
बेस्ट छोबु पदक
'तपाईंको भन्नु केही छ आमा ?' 'छ बाबु । यस्तो पुरस्कार दिनकै वितरण गर्ने व्यवस्था मिलाउन सक्नुहुन्छ बाबु ?' 'किन र आमा ?' पत्रकारले प्रश्न गरे ।

हरि खनाल :
सान्यको घरमा हिजो अचम्मै भयो । महिनौँदेखि नधोइएका सान्यकी सासूका कपडा धोइए । वासिङमेसिनमा हालेर पनि होइन, बुहारी सान्य आफैँले हातले धोइन् । झण्डै छ महिनादेखि नफेरिएका सासू सुत्ने ओछ्यानका तन्नाहरू फेरिए । त्यति मात्रै होइन सासूका कोठामा अत्तर पनि छर्किइयाे । महिनौँदेखि ननुहाएकी असक्त सासूबज्यैलाई मनतातो पानीले नुहाइयो । नुहाइदिने काम पनि यसअघि महिनौँदेखि नछुने गरेकी सान्यले नै गरिन् । उनका पतिले पनि सामान्य सहयोग गरे। सान्यले सासुबज्यैको हात र गोडाका नङ काटिदिइन् । नुहाइदिएपछि सासुबज्यैको शरीरमा तेल पनि लगाइयो । घरमा काम गर्ने सेवकले होइन सान्य र उनका पतिले पालैपालो गरे । उनीहरूले बुढीआमाको कपालमा तेल लगाइदिएर कोरीबाटी गरिदिए ।
प्रायः एउटा आलुमुनियमको थालमा खाना राखेर परैबाट थाल घचेट्ने परम्परा पनि त्यस दिन पालन गरिएन । काँसको थालमा दालभात तरकारी अचार लगायतका मीठा परिकार बनाएर खुवाइयो सान्यको सासूलाई । त्यो खुवाउने काममा पनि सान्य र उनका पति दुवैजना खटे । त्यति मात्रै हो र ! सान्यले एउटा हात र उनका पतिले अर्को हातमा समातेर बुढीआमालाई डोर्याउँदै वगैँचा र घरको वरिपरि पनि डुलाए । साथीभाइ, आफन्त, सान्यको पति सान्य उनको छोरा र माइक नाम गरेको कुकुरलाई बाहेक अरूलाई पहुँच नभएको बैठक कोठा पनि सान्यको सासूका लागि खुला भयो । उनले टिभि खोलेर सासूआमालाई केहीबेर मनोरञ्जन गराइन् ।
गोडा लगलग काँप्ने सासूआमालाई जबर्जस्ती उठाएर भजनमा नाचेको अभिनय पनि गराइन् । सान्य र उनका पतिले आमालाई अँगालो हाले । भोलिपल्ट पनि बुढीआमालाई छोराबुहारीले त्यस्तै सेवा गरे। बिहानपखको खाना सान्यले खुवाइन् । उनले सासूआमालाई गाडीमा राखिन् । छोराले गाडी चलाए । उनीहरू एउटा कार्यक्रमस्थलमा पुगे ।
एउटा कुरा पाठकवृन्दको कानमा भनूँ ? सान्यले कार्यक्रमस्थलमा पुग्नासाथ सासूआमालाई चुइगम मुखमा राखिदिँदै भनिन् यो हामी नफर्कनेबेलासम्म नथुक्नू । कार्यक्रमस्थलमा अजबगजब रौनक थियो । सान्य र उनका पतिले बुढीआमाका लागि हिजो र आज गरेका सबै क्रियाकलापहरूका तस्विर प्रदर्शन भएका थिए । वरिपरि भिडियो प्रदर्शनी पनि भएको थियो । पाँच ठाउँमा पाँच भिडियो थिए । एउटाचाहिँ सान्य र उनका पतिले गरेका हिजो र आजको गतिविधिमा केन्द्रित थियो ।
‘आदरणीय महानुभावहरू । बेस्ट छोबु याने कि छोराबुहारी प्रतियोगिताको अन्तिम मूल्याङ्कन नतिजा घोषणा हुँदैछ । केहीबेर धैर्य गर्नुहोला ।’ उद्घोषक बोले । प्रथम बेस्ट छोबु पदक प्रमाणपत्र र नगद पुरस्कार सान्य र उनका पतिले जिते । बधाइको ओइरो लाग्यो । मानिस चिच्याए छोराबुहारी होस् त सान्य र उनको पतिजस्ता ।सामाजिक सञ्जालमा सान्य र उनको पतिको भजन कीर्तन मात्र थियो । युट्युबमा उनीहरूकै बखान थियो । छोरा र बुहारीले संयुक्त रूपमा पुरस्कार थापिरहँदा बुढीआमाका आँखाबाट भने आँसु चुहिरहेकाे थियाे । एकजना पत्रकार नजिकै गए र सोधे ‘आमा तपाईं किन रुनुभएको ?’
बुढी बोल्न सकिनन् । किनभने उनको मुखमा चुइगम थियो । चलाख पत्रकारले मुख खोल्न लगाए र चुइगम फाल्न लगाए । ‘लौ भन्नुहोस् कस्ताे लाग्दैछ किन रुनुभएको ?’
‘खुसीले रोएको बाबु ।’
‘तपाईंको भन्नु केही छ आमा ?’
‘छ बाबु । यस्तो पुरस्कार दिनकै वितरण गर्ने व्यवस्था मिलाउन सक्नुहुन्छ बाबु ?’
‘किन र आमा ?’ पत्रकारले प्रश्न गरे ।
‘खै किन किन ?’ बुढीआमा किच्च हाँसिन् ।
०००
धादिङ
यो सासू लाई कैावा लाई बेलपाके शो सरह हो