साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म त दान दिन्नँ

नयाँ जाेगीलाई अलिकति बढी नै घस्नु पर्छ । जसले जति खरानी घसे पनि भयाे । पुगेन भने फेरि आगाे झाेस्न सकिन्छ । सत्तासिनका कुर्सी खाेस्न सकिन्छ, विपक्षीलाई भ्रष्टाचारमा झाेस्न सकिन्छ ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

दान के हाे ? कसलाई दिने ? किन दिने ? भन्ने सवाल सलबलाएपछि मन पनि खलबलाउन थालेकाे धेरै दिन भयाे । याे सवालले केही दिन केही रात बबाल गरायाे । न निकास दियाे। न निदाउन दियाे । दानकाे विषयले याे नादानलाई शाेक सुर्तामा डुबायाे मात्रै ।

कुनै दिन जंगलमा गाई चराउदै गर्दा बाले गरेका कुरा भुराकाे दिमागमा झल्यास आउँदा भने मन प्रफुल्ल भयाे । बाले भनेका कुराकाे पूरा ज्ञान त याे अज्ञानलाई अझैसम्म आएकाे छैन । बाले आफ्नो सारा सम्पत्ति चुनावी दानमा सिध्याउँदा हाम्राे पाटीकाे बास भएकाे थियाे रे ! तर पनि बाले उतिबेला भनेका थिए -” बाबू ज्ञानी बन्नू। दानी बन्नू ।” हुनसक्छ बालाई पाटीकाे बास हुँदा पनि पार्टीप्रति आश थियाे । आफू जस्तै मलाई पनि दानवीर बनाउने भित्री मनमा केही खास थियाे । त्यसैले हाेला बाले मेराे नाम नै दानबहादुर राखिदिएका थिए ।

बाले जेसुकै भने पनि बा दानी भएर हामीलाई कङ्गाल बनाएकाे कुरा कहिल्यै बिर्सिन सक्ने कुरा थिएन । न त म हाम्रै महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे आनीबानीबाट अपरिचित थिएँ । बाटामा कसैले केही माग्याे भने आफूसँग भएकाे दिइहाल्ने देवकाेटाकाे बानीले परिवारमा उत्पन्न आर्थिक सङ्कटका कुरा पनि बिर्सिएकाे थिइनँ । तसर्थ म बाकाे बाटाे हिड्न चाहन्नथे । मलाई मेरै नामकाे सिकसिकाे लाग्न थालेकाे थियाे । त्यसैले जान्ने भएपछि नाम नै परिवर्तन गरिदिएँ । अब म दानबहादुरले हाेइन। धनबहादुरका रूपमा परिचित भएँ ।

मैले सम्झिएकाे छु ती दानी पात्रहरू जसकाे कथा बाबाट सुनेकाे थिएँ । जसका कथा सुनाएर बाले आफ्नो बाटाेमा हिँडाउन चाहेका थिए । ती आदर्श पात्रका सुन्दर कथाहरू कसरी भुल्न सकिन्छ र ?

अथर्वा ऋषि पुत्र दधिचिले देवताहरूकाे कल्याणका लागि अस्थि दान गरे । प्रह्लादका नाति विराेचनका छाेरा असुरराज बलीराजाले वामन अवतारसँग तीन पाउ भूमि दान गर्दा सर्वश्व गुमाए । राजा शिविले परेवाकाे प्राण जाेगाउन आफ्नै शरीरकाे मासु काटेर दान गरे । रन्तिदेवले आफूसँग भएकाे भाेजन र पानीसमेत अतिथिलाई दान गरे । महाभारतका एक याेद्धा सूर्यपुत्र कर्णले आफू दान दिएकै कारण युद्धमा मारिन्छु भन्ने जान्दा जान्दै पनि माग्ने कसैलाई न नकार्ने हुँदा कवच र कुण्डल दान गरेका थिए । बाेधिसत्वले पत्नी र सन्तान समेत दान गरेका थिए । राजा हरिश्चन्द्र , सम्राट अशाेक, राजा बिम्बिसार आदि थुप्रै पूर्वीय जगतका दानवीरहरूका कथा भुल्न सक्ने करै रहेन !

विद्यालय हुँदै विश्वविद्यालयकाे विद्यार्थी हुँदा दानका सम्बन्धमा थुप्रै किम्बदन्ती कान परेका थिए । प्रमिथसले मानव जातिलाई आगाे दान गर्दा देवताहरूबाट दण्डित हुन परेका कुरा सुन्दा आङ सिरिङ्ग नभएकाे हाेइन । तत्कालीन समयमा राेमन सम्राट सेन्सिनाटसले सत्ताकाे त्याग गरी जनसेवामा समर्पित भएका थिए रे ! सेन्ट फ्रान्सिस अफ असिसिले आफ्नो सम्पूर्ण सम्पति गरिबलाई दान गरेका थिए । सेन्ट निकाेलस दानशीलताका प्रतीक नै मानिन्छन् । जसले दान गर्दा आफ्नो नाम कहिल्यै सार्वजनिक गरेनन् । उनी निस्वार्थ सेवा , गाेप्य दान, करूणा र मानवताप्रति समर्पित थिए । खाेज्दै जाँदा यस्ता तमाम दानवीरहरूकाे लामाे लिस्ट तयार हुन सक्छ ।

दानका कुरा गर्दा मेराे पूरा खानदानले दान नदिने सङ्कल्प गरेकाे छ । जसले जे साेचाेस् कुनै प्रवाह छैन । मेरा बा पार्टीमा लागेर पाटीकाे बास गराए । बासँगै र बापछि राजनीतिमा लागेका बा , हजुरबा, दाइ – भाउजू , मामा- माइजू र भाइ- बुहारीहरूले अकुत सम्पत्ति कमाएकाे देख्दा मलाई कस्ताे हुन्छ हाेला ? तपाईं आफै विचार गर्नुहाेस् । त्यसैले मेराे प्रष्ट धारणा छ पैसा नलिई म विद्यादान दिने पक्षमा छैन । न त सित्तैमा श्रमदान गर्ने पक्षमा छु । यसकाे अर्थ स्पष्ट छ म कुनै दानकाे पक्षमा छैन । अपवाद ऋतुदान । यसकै कारण पत्नीकाे पति र पुत्र/ पुत्रीकाे पिता हुने साैभाग्य मिलेकाे छ । पुत्रीकाे पिता भएका नाताले कन्यादान त गर्नुपर्ला नि भन्नू हाेला । त्यसकाे विकल्प काेर्ट म्यारिज हुन सक्छ ।

जहाँसम्म मतदानकाे सवाल छ ; यस विषयमा मेराे प्रष्ट धारणा छ । हिजाे जान -अन्जानमा मतान्धता बनियाे । कुनै खास दलकाे दलदलमा लागेर जीवन फालियाे । मत हालियाे । अहिले त्यसरी मतदान गर्ने हातहरूलाई सिलाैटाले थिच्न मन लाग्छ । साेंच्छु साैताकाे रिसले पाेइकाे काख भिजाइदिएर के गर्नु ? आफैलाई टन्टा । त्यसले हत्केलामाथिकाे कारबाही हाललाई विचाराधीन छ ।

मैले दान दिएकाे मतकाे सदुपयाेग कम र बढी दुरूपयाेग भएकाे देख्दा दान दिने मेराे कर्म नै बिटुलाे भएकाे महसुस भएकाे छ । जन सेवामा समर्पित हुनु पर्ने मतदान अभिमानकाे हुङ्कार बनेपछि , उमेर पुगेर बैंसले मात्तिएकाे मदमत्त हात्ती जस्तो बन्न पुगेपछि , मधुशालाकाे मधुरसले मैमत्त मधुपायी हुन पुगेपछि ; किन गर्ने मतदान ? त्यसैले मेराे दृढ संकल्प छ “म त दान दिन्नँ ।”

राजनीतिका साम, दाम (दान), दण्ड, भेद चार जुक्तिमध्ये दाम (दान) एक हाे । शत्रुलाई धन दिएर अधिनमा राख्न दाम (दान)काे प्रयाेग गरिन्छ । यस अर्थमा हेर्दा राजनीतिक जगतमा दानकाे महिमा अपरम्पार भएकाे बुझिन्छ । यसैले हाेला धनप्रतिनिधिहरूले धन हालेर टिकट किन्छन् । नाेट हालेर भाेट किन्छन् । भाेट पाएर सत्तामा आएपछि, सरकारी ढुकुटी खाएपछि , सत्ताकाे नसा लाएपछि गनीगनी चाेट दिन्छन् । तै पनि बबुरा जनता प्रभुकाे शक्ति अपरम्पार मानिदिन्छन् । धुप, दीप र कलश लिएर फन्फनी घुमिदिन्छन् । मेरा लागि सुमेरू पनि तपाईं, कुमेरू पनि तपाईं भन्दै शिव पार्वतीकाे फन्काे मारिदिन्छन् । गणेश बनेर कुमारजीलाई पछारिदिन्छन् ।

हिजाे कुनै दिन मतदान जाैं, तिल, कुश र जलसहित संकल्प गरेर दिएकाे महादान ठानिन्थ्याे । तँछाडमछाड गरेर भाेट हानिन्थ्याे । जबरजस्ती दुईचार भाेट हान्नुलाई पुरूषार्थ ठानिन्थ्याे । फरक धारमा विश्वास गर्नेलाई धार्ने हात लगाइन्थ्याे । छिमेकीकाे बाेली बारिन्थ्याे । पानी बारिन्थ्याे । दसदिने दाजुभाइकाे समेत जुठाे बारिदैनथ्याे । अरू सबथाेक बारिन्थ्याे । अर्काे खेमाकाे भए छाेरीचेली चल्दैनथ्याे । डाेली चल्दैनथ्याे ।

सुन्छु, हिजाे भाेटदानी (मतपेटिका) लाई सर्वश्व ठान्नेहरू आज पिकदानी वा थुकदानी ठान्न थालेका छन् । मतदान गर्नुलाई दिक्क मान्न लागेका छन् । निर्वाचन भनेकाे धेरैमध्ये ठीक छुट्याएर गरिने छनाेट हाे भन्ने बुझाइ आज केवल भाष्य भएकाे छ । जति जाेगी आए पनि कानै चिरेका भनेजस्तै पुराना हुन् या नयाँ, बुढा हुन् या युवा सबै एउटै ड्याङ्का मुला भएपछि कसलाई पत्याउने ? कसकाे विश्वास गर्ने ?

विध्वंसबाट विकासकाे नयाँ जग हालाैं, परम्परावादी टुकी फालेर प्रविधिको नाैलाे बत्ती बालाैं भनेर राष्ट्रिय सम्पत्तिमा आगाे लगाउनेहरू पनि दियालो खाेज्दै हिडेकाे देख्दा केवल वैराग लागेर आउँछ । माछाे फुत्काएर दुलाेमा हात हाल्नेहरूलाई के भन्नू ? घरमा आगाे लगाएर हात सेकाउने अक्कलवालाहरूसित कुनै गुनासाे छैन । न त डढेलाेले सिध्याएपछि कुवा खन्नेहरूसित केही भन्नू छ । यसपालि खरानीकाे कुनै दरिद्रता छैन । जति घसे पनि पुग्छ । नयाँ जाेगीलाई अलिकति बढी नै घस्नु पर्छ । जसले जति खरानी घसे पनि भयाे । पुगेन भने फेरि आगाे झाेस्न सकिन्छ । सत्तासिनका कुर्सी खाेस्न सकिन्छ, विपक्षीलाई भ्रष्टाचारमा झाेस्न सकिन्छ । स्वार्थ मिलेमा स्वदेशी- विदेशीमा कुनै भेद छैन जाे काेहीलाई पाेस्न सकिन्छ ।

यी त हाम्रा सनातन परम्परा नै भइहाले । यसबाट काेही पनि टसकाे मस हुनेवाला छैन । चाहे त्याे जेन्जी हाेस् या अल्फा- बिटा । चाहे त्याे वृद्ध हाेस् या तन्नेरी ठिटा । सबै बिटामा बिक्ने भएपछि , आइएनजीओ छत्रछायाँमा टिक्ने भएपछि कसलाई भराेसा गर्ने ? त्यसैले मेराे एउटै धारणा छ । दिन्न भनेपछि दिन्नँ दिन्नँ । चाहन्छ जसले मेराे दान । बिक्रीमा छ भनेर जान । लिलाम बिक्रीकाे याे दान । बढाबढामा जितेर तान । हाेइन भने …! बुझिराख म फेरि पनि दाेहाेर्याएर दाबाका साथ भन्छु- “म त दान दिन्नँ । मतदान दिन्नँ ।”

०००
रेसुङ्गा न पा २, गुल्मी
२०८२ पाैष १५ लेखनाथ जयन्ती ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
दबाई कि सवाई

दबाई कि सवाई

रामप्रसाद पन्थी
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x