प्रेम राई ‘परीक्षित’बन्सोको साम्राज्य
तिनै बिस्तारवादी बन्सोहरु मलाई आदेश दिन्छन् तिनै बिरसिला घुर्यानका साम्राज्यबादी स्वार्थी नर्कटहरु अनि मोठमा बसेर मलाई पूज्न लगाउँछन् तिनै लहरा बन्सो नर्कट अनि बाबरीहरु !

प्रेम राई परीक्षित :
लहराले रुख बटारेपछि
अचेल म रुख चिन्नै छाडेको छु
मान्छेहरु ठान्छन्
माथिमाथि चढ्ने लहरा नै रुख हो
बन्सोले धानबारी भरेपछि
म अचेल धान चिन्नै छाडेको छु
मान्छेहरु ठान्छन्
धानबारीभरि हल्हलती बढेको
बन्सो नै धान हो
उखुलाई नर्कटहरुले घेरेपछि
अचेल म उखु चिन्नै छाडेको छु
मान्छेहरु ठान्छन्
माथिमाथि अग्लिने नर्कट नै उखु हो
तुलसीलाई बाबरीले घेरेपछि
अचेल म तुलसी पनि चिन्नै छाडेको छु
आजकल मान्छेहरु ठान्छन्
तुलसीलाई सिमान्तकृत बनाएर
बासना छर्ने त्यो बाबरी नै तुलसी हो
आजकल मेरै कारण
लहराहरु स्थापित भएका छन्
रुखहरु बिस्थापित भएकाछन
र लहरा रुखमाथि शासण गरिरहेछन्
बन्सोहरुले धानमाथि
अबिच्छिन्न कब्जा जमाइरहेका छन्
नर्कटहरुको साम्राज्य चलिरहेको छ
आजकल मेरै कारण
बाबरीहरुले तुलसी छोपिरहेका छन्
आजकल मेरो आँखा
सनग्लास लगाएर सन्सार हेर्छ
चिन्दैन रुख र लहरा
लहरालाई रुख ठान्छ
र फलको आशा गरिरहन्छ
आजकल मेरो आँखा
झण्डाहरुको रेटिना लगाएर
साउनमा आँखा फुटेको गोरु झैं
सँधै सुकेका नर्कटहरुलाई उखु देख्छ
र झरिलो रस आश गरिरहन्छ
धान र बन्सो चिन्दैन
धानलाई बन्सो ठानेर गाई चराउँछ
र बन्सोलाई धान भनेर मङ्सिर पर्खिरहन्छ
आजकल मेरा नाकहरुले
चिन्न छडेका छन् बाबरी र तुलसीहरु
तुलसी फाँडेका छन्
र तुलशी मोठमा रोपेका छन् बाबरीका झाङ्हरु
मेरा कान सुन्दैनन् गीत कविताहरू
अनि जीवन दर्शनका कुराहरु
लाटा भएका छन् सुकिला मेरा चर्महरु
किन दुख्दै दुख्दैन मलाई
जति हिर्काओस् बेथितिका हथौडाहरुले ?
जति थिचोस् कृतिम पहाडहरुले ?
आजकल
म ईन्द्रीयबिहीन भएको छु
मलाई चलाउछन् तिनै लहराहरु
ममाथि राज गर्छन्
तिनै बिस्तारवादी बन्सोहरु
मलाई आदेश दिन्छन्
तिनै बिरसिला घुर्यानका
साम्राज्यवादी स्वार्थी नर्कटहरु
अनि मोठमा बसेर
मलाई पूज्न लगाउँछन्
तिनै लहरा बन्सो नर्कट अनि बाबरीहरु !
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































