अशोककुमार शिवाबठ्याईं
यिनमा फरक यति छ कि बाँगेले हर्पे छिटो रित्याउँछ भने सोझेऔँलेहरूले अलि ढिलो तर रित्याउन चाहि यी दुबै थरी औँलेहरूले रित्याउँछन् नै ।

अशोककुमार शिवा :
यो दुनियाँमा कसैको चल्छ भने त्यो बाठो मान्छे कै चल्छ । बाठो आफैमा बाठो हुन्छ त्यस्मा पनि परिपाठे बठ्याईं ए बाबा नसकिने । सकियोस पनि कसरी हरेक कुराको परिपाठ ट्वाक्क मिलाउॅछन् । आफू परियो लठुवा । लठुवाले केही गर्न सक्ने कुरै भएन केवल ट्वाल्ल हेर्नु बाहेक ।
बठ्याईंले परिस्थिति खायो । बठ्याईंले परिवेश खायो । बठ्याईंले परिकल्पना खायो । बठ्याईंले परियोजना खायो । बठ्याईंले वरिपरीको वस्तुस्थिती समेत खायो । अझ भन्ने हो भने बठ्याईले देशै खर्लप्प खायो । परिपाठेको परिपाठ बिहान देखी राती नसुतेसम्म सुन्नुपर्छ । सुनेर मात्रै पुग्ने हो र ? बेहोर्नुपर्छ । बेहोर्न पनि कहिलेकाही त नसकिने होकि जस्तो हुन्छ तर सक्नुपर्छ । जसरी होस खप्नुपर्छ ।
बाठा पनि यस्तो कि चतुर स्याल भन्दा चम्बु । ए बाबा ठिक्क पार्नुको पनि हद हुन्छ नि । कति सजिलै झुट बोल्न सक्छन् परिपाठेहरु । झुट पनि बठ्याईंपूर्ण बोल्छन् । बोलेको कुरा परिपाठ, बठ्याई वा चतुर्याईं नभएर वास्तविकता भैदिएको भए अहिलेसम्म हामी चुलोमा नै ग्यासको आपुर्ति पाउँथ्यौँ । सुतिसुति खान पाउँथ्यौँ । ढोका अगाडी रेल स्टेशन र अलि पर पानीजहाज फरररर देशको झण्डा फर्फराई रहेको पाउने थियौँ । बिडम्बना, परिपाठेको परिपाठ ।
परिपाठेको चोरऔला नै बाङ्गो । हर्पेको घ्यु अरुले पाउनै सक्दैनन् । बाँङ्गो औँला हर्पेमा हाल्यो झिक्यो चाट्यो । धेरैलाई लाग्नसक्छ बाङ्गेले कसरी हर्पे रित्याउॅछ र होईन होला । जस्लाई यो लाग्छ तिनलाई उखान थाहा छैन वा बिर्सिए । “सोझो औलाले घ्यु आउँदैन” यो उखान त्यसै उखान भएर रहेको हो त ? पक्कै होईन । घ्यु चोरहरूलाई उखान सुन्नेलाई भन्दा बढी ज्ञान होला कि औँला कस्तो हुनुपर्छ ।
महाकालीको हर्पे रित्यायो । वाईडबढी जहाजमा भएको हर्पे रित्यायो । ललिता निवासको हर्पे रित्यायो । गिरीबन्धु चियाबगानको हर्पे रित्यायो । अझ ढुकुटीको हर्पेको घ्यु धमाधम घट्दैछ । सबैतिरको हर्पे एकैसाथ रित्तिने क्रममा छन् । हर्पेको संरक्षण कस्ले गर्ने होला ? यसको संरक्षणको लागी मात्रै भए पनि बा्गोर औला भएका जो कोहीलाई पनि हर्पे छेउ राख्नु भएन । हुन त सोझो औँलेहरू पनि हर्पेमा औँला कोच्न छोड्दैनन् । सोझै औँलामा पनि घ्यु त टाँसिएर आउँछ नै त्यै चाटेर जिब्रो पड्काउँदै मुख मिठ्याउँदै बस्छन् । यिनमा फरक यति छ कि बाँगेले हर्पे छिटो रित्याउँछ भने सोझेऔँलेहरूले अलि ढिलो तर रित्याउन चाहि यी दुबै थरी औँलेहरूले रित्याउँछन् नै ।
बठ्याईंको पराकाष्ठाले अब त हदको सिमा पार नै गरिसक्यो । सबैलाई थाहा छ कि यो बाठो स्यालले ढुकुटीको हर्पे सकिसक्यो फेरि पनि हर्पे सुँघेर आनन्दानुभुत भएका छन् । एकदिन यस्तो नआउला भन्न सकिन्न कि घ्युको लागि जिउको नास होस् । दारको ठेकी दारैको मदानी, बाँगे बाठो सोझो भन्दा नी । बठ्याईंको जय होस् ।
०००
गल्कोपाखा, काठमाण्डौ ।
Subscribe
Login
0 Comments
Oldest







































