
दिग्भ्रमित यात्रा
चतुरेको नेतृत्वमा नयाँ बसको यात्रा रमाइलो, आनन्ददायी र सजिलै मानसरोवर पुग्छ भन्ने सबैमा विश्वास थियो । सबै यात्रु आरामले निदाए । बस गुडिरहेको थियो ।

श्रीप्रसाद पोखरेल :
“यस्तो पाराले गन्तव्यमा पुगिँदैन । यो बस फेर्नुपर्छ” चतुरेले भन्यो ।
“हो, हो यो बस फेरौँ” सबै यात्रुहरूले हल्लीखल्ली गरेर बसबाट झरे ।
मानसरोवरका लागि शुरूआत भएको यात्रा सत्र किलोमिटर पुग्नासाथ यो बसले गन्तव्यमा पुर्याउन सक्दैन भनेर बस परिवर्तन गरियो ।
बसमा भएका यात्रु मध्ये एक तिहाइ त पोख्त चालक हौँ भन्नेनै थिए । बस लिखिरलिखिर चल्दै थियो । बस मरितरी छत्तीस किलोमिटर हिँडेको थियो । “यो बसबाट पनि मानसरोवर पुगिँदैन” भन्दै केही चालकले हल्ला मच्चाए ।
सबै बसबाट ओर्लिए र छलफल गरे । श्रीमानले नै चलाउने र त्यही बसबाट यात्रा गर्ने सहमति गरेर यात्रा शुरु भयो । बसले छयालीस किलोमिटरको यात्रा तय के गरेको थियो, चालक हौँ भन्नेहरूले पुनः हल्लीखल्ली मच्चाए । चालक र बसका केही पाटपुर्जा परिवर्तन गरि अगाडि बढ्ने सहमतिमा बस गुड्यो । सामान्य गतिमा दौडिएको बसमा चालक दल बिच मतभेद बढ्न थाल्यो ।
बाउन्न किलोमिटर पुग्नैलाग्दा चतुरेले अरूको नेतृत्वमा यात्रा नगर्ने घोषणा गर्यो । डामेको साँढेले गर्ने मनपरी जस्तै बसका सिट, झ्याल लगायत तोडफोड गर्न थाल्यो । कुनै यात्रु तोडफोडमा सहभागी भए भने कुनै हाम्रो सम्पत्तिलाई हानिनोक्सानी पुर्याउनु हुँदैन, समझदारी साथ यात्रा गर्नुपर्छ, भन्दै थिए ।
क्षतविक्षत भएको बस कछुवाको गतिमा चल्दै थियो । त्रिसट्ठी किलोमिटर पुग्दा बस नचल्ने अवस्थामा पुग्यो । चालकहरू मिलेर बस परिवर्तन गर्ने सहमति गरे । विभाजित यात्रुहरू पनि शान्त भए ।
चतुरेको नेतृत्वमा नयाँ बसको यात्रा रमाइलो, आनन्ददायी र सजिलै मानसरोवर पुग्छ भन्ने सबैमा विश्वास थियो । सबै यात्रु आरामले निदाए । बस गुडिरहेको थियो ।
भुकभुके उज्यालोमा झ्यालबाट बाहिर चियाएर श्रीधरले हेरे । कोसेढुङ्गोमा लेखिएको थियो, “दिल्ली बिस किलोमिटर ।”
०००
इटहरी
Subscribe
Login
0 Comments
Oldest