सुरेश राईकोरियाको ‘पाल्ली पाल्ली’
आर्टिकल पढिसकेर मैले मनमनै आफैसँग भनेँ - 'होइन गाँठे ! ख्याँस्न त ख्याँसेकै हो । कस्तो गरीब देश थियो आज कस्तो भयो । यहाँभन्दा कति ख्याँस्नु ?' अल्छी र ढिलासुस्तीले देश डुब्दो रहेछ । फूर्तिले देश बन्दो रहेछ ।

सुरेश राई :
मेरो निम्ति कुनै लेखको सरुवात टिकटकमा भाइरल भएको एक भिडियोबाट गर्नु आफैमा एक अभूतपूर्व अनुभूति हो । न यो लेख पनि भाइरल पो भैजान्छ कि ?के थाहा होइन? डर डर पनि लाग्छ । कोरियामा भाइरल उक्त भिडियोमा कोही अधबैंसे मालिक (अथवा म्यानेजर पनि हुन सक्छ) चिच्याएर उसको कामदारलाई भन्छ-‘पाल्ली पाल्ली हे ! .. ह्या ! न अजे गोगी था मगच्ची ? बाबीक्यु! ‘
अर्थात ‘छिटो छिटो गर् ….
ओइ ? हिज तैँले सबै मासु बार्बिक्यु खाइसकेको होइन ?’
यो रमाइलो भिडियोमा टिकटक नबनाउने आप्रवासी कामदार जो टिकटकमा छन्, यतिबेला कोरियामा कमै होलान् । नेपालीहरूले पनि यसमा गजब गजबका भिडियोहरू बनाएको भेटिन्छ । यो भिडियोले कोरियाको छिटोछिटो काम गर्ने संस्कृति उजागर गरेको छ त्यो पनि बेस्सरी रमाइलो तरीकामा । यति भएपछि निबन्ध अगाडि बढ्नुअघि म विश्वास गर्न चाहन्छु कि कोरियन भाषामा ‘पाल्ली पाल्ली’ भनेको छिटोछिटो हो भनेर पाठकहरूले बुझिसक्नु भएको छ । मलाई लाग्छ यत्ति भएपछि अब सुरुवाती ‘सेटिङ’ राम्रै भयो ।
ह्वाट् अ स्टार्ट !
लाग्छ हतार र पाल्ली पाल्ली कोरियाको संस्कृति मात्र होइन डी.एन.ए नै हो । कोरियनहरूको हतारको कुनै सीमा छैन । भर्खरैको कुरा हो । जुलाईको गर्मीले तातिएको अफिसमा छिर्नासाथ मालिकले मलाई एसी अन गर्न लगाउँदै भने ‘पाल्ली एअखन ख्य बा !’ अर्थात ‘छिटो एसी चला त !’ । मैले रिमोट दबाएँ । एसी टिँट्.. आवाज सहित अन भयो । तब सोफामा बिराजमान हुँदै मालिक भन्छन् ‘आ…सिवन्हेत्ता !’ अर्थात ‘आहा..शित्तल भो !’ मैले मनमनै भनेँ ‘अरे यार अन भएको दुई सेकेन्ड भो क्या ! कोठा चिसो हुन दुई/तीन मिनेट लाग्छ क्या ! केको सिवन्हेत्ता हौ ? थोरै त धैर्य गरिस्योस् सरकार !’ मैले सिलिङको एसीतिर नजर लगाएँ । भर्खर त रातो इन्डिकेटर हरियोमा परिणत भएर त्यो बिस्तारै बिस्तारै फू..फू..सास फेर्दै थियो ।
एक दिन स्थानीय मार्टमा भर्खरै कोरिया आएको एक नेपाली भाइलाई भेटेँ । सामान्य परिचयपछि कम्पनी कस्तो पर्यो त भाइजी भनेर सोधेँ । भाइजीले हाँस्दै भने ‘कम्पनी ठीकै छ दाजु तर काम चै लास्टै पाल्ली पाल्ली गर्नु पर्दो रैछ हौ ! सत्तरी वर्षको मालिक छ । हन सँगसँगै दगुर्छ हौ काममा । के अचम्म ! बूढो यतिसारो पाल्ली पाल्ली दगुरिरहन्छ कि बूढाको दुई खुट्टा बीचमा एक पाङ्ग्रा पनि जोड्दिउँ कि जस्तो लाग्छ । घरीघरी त कि उड्छ पो हौ यो बूढा पनि भन्छु ।’
उनको कुराले हामी दुबै एक खेप गलल्ल हाँस्यौँ ।
त्यसो त कोरियनहरूको पाल्ली पाल्ली कम्पनीमा मात्र सीमित छैन । मेट्रोमा यात्रा गर्नेहरूलाई राम्ररी थाहा छ त्यहाँ पनि एक किसिमको अघोषित दौड प्रतियोगिता चल्छ । म त भन्छु यदि महंगो ईयरबड्स तपाईंको ईयरमा ठोस्नु भएको छ भने ईयरको खुब केयर गर्नुहोस् । रेल समाउन दौडिरहेको भिडले तपाईंलाई ठक्कर दिन सक्छ र तपाईंको महंगो ईयरबड्स कतै उछिट्टिएर हराउन पनि सक्छ । अनि तपाईंको सम्पूर्ण यात्राको ‘एसी कि तैसी’ पनि हुन सक्छ । रेल पक्रन पाल्ली पाल्ली दौडिनेहरूको उस्तो खासै हतारै गर्नु पर्ने काम चाहिँ नहुन पनि सक्छ । ज्यादासे ज्यादा भए युवाहरू पाल्ली पाल्ली दौडेर रेल समातेर पाल्ली पाल्ली कुनै पार्कमा पुगेर पाल्ली पाल्ली गर्लफ्रेन्डको ओठ टोक्दा हुन्, त्यत्ति ।
कोरियनहरूको पाल्ली पाल्लीको प्रतिभा देख्न पाइने अर्को क्षेत्र भनेको कुक्सु भनिने नुडल्स खुवाइमा हो । नेपालको थुक्पा चाउमिनभन्दा मोटा मोटा नुडल्सहरू चाइनिज भान्साघरमा पाइन्छन् । चाजाङ म्यन, चाम्पोङ, खालकुक्सु, माक्कुक्सु लगायत अनेक थरीका नुडल्सहरू कोरियनले खाएको देख्नु भो भने पोथीले गड्यौला निलेको जाबो त केही पनि होइन भन्नु हुनेछ । सँगै कुक्सु खान बस्यो यता तपाईं नुडल्समा भर्खरै ग्रेभी घोल्दै हुनुहुन्छ । उता कोरियनले एक बोल नुडल्स सफाचैट पारिसकेको हुन्छ । आँखा झिमिक माल गायब जस्तो नि !
कोरियाका अस्पतालहरूमा बहिरंग सेवा उस्तै पाल्ली पाल्ली देख्न पाइन्छ । उता नेपालमा भए बिरामीलाई घर कहाँ हो तपाईंको भन्ने देखि जाँच सुरु हुन्छ । यता कोरियामा फुत्त छिर्यो फुत्त निस्कियो । उहिले उहिले रत्नपार्कको चटक जस्तो । डाक्टरले दुई मिनेट पनि समय राम्ररी दिने होइन क्यारे । व्यथा सुनाउँदै गयो ‘डाक्टर सा’प पेट दुख्छ, खाना रुच्दैन, भोक लाग्दैन’
बीचमा डाक्टर आफै थप्दै जान्छ ‘त्यै त हगि.. त्यै त..’
अरे यार दुखेको त मलाई हो नि ! पूरा कुरा पनि नसुनी त्यस्तो केही छैन भन्दै औषधिको सिफारिस लेखिदिन्छ । उसो त कोरियाको स्वास्थ्य उपचार प्रणाली विश्वकै उत्कृष्ट मध्येमा पर्छ कुनै शंकै छैन । तर बहिरंग सेवाको पाल्ली पाल्लीले धेरैलाई उपचारमा सन्तोक लाग्दैन । त्यसैले घरमा फोन गरेर मलाई फलानो फलानो थोकको औषधि यतिउति पत्ता पठाइदिनु त खुरुक्क भन्छ ।
पाल्ली पाल्लीको कुरा गर्दा कोरियन बूढाहरूले आइसक्रिम जुन रफ्तारले खाएको देखेँ पहिलो पटक म हेरेकोहेर्यै भएँ । हामी सामान्यतया आइसक्रिम चाटेर खान्छौँ होला नि ! उनीहरूले टोक्दै चपाएर खाएको देखेँ । उमेरले साठी नाघेका दुई सिनियर सहकर्मीहरू मैले सोलीको माथिल्लो भागको आइसक्रिम भर्खरै जिब्र्याउँदै गर्दा सोलीको अन्तिम टुक्रा कुरुम कुरुम चपाउँदै थिए । मैले मनमनै हिन्दी मिसाएर भनेँ ‘अरे इतना पाल्ली ?’
हाम्रो कम्पनीभित्र खासगरी गर्मी सिजनमा कामको बीच बीचमा बेलाबेला साउनीले खर्बुजाका चानाहरू लिएर आउँछिन् । लिएर त आउँछिन् तर काम गरिरहेका एक एक कामदारहरूको छेउछेउमै जान्छिन् र मुख मुखै ठोस्न खोजे झैँ गरेर दक्षिणी भेगको लवजमा भन्छिन् ‘पाल्ली मुग बा ! मुग बा’ अर्थात लु छिटो खाइ हाल् । साथीहरू पनि हाँस्दै पन्जा खोलेर चाना समाउँछन् र पाल्ली पाल्ली दार्न थाल्छन् ।
आजभोलि कोरियामा वैवाहिक सम्बन्धविच्छेदको दर अति उच्च छ । छुट्टीमा कहिलेकाहीँ यसो भेला हुँदा यस विषयलाई लिएर पूर्वतिरको एक छाडा लिम्बू दाजु जिस्कन्थे ‘बुझ्नु भो ? यिनीहरू बूढीसँग पनि राती पाल्ली पाल्ली ऊ त्यो गर्छ र आफू चै निदाइहाल्छ बूढीलाई अतृप्तै छाडेर । त्यसैले यिनीहरूको डिभोर्स धेरै हुन्छ ।’ उनको कुरा सुनेर लाजले म पाल्लीपाल्ली अर्को कुनातिर सर्थेँ ।
पाल्ली पाल्लीको हद त मैले कोरियन सिनेमामा पो देखेँ। ए बाबा ! हतार पनि कतिसम्म भने एक्सन फिल्ममा गुन्डाको गला दबाउँदै हिरो चिच्याउँछ ‘पाल्ली छुग खे सेकिया !’ अर्थात ‘छिटो मर् है कुकुरको छोरा’ बिचरा गुन्डाले मर्दा पनि छिटो मरिदिनु पर्ने ? ए अचम्म! गुन्डाको जिन्दगी नै पाल्ली पाल्लीमा बितेको छ के ! उसले पाल्ली पाल्ली अपराध गरेको छ । पुलिसले खेदाउँदा पाल्ली पाल्ली भागेको छ । पाल्ली पाल्ली अन्डरग्राउन्ड लुकेको छ । अब मर्दा पनि थोरै फुर्सद नाही ?
एक दिन पश्चिम नेपालतिरको एउटा मगर सोल्टाले गुनासो गरे- ‘सोल्टी म स्वभावैले अलिक ढिलोढिलो काम गर्छु । हात छिटोछिटो चाल्न सक्दिनँ । कोरियनले खाली पाल्ली पाल्ली हे भन्छ । तेरो देशमा तिमीहरू यसरी नै काम गर्छस् भनेर हेप्छ । चित्तै दुख्छ भन्या’
मैले यसो बिचारेँ । ती सोल्टीको शरीर भारी, चालढाल ढिला मात्रै होइन कि बोली समेत सानो र सुस्त थियो । तर देशकै कुरा आएकोले मलाई पनि सनक चढ्यो र जोशै जोशमा भन्दिएँ- ‘नाथे यिनीहरूले के ख्याँसो त हौ पाल्ली पाल्ली गरेर ? के के न ख्याँसे जस्तै ! सेकियाहरू !’
ती पश्चिमी सोल्टीसँग मार्टबाट छुटेर म साँझपख कोठा फर्किएँ । कोठामा यसै ढल्किएर सामाजिक सञ्जालमा एकछिन रमाउँदै थिएँ । कोरियाको बारे लेखिएको एक सामग्रीमा मेरो आँखा पर्यो । त्यसमा दक्षिण कोरियाको विकास हुनुमा यहाँ शिक्षाले पाएको प्राथमिकता , आधुनिक प्रविधिलाई गरिएकोआत्मसात, कोरियनहरूको मेहेनती स्वभाव र पाल्ली पाल्ली संस्कृतिलाई प्रमुख मानिएको थियो । त्यसमा थप लेखिएको थियो कि कोरियाको राहदानी आज अमेरिका र बेलायतको भन्दा शक्तिशाली छ । यहाँका शहर विश्वको कुनै पनि शहरभन्दा प्रविधिमैत्री छन् । कोरियाको अन्तर्राष्ट्रिय हवाईअड्डा विश्वकै भव्य, सफा र सुबिधासम्पन्न छ आदि इत्यादि ।
उक्त आर्टिकल पढिसकेर मैले मनमनै आफैसँग भनेँ – ‘होइन गाँठे ! ख्याँस्न त ख्याँसेकै हो । कस्तो गरीब देश थियो आज कस्तो भयो । यहाँभन्दा कति ख्याँस्नु ?’
अन्तमा, अल्छी र ढिलासुस्तीले देश डुब्दो रहेछ । फूर्तिले देश बन्दो रहेछ । अब हामीले पनि आफ्नो ढिलासुस्तीको आदत बदलेर ख्याँस्न ढिलो गर्नु हुँदैन । समयमै ख्याँसिहाल्नु पर्छ ।
०००
बाम्राङ, खोटाङ
हाल:ह्वासङ सिटि, द.कोरिया
Subscribe
Login
0 Comments
Oldest







































