
बिर्सिएको आयु
बितेकी बहिनीलाई भाइ टीकाको दिन सम्झेर आँखाबाट बलिन्द्र धारा आँसु चुहाउँदै श्रीधरले भने, “सरू ! यमराजको बाटो छेक्न यति बिधिपूर्वक दाजुको आयु माग्यौ तर आफ्नो आयु भने माग्न बिर्सिछ्यौ ।”

श्री पोखरेल :
शारदाले सँघारमा ओखर राखेर क्रमश पानी र तेलले छेकिन् । चन्दन्, अक्षता, अबिर, फूलले पालैपालो पूजा गरिन् । हातमा लोहोरो लिएर ड्याम्म ओखर फोरिन् । ओखर छरपस्ट भएर छरियो ।
पछाडि फर्केर श्रीधरलाई हेरिन् उनी राडीमा बसेर मुस्कुराइरहेका थिए । उनलाई पनि पानी, तेलले वरिपरि घुमेर छेकिन् । कानमा तेल हालेर अम्लोले कचकच पारिन् । कपालमा तेल लगाएर कोरी दिइन् ।
“कति धेरै तेल लगाएकी ?” उनले झर्को माने जस्तो गरे । शारदाले हकारेको भावमा मायालु भएर भनिन्, “आज दिदी बहिनीसँग रिसाउने होइन । यमुनाले पनि यमराजको दीर्घायुको लागि यसैगरेको कथा थाहा छैन ?” यमराजले त बहिनीले भनेको मानेका थिए ।
दाजुलाई फूलले शिरदेखि क्रमश कुम, शरीर, घुँडा र गोडामा पनि पुजिन्। उनी च्यातिएको सयपत्री र अरू रङ्गीबिरङ्गी फूलले पुरिए ।
उनलाई निधारमा सप्तरङ्गी टिका लगाएर एक नाङ्लो खानेकुरा दिइन् ।
दाजुले पनि टिका लगाएर हातमा खाम र उपहार राखिदिएर गोडा ढोग्न के निहुरिएका थिए, भित्तामा टाङेको बहिनीको फोटो श्रीधरका गोडामा झर्ल्याम्म खस्यो ।
बितेकी बहिनीलाई भाइ टीकाको दिन सम्झेर आँखाबाट बलिन्द्र धारा आँसु चुहाउँदै श्रीधरले भने, “सरू ! यमराजको बाटो छेक्न यति बिधिपूर्वक दाजुको आयु माग्यौ तर आफ्नो आयु भने माग्न बिर्सिछ्यौ ।”
०००
मेरिल, कोलोराडो
अमेरिका
कति मिठो कथा,
श्रीधर र शारदालाई धेरै धेरै मायाँ,
सबैमा तिहारको हार्दिक मंगलमय शुभकामना।
हास्यरस प्रधान पत्रिकामा करुणरस प्रधान सामग्री पढ्न पाइनु एक अवसर पनि हो।