रामप्रसाद पन्थीजेन्जी छाेरीलाई चिठी
तिमीले चाह्याै भने देश त के दुनिया बदल्न सक्छ्याै । कल्पनाकाे उडानले ब्रह्माण्ड चाहार्न सक्छ । छाेरी ! आकाश छेड्नु पर्छ तर आफ्नाे धरातल भुँइ कहिल्यै छाड्नु हुँदैन ।

रामप्रसाद पन्थी :
प्यारी छाेरी जेन्जी !
मुटुभरिकाे माया
छाेरी ! तिम्राे बाबा भएकाे नाताले केही कुरा राख्ने जमर्को गरिरहेकाे छु । तिमीलाई हामीले माया गरेजस्तै जस्तै हामीलाई पनि हाम्रा बाबा आमाले माया गर्नुहुन्थ्याे । मात्रै फरक तिमीसँग मात्रै एउटा भाइ छ । हामी त झण्डै एक दर्जनकै हाराहारीमा थियाैं । तिमी त कहिले बाेर्डिङ् कहिले सामुदायिक कै अंग्रेजी माध्यमका स्कुलमा पढ्याै । त्यसैले दर्जन भन्ने शब्दकाे अर्थ पनि थाहा छैन हाेला ? हओस् पनि कसरी ? यसमा तिम्राे पटक्कै दाेष छैन । याे त समयकाे माग हाे । अंग्रेजीमा नपढे/ नपढाए काे कहाँ बिक्न सक्याे र ? संसार कसरी सिक्न सक्याे र ? स्वदेश कहाँ टिक्न सक्याे र ?
छाेरी ! तिमीले प्ले ग्रुपमा ए, बी, सी, डी सिक्याै । ट्विङ्कल ट्विङ्कल लिटिल स्टार … , जाेनी जाेनी एस् पापा ..! गाउँदा हामी मख्ख थियौँ । चख्ख थियाैँ । किनभने छाेरी तिम्रा बाबाले चार कक्षामा पुगेपछि बडाे सकसले ए, बी, सी, डी काे आकार देखेकाे थियाे । बाङ्गाटेङ्गा अक्षरले यिनै वर्णहरू कापीमा केरेकाे थियाे । तिम्रा बाबाले स्कुलकाे मुख देख्न छ वर्षकाे उमेर कुर्नु परेकाे थियाे । तिमीले त पन्ध्र महिनामै अक्षरसित कुस्ती खेल्न थालेकी थियाै ।
छाेरी ! हामी त एक/ डेढ घण्टाकाे बाटाे हिँडेरै स्कुल जान्थ्याैँ । बस्ने चकटी पनि बाेकेर घरबाटै लान्थ्याैँ । हाफ छुट्टीमा टालाका बल बनाएर लात्ताले हान्थ्याैँ । घरपुगेपछि मात्रै चिसाे आटाे चिसै महीसँग खान्थ्याैँ । त्यसपछि घरायसी काममा लाग्थ्याैँ । तिमीले त पाँच मिनेटकाे पैदल बाटालाई स्कुल बस पाएकी छ्याै । बस्नलाई टेबल र कुर्सी पाएकी छ्याै। टिफिन बक्समा खाजा खाएकी छ्याै । तिमीले घरकाे काममा लाग्नु परेकाे छैन । केवल किताब समाइदिए पुग्छ । राम्रो नम्बर ल्याएर पास हुने तिम्राे चाहना पूरा भइदिए पुग्छ । तर छाेरी परीक्षाको नम्बरभन्दा व्यवहारिकताकाे नम्बर ठूलाे हुन्छ । आदर , सत्कार र सम्मानमा झुक्दा आफ्नै उचाई उचालिन्छ भन्ने कुरा कहिल्यै नभूल्नु ।
छाेरी ! स्कुल/ घरमा हामी आफै कुचाे लगाउथ्याैँ । धुलाे बढार्थ्याैं । दसैंमा स्कुल / घर आफै लिप्थ्याैं । राताे माटाे र कमेराे आफै खाेज्थ्याैँ । अहिले त तिमीले के घर के स्कुल यी सब गर्नु पर्दैन । घर, स्कुल सबै पक्की छन् । स्कुलमा पाले दाइ दिदी हुनुहुन्छ । घरमा च्यान्टी दिदीले सफा गर्नुहुन्छ । तिमीले त बस खाए दिए पुग्याे । स्कुल गएर घरमा आइदिए पुग्याे ।
छाेरी ! थाहा छैन तिमी भाग्यमानी भयाै या हामी भाग्यमानी थियाैँ ? तिमीले त धुलाे, माटाे, हिलाे र पानी चलाउनु परेन । फाेहाेरी बन्नु परेन ।
तिमीले हामीले जस्तो कट्टुमै सु र गु गर्नु परेन । डाइपरमा छाेडी दिए पुग्याे । तिम्रा आची कुकुर र कुखुराहरूले चाख्न त के सुँघ्न पनि पाएनन् । हाम्रा आची त उनीहरूले सफा चट पार्थे । तिनैले राेग व्याधी सार्थे । अहिलेका जस्ता रेष्ट रूम त्यतिबेला थिएनन् । हाम्रा त हल्गाैडी थिए । पाटाका कुनाहरूमा , झाँडी र खाेल्साहरूमा । पछि खाल्टा खनेर सेफ्टीटङ्की बनाइयाे । डाँठले बारेर पर्खाल उभ्याइयाे । जुटका बाेरा डाेर बने । भित्रकाे सुसेलीकाे स्वर सुनेर बाहिर अरूले पालाे पर्खिनुपर्थ्याे । तिमी त अटेच बाथरूममा माेबाइल खेलाउदै स्टुललाई घचेटिरहेकी हुन्छ्याै । ट्वाइलेट पेपरले टट्टी पुछ्छ्याै । फेस वासले मुख धुन्छ्याै ।
छाेरी ! तिमी सुकुमार छ्याै । तिम्रा हात पाउहरू सुकाेमल छन् । तिम्रा हातले कहिल्यै घाँस काट्नु परेन । गाेबर फाल्नु परेन । मकै खन्नु परेन । काेदाे राेप्नु परेन । तिम्रा हातमा न फाेरा परे न ठेला उठे ! खुट्टामा कहिल्यै काँडा बिझेनन् । जुकासित तिम्राे परिचय भएन । बारूला र अरिङ्गालहरू देख्नु परेन । तिम्रा खुट्टाहरूले भिर र कान्लाहरू टेक्नु परेन ।
छाेरी ! तिम्राे जिभ्राे अभागी कि हाम्राे ? थाहा छैन । हामी त मकैभट्ट चबाउँदै हिड्याैँ । मही र सातुले पेट ढडायाैँ । काेदाकाे पिठाे र राेटीले भाेक अडायाैँ । फापरकाे राेटी र गाेलभेंडाकाे चटनीले भुँडी ठडायाैँ । तिम्रा जिभ्राले चाख्न त परै जाओस् देख्नै पनि पाएकाे छैन । मेराे भन्नू केही छैन छाेरी, तिमीलाई जे मन लाग्छ खान सक्छ्याै । घरमा नभए त के भाे ? बजारमा पाकी हाल्छ । जाबाे भुटेका मकै किन खानु ? पपकर्न पाएपछि । मकैकाे आटाे किन खानु ? वासमती चामलकाे सेताे भात पाएपछि । बिना चिकेन गाँस झर्दैन तिम्राे । हाेम डेलिबेरीमा पिज्जा, बर्गर, मम र चाउमिन आएपछि ।मकैका डम्फे राेटी र गहुँकाे सुके राेटी किन खानु ? चिसाे काेक, फेन्टा, मिरिन्डा ड्यु पाएपछि ।मही, सर्वत र खुदे पानीमा किन इज्जत फाल्नु ?
छाेरी ! तिमीलाई थाहा छ ? खन्यु, बिँडुला, ऐंसलु, काफल, चुत्राे ( चाैतारी ), घँगारी, भुटुक, फँडेल, तिजु, कटुस, गिठा, तरूल, भ्याकुर, सखरखण्ड, अमिला, आरू, ओखर, आरूबखडा, नास्पाती, काक्रा र उखुका लाँक्रा आदि अनेकौं सिजन अनुसारका बिजन र फलफूल खान्थ्याैँ नि हामीले । यी कतिपयकाे नाम पनि पहिलाेपटक सुन्याै कि सायद ! ठिक छ छाेरी तिमीले रूचाउने स्याउ, अङ्गुर, अनार, आँप, स्टबरी, किबी, केरा एभाेकाडाे र ड्रागन फुडहरू मिलाएर खाऊ । नखाऊ भन्दिनँ । भरसक आफै फलाएर खाऊ । विषादी छलाएर खाऊ ।
छाेरी ! तिमीले पानी पुरी, फुल्की, चाट, चाउचाउ र चटपटे मात्रै खाएर छाक टार्दा हामीले कयौंपटक पटक अस्पतालका बेडहरू चाहर्न परेका बेथा तिमीलाई के थाहा ? तिमी त गुगल सर्च गरेर भूगोल चाहार्ने मान्छे ! मैले सम्झाइरहनै पर्दैन ।
छाेरी ! सातठाउँ च्यातिएका, उध्रिएका र टालेका कपडाले हाम्रा हिउँद र गर्मी दुवै छलेका थिए । पाेलिस्टरकाे चिसाे कमिज र टेरिकटकाे जाँगेले स्कुले पाेशाक चलेका थिए । वर्षकाे एक पटक तीज या दसैंमा मात्रै नयाँ कपडाकाे प्रवेश हुन्थ्याे । त्याे पनि मेलामेसा नछेकिएमा । छेकिए टन्टा खत्तम हुन्थ्याे । एउटा जडाैरी काेट भए गाउँभरिकै विवाह हुन्थ्याे । मागेका किलिप र तिलहरीले कतिका घरबार भए भनिसाध्ये छैन । ओैंला भाँचेर गनिसाध्ये छैन ।
साँच्चै मेरी प्यारी छाेरी ! वर्तमान युगकी जेन्जी; हाम्रा पालमा विवाह घरबाटै हुन्थे । भैंसीका भकारा भान्साघर हुन्थे । मटनकाे काम फर्सीले गर्थ्याैं । खाँदा टपरीबाट दालकाे सुप तपतप झर्थ्याे । जन्ते बाख्राे फेला परे एउटा, दाेटा टुक्रा हड्डी पर्थ्याे । नभए अलिकति घिउ तुरूक्क झर्थ्याे । हेर्दा हेर्दै मेरी छाेरी तिम्राे युगले फड्काे मारिसक्याे । ब्याङ्क्वेट, पार्टी प्यालेस् र स्टार हाेटेलहरूमा भान्सा सरिसक्याे । म त दङ्ग छु छाेरी अझै कस्ताे कस्ताे हुने हाे ?
छाेरी ! तिम्राे हातमा अहिले जुन स्मार्ट फाेन छ । अझ भनाैं तिमीले जन्मना साथ माेबाइलकाे साथ पायाै । तिम्रा बाबाले मास्टर्श डिग्री पढ्दा समेत माेबाइल भन्ने कुन चराकाे नाम हाे भन्ने थाहा थिएन । तिम्राे बाबा कयौंपटक ट्याक्टर चढेर मामाघरमा जाने गर्थ्याे । तिमीलाई त गुड्नेहरू भन्दा उड्नेहरू कम्फाेर्टेवल लाग्ने गर्छन् । यसमा तिम्राे रत्तिभर गल्ती छैन । तिम्राे सामाजिक परिवेश र सामाजिक सञ्जाल यस्तै छ ।
छाेरी ! तिमी अहिले विद्यार्थी जीवनमा छ्याै ।त्याे पनि जेन्जी पुस्तामा । तिम्रा चाहना, भावना र आकाङ्क्षाहरू पनि अनगिन्ती छन् । तिम्राे उमेर वा उमेर समूह अहिले टाेर्नाडाे वा समुद्री सुनामी जस्तै छ । तिमीले चाह्याै भने देश त के दुनिया बदल्न सक्छ्याै । कल्पनाकाे उडानले ब्रह्माण्ड चाहार्न सक्छ । छाेरी ! आकाश छेड्नु पर्छ तर आफ्नाे धरातल भुँइ कहिल्यै छाड्नु हुँदैन ।
छाेरी ! बालकृष्ण समकाे एउटा भनाइ अहिले झर्लक्क याद आयाे- “ज्ञान मर्दछ हाँसेर राेई विज्ञान मर्दछ ।” अहिले तिमीले याे भनाइमा कुनै सत्यता नदेख्न सक्छ्याै । भाैतिकवादी धेरै दार्शनिक वा विचारकहरू जीवनकाे उत्तरार्धमा ईश्वरवादी भएकाे देखेकाे छु ।
छाेरी ! देखिएका सबै सत्य हुँदैनन् । नदेखिएका सबै असत्य हुँदैनन् । तिमीले पटकपटक पटक माेबाइलमा रिचार्ज गर्नुपर्छ । ब्यालेन्स यकिन गरेर काम वा कुरा गर्नु पर्छ । हाम्राे जिन्दगी पनि यस्तै छ । माेबाइलकाे व्यालेन्स इन्क्वाइरी गरेजस्तै आफू र आफ्नो कर्तव्यलाई परीक्षण गर्दै जानू । तिमीले दिने परीक्षा जस्तो सजिलाे छैन जिन्दगीको परीक्षा । जिन्दगीको परीक्षामा कठिन प्रश्नहरू आइरहन्छन् ।समाधान खाेज्नु परियाेजना कार्यहरू गरेर ।
छाेरी ! अन्त्यमा तिमीले बुझ्ने भाषामा भन्न चाहन्छु । आमाबाबुले सन्तानकाे, गुरुले शिष्यकाे र ईश्वरले सृष्टिको सदैव भलाे चाहन्छन् । घाँटी हेरेर हाड निल्नु । बाटाे हेरेर यात्रा । कहिलेकाहीँ ज्ञानेन्द्रीयहरूले पनि धाेका दिन सक्छन् । त्याे बेला आफ्नै मनलाई साेध्नु । विचारलाई बेलगाम नछाेड्नु । भावनाले तरङ्गित हुन सक्छ । आफ्ना लागि त जाे पनि बाँच्दछ अरूका लागि बाँच्नु ।
धेरै गन्थन के लेख्नू ? सबै कुरा लेखी साध्ये पनि छैन । जिन्दगी भाेग्दै जाँदा खेल्दै, झेल्दै, पेल्दै र ठेल्दै जानपर्छ बिना पाङ्ग्राका ठेलाहरू । मैले तिमीलाई सम्झाउनै पर्ने के छ र ? मात्रै मनका भावनाहरू पाेखिएछन् । हस्त यसपटक विदा चाहन्छु ।
छिटै भेट हुने आशामा …
तिमीलाई सदैव निस्वार्थ माया गर्ने बाबा ।
०००
२०८२।०७।३०
रेसुङ्गा न पा २, गुल्मी
Subscribe
Login
0 Comments
Oldest








































