सुरेश राईमै पनि किरात राजा भएँ !
म जसको लात खाएर सपनाबाट ब्युँझिएर यथार्थको जमिनमा पछारिन पुगेको थिएँ उसको नाम पनि त गणतन्त्रसँग मिल्दो नै छ, गनप्रसाद । म निद्रामै मुसुमुसु हाँसे र भुइँमै निदाउने प्रयास गरेँ ।

सुरेश राई :
आन्दोलनको उग्रता छिचोलेर भाटभटेनीको लुटपाट हेर्दै म कोटेश्वर चोकतर्फ बढेँ । चोकबाट दायाँ मोडिएपछि तीनकुने आइपुग्यो । तीनकुनेको हालत त झनै खराब थियो । तोडफोड र आगजनी भएको थियो । अस्तव्यस्त र अनियंत्रित थियो । रणभूमीमा परिणत भैसकेको तीनकुनेबाट भागेर म एकैचोटि दरबारमार्ग ताकेर वानेश्वरतर्फ हान्निएँ ।
हान्निदै थिएँ, हान्निदै थिएँ । मेरो नजर एउटा ठूलो विज्ञापन बोर्डमा पुगेर अडियो । उक्त बोर्डमा लेखिएको थियो-
चाहियो ! चाहियो ! चाहियो !!
चाहिएको पद-राजा
आवश्यक संख्या -१
छनौट विधि – हात्तीद्वारा माल्यार्पण
एक छिन त म राजाको विज्ञापन देखेर दुर्गेश थापाको गीतले भने झैँ हेरेको हेर्यै भएँ । तीन चित खाएँ । राजाको पनि कहीँ पद हुन्छ ? उसको त सिधै सिंहासन हुन्छ । मनमनै भनेँ । सबैभन्दा अवाक चाहिँ मलाई त्यो छनौट प्रक्रियाले गरायो । के यो कुनै एकादेशको लोक कथा हो ? हात्तीले नि कहीँ राजा छानेर मान्य हुन्छ ? तर त्यसरी सोचिरहँदा आफू पनि राजा हुन सकिने झिनो ‘चानस’ले गर्दा कताकता खुशी जस्तो केही पलाएर आयो । मनको अमिलोमा एकाएक मह मिसियो ।
‘कतै हात्तीले फुत्त मलाई नै माला लाइदियो भने त यो खोटाङे केटो राजा भैहाल्यो त गाँठे !’ मनको लड्डु रसिलो रसायो । ‘उता कोरियामा स्क्विड गेम सिजन टूले उधुम मचायो । अब यता नेपालमा म किरातकाल दोस्रो सिजन उधुम मचाइहाल्थेँ त गाँठे !’ रसिलो लड्डु झनै रसमा लुछुप्प भिज्दै गयो ।
नभन्दै दृश्यमा एउटा अजङ्गको हात्ती देखा पर्यो । त्यसको आकाश फर्किरहेको सुँडमा बहुरङ्गी फूलहरू जडित एक माला हावामा हर्ल्याङ हर्ल्याङ लहराइरहेको थियो । त्यो अघिअघि लमक लमक लम्किरहेको थियो । हूलका हूल मानिसहरू तँछाडमछाड गर्दै त्यसको अघिपछि रिँगिरहेका थिए । राजा छान्न हिँडेको त्यो मैमत्त हात्तीलाई मैले नियालिरहेँ । त्यसको टाउको र सम्पूर्ण अनुहार अलिक भिन्न किसिमको थियो । एक किसिमले भन्ने हो भने त्यो रैथाने नेपाली हात्ती पटक्कै थिएन ।
मैले त्यस हात्तीको चेहरामा भगवान गणेश पो झल्किन्छ्न् कि न भनेर नियाली हेरेँ तर प्रष्ट यसै हो भन्न सकिनँ । यत्रो राजा चुन्ने हात्तीमा केही विशेषता त जरूर हुँदो हो भनेर म कुनै तिलस्मी जादूयी शक्ति खोज्न थालेँ । तर अँह पटक्कै फेला पारिनँ । घरि हात्तीको चेहरा कसोकसो कुनै ड्रागनको जस्तो पनि देख्छु । घरि कसोकसो सिंहको जस्तो पो देख्छु । ‘यो नेपाली जातको हात्ती हुँदै हैन’ म सोच्दै थिएँ ।
म सोच्दै थिएँ, सोच्दै थिएँ । अचानक दुबै कानका लोतीदेखि पूरै एक फन्को घिच्रोसम्म चिसो भएर आयो । ‘हना केको चिसो होउ यो ?’ भनेर यसो घिच्रो मुनितिर हेर्छु त माला ! म खुशीले चिच्याएँ-
‘मेरी ज्यान ! म ता राजा भएँ । म ता साँच्चैको राजा भएँ । तिमी मलाई राजा राजा भन्तेउ नि ! म ता राजै भएँ’
मैले आफ्नी ‘मेरी ज्यान’लाई सम्झिएँ । अब त ऊ पनि रानी हुने भै!
मैले अरू थप सोच्नु अघि नै हात्तीले मलाई बिजुलीको रफ्तारमा टिपेर उसको पिठ्युमा बसाइसकेको रहेछ ।
त्यहाँ बिराजमान हुनासाथ सोचेँ
‘ला!राजा त भैहालेँ, आबो बाउले मार्च होला होउ!’ गणतन्त्रवादी आप्पाको डरले म लल्याकलुलुक भैहालेँ । फेरि सोचेँ ‘राजाको बाउ हुन पाए बूढो किना रिसाउला र ?’
फेरि तत्कालै मलाई गाउँलेहरूको पनि डर पलाएर आयो
‘पूरै बाम्राङेहरू गणतन्त्रवादी छ । मार्च होला होउ!’ अर्को मनले सम्झायो ‘ आ…! सबैलाई काठमाडौमा एउटा एउटा घर दिनु पर्ला । बाम्राङलाई सारेर यतै बालुवाटारमा ल्याइ मिसाइदिनु पर्ला ‘
यो उपायले भने मन ढुक्क भो । अब चुप्लाली माइला राईको छोरो राजा हुने पक्कापक्की भो ।
हावामा जताततै मेरो जयजयकार गुञ्जिन थालिसकेको थियो ।
‘श्री पाँच पाेइन्ट पाँच महाराजधिराज सुरेश कि ! जय !’
‘श्री पाँच पाेइन्ट पाँच महाराजधिराज सुरेश कि ! जय !’
मलाई भित्रभित्रै रिस उठ्यो ‘किन यो पोइन्ट सोइन्ट भन्न पर्या होला ? सिधै श्री छ भने भैहाल्यो नि ! केहि छैन । राज्यभिषेकपछि कानून बनाएर आधा पोइन्ट जाबो त म आफै थपिहाल्छु नि !’ म आफैआफै गदगद भएँ ।
गदगद त हुँदै थिएँ तर अचानक कतै दूर गायक बद्री पंगेनीको गीत घन्किन थाल्यो ‘सही पनि एमाले, मै पनि एमाले’ । ‘आफू ह्याँ भर्खरै राजा भाको छु । फेरि कस्ले बजायो यस्तो गीत ?’ म थोरै हच्किएँ । कानको दुलोमा औंला घुसाई दुई चार पटक यसो हल्लाएर फेरि सुनेँ । धन्न त्यो मेरो भ्रम रहेछ । त्यहाँ कुनै गीत सीत होइन मेरै जयजयकार चलिरहेको रहेछ । दायाँ बायाँ ढलक ढलक ढल्कँदै पंगेनीकै गीतको लयमा मनमनै गुनगुनाएँ
‘सही पनि राजा, मै पनि राजा !’
‘सही पनि राजा, मै किरात राजा !’
‘साँची म कति नम्बरको किराती राजा भएछु हँ ?’
मनमा अनायासै प्रश्न उब्जियो । मैले यलम्बरदेखि जितेदास्ती हुँदै अन्तिम राजा गस्तीसम्मका राजाहरू सम्झने प्रयास गरेँ तर आफू यति नै नम्बरमा परेको हुँ भनेर खुट्याउन भने सकिनँ । किरात राजाहरू यति जना नै हुन् भनेर किटान गर्न सकिनँ । ‘ह्या.. ! हु केयर्स? जेभाम् किरातकाल दोस्रो सिजनको पहिलो राजा त मै हुँ केरे’ आफैलाई शान्त्वना दिएँ र गमक्क परेँ ।
यसैबीच हात्ती दरबारतर्फ लम्कियो । मेरा प्रजाहरू मेरो जयजयकार गर्दै हात्तीको पछिपछि झुम्मिए । म भने दुई हात घरी हावामा हल्लाउँदै घरी जुम्ल्याहा बनाउँदै हात्ती सवारको आनन्द उठाइरहेको थिएँ ।
म राजा भएको बताउन को को युटुबर को को टिक्टकर दरबार बोलाउने होला भनी म मनमनै लिस्ट तयार गर्न थालेँ । ‘आ… राजा भाको कुरा किन युटुबर टिक्टकर नाथेहरूलाई बताइरहनु पर्यो र ? राजा राजै हो’ एउटा मनले नकार्यो । अर्को मनले सकार्यो ‘बताउनै पर्यो नि ! भोलि हामी यो चिम्सेलाई राजा मान्दैनौं भनेर भिडियो बनाइदिए भने ? देशले पायो हावैमा राजा भन्दै टाइटल हाल्दियो भने ?’ अन्ततः निकै लामो लिस्ट मनको हिसाबखातामा दर्ता भयो ।
अन्तिम दृश्यमा मैले आफूलाई दरबारको भव्यताबीच घेरिएको पाएँ । पण्डितजीहरूको एकनास मन्त्रोच्चारणले वातावरण नै दिव्य महशुस भएको थियो । हिरा, मोति, सुन,चाँदीको चमकधमक कुनै अलग्गै संसारको थियो । त्यतिकैमा कसैको दिव्य वाणी सभाहलभरि गुञ्जियो ।
‘अब राजमुकुट पहिरिबक्सियोस् महाराज ! साइत जान लाग्यो ।’
म जुरुक्क उठेँ र बडो दृढताका साथ श्रीपेच भएको थालीतिर लम्किएँ । त्यहाँ पुगेर श्रीपेच लाउनलाई गर्धन अगाडि सार्दै मात्र के थिएँ कसैले पिठ्युँमा बेस्कन भ्वाक्क लात हान्यो । म गद्दीबाट गुल्टिएर ढुन्मुनिदै भुइँमा खसेँ र पछारिएँ।
म झल्यास्स ब्युँझिएँ । त्यसरी निद्राको महासागरभित्र तैरिरहेको सपनाको पानीजहाजबाट नराम्ररी उछिट्टिएँ । होस खुल्नासाथ गनप्रसादको कर्कश आवाज कानमा ठोक्कियो ‘रातभरि सपनामा बोलेर सुत्नै दिएनै मुलाले ! लु भुइँमै सुत् !’
बिचरा म खाटबाट तल फ्यालिएको थिएँ । निद्राले झुम्मझुम्म पारिरहेकै थियो । त्यही अर्धहोसको अवस्थामा मैले याद गरेँ । म जसको लात खाएर सपनाबाट ब्युँझिएर यथार्थको जमिनमा पछारिन पुगेको थिएँ उसको नाम पनि त गणतन्त्रसँग मिल्दो नै छ, गनप्रसाद । म निद्रामै मुसुमुसु हाँसे र भुइँमै निदाउने प्रयास गरेँ । पिठ्युँमा खाएको दनकले छाला चिर्चिराएर दुख्दै थियो । गनप्रसाद खाटमा मस्त थियो मानौँ खाट शासनको बागडोर हो ।
बिहानीपख कोरियाको आइतबारे चिसो बतासले मेरो निधार स्पर्श गरेर भाग्यो । म भुइँमा यसै पल्टिरहेँ ।
‘राजा हुनुम् दिएना, साला गने !’ मैले गनेले नसुन्नेगरी भनेँ ।
०००
बाम्राङ खोटाङ
हाल- द.कोरिया
Subscribe
Login
0 Comments
Oldest






































