प्रेम राई ‘परीक्षित’निष्तब्ध कविता
कि म बाध्य भएर तिम्रो कालो इतिहास प्रस्तरमा खोप्न सकूँ छिनोका निर्मम धारहरूले र देखाउन सकूँ कुकृत्यको लिला ! पर्दाफास गर्न सकूँ ठूलो महल भित्रका एक कुरेत साना मनहरू !

त्यही आकाश
जसलाई म आफ्नो ठान्छु
र छुन खोज्छु
आफै बङ्लङ्ग पछारिन्छु
त्यही धरती
जसको काखमा लुट्पुटिन खोज्छु
रमाउँदै अबेरसम्म
तर चिप्लिएर बल्ड्याङ् खान्छु
त्यही हावापानी
जोसङ्ग प्रेमिल कुरा गर्न खोज्छु
मन उदाङ्गो पारेर
तर उहिबाट बगाईन्छु अनि उडाइन्छु पर… पर…
निष्तब्ध छु आज
अनि निष्तब्ध छन् मेरा कलमहरू
निःशब्द छन् अवोध मेरा शब्दहरू
र एकाएक बरफिएका छन् मेरा भावनाहरू
तिमी आफै भन त
यति बेला कसले बुझ्छ कविता ?
कसले सुन्छ सिमान्तकृत भावना ?
अनि म कसरी लेखूँ
फूल रोएको कविता ?
म कसरी लेखूँ
घाम हराएको कविता ?
अनि म कसरी लेखूँ
सिमानै सिमाना कोरिएको देशको कविता ?
कसरी बुझ्न सक्छ
तरबार अनि बन्दुकहरूले कलमको भावना?
कसरी अनुभूत गर्न सक्छ
कागजका रङ्गीन नोटहरूले
भूइँमाछेका दमित एक पोल्टा रहरहरू ?
अनि म कसरी लेख्न सक्छु कविता
भावना हराएका कंक्रिट छातिहरूमा ?
बस्
भाँचिदेऊ मेरो कलमको निब
कि म बाध्य भएर तिम्रो कालो इतिहास
प्रस्तरमा खोप्न सकूँ
छिनोका निर्मम धारहरूले
र देखाउन सकूँ कुकृत्यको लिला !
पर्दाफास गर्न सकूँ
ठूलो महल भित्रका एक कुरेत साना मनहरू !
०००
Subscribe
Login
0 Comments
Oldest







































