साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाउँमा डिउको उधुम !

आज हरेक दिन ठूल्ठूला बसका छतमा लादिएर मधेसतिरबाट हर्ल्याङ हर्ल्याङ कार्टुनका कार्टुन डिउहरू गाउँ नजिकैका बजारतिर दौडिरहेका देखिन्छन् मानौँ गाउँका खोलानालाले अब गाउँलेको प्यास मेट्न नसक्ने भो ।

Nepal Telecom ad

सुरेश राई :

गायक /संगीतकार तथा प्राज्ञ शान्तिराम राई आफ्नी पत्नीलाई लिएर उनको जन्मथलो खोटाङ गए । बिहे भएको धेरै वर्ष बितिसके पनि मूलघरको तीन चुल्होको साक्षी राखेर पितृमा गर्नुपर्ने बिहे बाँकी थियो । त्यसैको लागि राई दम्पती गाउँ गएका थिए । एक पडकास्टमा उनले भने अनुसार गाउँमा डिउ र पाउरोटीको खाजा खाने चलन देखेर पतिपत्नी छक्क परे । अझ उनीहरूको उक्त बिहेमा २२ देखि २५ कार्टुन डिउ खपत भएको पनि बताए । किन आज पूर्वी मध्यपहाडी गाउँहरूमा पेय पदार्थ डिउको त्यतिविधि चलन चलिरहेको छ ? अचम्म छ !

उसो त माउन्टेन डिउ पनि अन्य सफ्ट ड्रींकहरू जस्तै केवल एक सामान्य ड्रींक नै हो । अरू जस्तै यो पनि गुलियो हुन्छ । अरू जस्तै यो पनि मुखमा पररर..गर्छ । गुजुजुजु.. फुल्छ । हरर.. वसाउँछ । यसो सोचिल्याउँदा यसको हरियाली रंगले पो हो कि गाउँको मन जितेको ? होला होला ! त्यसो पनि हुन सक्छ । हरिया घाँस । हरिया किराफटयांग्रा । हरिया खुर्सानी । हरियो गोबर । हरियो परिदृश्य । त्यस्तै गरेर हरियो डिउ ।

आज खोटाङ मात्र होइन पूर्वी जिल्लाका थुप्रै गाउँहरूमा डिउले उधुम मच्याएको छ । आज माइत मावलो जाँदा समेत झोलामा एक थोक कोसेली खुत्रुक्क जरूर खस्छ त्यो हो डिउ । हिज मतुवालीहरूका बटुकामा अन्नको रसिलो जाँड भरिन्थ्यो । गैरमतुवालीहरूको पेलामा दूध, दही र मोही भरिन्थे । आज काँचको गिलास गिलासमा डिउ भरिन्छ । खेतालालाई डिउ । सम्धीलाई डिउ । बालबच्चालाई डिउ । बिरालोलाई डिउ । ए रात्तै ! हुँदाहुँदा सुत्केरीलाई पनि डिउ ?

कतिसम्म भने एकपटक मितको घरमा मित पाहुना आएका थिए रे । घरवाला मितले सोधेछन् ‘अनि उता परिवारमा अरू सबै जाती नै हुनुहुन्छ नि ?’ पाहुना मितले छोटो उत्तर दिएछन् – ‘ज्यू !’ ज्यू अर्थात हजुर । घरवाला मितले ज्यूलाई ड्यू सुनेछ्न् । तुरुन्तै अर्को ग्लास थप डिउ ल्याएर टक्र्याए रे । अब भो त ?

डिउ त गाउँघरमा साझेदारी अभ्यासको उन्नत प्रचलन बनिसकेछ । अरूबेला घाँसपात मेलामामिलामा दिदीबहिनीहरू झगडा गरे पनि डिउ खाने बेला चाहिँ एक जुट भैहाल्दा रहेछन् । गाउँ गाउँमा सडक पुगेका छन् । सडक सडकमा स-साना पसल खुलेका छन् । पसल पसलमा डिउ भरिएका छन् । ओइ कान्छी तँसँग तीस रुपैयाँ छ ? ओइ माइली तँसँग बीस रुपैयाँ छ कि ? त्यसपछि पैसा भेला गरेर डिउ किनिँदो रहेछ । यसरी खपेर किनिएको डिउ बारीको डिलमा बसेर बाँडेर खाइँदो रहेछ । ए रमाइलो नि !

त्यसरी खपेर साझेदारीमा डिउ खाने कर्म त अर्कोतिर एकताको प्रतीक पनि पो रहेछ । त्यसरी खपेर खानेमा साथी-साथी मात्र होइन सासू-बुहारी, शिक्षक- विद्यार्थी, नन्द-भाउजू, काका-भतिज, साहू-ऋणी, प्रेमी-प्रेमीका जो पनि हुन सक्दा रहेछन् । भएन त एकता र मेलमिलापको प्रतीक ? यस्तो लाग्छ मानौँ अब डिउले नै हो ल्याउने समाजवाद हुँदै साम्यवाद ।

हामी सानो छँदा ज्वरो आयो या अन्य कुनै प्रकारको बिमार भइयो भने पन्यालो खोले या जाउलो बनाएर खाइन्थ्यो । आजभोलि त ज्वरो आएर दुई दिनदेखि पटक्कै खाना नरुचेको बच्चालाई ‘केही त खा न बाबू!’ भनेर बाआमाले कर गर्दा ‘थोरै डिउ दिनु न त कचौरामा उसो भए’ अरे ! हे डिवेश्वरी !

उसो त डिउ प्रतिष्ठाको सिम्बोल पनि हो । उहिले उहिले घिउ हुन्थ्यो अहिले डिउ छ । गाउँमा बसेपछि घिउ खान नसक्ने पनि के धनी ? अहिले डिउ खान नसक्ने जाबोको के हैसियत ? भान्साघरको एक कुनामा एक/दुई दर्जन डिउका रित्ता प्लास्टिक बोतल नभए घरको के शोभा ? के इज्जत ?

आज हरेक दिन ठूल्ठूला बसका छतमा लादिएर मधेसतिरबाट हर्ल्याङ हर्ल्याङ कार्टुनका कार्टुन डिउहरू गाउँ नजिकैका बजारतिर दौडिरहेका देखिन्छन् मानौँ गाउँका खोलानालाले अब गाउँलेको प्यास मेट्न नसक्ने भो । मानौँ हजारौं वर्षदेखिको सुषुप्त प्यास अब केवल डिउले मात्रै मेट्न सक्नेछ । भोलि यस्तो सुनौलो दिन पनि नआउला भन्न सकिन्न कि कसैको छोरी माग्न जाँदा समेत भन्नपरोस् ‘हामी हजुरहरूकी छोरीलाई बडो प्रेमले साथमा राख्नेछौं । दिनमा तीन बखत त डिउ नै ख्वाउनेछौं हजुर’ केटापक्षको डिउको कुरा सुनेर केटी पक्षले पनि मक्ख पर्दै केटीको कन्यादान गरिदेओस् ।

यदाकदा विभिन्न गाउँपालिकाहरूले बाहिरिया पेय पदार्थहरू निषेध गरेका खबरहरू पनि आउने गरेका छन् । स्थानीय वस्तुको प्रयोगमा प्रोत्साहन गर्ने दुर्बुद्धि कसरी पलायाे हाेला भनेर मचाहिँ तीनछक्क परेकाे छु है । र पनि हार्दिक शुभकामना डिउज्यूलाई !

०००
बाम्राङ, खोटाङ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
11 months ago

हो म पनि जाडो महिनाको बेला खोटाङका गाउँहरूमा पुगेको थिएँ। र त्यतिबेला पनि गाउँलेहरुले ड्यु र चटपटे खाजाको रूपमा खाएको देख्दा दङदास परेको थिएँ।

Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
1
0
Would love your thoughts, please comment.x
()
x