साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नशाको लत र जीवनको सहादत

एउटा बाघ बौलायो भने बस्तीभरिनै मान्छे मार्ने लगायतका उत्पात मच्चाउन सक्ला । तर राज्य नेतृत्वको दम्भ र स्वार्थले राष्ट्रनै सङ्कटमा पर्न सक्छ । अशिक्षित, कुकर्मी, दम्भी शासकको उपस्थितिले सारा राज्ययन्त्रनै निकम्मा गराउन सक्छ ।

Nepal Telecom ad

कुमार खड्का :

“बुद्धि, विवेक हिनभै मान्छे पशुतूल्य हुन्छ
बेकामको लास बरु चारखुट्टेको मूल्य हुन्छ
डङ्का पिट्ने, लुट्ने मात्र, धर्तीका भारहरू
ताछ्नु पर्ने ऐंजेरुझैँ जीवन मरे तुल्य हुन्छ ।”

नशा पनि धेरै थरिका हुन्छन्, विभिन्न नशालु तत्व र त्यस्का बहुआयामिक गुणहरूले नशा चढ्ने गर्छ । लागू पदार्थ, प्रचुर धनसम्पति, श्रोत, साधन, बल, सामथ्र्य तथा यौवनको नशा । अझै भनौँ सारा तत्वहरूको एकमुष्ट सम्मिश्रणले त मान्छेमा सुपरम्यान बनाउने दम्भ र घमण्डको नशा प्राप्त हुने रहेछ । प्रत्येक कुराको सकारात्मक वा नकारात्मक दुई पक्षीय प्रभाव हुने गर्छ । त्यसैगरी हरेक प्रकारका नशाहरूको छुट्टाछुट्टै गुण, पहिचान र विशेषता पनि हुन्छन् नै । तर जे सुकैको नशा होस्, जो सुकैमा चढोस्, सम्बन्धित हर्कतवाला भन्दा अन्य दोश्रो बर्कतवालाले महसुस गर्दा नकारात्मक पक्ष बढी हावी भएको देख्छ । यसरी बुझिन्छ कि नकारात्मक पक्ष हावी गराउने हो भने नशा सेवन गर्नु, गराउनुपर्छ या नशामा चढ्न, चढाउन सक्नुपर्छ । नशा चढ्नु भनेकै शरीर र मस्तिष्कमा असन्तुलित भावना र कम्पन पैदा गर्नु, गराउनुनै हो । त्यसैले पनि समग्रमा नशा नकारको अभिव्यक्ति हो । यस्को नाजायज प्रयोगले मानिस विवेक शून्य र पशुतुल्य हुन्छ भन्न हिक्किच्याउन पर्छ, जस्तो लाग्दैन ।

रुपमा या धुलोको गोलीमा या धुवाँको सर्कोमा अत्यधिक सेवन गरेर कृत्रिम रुपमा नशा चढाउनु एउटा कुरो, अकर्म र कुकर्मबाट आर्जित पदीय शक्ति र सम्पत्तिले स्वभाविक नशा चढ्नु अर्को कुरा । बालापन देखिनै वातावरणिय प्रभावको कारण लाग्ने बानी, व्यहोरा, खराव या असल आदतको नशा एउटा कुरो, शारीरिक शक्ति र श्रोत, साधनको पहुँचले अन्जानमा चढ्ने अनावश्यक आत्म विश्वासको नशा अर्को कुरा, उमेर, बल, वैँश र स्वयं सर्वोच्चताको अहंपना याने सुपेरियर कम्प्लेक्स (superior complex) को कारण प्राकृतिक रुपमै सृजना हुनसक्ने नशा अर्को कुरा । नशा जेसुकैको होस्, अन्ततोगत्वा प्रत्यक्ष वा परोक्ष रुपमा व्यक्ति, समाज, राष्ट्रलाई हानिकारकनै हुन्छ ।

“नशामा नशा पसेपछि
नशाकै आदत बसेपछि
बुद्धि, विवेक भासमा धसेपछि ।”

हुन त औषधिको पनि अनावश्यक र अत्यधिक प्रयोगले नशा चढाउने काम गर्छ । यसले विस्तारै मन्द विषको रुप धारण गर्नसक्छ । तथापि आफ्नो इज्जत् अस्तित्व, स्थान, पहिचान, राष्ट्रभक्ति तथा स्वाभिमान जस्ता अहं तत्वहरूको रक्षार्थ आफैँ भित्र दमित खुवी, शक्ति सामथ्र्य आत्मशक्ति, शारीरिक तथा मानसिक सिनर्जी (synergy) लाई उज्जागर गराउँदै होसियारीपूर्वक चढाइएको संवेदनशील नशाले सकारात्मक ऊर्जाको उपस्थिति गराउन अहं भुमिका भने सृजना गर्न सक्छ ।

वास्तवमै आजकलका आम मान्छेहरूमा महारोग भएर तेर्सिएको छ, नशाजन्य पदार्थले सृजना गराउने र दम्भले सृजना गर्ने, गराउने नशारोग । जति मान्छेको धन, मान पदवी बढ्दै जान्छ, बुद्धिमा खियालाग्दै विवेकको घैँटोमा बिर्को लाग्दै जाने गरेको देखिन्छ । आज्ञाकारी मान्छे पनि अटेरी र अघोरी हुदै गलत दिशामा बटारिँदै जाने गरेको महसुस हुन्छ । नशा चढेपछि हातखुट्टा भन्दा मुखार बिन्दुबाट फूलबुट्टा ज्यादा भरिने रहेछन्, मुख, हातखुट्टा चलायमान हुँदा पनि चालको गति गलत काम र प्रयोजनमा अभ्यस्त हुने रहेछ । खोपडीमा दिमागी चिन्तन, चेतन शक्ति र क्षमता भरिनुको साटो नशा गढेपछि स्वयं सुन्निँदा पनि मोटाएको अनुभूतिका भ्रमले जरा हाल्ने रहेछन् । एथार्थमा वास्तविक शारीरिक नसा रोगले ग्रस्त अपाङ्ग बिरामी भन्दा माथि उल्लेखित खराव लत र दम्भको नशा घातक हुनेकुरा घाम जतिकै छर्लङ्ग छ ।

हिजो घरायसी र सामाजिक मर्यादामा बस्ने मानिसहरूआज मानविय संवेदना समेत बिर्सिँदै छताछुल्ल स्वेच्छाचारी बनेर ठडिँदै छन् । आफू भन्दा साना, निम्छरा, कमजोर वर्गलाई माया गर्ने, आफुभन्दा ठुलालाई मान, मर्यादा र सम्मान गर्ने संस्कार बिस्तारै नष्ट हुदैछ । विशेषगरि पूर्खाको विरासत भजाएर चिट्ठाको अपुताली स्याहार्दै बाघको छालामा दाइँ गर्न खोज्ने स्यालहरूआज जङ्गबहादुरको चाँदतोडा र कालो घोडा खरिद गर्ने दाउमा आकाश, पाताल जोड्ने प्रयासमा प्रतिस्पर्धा गर्दैछन् । लुट खसोट, झुट्मुट र कालकुट सोचले होस्, कि दान, चन्दाको द्रव्य स्याहार्ने दरिद्र मानसिक भुत चढेर होस्, सत्ययुगमा मधुकैटव दैत्यले समुन्द्रको पिँध पिँध छान मारेझैँको हर्कतमा मान्छेहरूविच्छित्तिको पागलपनले भौतारिँदै छन् ।

दिमागी संवेदना ह्रास हुनाको कारण मानिसहरूमा बिर्सिने, तर्सिने, लापरबाही गर्ने, च्याँठिने, मात्तिने, आत्तिने वा मौनता साँध्दै गम्भीर हुने समेतका मानसिक समस्याले गिजोलिरहेको देखिन्छ । ठुलाबडा, पावर र पहुँच वाला व्यक्तित्वहरूको छिट्टै रक्तचाप चढ्ने, रिस, आक्रोश बढ्ने यथार्थ पनि सामान्य कुराझैँ देखिएको छ । उनीहरूमा आफूभन्दा कमजोर वर्गलाई हेयको दृष्टिकोणले हेर्ने, ऐन, मौकामा आक्रोशित रुप देखाउने प्रवृत्ति बढ्ने रहेछ, भने आफूभन्दा ठुलालाई काखी च्याप्ने या मिलेसम्म साइनो लाउँदै अङ्गालो मार्न खोज्ने वा हदैसम्म गिरेर उस्को चाकरी र स्वार्थको लोभमा तलुवानै चाट्ने जस्ता मानसिक विकृत्ति समेत देखा पर्नेरहेछ ।

नशाको पनि प्रकार र विभिन्नता हुनेगर्छ । यस्को स्तर हुन्छ, श्रेणी हुन्छ, निश्चित ट्रेडमार्क र ब्रान्ड हुन्छ । श्रोत, प्रभाव, मौद्रिक, अमौद्रिक मूल्य समेत कायम भएको हुन्छ । सामान्यदेखि विशेष प्रभावका चरणबद्ध अवस्था सृजना भएका हुन्छन्, नशा । भावदेखि सहभावसम्म, आहारविहार देखि स्वभावसम्म, अनावश्यक दबावदेखि भौतिक र आत्मगत जवाफसम्ममा नशाको गहिरो प्रभाव र सम्बन्धका लगाव रहेको देखिन्छ ।

आजकल फुटपाथेदेखि छातेसम्म, खान्दानियाँदेखि खातेपाते र अभिजातेसम्म नशाका सोखिन देखिन्छन् । योगीदेखि जोगीसम्म, भोगीदेखि रोगीसम्म नशाका भुक्तभोगी देखिन्छन् । शक्ति सामथ्र्य हुनेले त दम्भ देखाउछ, कुन ठूलो कुरा भयो र ? तर आजकल प्रायः सामान्य फुटपाथे किशोर, युवाहरूपनि दोश्रो व्यक्तिसँग कुनै कुरा, प्रसङ्मा वादविवाद पर्ने बित्तिकै एक आपसमा भन्ने गर्छन्, “तैँले मलाई चिनेको छस् ? म को हुँ …?” आखिरमा एकापसमा चिनेका होलान्, नहोलान्, खासै सामथ्र्य केही नहोला, होला पनि …! तथापि उक्त उद्गार भावले आजको युग दम्भको युग हो, भन्ने कुरा भने प्रष्ट पार्छ । अहिले मान्छेको दिमागमा केही न केही कम्प्लेक्स छ, र दिमागमा नशालु प्रभाव स्वत उपस्थित भएको देखिन्छ, भन्ने कुरा दर्शाउन मात्र खोजिएको हो …!

चियापानदेखि मदिरापानसम्म, कफिको चुस्कीदेखि कुल्फिको फुस्कीसम्म, बिँडी, चुरोटको धुवाँदेखि खैनी, सुर्तीको स्वाँ फ्वाँसम्म । गाँजादेखि भाङ, धतुरो र खैरो हिरोइनदेखि कोकिनको जुठोपुरोसम्म । ट्याबदेखि सुइ मार्फतको जीवन जलसम्म, नानीदेखि मान्छेको जवानीसम्म नशाको अविरल प्रवाह भइरहेको हुन्छ । नशा कारण हो भने असामान्य दिमागी र शारीरिक अवस्था लगायतका दम्भ, घमण्ड नशाकै परिणाम हुन्छन् । स्रोत र वाहक भने नशालु पदार्थ, शारीरिक मानसिक अवस्था, प्राकृतिक र मानविय स्वभाव, पर्यावरण, शिक्षा, चेतना स्तर, शक्ति, पहुँच, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक आधारहरू, राज्यका कानुनी तथा नीतिगत मूल्यमान्यताहरू समेत हुन सक्छन् ।

वास्तविक नशाका पारखी र अवास्तविक नशाका शोखिनहरूका पनि फरक फरक अस्तित्व र धरातल हुन्छन् । स्वछन्दतामा नशा पिउने निराशावादीहरू भन्दा उदण्ड अहं र अहङ्कारवादीहरूको सङ्ख्यामा बढोत्तरी हुँदैछ, समाजमा । प्रेम र आकर्षणमा रम्न चाहने मदहोसी जिनिस भन्दा घृणा र अपराधमा जम्न चाहने वास्तविक नियतका मानिसहरूनै दोषी, बढि घातक र बेहोशी देखिएका छन्, चल्तिफिर्तीमा ।

नशा, दम्भ, स्वार्थ र त्यस्का परिणाम तथा असरहरूनशालु पदार्थ, त्यसको गुण, मात्रा, प्रकार अनुसार उत्सर्जन हुने कुरा पनि हुन् । सानो मान्छेको सानै कुरा, ठुलो मान्छेको ठुलै कुरा हुन्छन् । सामान्य मान्छेले रक्सी खाएर हो हल्लानै गरे पनि प्रभाव र असर सानो क्षेत्रमा मात्र पर्नेगर्छ । तर पदीय व्यक्तित्वको पदीय दम्भ र अमर्यादित व्यवहारले त्यसको प्रभाव तथा असर तुलनात्मक रुपमा ठूलो क्षेत्रमानै पर्ने हुन्छ । सामान्य बिरालो रिसाउँदा कसैको घरमा धुरीखामो चिथोरेर रिस शान्त गर्ला, ढाडेलाई दम्भ चढ्यो भने आफ्नै बच्चा समेत हत्या गर्न सक्ला । एउटा बाघ बौलायो भने बस्तीभरिनै मान्छे मार्ने लगायतका उत्पात मच्चाउन सक्ला । तर राज्य नेतृत्वको दम्भ र स्वार्थले राष्ट्रनै सङ्कटमा पर्न सक्छ । अशिक्षित, कुकर्मी, दम्भी शासकको उपस्थितिले सारा राज्ययन्त्रनै निकम्मा गराउन सक्छ । उनीहरूलाई त्यतिकै पदको नशाले छोप्छ, सन्निपात हुन्छ, होस गुम हुन्छ, अनावश्यक बर्बराउँछ, चाहिने ठाउँमा जिब्रो लर्बराउँछ, टेक्नुपर्ने स्थानमा धर्मराउँछ, तर अनावश्यक कार्यमा मात्र बेमौसमी चल्मलाउँछ । त्यसैले भन्न मन लाग्छ…

“जुँगा ताउ लगाउनेको नशाले इज्जत डगेको हुन्छ
अस्तित्वको शेष छैन, घातको सियोले तगेको हुन्छ
देशको लागि रगत दिने भन्छन् भोका जुकाहरू
जसको नसा नसा भित्र प्रदुषित सुरुवा बगेको हुन्छ ।”

आजको अवस्थामा वास्तविक नशा भन्दा सत्ता, स्वार्थ र दम्भका नाजायज नशाले समाज र राष्ट्रलाई गाँजिरहेको अवस्थाबारे सबैलाइ महसुस होस्, सम्बन्धित कुकर्मीको चेत र चेतना भरियोस् । तिनका सत्ता र शक्तिको नशा चुरचुर होस्, सद्बुद्धि फिरोस् भन्न चाहन्छु ! बाँकी सबैको जय होस् !!
अस्तु…!!!

०००
आलापोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
तीन ठोक्तक

तीन ठोक्तक

कुमार खड्का
निर्वाचन

निर्वाचन

कुमार खड्का
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x