श्रीप्रसाद पाेखरेलदृष्टि
बुबाको हात समातेर उनले भने, "बुबा ! तपाईँले आफ्नो चस्मा बनाउनु भयो तर सम्बन्धको दृष्टि त मैले पो प्रष्टसँग देखेँ ।

श्रीप्रसाद पोखरेल :
“बुहारी… यो चस्मा त झन् धमिलो हुन थाल्यो ।” हरिशरणले भान्साको ढोकाबाट चियाउँदै भने।
बुहारीले आदर पूर्वक भनिन्, “बुबा ! दिनुन त म बनाएर ल्याइदिन्छु।”
“दिनभरी खाँचो हुन्छ । म आफैँ जानपाए हुन्थ्यो ।”
बुहारीले एक हजार रुपैयाँ हातमा दिँदै भनिन्, “बुबा ! फजुल खर्च चैँ नगर्नु है ?”
हरिशरणले बजार गएर लड्डु किनेर ल्याए । चस्मा त बहाना मात्र थियो ।
साँझ अबेरसम्म छोरा र बुहारी घर फर्केनन्। उहाँ बैठकको पुरानो कुर्सीमा बसिरहनु भएको थियो।
जून छरिएको आकाश, एघार बजेको मौन रातमा घरक्क ढोका खुल्यो ।
रङ्गीन साँझको धङधङी सँगै छोरा र बुहारी भित्र पसे।
बुबालाई नसुतेको देखेर छक्कपर्दै सनत बोल्यो, “बुबा ! तपाईं सुत्नु भएको छैन ?”
हरिशरण केही मुस्काउँदै, केही डराउँदै बुहारीतिर हात बढाउँदै भने, “शुभ जन्मदिन, बुहारी ! चस्मा पनि बनाएँ , तिम्रो जन्मदिन सम्झेर लड्डु पनि लिएर आएँ ।”
बुहारीले आँ गरिन् । उनले लड्डु मुखमा हालिदिए । बुहारीका आँखामा तलाउ बन्यो ।
श्रीमतीको जन्मदिन होटलमा मनाएर आएका सनतलाई ग्लानि महसुस भयो ।
बुबाको हात समातेर उनले भने, “बुबा ! तपाईँले आफ्नो चस्मा बनाउनु भयो तर सम्बन्धको दृष्टि त मैले पो प्रष्टसँग देखेँ ।
समाप्त
०००
Subscribe
Login
0 Comments
Oldest






































