साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाउँमा डिउको उधुम !

आज हरेक दिन ठूल्ठूला बसका छतमा लादिएर मधेसतिरबाट हर्ल्याङ हर्ल्याङ कार्टुनका कार्टुन डिउहरू गाउँ नजिकैका बजारतिर दौडिरहेका देखिन्छन् मानौँ गाउँका खोलानालाले अब गाउँलेको प्यास मेट्न नसक्ने भो ।

Nepal Telecom ad

सुरेश राई :

गायक /संगीतकार तथा प्राज्ञ शान्तिराम राई आफ्नी पत्नीलाई लिएर उनको जन्मथलो खोटाङ गए । बिहे भएको धेरै वर्ष बितिसके पनि मूलघरको तीन चुल्होको साक्षी राखेर पितृमा गर्नुपर्ने बिहे बाँकी थियो । त्यसैको लागि राई दम्पती गाउँ गएका थिए । एक पडकास्टमा उनले भने अनुसार गाउँमा डिउ र पाउरोटीको खाजा खाने चलन देखेर पतिपत्नी छक्क परे । अझ उनीहरूको उक्त बिहेमा २२ देखि २५ कार्टुन डिउ खपत भएको पनि बताए । किन आज पूर्वी मध्यपहाडी गाउँहरूमा पेय पदार्थ डिउको त्यतिविधि चलन चलिरहेको छ ? अचम्म छ !

उसो त माउन्टेन डिउ पनि अन्य सफ्ट ड्रींकहरू जस्तै केवल एक सामान्य ड्रींक नै हो । अरू जस्तै यो पनि गुलियो हुन्छ । अरू जस्तै यो पनि मुखमा पररर..गर्छ । गुजुजुजु.. फुल्छ । हरर.. वसाउँछ । यसो सोचिल्याउँदा यसको हरियाली रंगले पो हो कि गाउँको मन जितेको ? होला होला ! त्यसो पनि हुन सक्छ । हरिया घाँस । हरिया किराफटयांग्रा । हरिया खुर्सानी । हरियो गोबर । हरियो परिदृश्य । त्यस्तै गरेर हरियो डिउ ।

आज खोटाङ मात्र होइन पूर्वी जिल्लाका थुप्रै गाउँहरूमा डिउले उधुम मच्याएको छ । आज माइत मावलो जाँदा समेत झोलामा एक थोक कोसेली खुत्रुक्क जरूर खस्छ त्यो हो डिउ । हिज मतुवालीहरूका बटुकामा अन्नको रसिलो जाँड भरिन्थ्यो । गैरमतुवालीहरूको पेलामा दूध, दही र मोही भरिन्थे । आज काँचको गिलास गिलासमा डिउ भरिन्छ । खेतालालाई डिउ । सम्धीलाई डिउ । बालबच्चालाई डिउ । बिरालोलाई डिउ । ए रात्तै ! हुँदाहुँदा सुत्केरीलाई पनि डिउ ?

कतिसम्म भने एकपटक मितको घरमा मित पाहुना आएका थिए रे । घरवाला मितले सोधेछन् ‘अनि उता परिवारमा अरू सबै जाती नै हुनुहुन्छ नि ?’ पाहुना मितले छोटो उत्तर दिएछन् – ‘ज्यू !’ ज्यू अर्थात हजुर । घरवाला मितले ज्यूलाई ड्यू सुनेछ्न् । तुरुन्तै अर्को ग्लास थप डिउ ल्याएर टक्र्याए रे । अब भो त ?

डिउ त गाउँघरमा साझेदारी अभ्यासको उन्नत प्रचलन बनिसकेछ । अरूबेला घाँसपात मेलामामिलामा दिदीबहिनीहरू झगडा गरे पनि डिउ खाने बेला चाहिँ एक जुट भैहाल्दा रहेछन् । गाउँ गाउँमा सडक पुगेका छन् । सडक सडकमा स-साना पसल खुलेका छन् । पसल पसलमा डिउ भरिएका छन् । ओइ कान्छी तँसँग तीस रुपैयाँ छ ? ओइ माइली तँसँग बीस रुपैयाँ छ कि ? त्यसपछि पैसा भेला गरेर डिउ किनिँदो रहेछ । यसरी खपेर किनिएको डिउ बारीको डिलमा बसेर बाँडेर खाइँदो रहेछ । ए रमाइलो नि !

त्यसरी खपेर साझेदारीमा डिउ खाने कर्म त अर्कोतिर एकताको प्रतीक पनि पो रहेछ । त्यसरी खपेर खानेमा साथी-साथी मात्र होइन सासू-बुहारी, शिक्षक- विद्यार्थी, नन्द-भाउजू, काका-भतिज, साहू-ऋणी, प्रेमी-प्रेमीका जो पनि हुन सक्दा रहेछन् । भएन त एकता र मेलमिलापको प्रतीक ? यस्तो लाग्छ मानौँ अब डिउले नै हो ल्याउने समाजवाद हुँदै साम्यवाद ।

हामी सानो छँदा ज्वरो आयो या अन्य कुनै प्रकारको बिमार भइयो भने पन्यालो खोले या जाउलो बनाएर खाइन्थ्यो । आजभोलि त ज्वरो आएर दुई दिनदेखि पटक्कै खाना नरुचेको बच्चालाई ‘केही त खा न बाबू!’ भनेर बाआमाले कर गर्दा ‘थोरै डिउ दिनु न त कचौरामा उसो भए’ अरे ! हे डिवेश्वरी !

उसो त डिउ प्रतिष्ठाको सिम्बोल पनि हो । उहिले उहिले घिउ हुन्थ्यो अहिले डिउ छ । गाउँमा बसेपछि घिउ खान नसक्ने पनि के धनी ? अहिले डिउ खान नसक्ने जाबोको के हैसियत ? भान्साघरको एक कुनामा एक/दुई दर्जन डिउका रित्ता प्लास्टिक बोतल नभए घरको के शोभा ? के इज्जत ?

आज हरेक दिन ठूल्ठूला बसका छतमा लादिएर मधेसतिरबाट हर्ल्याङ हर्ल्याङ कार्टुनका कार्टुन डिउहरू गाउँ नजिकैका बजारतिर दौडिरहेका देखिन्छन् मानौँ गाउँका खोलानालाले अब गाउँलेको प्यास मेट्न नसक्ने भो । मानौँ हजारौं वर्षदेखिको सुषुप्त प्यास अब केवल डिउले मात्रै मेट्न सक्नेछ । भोलि यस्तो सुनौलो दिन पनि नआउला भन्न सकिन्न कि कसैको छोरी माग्न जाँदा समेत भन्नपरोस् ‘हामी हजुरहरूकी छोरीलाई बडो प्रेमले साथमा राख्नेछौं । दिनमा तीन बखत त डिउ नै ख्वाउनेछौं हजुर’ केटापक्षको डिउको कुरा सुनेर केटी पक्षले पनि मक्ख पर्दै केटीको कन्यादान गरिदेओस् ।

यदाकदा विभिन्न गाउँपालिकाहरूले बाहिरिया पेय पदार्थहरू निषेध गरेका खबरहरू पनि आउने गरेका छन् । स्थानीय वस्तुको प्रयोगमा प्रोत्साहन गर्ने दुर्बुद्धि कसरी पलायाे हाेला भनेर मचाहिँ तीनछक्क परेकाे छु है । र पनि हार्दिक शुभकामना डिउज्यूलाई !

०००
बाम्राङ, खोटाङ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
9 months ago

हो म पनि जाडो महिनाको बेला खोटाङका गाउँहरूमा पुगेको थिएँ। र त्यतिबेला पनि गाउँलेहरुले ड्यु र चटपटे खाजाको रूपमा खाएको देख्दा दङदास परेको थिएँ।

Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
1
0
Would love your thoughts, please comment.x
()
x