खगेन्द्र नेउपानेलासै-लासलाई हेरेर
यी गनाइरहेका लासहरुलाई हेरेर ? खै, कता खोज्नु मैले कविताका सुन्दर 'प्लट' हरू यी मान्छे नै मान्छेका मान्छेहीन मस्तिष्कहरु बगिरहेका दुर्गन्धित नालढलहरुलाई हेरेर ?

दीपेन्द्रसिंह थापा :
यहाँ एक प्रकारको धूलो छ
जुन अनेक प्रकारको कुहिरो बनेर
बुङ्ङ्ग उडिरहन्छ
कतै रातो, कतै पहेंलो
अनगिन्ती रङ्गमा
र, यसभित्र खचाखच छन् मान्छेका लासहरु
मान्छेका लासहरुमाथि कुल्चेर
कसैलाई नटेरीकन
कसैलाई नपर्खीकन
कता हो कता
बेलगाम दौडिरहेछन्
समयजस्ता आधुनिक घोडचढीहरु ।
किन यहाँ एकजना पनि
आफूलाई लासहीन घोषणा गर्न सक्दैन ?
के यहाँ कहिल्यै आउन सक्दैन
हार्दिकताको जीवन्त मौसम ??
‘सर्वे भवन्तु सुखिन’ को साइनबोर्ड टाँसेको
यो मन्दिरै मन्दिरको सहरमा
के देवताहरू पनि कैदमा छन् धर्म-पुस्तकका पानाभित्रै
र, अब सबै लासै-लास बनिसके ???
यावत प्रश्नहरु प्रश्नहीन उभ्भिरहेछन्
उही गनाउँदो लासको वीर्य चाटेर जन्मेका
लासै-लासका संवेदनाशून्य खचाखचीभित्र
मलाई भने
यही प्रश्नहीनतासँग भयङ्कर शङ्का छ
यही प्रश्नहीनतासँग अतिशय व्यग्रता छ ।
बिन्ती !
मेरा प्यारा साथीहरु
अचेल, प्रत्येक भेटमा नसम्झाऊ मलाई कविता लेख है भनेर
खै, के लेखौं र कविता
यी गनाइरहेका लासहरुलाई हेरेर ?
खै, कता खोज्नु मैले कविताका सुन्दर ‘प्लट’ हरू
यी मान्छे नै मान्छेका मान्छेहीन मस्तिष्कहरु
बगिरहेका
दुर्गन्धित नालढलहरुलाई हेरेर ?
०००
धादिङ
जीर्ण पर्खाल (२०६४)
Subscribe
Login
0 Comments
Oldest






































