प्रेम राई ‘परीक्षित’भगवान्, मलाई शिक्षक बनाइदेऊ !
डस्टर अनि चकको शक्ति कति हुन्छ त्यो पनि सुझाउनु छ आफैले उमारेका हिराहरूलाई पुछपाछ गरेर चम्काउनु छ कालाहरूलाई पखालेर फेरि सेतो धरती निर्माण गर्नु छ ।

प्रेम राई ‘परीक्षित’ :
जीवनको दर्शन भित्र
हराएर म
थुप्रै पटक अझै भनौँ
अनगिन्ती पटक
म हिउँ भएर पग्लिएँ
पग्लिन सिकाएँ
तर उसले
म पग्लिनुको एउटै अर्थ निकाल्यो
कि म पैसाका लागि पग्लिएको हूँ ।
जीवनको दर्शनभित्र
हराएर फेरि
थुप्रै पटक
अझै भनौ अनगिन्ती अनगिन्ती जलिरहेँ
अरुलाई प्रकाश बाँडिरहेँ
तर फेरि उसले
म जल्नुको फेरि एउटै अर्थ निकाल्यो
कि म पैसाका लागि जलेको हूँ ।
जीवनको आदर्शमा
आफुलाई उभ्याएर
थुप्रै पटक
अझै भनौ अनिगिन्ती पटक
अरुका लागि
आफुलाई रित्याएँ
म रित्तिनुको आज पनि
उसले एउटै अर्थ निकाल्यो
कि म पैसाकै लागि रित्तिएको हूँ ।
लखतरान भएर घर फर्कदा
पाठ योजनाले कुरिरहेका हुन्छन्
स्कुल पुग्दा
गृहकार्यको सगरमाथा
सधै मेरै पर्खाईमा हुन्छन्
थकान शब्द
मेरो शब्दकोश मै छैन
उसले आज पनि एउटै अर्थ निकाल्यो
कि म पैसाकै लागि गलेको हूँ
जे सुकै अर्थ निकाल
म आफू पग्लेर
अरुलाई बल्न सिकाएको हूँ
आफू गलेर
अरुलाई उत्साह अनि जाँगर भरेको हूँ
चकको धुलो भित्र
जीवनको सार्थक्ता खोज्न सिकाएको हूँ
कालोपाटिको परिधी भित्र
भावनाको आकाश देखाएको हूँ
दिनभर कालोपाटिमा घोटिएर
हिरा उमार्न सिकाएको हूँ
बुढेसकालका मघुरो आँखाहरूले
मैले जीवनको उज्यालो देखाएको हूँ ।
पुरस्कार स्वरूप
म अचेल माफिया भएको छु
म लुटाहा भएको छु
म चोर दलाल पनि भएको छु
तर मैले दिएको ज्ञान किन माफिया हुँदैन?
तर मैले बाँडेको ज्ञान किन चोर दलाल हुँदैन?
किन लुटाहा हुँदैन ?
मान्छेहरूलाई लाग्छ
शिक्षकको खाने मुख हुँदैन
शिक्षकको भोक लाग्ने पेट पनि हुँदैन
शिक्षकको घर अनि परिवार हुँदैन
शिक्षक मान्छे होइन ऊ बाच्नु पर्दैन
नाङ्गो शरीर छोप्नु पर्दैन
घाम पानीबाट बच्नु पर्दैन
मानौ शिक्षक ढुङ्गा हो जाडो हुँदैन
उसलाई बाक्लो वस्त्र चाहिँदैन
मलाई लाग्थ्यो
म आफू पग्लिएर
अरुलाई प्रकाश दिएको छु
म आफू घोटिएर
अरुलाई साँध लगाएको छु
आफू सधै चिसो भुईमा उभिएर
अरुलाई जीवन बुझाएको छु
तर
यी सब गलत लाग्छन् मलाई आज
म माफिया भइरहँदा
म लुटाहा भइरहँदा
मै माथी शङ्का गर्दै टुलुटुलु हेरिरहन्छन्
मेरा आदर्शहरू
मैमाथि खनिन्छन् मेरा चक डस्टर
अनि कालोपाटिहरू
म आज एकलै लडिरहेको छु
बलेर मैन बिर्सनेहरूसँग
खोलो तरेर लौरो बिर्सनेहरू सँग
अनि मुस्कुराउने र ओठ बिर्सनेहरू सँग
फूल फुलाएर धरती बिर्सनेहरू सँग
मैले पढाएकाहरू
डाक्टर अनि इन्जिनियर
पाईलट अनि प्रोफेसर
नेता अनि न्यायाधीश
वैज्ञानिक अनि विचारक
भन न
अनि म चाहिँ किन माफिया ?
मन सहिनसक्नु दुखेको छ
तर पीडा लुकाउनु छ
माफियाको अर्थ नबुझ्ने अवोधहरूलाई
मैले अझ बुझाउनु छ
डस्टर अनि चकको शक्ति कति हुन्छ
त्यो पनि सुझाउनु छ
आफैले उमारेका हिराहरूलाई
पुछपाछ गरेर चम्काउनु छ
कालाहरूलाई पखालेर
फेरि सेतो धरती निर्माण गर्नु छ ।
यो अभियान लामो छ
त्यसैले, हे भगवान्.. !
बिन्ती छ, मलाई अर्को जन्ममा पनि
शिक्षक नै बनाइदेउ !!!
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































