साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो दिनरात बिथोल्ने अमेरिकी सैनिक क्याम्प

अब यो लेख पढ्नुहुनेहरूले त म कोरियाको कहाँनेर छु भन्ने बुझिहाल्नु भो । ज-जसले पढेका छैनन् अब उनीहरूलाई मेरो जवाफ हुनेछ - 'म कोरियाको गौरीघाटतिर पो छु हौ !'

Nepal Telecom ad

सुरेश राई :

अक्सर मेरा साथीहरू मलाई सोध्ने गर्छन् कि “तिमी कोरियाको कुन ठाउँमा छौ?” । म सोध्ने साथीको ठट्टा पचाउने क्षमताको हिसाब लगाउँछु र उसको मजाक पाचन प्रणालीको क्षमता अनुसार जिस्केर निम्नलिखित जवाफ दिने गर्छु –
– कोरियाको सिनामंगलमा छु हौ !
– ए, म ? म कोरियाको पेप्सीकोलामा हो
– गोठाटार नजिकै छु यार
– ठ्याक्कै लोकन्थलीमा छु, कोर्याको लोकन्थली क्या !

मेरो यो ठट्टा शतै प्रतिशत झुटो भने होइन । काठमाडौका माथि उल्लेख गरिएका ठाउँहरूमा बस्नेहरूलाई थाहा छ । उनीहरूको जीवनयापनमा एउटा कुरा साझा छ । त्यो हो त्रिभुवन अन्तर्राष्ट्रिय हवाईअड्डा नजिकै भएकोले हवाइजहाजको चर्को स्वरको ज्यादतीपूर्ण भोगाइ । यता मेरो हालत पनि दुरुस्तै छ । जब कुनै रोमान्टिक ड्रामा हेरिरहेको हुन्छु अनि नायकले बडो प्रेमपूर्वक नायिकाको कानमा केही फुस्फुसाउँछ र म ध्यान दिएर कान थाप्छु , त्यही बेला आकाश थर्काउँदै ह्वाइँ ह्वाइँ प्लेन उड्छ । घरबाट फोन आउँछ । थोरै घरव्यबहारको सिरियस गफ गरौं त भन्यो त्यही बेला घ्वाइँ घ्वाइँ प्लेन उड्छ । भान्सामा प्रेसर कुकरको सिट्ठी सुत्ने कोठाबाट सुनेर गनिरहेको हुन्छु । सिट्ठी र प्लेनको आवाज मिसिएर गन्ती गडबड भैदिन्छ । दिनभर कति पटक उड्छ त ? खै कति उड्छ उड्छ !

एकदिन झोंक चलेर कोरियन सहकर्मीसँग रिस पोखेँ र भनेँ “कुनै दिन म बेस्सरी सोजु (रक्सी) पिएर यी प्लेनहरूले डिस्टर्ब गरेबापत कोरियन सरकारलाई क्षतिपूर्ति दाबी गर्न जान्छु होला ।”

उनले हाँस्दै भनेँ “जानु नि त! हवाई अफिस गएर निवेदन दियो भने क्षतिपूर्ति पाइन्छ त । अनलाइन निवेदन दिए पनि हुन्छ । यो क्षेत्र वरिपरि बस्ने सबैले थापिरहेका छन् त !” त्यसपछि कुरो बुझ्दा त्यो व्यवस्था पनि रहेछ । क्षतिपूर्ति रकम चाहिँ निकै न्यून आउने रहेछ । नेपालको सन्दर्भमा भन्ने हो भने यसो सानो परिवारको मासिक वाइफाइ र धारापानीको बिल तिर्न पुग्ने रकम आउने रहेछ । त्यसपछि मैले रिस पोख्ने ठाउँ पनि बाँकी रहेन । न त आजसम्म निवेदन दिएर उक्त रकम बुझिलिने जाँगर नै चलाइयो ।

तपाईंलाई लागिरहेको होला उसो भए म कोरियाको कुनै अन्तर्राष्ट्रिय एयरपोर्ट नजिकै बसोबास गर्छु । यो कुरा ठिकठिकै मात्र सत्य हो । पूरा सत्य चाहिँ म दक्षिण कोरियामा बसालिएको एक अमेरिकी सैनिक क्याम्पको नजिकै छु जो ‘क्याम्प हम्फ्रेज’ को नामले विश्वप्रसिद्ध छ । विश्वप्रसिद्ध ? हो, विश्वप्रसिद्ध । ‘युनाइटेड स्टेट्स आर्मी ग्यारिसन हम्फ्रेज’ समेत भनिने यो बेस क्याम्प अमेरिकाको विश्वभर बसालिएका क्याम्पहरू मध्ये सबैभन्दा ठूलो हो । मेरो बसाइदेखि लगभग १२-१३ किलोमिटर दूर यस क्याम्पले ‘युनाइटेड स्टेट्स फोर्सेस कोरिया’ को हेडक्वारटरको रूपमा काम गर्छ । चिफ वारेन्ट अफिसर बेन्जामिन के. हम्फ्रेजको सम्मानबाट यस बेसको नाम राखिएको हो जो एक पाइलट थिए र हेलिकप्टर दुर्घटनामा उनको निधन भएको थियो । म बस्ने शहरको नाम ह्वासङ सिटी हो । यो क्याम्प चाहिँ फ्यन्तेक भन्ने छिमेकी शहरमा पर्छ अर्थात म यी दुई शहरको बोर्डरमा बस्छु र क्याम्पको नजिक पर्छु ।

यस क्याम्पको विशेषतामा ‘डेसिडेरियो आर्मी एयरफिल्ड’ पनि पर्छ अर्थात यो क्याम्पसँग एसियाकै सबैभन्दा विशाल र प्यासिफिककै सबैभन्दा ब्यस्त युएस अर्मी एयरफिल्ड पनि छ । उक्त आर्मी एयर मैदानमा दिनरात थरीथरीका लडाकु विमानहरू आवतजावत गर्छन् । अभ्यास गर्छन् । कला देखाउँछन् । आकाशमा उल्टीपल्टी गर्दै सेता धुवाँ छोड्छन् । थाहा छैन केके गर्छन् गर्छन् । तर जे जे गर्छन् मेरो दिनरात बिथोल्ने कामै गर्छन् ।

विरोधाभास त हेर्नुस् म भने कहिलेकाहीँ यिनै युद्ध प्लेनहरूको गडगडाहटमुनि बसेर शान्ति र प्रेमको कविता पनि लेखिरहेको हुन्छु । कहिलेकाहीँ लुइस आर्मस्ट्रोङ्को ‘ह्वाट अ वन्डरफुल वर्ल्ड’ भन्दै गाइरहेको पनि हुन्छु । कहिलेकाहीँ सोच्ने गर्छु सायद पूर्णतः शान्ति एउटा परिकल्पना मात्रै पो हो कि?

केही किलोमिटर टाढाको दूरीमा सुपरपावर अमेरिकाको सेना तैनाथ रहेको अनुभूतिले म बेलाबेला कवि विक्रम सुब्बाका यी हरफहरू पनि सम्झिरहेको हुन्छु –
‘जुनसुकै देशको
जतिसुकै अग्लो डाँडाबाट
जतिसुकै सेतो परेवा उडाए पनि
खुला आकाशमा‍‍‍‍‍ दिउँसै
चीलले परेवाको शिकार गर्छ
र त्यो चील ?
अमेरिकाको राष्ट्रिय पंक्षी हो’

उता प्यालेस्टाइन कवि मारवान मखौलका लाइनहरू पनि मकहाँ ठ्याक्कै मिल्न आइपुग्छन् । यस्तो लाग्छ म सामरिक भूमरीमा परिसकेको छु । उनी भन्छन् –
‘मलाई राजनीति बेगरको कविता लेख्न चराहरूलाई सुन्न पर्ने हुन्छ र चराहरूलाई सुन्नको लागि त यी युद्धक विमानहरूको आवाज बन्द हुन जरुरी हुन्छ’

र अन्तमा ,अब यो लेख पढ्नुहुनेहरूले त म कोरियाको कहाँनेर छु भन्ने बुझिहाल्नु भो । ज-जसले पढेका छैनन् अब उनीहरूलाई मेरो जवाफ हुनेछ – ‘म कोरियाको गौरीघाटतिर पो छु हौ !’ किनभने आजसम्म गौरीघाट भन्न चाहिँ मैले छुटाएको रहेछु । मलाई थाहा छ गौरीघाटतिर पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिस्टर्बिलो आवाज जोडतोडले आउने गर्छ ।

०००
बाम्राङ, खोटाङ , हाल: काेरिया ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x