रामप्रसाद पन्थीछेपारोको रङ्ग
रङ्ग बदल्ने अजीवको जीव नै मान्छे हो । मान्छेले जस्तो छेपाराले रङ्ग बदल्न सक्दैन । त्यसैले अचेल मान्छे छेपारो जस्तो र छेपारो मान्छे जस्तो लाग्छ । आफै पनि भ्रमित हुन्छु- म आफै मान्छे हो या छेपारो प्रजातिको ?

रामप्रसाद पन्थी :
समयलाई समात्नेहरू समयमै सफल हुन्छन् भनेर सोमनाथ सरले भन्नुहुन्थ्यो । मेरो मोटो बुद्धिले अहिलेसम्म यस भनाइको फेद टुप्पो फेला पार्न सकेन । समय समात्न कति यत्न गरें भन्ने कुरा मलाई मात्रै थाहा छ । हातले समात्छु भनेर कतिपल्ट पाखुरा सुर्किएँ । खाली हातले हुँदैन होला भनेर चिम्टा, जाली, बल्छी, चुम्बक, सन्नासो, पिलास, गिलास, रेन्ची… के मात्रै जुटाइँन मैले ? तर हात लाग्यो शून्य ।
मेरो बुद्धिमा कुनै सुद्धी नपलाएपछि मुखिया मानबहादुरको दैलो कुर्न पुगेँ । धनुझैँ नुँगेर मुखियाको खुट्टामा मेरो भुइँफुट्टा टाउको टेकाएर शिष्टाचारको लोकाचार टक्र्याएँ । मुखिया बासँग नयाँनौलो हालखबर सोध्दा बाझले बेलिबिस्तार लाउदै भनेँ, “नयाँनौलो के हुन्तो र कान्छा म बुढाको ? उबेला समयलाई चिन्न सकिएन । अहिले पछुतो मात्रै लाग्छ ।”
“उसो भए अहिले चिन्नु भयो त मुखिया बा ! समयलाई ?” मेरो चिन्ताको विषय नै यहीँ थियो । समयलाई चिन्न सकेको भए समात्थेँ पनि होला ।
मुखिया बाझले लामो सुस्केरा हाल्दै भने, “चिनेर के गर्नु कान्छा ? अब त न वाणी फेर्न सकिन्छ न बानी । समयअनुसार चल्न छेपारोलेझैँ रङ्ग फेर्नुपर्छ । मेरो बुझाइ, विचार र जीवनदर्शन हो यो ।” यति भन्दै मुखिया बा गाडी चढेर गाउँपालिकातिर दौडिए । बिलखबन्दमा बाँधिएको म सिधै सोझिएँ बुकुरातिर ।
राति अबेरसम्म निद्रा लागेन । मुखियाको कुराले मेरो दिमागै घुमाइदियो । चिन्ताको विषय थियो- छेपारोलेझैँ रङ्ग कसरी फेर्ने ? कसरी, किन फेर्छ छेपारोले रङ्ग ? रङ्ग फेर्नुको कुनै रहस्य अवश्य होला ? म निष्कर्षमा पुगेँ- रङ्ग फेर्नुको फाइदा पक्कै छ ।
उज्यालो हुनासाथ म रङ्ग फेर्ने अभियानमा लागिहालेँ । बजारबाट अनेक किसिमका रङ्ग किनेर ल्याएँ । घोली घोली शरीरभरि रङ्ग दलेर दिनकै गाउँ घुम्न थालेँ । गाउँलेहरू रमिते भने । कतिले पागल भने । जिस्क्याउने र खिज्याउनेको कमी भएन । समयलाई समात्न छेपारोलेझैँ रङ्ग फेरको म पागलमा परिणत भइसकेको थिएँ ।
समयअनुसार छेपारोलेझैँ रङ्ग नफेर्ने गाउँलेहरू नै पागल हुन् । मेरो अन्तरआत्माले यहीँ भन्थ्यो । तै पनि अरुले पागलको उपमा दिएपछि झसङ्ग भएँ । कागले कान लग्यो भन्दैमा कागका पछाडि नदौडी कान्छा भनेर सपनामा बाले भन्नुभयो । म ढुक्क भएँ ।
अब मेरो अनुसन्धानको विषय छेपारो भयो । बिहान भाले नबास्दै छेपारो खोज्न निस्किई हाले । अलिक दिन लगाएर छेपारोको आनीबानी र स्वभाव बुझ्ने काममा दत्तचित्त भएँ । मान्छेको सँगत गर्दा सधैँ दुःख पाइयो । छेपारोको संगतले रमाइलो मात्रै भएन तत्वज्ञान प्राप्त भयो ।
अनुसन्धानले भन्यो- छेपारो मानिसको मित्रजीव हो । अन्नबालीलाई नोक्सानी पुर्याउने कीटपतङ्ग खाने, परागसेचनमा सहयोग पुर्याउने, वातावरणको स्वच्छता कायम गर्ने लगायत थुप्रै कामहरू गर्दछ । आफूलाई शत्रजीवबाट बचाउन , प्राकृतिक रूपमा समायोजन हुन रङ्ग फेर्दछ । मानिस नै त्यस्तो फटाहा प्राणी हो जसले आफ्नो कर्तुत अरुमाथि थोपर्दछ ।
निष्कर्षले भन्यो- मानिसलाई छेपारोसँग तुलना गर्न मिल्दैन । बातै पिच्छे कुरा फेर्ने । ढाँट्ने, छल्ने, लुट्ने काममा मान्छे सबैभन्दा बढी माहिर देखियो । बाहिर आदर्शका कुरा गर्ने भित्र षड्यन्त्रको जालो बुन्ने । आफूबाहेक अरूको अस्तित्व स्वीकार नगर्ने विशेषता मान्छेमा मात्रै छ ।
मेरो मन्द बुद्धिले मनमनै भन्यो- झुटको खेती गर्ने राजनीतिज्ञ, लुटको भेटी चढाउने कुटनीतिज्ञ, भ्रमको भुल्लो ओढाउने विशेषज्ञ कसमा छैन छेपारेपन ? पद, पैसा र प्रतिष्ठाले उनमत्त भएपछि रङ्ग बदल्दछ मान्छे । त्यसमाथि सत्ताको स्वाद चाखेपछि भुइँफुट्टाहरू पनि मैमत्ता बन्दछन् ।
बेलाबेलामा पार्टी बदल्ने, सरकार बदल्ने, गुट बदल्ने र कुरा बदल्ने नेता नै रङ्ग बदल्नेका नाइके हुन् । नेताले नै रङ्ग बदलेपछि त्यसको सिको कार्यकर्ताले गर्नु पर्यो । कार्यकर्ताको इशाराअनुसार जनताले नारा लगाउनै पर्यो । नेताले जसरी रङ्ग बदल्छ नीति पनि त्यसैगरी बदलिन्छ । समाज बदल्छु भन्छ । जातियता किचोल्छ । संस्कार बदल्छु भन्छ । संस्कृति बिथोल्छ । बेलाबेला देशै बदल्छु भन्दा झसङ्ग हुन्छु । सुतेर उठ्दा अर्को देशको नागरिक त बनिने हो कि ?
पढाउँछु भनेर राजनीति गर्ने शिक्षक, राष्ट्रसेवक भनेर दामका लागि फाइल फाल्ने कर्मचारी, सन्यासी भनेर कन्यातिर आँखा लगाउने ब्रह्मचारी, डाक्टर भनेर बिमारी बेच्ने आलाधारी, कालोलाई सेतो र सेतोलाई कालो सावित गर्ने न्यायधारी, धर्म बेच्ने तागाधारी सबै मुख्य प्रजातिका मानव आकृतिका छेपारा हुन् । त्यसैगरी आफ्नो पाठो पिदेश पठाएर नाठो खेलाउने पाठी, घरकी बाख्री भुलेर अर्काकी पठेङ्ग्रीसँग रमाउने बोका जसले सदाचार र चरित्रको चर्चा गरेर थाक्दैनन् तिनलाई के भन्ने ? छेपारोको संज्ञा दिए छेपारोकै अपमान हुन्छ ।
मलाई त लाग्छ सबैभन्दा, रङ्ग बदल्ने अजीवको जीव नै मान्छे हो । मान्छेले जस्तो छेपाराले रङ्ग बदल्न सक्दैन । त्यसैले अचेल मान्छे छेपारो जस्तो र छेपारो मान्छे जस्तो लाग्छ । आफै पनि भ्रमित हुन्छु- म आफै मान्छे हो या छेपारो प्रजातिको ?
अरु जीवहरू बाँच्नका लागि सङ्घर्ष गर्छन् । मान्छे अरुलाई सिध्याउन सङ्घर्ष गर्छ । भन्नुहोला- मान्छे भएर मान्छेकै बद्ख्वाइँ गर्ने ? यस्तै हो कहिलेकाहीँ कुलद्रोही बन्न मन लाग्छ । विभिषण बन्न मन लाग्छ ।
०००
रेसुङ्गा न.पा २ गुल्मी
Subscribe
Login
0 Comments
Oldest








































