
दीर्घायु
हिजो राति यिनी साथीको घरमा दर खान गएकी थिइन् । दरसँग दारु पनि खाइन् । रातभर नृत्य पनि गरिन् । को को थिए थिएनन् यिनले पत्तै पाइनन् । केही समय पश्चात बिजुली झ्याप्प निभ्यो । कल्याङ कुलुङका बिच सबै हराए ।

श्रीप्रसाद पोखरेल :
पार्श्वमा ‘हामी पनि नाच्नुपर्छ बिच बिचमा’ बोलको गीत घन्किरहेको थियो । भैँसीको दाम्लो भन्दा मोटो छड्के रातो तिलहरी लगाएर रमिला कम्मर मर्काइ रहेकी थिइन् । मात्र दुई अम्मलको रातो ब्लाउज र कटिमुनि लगाइएको चिप्लो सारीमा रमिला साँच्चै कामुक देखिन्थिन् ।
शिवले भने “नन्दी ! ती नाच्ने उर्वशी जस्ती कि हुन् ?”
नन्दीले भने “महाराज ! यी मानव कन्या हुन् ।”
शिवलाई असह्य भयो र भने “यी कन्यालाई कैलाशको एकान्त कुटीमा लिएर आउ ।”
नन्दीलाई शिवको कामुकतामा घृणा लाग्यो र भने “प्रभु ! हजुरको आराधना गरेर आफ्नो बिरामी पतिको दीर्घायुको भिख माग्न आएका भक्तमाथि यस्तो नजर ।”
शिवले नन्दीलाई शान्त पार्दै भने “हेर ! उनि याँहा उम्लिएको जवानी पोख्न आएकी हुन् ।
नन्दीले दयाभाव देखाउँदै भने “प्रभु दयाहोस् यी कन्या माथी । पानी पनि नखाई तीजको व्रत बसेकी छन् ।”
“हिजो राति यिनी साथीको घरमा दर खान गएकी थिइन् । दरसँग दारु पनि खाइन् । रातभर नृत्य पनि गरिन् । को को थिए थिएनन् यिनले पत्तै पाइनन् । केही समय पश्चात बिजुली झ्याप्प निभ्यो । कल्याङ कुलुङका बिच सबै हराए ।” शिवले पुराणनै सुनाए ।
“प्रभु अब कसो गर्ने हो ?”
“तिमी हेर्दै जाउ अब के के हुन्छ ।”
रमिला हस्याङ फस्याङ् गर्दै व्रत समापन गरेर हलुङ्गो मन बनाएर घर पुगिन् ।
आँगनमा उनको पतिको लास थियो ।
०००
इटहरी, सुनसरी
Subscribe
Login
0 Comments
Oldest