिय मित्रकाे खाँचाे हुन्न छेउमै हुन्छन् । फेरि अचेलका भाषण, भाषण त हुन् खास नवीन विषय विश्लेषण हुन्न । दिने हाे भाषण, बाेलेअनुसार व्यवहार गर्नुपर्ने भए पाे विचार गरेर उपयोगी कुरा गर्नुपर्ने हुन्थ्यो । यहाँ त बाेल्नका लागि बाेल्ने हाे औपचारिक हुने हाे । पूरा गर्नुपर्ने जिम्मेवारी हुँदैन । हाे, आयोजकलाई भने स्वाद पर्नुपर्छ नत्र अर्कोपल्ट अरूलाई बाेलाउला भन्ने पिर हुन्छ ।
बिचरा वक्तालाई कस्तो भ्याइनभ्याइ ! यसमा एउटा कुरा भने राम्रो हुनेरहेछ -प्रमुख अतिथि र वक्ता दुवैले तयारी भाषण सुनाउन मिल्ने ! धेरै कार्यक्रम भएर तयारी पुगेन भन्न पनि पाइने र सबैतिर मैलाई बाेलाउँछन् तिमीहरूले पनि नछाेड है ! भन्ने स्वविज्ञापन पनि हुने । अर्को महत्त्वपूर्ण कुराे बाेल्ने विषय एकपटक तयार गरेपछि थाेरै परिमार्जनसहित जहाँ पनि जहिले काम लाग्ने । बाेल्ने कला भएसी जति ठाउँको वक्ता भए नि फरक नपर्ने । छैन त याे गजबकाे अवसर ? यसलाई भनिन्छ- चतुर वक्ताकाे कुशल प्रस्तुति !
०००
पर्वत, हाल : काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































