सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

परनिर्भरता

म यति परनिर्भर भएको रहेछु कि आफूले केही पनि गर्न सक्दिनँ, सबै थोक अरूले गरिदिनु पर्छ । मेरो शरीर मेरो नियन्त्रणमा छैन । ऊ हरेक कुरामा परनिर्भरता खोज्दैछ । म त सधैँभरि श्रीमतीमा निर्भर रहेछु । उनीबिना म केही पनि गर्न सक्दिनँ ।

Nepal Telecom ad

सृजन लम्साल :

अविरल रूपमा बगिरहने नदी जस्तो छ यो जीवन, निरन्तर गतिशील, न कहिल्यै चौतारीमा बसेर आराम गर्नु छ न कहिल्यै भन्ज्याङमा पुगेर विश्राम गर्नु छ हर्दम गतिशील छ, पहाडी नदीको पानी जस्तै बगिरहन्छ निरन्तर सलल । समुद्रमा पुगेर पनि पानीले आफ्नो गतिशील धर्म त्याग्दैन । त्यहाँ पनि सङ्घर्षरत नै रहन्छ, केही समय छालको रूपमा, केही समय बाफको रूपमा सङ्घर्ष गरेपछि बादल बनेर आकाशमा उड्दछ र सङ्घर्षकै फलस्वरूप बर्षेर पानी पुनः नदीमै पुग्दछ । यसरी पानीले जीवन यात्राको एक फन्को लगाउँछ तर उसको यात्राको बन्द कहिल्यै हुँदैन । नदीले समयलाई पछ्याइरहन्छ, त्यसैले नदी समय हो, समय बगिरहने नदी हो र मान्छेको जीवन त्यही नदीमा बग्ने पानी हो ।

पानी जस्तै म पनि समयसँग काँधमा काँध मिलाएर बग्न थालेको तीन बीस तेह्र वर्ष भएछ । समयको एक विन्दुमा पाइला टेकेपछि जीवनरूपी महानदीमा म हेलिए । अहिलेसम्म मेरो जीवनयात्रा जीवनको त्यो महानदीमा सङ्घर्षरत छ । पानीको रह बन्न पाएका छैन तर घरीघरी शरीरका अवयवहरूले रह बन्ने सङ्केत गर्न थालेका छन् । म तीसित लड्दै छु, सङ्घर्ष गर्दैछु, हार खाएको छैन । मलाई थाहा छ जीवनलाई जम्न दिन हुँदैन, पानीको पोखरी बन्न दिन हुँदैन । जीवन जम्यो भने वा रह बन्यो भने त जिउदै मर्न सक्छ जीवन । म मेरो जीवनलाई मभन्दा पहिले मर्न दिन चाहन्नँ । मेरो जीवन यात्राको एक फन्को कहिले पुग्ने हो त्यो भने उही अदृश्य शक्ति के हातमा छ ।

जीवन महानदीमा हेलिएपछि मैले कति ठक्कर खाएँ, कति हन्डर काटे, कति पहाडसँग जुधे, कति चट्टान सँग लडे, कति बगरमा घस्रे, कति मैदानमा लत्रे, कति स्वा डाले, कति भूमि भत्काएँ, कति वस्ती डुबाएँ, अन्य खोला र खहरेहरूको सङ्गतमा परेर म कति धमिलिए, कति सलिए, अहिलेसम्मको जीवन यात्रामा मैले कति सुवासिला र कति घिनाहाँ काम गरे त्यसको लेखाजोखा गर्‍यो भने त मोटै ठेली बन्न जाला तर अहिले म चराको आँखा सापट लिएर बितेको जीवन चियाउन खोज्दै छु ।

अहिले म सम्झन्छु मेरा पुर्खाको परिश्रमपूणर् जीवन, त्यो पनि त नदी जस्तै निर्मल थियो, नदीको पानी जस्तै सक्रिय थियो, कहीँ कतै विश्राम थिएन । मुटुको ढुकढुकी सँगसँगै मान्छेका कर्मेन्द्रियहरू चल्दथे । म पाँच वर्षको हुँदो है । बालकृष्ण समको कथन अनुसार बाख्रा पाठा सार्नेसम्मको उमेरको । मैले हजुरबालाई देख्न पाइनँ । मैले बा आमा र हजुरआमाको जीवन देखेँ । न आराम, न विश्रामको यन्त्रवत त्यो जीवन । हजुरआमाले नै मेरो स्याहारसुसार गर्नु भयो, पालनपोषण गर्नुभयो, बोल्न सिकाउनु भयो, हिँड्न डुल्न सिकाउनु भयो, आफ्नो क्षमतानुसार शिक्षा दीक्षा दिन भयो । अहिले ममा भएका आचार विचार र संस्कार उहाँकै छाप हो । उहाँ नै मेरो प्रथम पाठशाला हो भने जन्मदिने आमा चाही दोश्रो पाठशाला हो । जन्म दिने आमाले त आफ्ना सन्तान स्याहार्ने सुसार्ने फर्सत कहाँ पाउनु ? कुखुराको डाँकोमा उठ्यो, दैलो पोत्यो, डोको नाम्लो र तामाको गाग्री समात्यो पँधेरा धायो । सूर्योदय हुनुभन्दा पूर्व नै डाँडा पारीको पँधेरो ‘कुवादी’ बाट दुई खेप पानी खेपी सक्नु हुन्थ्यो बाआमाले । एउटा गाग्री डोकोमा त अर्को गाग्री काँधमा हुन्थ्यो बाको ।

त्यसपछि आमाका अगाडि कामका ताँती हुन्थे । घरको लिपपोत, झाड्कुचो ढिकीजाँतो, घाँसदाउरा र वस्तुभाउको स्याहार गर्दैमा बिहानको समय बित्दथ्यो । भातभान्साको काम भने हजुरआमाले गरिदिनु हुन्थ्यो । त्यसले अलि होलो त हुन्थ्यो आमालाई तर भात खाएपछि फेरि चुलो चौका गर्ने, भाँडावर्तन माझ्ने काम सकेर बाको पछिपछि मेलापात गर्न जानु पर्थ्यो । खेती पाती वा मेलापातबाट घर फर्कँदा सांझको झ्याउँकिरी बास्ने बेला भइसकेको हुन्थ्यो । भाग्यमानी थियौँ म र मेरा भाइबहिनीहरू, हामीले हाम्रो स्याहार गर्ने हजुरआमा पाएका थियौ । अरुहरूको म देख्थे बिहान कोर्कोमा थुनेर गएका बच्चाहरू मेलापातबाट आमा फर्किँदासम्म दिसा पिसाबमा डुबेर बसेका भोक र प्यासले अत्तालिएका हुन्थे । गाँनिएको स्तन चक्रेझै छाती भित्रको मुटु पनि चर्कन्थ्यो आमाहरूको तर के गर्नु ? त्यति नगरे जीवनको गति अगाडि बढ्दैनथ्यो । बाध्यताको लहरामा जेलिएको र बाँधिएको थियो जीवन ।

त्यो ठाउँ जहाँ म जन्मे र हुर्के त्यहाँ आधुनिक ज्ञान विज्ञान, मेसिन वा औद्योगिक क्रान्तिले पाइला टेक्ने त के कुरा कर्के आँखाले झाँक्नसम्म पाएको थिएन । महादेवले सतीदेवीको लास काँधमा बोकेर हिँडे झै मान्छेको जीवनले म्याद नाघेका प्राचीन परम्परालाई बोकेर हिँडिरहेको थियो । अहिले म देख्छु ठुल्ठुला शहरहरूदेखि गाउँ देहातसम्म, समथर सुगम ठाउँहरूदेखि दुर्गम पहाडका कुनाकन्दरासम्म ठूला, मझ्यौला र साना सबै खाले दाल चामल पीठो तेल मिलहरू सञ्चालित छन् । अहिलेका यी मिलहरूको सट्टा उतिखेर ढिकी जाँतो कोलहरू थिए । अहिलेका यी ठूल्ठूला उद्योग मिल कारखानाहरूले गर्ने काम त उतिखेर महिलाहरूले अतिरिक्त समयमा गर्दथे उतिखेर पनि कसैले काँचै खान्थेन र कोही भोको पनि त थिएन । मेलापातबाट फर्केपछि मेरी आमाले भोलिको लागि आँटो पीठो वा चामल छ छैन भनेर डालो छाम्नु हुन्थ्यो । डालो रित्तो देखेपछि राती अर्धनिद्रामा उँध्दै जाँतो घुमाउनु हुन्थ्यो । भोलिपल्ट बिहानै उठेर ढिकी कुट्नु हुन्थ्यो ।

जनस्वास्थ्यको कुरा गर्ने हो भने पनि उही हाल छ । उहिलेको तुलना अहिलेसँग हुन पनि सक्दैन । अहिले त स्वास्थोपचारको लागि प्रसस्तै अस्पतालहरू छन् । सबैखाले रोगको सामान्य उपचार हुने सरकारी वा निजी अस्पतालहरू छन् मेडिकल कलेजहरू छन् । मान्छेका शरीरका छुट्टाछुट्टै अङ्गका छुट्टाछुट्टै अस्पतालहरू अनगिन्ति छन् । त्यस्तै माछेका छुट्टाछुट्टै अड्ङ्ग हेर्ने डाक्टर वा विशेषज्ञहरू कति छन् कति । तीभन्दा अझ राम्रोसंग रोग पत्ता लगाउने यन्त्र उपकरण, प्रविधि र प्राविधिज्ञहरू छन् । घरीथरीका कम्पनीहरू रोग निदानको लागि औषधि उत्पादन गर्नमा तल्लीन छन् । अहिले जीवन सुरक्षित छ । स्थानीय तहमा उपचार हुन नसके ठूला सहरका वा राजधानीका ठूला अस्पतालहरू छन् । त्यहाँ पनि उपचार सम्भव नभए विदेशमा ठूला अस्पतालहरू छन् । अहिले त पैसा भयो भने मान्छेले आयु नसकिएसम्म मर्नै पर्दैन । तर अहिले म यतिखेरको हैन उतिखेरको कुरा गर्न खोज्दैछु । उतिखेर म सानो छँदा मेरो गाउँमा अस्पताल भने पनि डाक्टर वा विशेषज्ञ जे भने पनि छिपुङका एक जना बराल जिबा थिए । औषधीको नाममा उनले जानेका केही जडिबुटीहरू थिए । सानोतिनो रोगमा घोडताप्रेको पात चनौटोमा पिसेर मेरो बाले पनि चटाउनु हुन्थ्यो ।

अहिले म बराल जिबालाई झल्झली सम्झन्छु । अहलेका ठूला डाक्टर वा विशेषज्ञभन्दा कम हाम्रा बराल जिबा पनि थिएनन् । उनी रोगीको घरघरमा पुग्दथे र बिरामीलाई औषधीमूलो गर्दथे र मृत्युको मुखबाट बचाउँथे । उनले उपचार गरेपछि जे जस्तोसुकै रोग लागेको भएता पनि रोगी निको भइहाल्थ्यो । एक पटक म ३ महिनासम्म थला परेँ यमराजले मलाई आधाबाटो पुर्‍याइ सकेको थियो । छिमेकीहरूले बाँसको जोहो गरिसकेका थिए तर बराल जिबाले यमराजसँग लडेर मलाई फर्काएर ल्याए । पछि त यमराजले बराल जिबासँग क्षमा माग्यो बाँस खोज्ने छिमेकीहरूले लाज माने । मेरो गाउँमा बराल जिवापछि रोगीको रोग निदान गर्ने यदि कोही थियो भने एक मात्र ईश्वर थियो । त्यसैले म अहिलेका ठूला सर्जन वा फिजिसियनहरूलाई भन्दा बढी मान सम्मान ती बराल जिबालाई गर्दछु ।

उतिखेर मेरो गाउँ सानो थियो, त्यसको परिवेश साँगुरो थियो । गाउँको पहुँच बाहिरी दुनियाँसँग थिएन । अहिले भने यो विश्व नै खुम्चिएर एउटा गाउँ जस्तै साँगुरो भएको छ । म अमेरिकामा फलेको स्याउ खान्छु । मार्फाको स्याउ विदेश जान्छ । सोलुको चौरी, घ्यु, चिज र छुर्पि, इलामको चिया, अलैंची र सुठो विदेश जान्छ ।

त्यसैगरी विश्वको एक कुनाबाट अर्को कुनासम्म वस्तुहरूको ओहरदोहर भइरहन्छ । उपभोक्ताको लागि अहिले एउटै विश्व बजार भएको छ । त्यसैकारण त छिमेकी मित्र देशले नाका बन्द गरिदिँदा हामी पानीबिनाको पोखरीको माछा जस्तो हुनु पर्‍यो । पानीको मुहान थुनेर युद्ध जित्ने दाउ अङ्ग्रेजहरूले सिकाएका थिए । तर अहिले एक्काइसौं शताब्दीमा पनि त्यस्तै उपायले आफूले चाहेको कुरा मनाउन सकिन्छ भन्ने मानसिकताले अब काम गर्दैन भन्ने कुराको चेत हाम्रो छिमेकी मित्र देशलाई भयो भएन कुन्नि भविष्यले बताउला । यो विश्व बजारीकरणले विश्व जनसमुदायमा जतिसुकै सुविधा पुर्‍याए तापनि र यसबाट जतिसुकै फाइदा भए तापनि यसले हामीलाई परनिर्भर हुन सिकाएको छ । हामी झन् झन् परनिर्भरताको जालोमा जेलिँदै गइरहेका छौँ ।

म सानो छँदाको कुरा गर्ने हो भने देश, समाज र व्यक्ति एक किसिमले आ- आफ्नो ठाउँमा आत्मनिर्भर थिए । प्रत्येक परिवारले नुन र मट्टितेलबाहेक अन्य वस्तु आफैँ उत्पादन गर्दथ्यो । कपडा पनि सीमित मात्रामा आयात हुन्थ्यो देशमा । गाउँगाउँमा कपडाका हाते तानहरू थिए । मैले जान्दासम्म गाउँमा उत्पादित घरकुनाबाट नै स्वास्नीमान्छेका पोसाक गुनियो, चोलो, पटुका, घलेक, वा वर्को आदि तयार हुन्थ्यो । लोग्ने मान्छेका पोशाक दौरा सुरुवाल भोटो पटुका, कछाड आदि पनि घरबुनाबाटै तयार हुन्थ्यो तर अहिले देशमा स्थापित भइसकेका उद्योगहरू पनि धमाधम बन्द हुँदैछन् । नेपालका जुट, जुत्ता, सिमेन्ट, कागज कारखानमा मात्र होइन, हेटौंडा कपडा कारखाना, बुटवल धागो कारखाना र बाँके बर्दियाको कपास उत्पादनहरू बन्द भएको पनि खुला अर्थतन्त्र र निजीकरणले गर्दा नै हो। देशको विकास र उन्नतिको नाममा जब विश्व बजार चोरबिरालो झै देशका ठूल्ठूला सहरबजारमा मात्र होइन गाउँगाउँमा समेत प्रवेश गर्यो तब नखाएर पनि हुने विदेशी खाद्यवस्तुहरू, नलाएर पनि हुने विदेशी पोसाकहरू नेपाली समाजले अवलम्बन गर्न थाल्यो । त्यसले हाम्रो परम्परागत खानपान, रहनसहन, चालचलन वेषभूषा आदि बिस्तारै विस्थापित हुँदै गइरहेको छ । हुँदा हुँदा खानै नहुने वस्तु, लाउनै लाजलाग्दा पोशाकहरूले नेपाली समाजलाई विकृत तुल्याउँदै लगिरहेको छ । विदेशीको सिको गरेर हामीले अस्वस्थकर खाना खाँदैछौँ र आफ्नो पहिचान नै मेटाउने खालका पोसाकहरू पहिरिँदै छौँ र आफ्नो परम्परा र संस्कृतिलाई समेत बिर्सँदै गइरहेका छौँ ।

समाजको गति सँगसँगै देशमा नयाँ नयाँ उद्योगधन्दाहरू, कलकारखानाहरू स्थापित हुँदै जानु, देशको अर्थतन्त्रले आत्मनिर्भरताको बाटो अवलम्वन गर्नु त कता हो कता पहिले स्थापित भएर राम्रोसँग चलिरहेका उद्योग धन्दाहरू पनि धमाधम बन्द हुँदै जानु विदेशी उत्पादनका वस्तुहरूले स्वदेशी वस्तुहरूलाई बजारमा टिक्न नदिनु र उपभोक्ताको रुचि समेत विदेशी वस्तुप्रति बढ्दै जानुले अब त झन् झन् व्यक्ति, परिवार, समाज र देश नै परनिर्भरताको बाटोतर्फ लम्कँदै छ । हामीले हाम्रो परम्परागत खानपान रहनसहन मात्र होइन आफ्नोपन, आफ्नो पहिरन, आफ्नो परम्परा, आफ्नो सस्कार, आफ्नो संस्कृति र आफ्नो धर्मसमेत त्याग्दै गइरहेका छौँ । यसरी सबै कुरामा आफ्नोपन त्याग्दै जाने हो भने त हामी नेपाली भएको प्रमाण र पहिचान अब नागरिकताको प्रमाणपत्रमा बाहेक अन्यत्र कतै रहने नै भएन त !

शिक्षा, स्वास्थ्य, उद्योग व्यवसाय क्षेत्रका दक्ष जनशक्ति नेपालमा बस्न रुचाउँदैनन्, विदेशिन्छन् । स्वदेशमा उद्योगधन्दा, व्यापार व्यवसायको अभावमा रोजगारीका अवसरहरू नभएको हुँदा नेपालको अर्धदक्ष र अदक्ष जनशक्ति वा श्रमिक वर्ग समेत विदेशिन बाध्य छ । त्यसमा कृषि श्रमिक वा कृषक समेत पर्दछन् । हामी आफूलाई क्षि प्रधान देशका नागरिक भन्दछौँ तर दिनप्रतिदिन कृषिको उत्पादन घट्दो छ । हामी सगौरव आयातित दाल, भात, तरकारी खान्छौँ । कस्तो लाजमदर्दो कुरा नाकाबन्दीको समयमा हजारौँ आलु, प्याज र गोलभेँडा जस्ता सामान लादिएका ट्रकहरू नाकामा थुनिएकाले ती वस्तु सडेगलेको देख्नु पर्‍यो । कृषि प्रधान देशले विदेशबाट आयात गरेको तरकारी जनतालाई ख्वाउन सुहाउने कुरा हो त ? देश चलाउनेहरूलाई किन लाज नलागेको होला ? हामी आफूलाई जलस्रोतको धनी देशका नागरिक पनि भन्छौँ । हुन त त्यसै भनेको हैन धनी भएर नै भनेको हो तर हामी श्रोतमा मात्र धनी भयौं, जल शक्तिमा चाही गरिबको गरिबै रह्यौ । त्यसकारण विद्युत निर्यात गर्नु पर्ने देशले आयात गर्दैछ र पनि दैनिक पचास प्रतिशत समय अँध्यारोमा बस्नु यस देशका नागरिकको नियति बनेको छ ।

म आफूलाई परिश्रमी र पौरखी पुर्खाको सन्तान हुँ भन्छु, वीर पुर्खाकै सन्तान हुँ भन्छु । हूँ पनि त्यसै भनेको कहाँ हो र ! मेरा पुर्खाले मलाई पनि परिश्रम गर्न सिकाए, पौरख गर्न सिकाए, वीर हुन र असल बन्न पनि सिकाए । मैले पनि उनको देखासिकी गरेर परिश्रम गर्न सिकेँ तर पौरख गर्न र वीर हुन भने सकिनँ । म असल बन्न खोजेँ तर मलाई कसैले असल भनेनन् । मैले जीवनमा निरन्तर रूपमा समयको निर्मल नदीमा बग्ने प्रण गरेको थिएँ सदासर्वदा सक्रिय जीवन जिउने प्रण गरेको थिएँ तर मलाई समयको भेलले हुत्याएर गहिरो खाल्टोमा लगेर जाकेको छ । अहिले म त्यही खाडलमा अल्झेर बसेको महसुस गर्दै छु । त्यसैले मेरो जीवनको गति स्थिर जस्तै छ । म यो स्थिरपनबाट, यो निष्क्रियताबाट, यो अल्छी दुनियाँबाट उम्कन चाहन्छु तर मलाई परिस्थितिले यसरी जकडेको छ कि त्यहाँबाट फुत्कन सकिरहेको छैन ।

यो देश हाँक्नेहरूले मलाई हाई काढेर बस्न, झर्ला र खाउँला भनेर बस्न, नामी अल्छी हुन र परावलम्बी हुन सिकाए । त्यही सिको गरेर म एक नम्बरको अल्छी भएको रहेछु । अर्काको मुख ताकेर बस्ने नामी परावलम्बी भएको रहेछु । निष्कर्षमा म मेरो देशभन्दा पनि बढ्ता परनिर्भर भएको रहेछु । म यति परनिर्भर भएको रहेछु कि आफूले केही पनि गर्न सक्दिनँ, सबै थोक अरूले गरिदिनु पर्छ । मेरो शरीर मेरो नियन्त्रणमा छैन । ऊ हरेक कुरामा परनिर्भरता खोज्दैछ । म त सधैँभरि श्रीमतीमा निर्भर रहेछु । उनीबिना म केही पनि गर्न सक्दिनँ । म आफ्नो पोसाक दराजबाट झिकेर लाउन सक्दिनँ, आफ्नो मोजा खोजेर लाउन सक्दिनँ, आफै पालिस गरेर जुत्ता लाउन सक्दिनँ, आफ्नै हातले कोटको टाँक वा ज्याकेटको चेन लाउन सक्दिनँ । आफै औषधि झिकेर खान सक्दिनँ । उनको सल्लाह र इशाराविना म केही गर्न वा बोल्न सक्दिनँ । श्रीमतीबिना त म केही पनि गर्न सक्दिनँ । कहिलेकाहीँ त बिहानको बेड टी वा ब्रेकफास्ट खाएँ वा खाइनँ, दिउँसोको खाजा खाएँ खाइनँ उनैसँग सोध्नु पर्ने हुन्छ । अचेल म अवकाश प्राप्त गोरु जस्तै लद्द भएको छु । निद्राको गोली नखाई म राति सुत्न सक्दिनँ । खाना त म जति पनि खान सक्छु तर खाएको खाना आफैँ पचाउन सक्दिनँ, हजमोला चाहिन्छ त्यति भएर पनि म मल त्याग गर्न सक्दिनँ । त्रिफला चाहिन्छ । प्रोस्टेट पालेर राखेको छु, पिसाब त्याग्न पनि फिनास्ट र भेल्टाम गोली चाहिन्छ ।

अचेल मैले केही गर्न पर्दैन, सबै थोक अरुले नै गरिदिएका हुन्छन् । म मरो देशजस्तै परनिर्भर बन्दै गइरहेको छु ।

०००
‘मृत्यु अधिकार’ (२०७८)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नेता र जनता

नेता र जनता

सृजन लम्साल
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा
समानता अभियान

समानता अभियान

सुरेशकुमार पाण्डे
जिब्रो

जिब्रो

रमेश समर्थन