सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यस पटकको हाम्रो पिँडाली-पूजा !

यो कार्य नेपाली हास्यव्यङ्ग्यको जगेर्ना र सम्बर्धनकै लागि गरिएको हुँदा जसअपजस दुवै लिने आँट फित्कौलीले संवरण गरेको छ । जे होस् यस पटकको हाम्रो पिँडाली-पूजा तपाइँलाई के कस्तो लाग्यो क्रिया-प्रतिक्रियाको अपेक्षा समेत गरेका छौँ ।

Nepal Telecom ad

राजेश मानन्धरकाे कुचीले बनाएकाे पिँडालीकाे क्यारीक्रेचर

“स्वस्थ, शिष्ट र सार्थक हास्यव्यङ्ग्यको प्रवर्धनका निम्ति समर्पित फित्कौली हास्यव्यङ्ग्यका क्षेत्रमा योगदान पुर्‍याउने समस्त पुराना एवम् नयाँ स्रष्टाहरूप्रति आदर र सम्मान व्यक्त गर्न चाहन्छ । पुराना र पाका स्रष्टाहरूको लगनशीलताबाट नयाँ सष्टाहरूले प्रेरणा लिँदै अघि बढ्ने हो भने, उनीहरूका लेखकीय अनुभवहरूबाट ज्ञान र शिक्षा लिँदै कर्मक्षेत्रमा ओर्लिने हो भने हामीले धेरै कुरा प्राप्त गर्न सक्छौँ । राष्ट्रले उनीहरूप्रति केही गरेन यो कटु यथार्थ हो, जनस्तरबाट हामीले चाहिँ के कति गरिरहेका छौँ ? यो पनि त्यतिकै स्मरणीय छ । बितिसकेका स्रष्टाहरूलाई नसम्झने, उनीहरूका योगदानको सह्रनी नगर्ने र उनीहरूका कृतिलाई पछिल्लो पुस्तासमक्ष हस्तान्तरण नगर्ने हो भने हाम्रो इतिहास जतिसुकै चम्किलो किन नहोस् एक दिन अँध्यारोमै हराउनेछ । यस्तो नहोस् भन्ने मूल अभिप्रायले फित्कौली पाका, पुराना, बितिसकेका वा जीवित रहेका हास्यव्यङ्ग्य स्रष्टाहरूप्रति हार्दिक सम्मान र न्यानो स्मरण गर्दै अघि बढ्न कृतसङ्कल्पित छ ।”

फित्कौली अहिलेको यो स्वरुपमा आउनुभन्दा १८ वर्ष अघि २०६२ साल माघ-फागुनमा प्रकाशित पूर्णाङ्क ५ लाई ‘केशवराज पिँडाली विशेष’ बनाइएको थियो । त्यस अङ्कमा प्रकाशित सम्पादक्यौलीको पहिलो अनुच्छेद जस्ताको तस्तै माथि प्रस्तुत गरियो ।

त्यही मासिक फित्कौली अहिले अनलाइन डटकममा रुपान्तरित भएपछि पनि पाका पुराना र कीतिशेष भैसकेका हास्यव्यङ्ग्य स्रष्टाहरू र उनीहरू रचना र कृतिहरूलाई निरन्तर पुनरावृत्त गर्दै आएको छ । अघिल्लो वर्षको भदौमा भैरव अर्याल र पछिल्लो वर्षको भदौमा वासुदेव लुइँटेलका कृति-वृत्ति र नेपाली हास्यव्यङ्ग्यमा उनीहरूको योगदान स्मरण गर्दै विशेष सामग्रीहरू प्रस्तुत गरेका थियौँ । त्यही परम्परा कायम राख्दै यस वर्ष केशवराज पिँडालीको जन्मदिनका अवसरमा हामीले पिँडालीमा केन्द्रित सामग्रीहरू संयोजन गरेका छौँ ।

वि.सं. १९७१ साल माघ १६ गते जन्मिएका केशवराज पिँडाली आधुनिक नेपाली हास्यव्यङ्ग्यका महत्वपूर्ण कडी हुन् । नेपाली साहित्यको आधुनिक कालको उठानसँगै हास्यव्यङ्ग्य लेखनमा सक्रिय रहेका पिँडालीको ‘खै-खै’ हास्यव्यङ्ग्य सङ्ग्रह (२०१६) एउटा मानक कृतिका रूपमा सुरक्षित रहेको छ । ‘फेरि उल्टै मिल्यो’ (२०३२), र ‘व्यङ्ग्यै-व्यङ्ग्य’ (२०४६) र प्रसन्न हुनुहोस् उनका प्रकाशित अन्य हास्यव्यङ्ग्य कृति हुन् ।

केशवराज पिँडाली पछिल्लो कालखण्डमा पनि लेखनमा सक्रिय थिए । २०५५ सालमा उनको देहान्त हुनुभन्दा केही समय अगाडिसम्म विमर्शको सम्पादन कार्य र त्यसैको ‘यथोचित’ स्तम्भमा लेखनकार्य जारी राखेका पिँडालीको यो चरण भने निकै विवादास्पद रहेको थियो । हास्यव्यङ्ग्यका रूपमा विमर्शमा प्रकाशित ‘यथोचित’ स्तम्भका कतिपय रचनामा हास्यव्यङ्ग्यको शिष्टता उलङ्घन गरिएको भनी पर्याप्त आलोचना एवम् टिप्पणीहरू भएका थिए । हास्यव्यङ्ग्य लेखनमा एउटा युग नै निर्माण गरिसकेका पिँडाली जस्ता सिद्धहस्त लेखक त्यसरी ससाना राजनीतिक प्रसङ्गमा अल्झिदै गाली वा आक्षेपको स्तरमा खस्नु हुँदैनथ्यो भन्ने टिप्पणी पनि नभएका होइनन् । भैरव अर्याल र वासुदेव शर्मासँगको उनको सम्बन्धका बारेमा पनि जानकारहरू प्रश्न उठाइरहेकै छन् ।

यद्यपि यस्ता केही आलोच्य पक्ष हुँदाहुँदै पनि पिँडालीबाट नेपाली हास्यव्यङ्ग्यले जे जति प्राप्त गरेको छ, त्यो धेरै अर्थमा महत्वपूर्ण रहेको छ भन्ने हामीलाई लागेको छ । केही गुण र केही दुर्गुण त हामी सबैमा हुन्छ । गुणको बखान गर्ने दुर्गुण बिर्सने अथवा दुर्गुणका मात्रै कुरा गरेर कसैका गुणहरू सबै छोपछाप गर्नु वस्तुवादी काम होइन । यही मान्यताका साथ आगामि दिनमा फित्कौली कीर्तिशेष हास्यव्यङ्ग्यकारहरू श्याम गोतामे, मोराश, विष्णु नवीन, सूर्यबहादुर पिवा, रूद्र खरेललगायतका हास्यव्यङ्ग्य शिल्पीहरूलाई पनि विशेष ढङ्गले सम्झने प्रयत्न गरिरहने छ ।

फित्कौली हास्यव्यङ्ग्यकार केशवराज पिँडालीको जन्मजयन्तीको अवसरमा उनीप्रति शब्दश्रद्धा व्यक्त गर्दछ । यही श्रद्धाका क्रममा हामीले पिँडालीसँग सम्बन्धित केही सामग्रीहरूको संयोजन गरेका छौँ । फित्कौलीमा प्रस्तुत सामग्रीको सङ्कलनका निम्ति हामीले ‘उन्नयन’ १३, पिँडाली विशेषाङ्क (२०५०) लाई मूख्य आधार बनाएका छौँ । यसका सम्पादक अच्युतरमण अधिकारी र हाम्रो छनोटमा परेका सामग्रीका सबै स्रष्टाहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । यी सामग्री यता उठाउन सम्बन्धित सम्पादक र स्रष्टाहरूसँग अनुमति वा स्वीकृति लिनु पर्थ्याे होला, त्यसो गर्न पनि विविध कारणले सम्भव भएन । यो कार्य नेपाली हास्यव्यङ्ग्यको जगेर्ना र सम्बर्धनकै लागि गरिएको हुँदा जसअपजस दुवै लिने आँट फित्कौलीले संवरण गरेको छ । जे होस् यस पटकको हाम्रो पिँडाली-पूजा तपाइँलाई के कस्तो लाग्यो क्रिया-प्रतिक्रियाको अपेक्षा समेत गरेका छौँ ।

०००

२०८० माघ १६

फित्काैली अड्डा, कलङ्की काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x