साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिहे कहिले गर्ने हौ ?

हुन सक्छ यस्तोमा तपाईं मलाई रिसले चुरचुर हुँदै सोध्न सक्नु हुनेछ - 'यो कुन खालको विवाह हो तेरो ? न प्रेम विवाह हो ? न मागी विवाह हो ? न त जनवादी विवाह हो ?'

Nepal Telecom ad

सुरेश राई :

‘बिहे कहिले गर्ने हौ भाइ ?’ कोरियाको छेजुदो भेगमा काम गर्नु हुने मेरा गाउँले दाजु सुदीप राई अक्सर मलाई फोनकल हुँदा नबिराइजसो सोध्नु हुन्छ । त्यसो त मलाई विवाह कहिले ? भनेर सोध्ने उहाँ एक्लो भने बिल्कुलै होइन । उमेरले तीन दशकको पर्खाल चटक्कै नाघेर उकालो लागेपछि विवाहको प्रश्न स्वत: टड्कारो बन्दै जाने रहेछ । केहि वर्षदेखि म यही प्रश्नद्वारा पछ्याइन थालेको छु- बिहे कहिले गर्ने ?

उसो त मेरो अर्को एउटा जमात पनि छ जो अस्ट्रेलिया, हङकङ, दुबई, कतार, नेपाल लगायत अन्य विभिन्न मुलुकमा छरिएर रहेका छन् । यो अविवाहितहरूको जमात हो जो तीस कटिसकेको पोहोर परारदेखिकै हो । बेलाबखत सामाजिक सञ्जाल मार्फत जोडिँदा हामी एक अर्कालाई विवाहकै प्रश्न गर्ने गर्छौं तर त्यसको मर्म विवाह नै भए पनि स्वरुप भने थोरै भिन्न हुन्छ । प्रश्न हुन्छ-
‘हैन हामी ब्यहा नगर्नु ?’

त्यसपछि आउँछन् उही क्लिसे उट्पट्याङ जवाफहरू । जस्तै कि पख् न पहिले सलमान खानले त गरोस् आदि इत्यादि । सुरु सुरुमा महानायक राजेश हमालले यो जवाफको पहिलो स्थान ओगट्थे । अहिले उनले उन्मुक्ति पाइसकेका छन् । यसरी देशको आर्थिक उन्नति,ग्लोबल वार्मिङ ,विश्व शान्ति आदिभन्दा चर्कोगरि सवाल उठेको छ आज जिन्दगीमा -‘बिहे कहिले गर्ने ? ‘ ‘हन हामी बिहा नगर्नु ?’

जहाँसम्म मेरो हकमा विवाहको सवाल छ र जो जो मलाई विवाह कहिले भनी सोध्ने गर्नुहुन्छ । हुन सक्छ म तपाईंलाई कुनै दिन छक्क पारूँला । जस्तो कि हुन सक्छ म तपाईंलाई विशेष सरप्राइज भोजको लागि अचानक कुनै दिन फोनकल गरूँला र भोज खुवाउँला । हुन सक्छ उक्त भोजमा तपाईंको भागको खानेकुरा आधा तपाईंको पेटमा र आधा प्लेटमै बाँकी रहेको ठीक मध्य समयमा भरखरै खाइरहनु भएको भोज मेरो बिहेको थियो नि भनी घोषणा गरूँला । हुन सक्छ नि !

हुन सक्छ तपाईंले बुहारी चैं खै त भनेपछि भित्रबाट कुनै युवती सामान्य ट्र्याकसुटमा लुखुरलुखुर बाहिर आउलिन् । हुन सक्छ तपाईंले चाहे जति ऊ लजालु नहुन पनि सक्छे । अथवा हुन सक्छ तपाईंले आशा राख्नु भएको शीलस्वभाव उसमा पटक्कै नहोस् । हुन सक्छ तपाईंको अपेक्षा अनुसार नयाँ बेहुली गम्भीर नदेखियुन् र हाँसेको हाँसेकै गर्लिन् । आफूले चाहे जस्तो अस्सल र ह्यान्सी श्रीमान पाएपछि कोहि किन गम्भीर देखिने झन्झट उठाइबसोस् होइन ? हुन सक्छ बेहुलीले बेहुलीको धर्म निभाइन् भनेर तपाईंलाई भित्रभित्रै रिस उठोस् ।

त्यसो त हुन सक्छ उसको गलामा सुनको पहेँलो सिक्रीको सट्टा सामान्य सेतो सिक्री झुन्डिरहेको होस् र तपाईं ‘ह्या यस्ले त सस्तोमा विवाह निप्टाएछ’ भनेर नाक खुम्च्याउनु होला । हुन सक्छ मेरी दुलहीलाई सुनको एलर्जी होस् । हुन सक्छ नि !

मेरो विवाह सस्तोमा त्यत्तिकै फासफुस भएकोमा हुन सक्छ तपाईं मध्ये थुप्रैलाई नमज्जा लागोस् । मेरो विवाहको पार्टीमा तपाईंले आफ्नो नयाँ कोट पाइन्ट ,लेहेङ्गा, महंगो सारी केही पनि त लाउन पाउनु भएन । तपाईंका महंगो जुत्ता, ब्याग र घडी घरको दराजमै थन्किए । झरीझुत्तै गरगहना पहिरिन पाउनु भएन । नयाँ आइफोन किनेकाहरूले देखाउने ठूलो अवसर गुमाउनु भयो । थुप्रै कुराहरू अरूहरू समक्ष ‘शो’ गर्न सकिएन ।

केटीको यस्तो राम्रो, उस्तो नराम्रो । यो चिज भयो, यो चिज भएन । केही पनि त भन्न पाउनु भएन । केटी पक्षले के के दिएछन् त मलाई भनेर चियोचर्चो गर्न पाउनु भएन । पुलाउ चिसो थियो । फिसकरीमा नून चर्को थियो । रक्सीको व्यवस्था अलिकतिले कमै भएको हो । दही अमिलो थियो । बेहुलीकी आमा के सारो मोटी हो । केही पनि भन्न पाउनु भएन ।

हुन सक्छ यस्तोमा तपाईं मलाई रिसले चुरचुर हुँदै सोध्न सक्नु हुनेछ – ‘यो कुन खालको विवाह हो तेरो ? न प्रेम विवाह हो ? न मागी विवाह हो ? न त जनवादी विवाह हो ?’ म मुस्कुराउँदै जवाफ दिन सक्नेछु – ‘हजुर यो त्यस्तो केही होइन । यो मनवादी विवाह हो । संसारले जेसुकै भनवादी विवाह हो’

मनवादी विवाह किनभने हुन सक्छ मलाई घर व्यवहार हेर्ने संस्कारी बुहारीभन्दा उसले मन पराएको प्रोफेसनमा काम गर्ने र हप्ताको एक दिन बिदामा सिरानीमाथि म सँगसँगै खुट्टा चढाएर ल्यापटपमा इरानी फिल्महरू हेर्दै चिप्स खाने जीवनसाथी चाहिएको होस् । मेरो मनले खाएको ऊ होस् र उसको मनले खाएको म हूँ । त्यसैले ‘मनवादी’ । बाँकी संसारको कुनै मत्लब नहोस् त्यसैले ‘जेसुकै भनवादी’ । र अन्तमा, तपाईंले सुरुमा उसको गलामा देख्नु भएको सामान्य सेतो सिक्री सामान्य नभएर ह्वाइट गोल्डको बेस्सरी महंगो सिक्री पनि त हुन सक्छ जो मैले विवाह गर्ने खर्चले उसलाई किनिदिएको हुन सक्छु । उसलाई पहेँलो सुनको पो त एलर्जी ! सेतो सुन त उसको फेवरेट पनि त हुन सक्छ । सक्छ नि !

अन्तमा यति पढिसकेपछि पनि फेरि उही प्रश्न ‘अझै किन बिहे नगरेको’ भनी दोहोर्याउनेहरूलाई मेरो ‘डार्क एन्ड डिप’ उत्तर छ – प्रेमी रहिरहन मन भएर । जबसम्म मैले बिहे गर्दिन तबसम्म बुझिरहनुहोस् कि यसलाई प्रेमी हुन पुगेकै रहेनछ र यदि जीवनभर म बिहे नै नगरी बसेँ भने यो मान्नुस् कि यसले प्रेमी नै मर्ने रहर गर्यो ।

‘उसोभए के बिहे भएपछि मान्छेभित्रको प्रेमी मर्छ र ?’ भनेर प्रतिप्रश्न गर्नु भो भने मर्छ र मर्दैनको सवाल जवाफमा यस्ता लेखहरू अरु पचास चाहिएलान् । बरू यहीँनिर बिट मार्दामार्दै यति भनिछाडूँ कि ? प्रेम उसैलाई गर्नुहोस् जसलाई गर्ने वाचा गर्नु भएको छ । जसको हुने कसम खानु भएको छ । बाँकी त उही बलिउड अभिनेता सञ्जय मिश्रको एक चर्चित लाइन जस्तै – ‘इन्जोइङ लाईफ और… ।

०००
बाम्राङ, खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x