सुरेश राईबिहे कहिले गर्ने हौ ?
हुन सक्छ यस्तोमा तपाईं मलाई रिसले चुरचुर हुँदै सोध्न सक्नु हुनेछ - 'यो कुन खालको विवाह हो तेरो ? न प्रेम विवाह हो ? न मागी विवाह हो ? न त जनवादी विवाह हो ?'

सुरेश राई :
‘बिहे कहिले गर्ने हौ भाइ ?’ कोरियाको छेजुदो भेगमा काम गर्नु हुने मेरा गाउँले दाजु सुदीप राई अक्सर मलाई फोनकल हुँदा नबिराइजसो सोध्नु हुन्छ । त्यसो त मलाई विवाह कहिले ? भनेर सोध्ने उहाँ एक्लो भने बिल्कुलै होइन । उमेरले तीन दशकको पर्खाल चटक्कै नाघेर उकालो लागेपछि विवाहको प्रश्न स्वत: टड्कारो बन्दै जाने रहेछ । केहि वर्षदेखि म यही प्रश्नद्वारा पछ्याइन थालेको छु- बिहे कहिले गर्ने ?
उसो त मेरो अर्को एउटा जमात पनि छ जो अस्ट्रेलिया, हङकङ, दुबई, कतार, नेपाल लगायत अन्य विभिन्न मुलुकमा छरिएर रहेका छन् । यो अविवाहितहरूको जमात हो जो तीस कटिसकेको पोहोर परारदेखिकै हो । बेलाबखत सामाजिक सञ्जाल मार्फत जोडिँदा हामी एक अर्कालाई विवाहकै प्रश्न गर्ने गर्छौं तर त्यसको मर्म विवाह नै भए पनि स्वरुप भने थोरै भिन्न हुन्छ । प्रश्न हुन्छ-
‘हैन हामी ब्यहा नगर्नु ?’
त्यसपछि आउँछन् उही क्लिसे उट्पट्याङ जवाफहरू । जस्तै कि पख् न पहिले सलमान खानले त गरोस् आदि इत्यादि । सुरु सुरुमा महानायक राजेश हमालले यो जवाफको पहिलो स्थान ओगट्थे । अहिले उनले उन्मुक्ति पाइसकेका छन् । यसरी देशको आर्थिक उन्नति,ग्लोबल वार्मिङ ,विश्व शान्ति आदिभन्दा चर्कोगरि सवाल उठेको छ आज जिन्दगीमा -‘बिहे कहिले गर्ने ? ‘ ‘हन हामी बिहा नगर्नु ?’
जहाँसम्म मेरो हकमा विवाहको सवाल छ र जो जो मलाई विवाह कहिले भनी सोध्ने गर्नुहुन्छ । हुन सक्छ म तपाईंलाई कुनै दिन छक्क पारूँला । जस्तो कि हुन सक्छ म तपाईंलाई विशेष सरप्राइज भोजको लागि अचानक कुनै दिन फोनकल गरूँला र भोज खुवाउँला । हुन सक्छ उक्त भोजमा तपाईंको भागको खानेकुरा आधा तपाईंको पेटमा र आधा प्लेटमै बाँकी रहेको ठीक मध्य समयमा भरखरै खाइरहनु भएको भोज मेरो बिहेको थियो नि भनी घोषणा गरूँला । हुन सक्छ नि !
हुन सक्छ तपाईंले बुहारी चैं खै त भनेपछि भित्रबाट कुनै युवती सामान्य ट्र्याकसुटमा लुखुरलुखुर बाहिर आउलिन् । हुन सक्छ तपाईंले चाहे जति ऊ लजालु नहुन पनि सक्छे । अथवा हुन सक्छ तपाईंले आशा राख्नु भएको शीलस्वभाव उसमा पटक्कै नहोस् । हुन सक्छ तपाईंको अपेक्षा अनुसार नयाँ बेहुली गम्भीर नदेखियुन् र हाँसेको हाँसेकै गर्लिन् । आफूले चाहे जस्तो अस्सल र ह्यान्सी श्रीमान पाएपछि कोहि किन गम्भीर देखिने झन्झट उठाइबसोस् होइन ? हुन सक्छ बेहुलीले बेहुलीको धर्म निभाइन् भनेर तपाईंलाई भित्रभित्रै रिस उठोस् ।
त्यसो त हुन सक्छ उसको गलामा सुनको पहेँलो सिक्रीको सट्टा सामान्य सेतो सिक्री झुन्डिरहेको होस् र तपाईं ‘ह्या यस्ले त सस्तोमा विवाह निप्टाएछ’ भनेर नाक खुम्च्याउनु होला । हुन सक्छ मेरी दुलहीलाई सुनको एलर्जी होस् । हुन सक्छ नि !
मेरो विवाह सस्तोमा त्यत्तिकै फासफुस भएकोमा हुन सक्छ तपाईं मध्ये थुप्रैलाई नमज्जा लागोस् । मेरो विवाहको पार्टीमा तपाईंले आफ्नो नयाँ कोट पाइन्ट ,लेहेङ्गा, महंगो सारी केही पनि त लाउन पाउनु भएन । तपाईंका महंगो जुत्ता, ब्याग र घडी घरको दराजमै थन्किए । झरीझुत्तै गरगहना पहिरिन पाउनु भएन । नयाँ आइफोन किनेकाहरूले देखाउने ठूलो अवसर गुमाउनु भयो । थुप्रै कुराहरू अरूहरू समक्ष ‘शो’ गर्न सकिएन ।
केटीको यस्तो राम्रो, उस्तो नराम्रो । यो चिज भयो, यो चिज भएन । केही पनि त भन्न पाउनु भएन । केटी पक्षले के के दिएछन् त मलाई भनेर चियोचर्चो गर्न पाउनु भएन । पुलाउ चिसो थियो । फिसकरीमा नून चर्को थियो । रक्सीको व्यवस्था अलिकतिले कमै भएको हो । दही अमिलो थियो । बेहुलीकी आमा के सारो मोटी हो । केही पनि भन्न पाउनु भएन ।
हुन सक्छ यस्तोमा तपाईं मलाई रिसले चुरचुर हुँदै सोध्न सक्नु हुनेछ – ‘यो कुन खालको विवाह हो तेरो ? न प्रेम विवाह हो ? न मागी विवाह हो ? न त जनवादी विवाह हो ?’ म मुस्कुराउँदै जवाफ दिन सक्नेछु – ‘हजुर यो त्यस्तो केही होइन । यो मनवादी विवाह हो । संसारले जेसुकै भनवादी विवाह हो’
मनवादी विवाह किनभने हुन सक्छ मलाई घर व्यवहार हेर्ने संस्कारी बुहारीभन्दा उसले मन पराएको प्रोफेसनमा काम गर्ने र हप्ताको एक दिन बिदामा सिरानीमाथि म सँगसँगै खुट्टा चढाएर ल्यापटपमा इरानी फिल्महरू हेर्दै चिप्स खाने जीवनसाथी चाहिएको होस् । मेरो मनले खाएको ऊ होस् र उसको मनले खाएको म हूँ । त्यसैले ‘मनवादी’ । बाँकी संसारको कुनै मत्लब नहोस् त्यसैले ‘जेसुकै भनवादी’ । र अन्तमा, तपाईंले सुरुमा उसको गलामा देख्नु भएको सामान्य सेतो सिक्री सामान्य नभएर ह्वाइट गोल्डको बेस्सरी महंगो सिक्री पनि त हुन सक्छ जो मैले विवाह गर्ने खर्चले उसलाई किनिदिएको हुन सक्छु । उसलाई पहेँलो सुनको पो त एलर्जी ! सेतो सुन त उसको फेवरेट पनि त हुन सक्छ । सक्छ नि !
अन्तमा यति पढिसकेपछि पनि फेरि उही प्रश्न ‘अझै किन बिहे नगरेको’ भनी दोहोर्याउनेहरूलाई मेरो ‘डार्क एन्ड डिप’ उत्तर छ – प्रेमी रहिरहन मन भएर । जबसम्म मैले बिहे गर्दिन तबसम्म बुझिरहनुहोस् कि यसलाई प्रेमी हुन पुगेकै रहेनछ र यदि जीवनभर म बिहे नै नगरी बसेँ भने यो मान्नुस् कि यसले प्रेमी नै मर्ने रहर गर्यो ।
‘उसोभए के बिहे भएपछि मान्छेभित्रको प्रेमी मर्छ र ?’ भनेर प्रतिप्रश्न गर्नु भो भने मर्छ र मर्दैनको सवाल जवाफमा यस्ता लेखहरू अरु पचास चाहिएलान् । बरू यहीँनिर बिट मार्दामार्दै यति भनिछाडूँ कि ? प्रेम उसैलाई गर्नुहोस् जसलाई गर्ने वाचा गर्नु भएको छ । जसको हुने कसम खानु भएको छ । बाँकी त उही बलिउड अभिनेता सञ्जय मिश्रको एक चर्चित लाइन जस्तै – ‘इन्जोइङ लाईफ और… ।
०००
बाम्राङ, खोटाङ
Subscribe
Login
0 Comments
Oldest







































