सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जुँगाले जुत्ता खायो

भावीले पनि मेरो भाग्यमा अनाहकमै जुत्ता खाने स्थिति लेखिदिएछ क्यारे ! आजभोलि म यो महसुस गर्दैछु । यसो विचार गर्दा त वास्तवमा जुँगाको लडाइँ भन्नु नै जुत्ताको लडाइँ रहेछ । यो कुरा बुझेपछि मेरो हंशले ठाउँ छोड्यो ।

Nepal Telecom ad

नरनाथ लुइँटेल :

Narnath Luitel Fitkauliबजारमा नयाँ नयाँ मोडेलका जुत्ता भरमार छन् । म भने तीन वर्ष अगाडिको मोडेल मात्र होइन सर्वाङ्ग पुरानो जुत्ता टेकेर लुखुरलुखुर गरिरहेको छु । जुत्ता लगाउनेहरू खुट्टाको सुरक्षाको निम्ति लगाउँछन् । म चाहिँ खैराँतमा जुत्ताको सुरक्षा गरिरहेको हुन्छु । मेरा निम्ति खुट्टा भन्दा जुत्ता प्रिय छ । मानिसको व्यक्तित्वलाई उसले लगाएको जुत्ता मार्फत मापन गर्ने मनोवृत्ति मौलाएकोले हरेक मान्छे अहिले आफ्नो खुट्टालाई भन्दा जुत्तालाई महत्व दिन बल गरिरहेको पाइन्छ । जुत्ता यसरी प्रतिष्ठाको सिरानी भएपछि जुत्तावाल खुट्टाको फुईं बढ्नु स्वाभाविक पनि हो । त्यति भएर पनि म जुत्ताको प्रशंसा गायक भने होइन, तर जुँगाले जुत्ता खाने स्थिति देखेर भने मलाई औधी पिरलो लागिरहेको छ ।

पेटमा हाल्ने दाना र आरामसँग सुत्ने छाना नभए पनि जुत्ता टल्काएर रोडमा निस्केपछि नमस्कार गर्नेको ताँती नै लाग्दछ । यो जमानाको रंग पनि हो र यसमा हामी दङ्ग पर्दछौँ । आइरन दलेको थ्री-पीस लगाएर कसैले चप्पलमा सवारी चलाएको देख्नु भएको छ ? अवश्य छैन । अब भन्नुस् त जुत्ताको निगाह बिना जतिसुकै दामी किन नहोस् थ्रीपीसले कति नै इज्जत धान्न सक्दछ ? चाहे भोजभतेर होस्, चाहे अड्डा अफिस होस्, तपाईं जहाँ पुग्दा पनि स्वागतको निम्ति सबभन्दा पहिले सरोकारवालाको नजर तपाईंको टोपीमा होइन, जुत्तामा पर्दछ । यदि खुट्टामा आधुनिक मोडेलको आँखै टिप्ने जुत्ता छ भने तपाईंले तीघ्रा कमाउनु पर्दैन । गाउँघरतिर जुत्ताको व्यापक प्रयोग र प्रयोजन पुगिसकेको त छैन । तर पनि ससुराल जाने अवसर कुनै ज्वाईंले पायो भने सबभन्दा पहिले ऊ निदाल वा खोपातिर वर्षौंदेखि घुसारी राखेको जुत्ता खोजेर थाङ्नाले ध्वाँसो पुछ्न थाल्छ । मोडेलको कुरा नगरौँ उमेरले त्यो जुत्ता ज्वाईं भन्दा २/४ वर्ष जेठो पनि हुन सक्छ ।

कुरा जेठो वा कान्छाको मात्र होइन । लाजै नमानेर जुत्ता हिजो आज भान्छासम्म सजिलै पुग्न थालेको छ । खुट्टा जतिसुकै सुडौल होस् तर टलकदार जुत्ताको खोल छैन भने भान्छामा तपाईंको कुनै मोल हुने छैन । मोल नभएपछि झोलको के आशा गर्न सक्नुहुन्छ ? अनि अपमानित भएर फुटेको आफ्नो पुर्पुरोलाई सराप्दै र टोलभरिका कुकुर भुकाउँदै जुन बाटो गएको थियो त्यही बाटो लुरुलुरु फर्किन बाध्य अभागी डुँडुलाहरूलाई पनि मैले देखेको छु । सबैकुरा निख्रिएर टाट पल्टिँदा पनि गोडामा जुत्ता हुन्जेल कोही आत्तिनु पर्दैन । बरू जति मात्तिए पनि हुन्छ ।

मान्छेले जुत्ता पनि खान्छ, खाएको छ र खाँदै छ । यो कुरा पत्याउनु भएन भने अहिले सत्ताको कुर्सीमा र प्रमुख प्रतिपक्षको कुर्सीमा उपरखुट्टी लाएर बस्ने कुनै पनि नेतालाई सोधेर हेर्नोस् त ! उनीहरूले ०१७ साल यता ०४६ सालको जनआन्दोलन नटुङ्गिदासम्म निर्दलीय शासनद्वारा नियन्त्रित पुलिसका बुटजुत्ता कति खाएका थिए कति ? त्यो बेलादेखि अहिलेसम्म पनि थुप्रै मानिसहरू बेफ्वाँकमा जुत्ता खाइरहेका छन् । जुत्ता ख्वाउने जीव भनेका पुलिस भाइहरू नै हुन् र जुत्ता खाने मुखहरू भनेका सत्ताको विरोधमा उभिन खोज्ने तथा भिन्न अभिमत जाहेर गर्नेहरू नै हुन् ।

जुत्ता जति सुकै राम्राे भए पनि मीठो भने हुँदैन तर ख्वाउनेले ख्वाएपछि नमीठो हुँदाहुँदै पनि खानै पर्ने । मीठो नमिठोको स्वाद तैँले कसरी पाइस् भन्नु होला । म मुलङ्खरेले पनि जुत्ता खाएको छु, एकपटक होइन, धेरै पटक खाएको छु । पछिल्लो पटक जुत्ता खाँदाको असरले मैले दृष्टि नै गुमाउनु पर्‍यो र उज्यालो भविष्य खोज्न चस्मा लाएर हिँड्नु परिरहेको छ ।

अहिले मुलुकमा प्रजातन्त्र आएको छ र जुत्ता खाने खुवाउने प्रक्रियामा पनि आंशिक परिवर्तन भएको मैले महसुस गरेको छु । प्रहरी भाइहरूको जुत्ता ख्वाउने दायित्वमा थोरै कमी आएको छ तर त्यो दायित्व प्रजातान्त्रिक दलका नेताहरूले पनि लिएको हुन सक्छ । प्रजातान्त्रिक प्रक्रिया अनुरूप एउटै दलभित्र पनि एउटा वरिष्ठ नेताले अर्को वरिष्ठ नेतालाई जुत्ता खुवाउन समेत तयार भएको स्थितिप्रति म अलिक संवेदनशील छु । हिजोको सत्ताले सत्ताको विपक्षमा आफ्नो अभिमत जाहेर गर्दा जुत्ता खुवाउँथ्यो, आजको सत्ताले पनि कसैले भिन्न अभिमत जाहेर गर्‍यो भने त्यसैगरी जुत्ता खुवाइरहेछ । अहिले जुत्ता खानेले कुनै पनि बेला अर्कोलाई जुत्ता खुवाउन सक्छ । यसरी जुता खाने र खुवाउने बीचको चर्को होडले आज मुलुकै पिटेको छ । जोरीपारीको मात्र कुरा नगरौँ हरेक मान्छे आफन्तलाई समेत जुत्ता ख्वाउन गौँडो ढुकेर बसेको हुन्छ ।

जर्ज बुसलाई जुत्ता ख्वाएर वील क्लिन्टन सत्तामा आए, गोर्भाचोभलाई जुत्ता खुवाएर एल्तसीन उदाए । आखिर उनले पनि फेरि जुत्ता नै खाएर कुर्सी छोड्नु पर्ला । इराकी सद्दाम हुसेनले अमेरिकी जुत्ता खान अझ छोडेका छैनन् । संक्षेपमा भन्नुपर्दा अहिलेको विश्व जुत्ता खान र खुवाउनमै व्यस्त छ । अनि मेरो मुलुक मात्र त्यस कर्मबाट किन अछुतो रहोस् । ०१७ सालमा महेन्द्रको जुत्ता खाने वि. पि. दलका  नेता जी. पी. बाबु आफ्नै दलका सर्वोच्चलाई दनादन जुत्ता खुवाउँदै छन् । आफ्नै दलका वरिष्ठहरूलाई जुत्ता खुवाउन तल्लीन जी. पी. बाबु प्रतिपक्षका कनिष्टहरूलाई कुन मनले बाँकी राखुन् ? पञ्चायती जुत्तादेखि आाजित वामहरू अहिले एक पछि अर्को काङ्ग्रेसी जुत्ता खाइरहेका छन् । यो मुलुकको वर्तमान यथार्थ हो ।

जुत्ता खानु भन्दा पीडादायी प्रसङ्ग अर्को पनि छ, त्यो भनेकाे टाउकोमा जुत्ता बोक्नु । चिटिक्कको भादगाउँले या पाल्पाली ढाका टोपी छड्के पारेर लगाउने टाउकाले जुत्तै बोक्नु परेपछि जीवन नै इतिश्री भएन त ! तीस वर्षसम्म एउटा जुत्ता बोकेर त्यसलाई मिल्काउँदा नमिल्काउँदै टाउकामा अर्को जुत्ता बोक्ने अभागी नेपाली मध्येको एक भुक्तभोगी म पनि हुँ ।

जुत्ता र जुँगा बीचको साइनो नाता खोतल्ने मेरो मनसाय होइन तर जुँगाको लडाईं र जुत्ता हानाहानमा कुनै तात्विक भिन्नता रहेनछ । विगतका केही वर्षदेखि म जुँगाको लडाइँमा सामल खाजा बोकेर सरिक थिएँ तर त्यस कर्मले त मेरो भाग्यमा भावीले अनाहकमै जुत्ता खाने स्थिति लेखिदिएछ क्यारे ! आजभोलि म यो महसुस गर्दैछु । यसो विचार गर्दा त वास्तवमा जुँगाको लडाइँ भन्नु नै जुत्ताको लडाइँ रहेछ । यो कुरा बुझेपछि मेरो हंशले ठाउँ छोड्यो । जुँगा जुद्धा जुत्तै खानुपर्ने वा मुडुले टाउकोले चार भञ्ज्याङ्ग काट्नु पर्ने स्थिति नआओस् भनी म आजैका मितिदेखि जुँगाको लडाइँबाट आफूलाई अलग पार्दै छु ।

प्रिय पाठकवृन्द ! अब तपाईंहरूले जुँगे काजीलाई जुँगा लडाइँको यो मैदानमा भेट्नु हुने छैन । हवस्त, जुत्ता खाने जुँगाको जदौ ।

०००
०४९ चैत २३
छेपन (२०५१)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा