श्रीप्रसाद पाेखरेलउपाय
पल्लो फलैँचामा बसेर दुई बुढाका कुरा सुनिरहेका कृष्णकान्तले मुसुमुसु हाँस्तै भने “पञ्चायत कालदेखि शासन गर्ने बानी परेका धर्माकरलाई छोराबुहारीको अरनखटनमा बस्न गाह्रो छ श्रीधर !”

श्रीप्रसाद पोखरेल :
“भन न ! तिम्रो घरमा छोराबुहारीको व्यवहार कस्तो छ ?” धर्माकरले जेष्ठ चौतारीमा भेला भएका श्रीधरलाई सोधे ।
“हैट ! आफ्नै आङ कन्याएर छारो उडाउनु हुँदैन धर्माकर ! बरू घरका राम्रा कुरा सोध न !”
“मेरो त छोरै उस्तो छ । बुहारी त ठिकै हो” धर्माकरले कुराको चुरो खोले ।
“हेर धर्माकर ! सानातिना कुरामा चित्त दुखाउने होइन । म त बुहारीलाई सधैँ, आजको खाना पनि हिजो जस्तै मिठो छ भनिदिन्छु । नातिनातिनालाई घर जाँदा खानेकुरा लगिदिन्छु । कहिलेकाहीँ बजारमा मनपरेको तरकारी भेटे छोराले मन पराउँछ र ल्याएको भनिदिन्छु । आँप खान मन लागे बजारमा त निस्कन थालेछ भन्छु । मौसम अनुसारको फलफूल ल्याइहाल्छन् ।”
“अनि श्रीधर ! तिम्रो पो पेन्सन छ र तरकारी किन्छौ । नातिनातिनालाई खानेकुरा लगिदिन्छौ । आफ्नो छैन ।”
तिम्रो पनि त वृद्धभत्ता आउँछ नि हैन ? उनले वास्तविकताको झटारो हाने ।
“कुनै कुरा बोले ‘गोरु बुढो भए भिर खोज्छ, मानिस बुढो भए निहुँ खोज्छ’ भन्छन्” धर्माकरले निराशानै व्यक्त गरे ।
धेरै जेष्ठहरू यौवनावस्थाकै शासन घरमा गर्न खोज्छन् । युवाहरू पनि आयआर्जन गर्न थाले पछि आफ्नो शासन लाद्न शुरू गर्छन् । त्यसैले धेरैको घरमा असन्तुष्टि चुलिन्छ ।
“खानलगाउन दिएकै छन् । औषधीमुलो गरेकै छन् । खर्च गर्न सरकारले भत्ता दिएकै छ । श्रीधरले सुखी हुने उपाय बताए” अब तिमी खुशी भएर छोराको शासनमा बस नत्र दुःख पाइन्छ, बुझ्यौ ?
“खै के खै के” धर्माकरले ओठ लेर्प्याए ।
पल्लो फलैँचामा बसेर दुई बुढाका कुरा सुनिरहेका कृष्णकान्तले मुसुमुसु हाँस्तै भने “पञ्चायत कालदेखि शासन गर्ने बानी परेका धर्माकरलाई छोराबुहारीको अरनखटनमा बस्न गाह्रो छ श्रीधर !”
०००
इटहरी, हाल अमेरिका
Subscribe
Login
0 Comments
Oldest







































