फित्काैली डटकमनेपाली साहित्य अध्ययन समितिको हीरक जयन्ती सम्पन्न
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोले तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्य, भाषा र संस्कृतिको संरक्षण तथा विकासबारे विशेष चर्चा गरिएको थियो ।

कालिम्पोङ । नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङको हीरक जयन्ती समापन समारोह भव्यताका साथ सम्पन्न भएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोले तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्य, भाषा र संस्कृतिको संरक्षण तथा विकासबारे विशेष चर्चा गरिएको थियो ।
समितिका सभापति जोग चाम्लिङको सभापतित्वमा सम्पन्न कार्यक्रममा कालिम्पोङका विधायक भरत छेत्री, प्रख्यात कवि तथा समालोचक डा. राजेन्द्र भण्डारीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । महासचिव बलभद्र शर्माले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा प्रा. नवीन पौड्यालको नवीन कृति ‘साहित्यमा ऐँजेरू’ को लोकार्पण गरिएको थियो । हालसम्म उहाँका १२ मौलिक तथा ६ सम्पादित कृति प्रकाशित भइसकेका छन् ।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले नेपाली साहित्यको सन्तुलित विकास आवश्यक रहेको उल्लेख गर्दै सिक्किम र दार्जिलिङबीच भाषा, साहित्य र संस्कृतिको सम्बन्ध घनिष्ठ रहेको धारणा व्यक्त गर्नुभयाे । उहाँले युवा पुस्तालाई भाषा र संस्कृतिको संरक्षणमा अग्रसर हुन आह्वान गर्दै पहिचान जोगाउन सबैले जिम्मेवारी लिनुपर्ने बताउनुभयाे ।
कार्यक्रममा प्रथम ‘सानुमति राई स्मृति पुरस्कार’ सामसिङ निवासी प्रशान्ती राईलाई प्रदान गरिएको थियो । साथै डा. इन्द्रबहादुर छेत्री, रत्नकुमार फुयेल, डा. भोजबहादुर गुरुङ र डा. ममता लामालाई सम्मान गरिएको थियो ।
यसैगरी नेपाली साहित्यिक मञ्च, लालिमा परिवार, फूलबारी साहित्य, साहित्य प्रकाशन परिषद् तथा नेपाली साहित्य उत्थान समितिलगायत विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाहरूलाई पनि सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन निमा स्याङ्देनले गर्नुभएकाे थियाे भने समितिको परिचय प्रा. दिलु ठटालले प्रस्तुत गर्नुभएकाे थियाे । पुरस्कार वितरण कार्यक्रमको सञ्चालन मनिन्द्र भुजेलले गर्नुभएकाे थियाे ।
०००
Subscribe
Login
0 Comments
Oldest





































