सृजन लम्सालसखारैको डुलाइमा सकस
योग्य व्यक्ति विदेसिने, अयोग्यले देश चलाउने देशको यो नियतिको अन्त्य कहिले होला ? कहिलेदेखि यी नागरिक सरोकारवाला निकायहरू सतहमा बग्न छोडेर यथार्थ काम कुरो गर्लान् ?

सृजन लम्साल :
हिन्दु धर्मशास्त्रमा भनिएको छ- जन्म, मृत्यु, पत्नी, पति र सम्पत्ति प्रारब्धका कर्मफल हुन् । प्रारब्ध कर्मफलमा जे र जति सञ्चित छ, त्यो मान्छे जन्मँदा नै उसलाई विधाताले लेखिदिएको हुन्छ । मलाई भने यस कुराले मनमा खसखस गराइरहन्छ । यी कुराहरू दैवले लेखिदिएर मान्छेले प्रयत्नविना नै प्राप्त गर्ने भए किन लोभीपापी मान्छे विधाताको विधान विपरीत अवैधानिक र अनैतिक तरिकाले भए पनि धनसम्पत्ति आर्जन र सञ्चय गर्न जीवनभर लालायित भइरहन्छ ? पति वा पत्नी विधाताले नै किटान गरिदिएका हुन्छन् भने किन मान्छेका यी चन्चले आँखाले राम्राराम्रा तन्नेरी, राम्राराम्रा तरुनी खोज्दै हिँड्दछन् ? र, फेरि विधाताले नै आयु तोकेको हुन्छ भने किन निश्चयपूर्वक आरामले नबसेर बढीभन्दा बढी आयु बाँच्ने लोभले बिहान बिहान आफ्नो मोटो न मोटो देख्दै भद्दा शरीर सकीनसकी बोकेर सडकमा कुँदिरहेको हुन्छ मान्छे ! विधाताले नै सबथोक दिएर मान्छेले प्राप्त गर्ने यति राम्रो विधाताको विधान हुँदाहुँदै किन होला यस लोकका नारी पुरुषहरूले सुन, सुस्वास्थ्य, सुन्दर र सुबल नर, सुन्दरी नारी र सुकीर्तिका लागि निरन्तर मरिहत्ते गरिरहेका ?
अरुलाई के भनौँ म आफै बिहानीपखको अमृत बेलामा प्रकृक्तिप्रदत्त अमृत पान गरेर कमलो ओछ्यानमा मिठो निद्रा सुत्न छोडेर, श्रीमतीलाई पनि सुत्न नदिएर विधाताको विरुद्धमा स्याँस्याँ र फ्याँफ्याँ गर्दै सडकमा कुदिरहेको हुन्छु । म मात्र कहाँ हो र ? हुलकाहुल मान्छे कुदिरहेको देख्दछु सडकमा । यस्तो लाग्दछ कि बिहानीपखको यो सडक रक्तचाप, चिनी, मुटु र बोसो वृद्धिका रोगीहरूको हो, उनकै नाममा यो सडक दर्ता छ । कुनै स्वास्थ्य संस्था, अस्पताल वा डाक्टरलाई आफ्नो व्यवसायको वृद्धि वा बजारीकरण गर्नु छ भने बिहानीपख सडकमा आएर बस्दा उत्तम हुने देखिन्छ ।
मान्छेले दैव, विधाता, प्रभु वा ईश्वर जेसुकै भने तापनि शरीर वा प्राणविनाको त्यो प्राणी अति चतुर हुन्छ । भन्न त उसले ‘मैले तँलाई सबथोक दिएको छु’ भन्छ तर ‘कर्म नगरी खान पाउन्नस् भन्छ । उही चतुरले फेरि’ कर्ममा मात्र तेरो अधिकार छ फलमा चाहिँ छैन पनि भन्छ र उस्तै पर्यो भने ‘प्रारब्धको तेरो खातामा मौज्दात नै बाँकी रहेनछ त म के गरूँ ?’ पनि भन्न सक्छ । त्यसैले ‘हे प्रभु मलाई यो देऊ, त्यो देऊ’ भनेर माग्ने काम नै व्यर्थ लाग्दछ मलाई । खुरुखुरु आफ्ना हातपाखुरा बजा खायो, हाइसुख ।
फेरि उसले लेखिदिएको भनेको त्यो प्रारब्ध कर्मफलको लिखत बच्चा पेटमा हुँदा नै खोसिएको हुन्छ । त्यसैले त बच्चा जन्मदा मुट्ठी कसेर अत्तालिएर रोएको हुन्छ । उसले मुट्ठीमा च्यापेर ल्याएको त्यो लिखत भ्रुणमै कसैले खोसिदिएको हुनाले नै ऊ त्यसरी रोएको हुनुपर्छ । त्यसैले दैवले देला र लाउँला-खाउँला, दैवले देला र सुन्दर पति वा राम्री पत्नी पाउँला भनेर यो लोकका नारी, पुरुषले आँ… गरेर बस्ने हो भने त जीवनभर कि राण कि साँढ बनेर बस्नु पर्ला र उमेरले वा रोग व्याधीले भन्दा पहिले भोकमरीले मर्नु पर्ला । मान्छेको भरोसा भनेको आफ्नै हातखुट्टा, बलबुद्धि र चेतना हो, त्यसैले हरेक नरनारीले आफूलाई सम्पन्न, सुखी र स्वस्थ राख्न हरदम प्रयत्नरत गरिरहन्छन् । प्रयत्नपूर्वक कर्मरत रहिरहनु मान्छेको स्वभावै हो । मान्छेको यही स्वभावलाई प्रचीन विद्वानहरूले प्रवृत्तिमार्ग भनेका होलान् ।
उहिले उहिले अहिले जस्तो निवृत्ति मार्गमा लागेका मागीखाने अल्छी मान्छे हुँदैनथे । प्रायः सबै मान्छे प्रवृत्ति मार्गमा लागेका कर्मयोगी हुन्थे । अहिले भने राम्रो स्वास्थ्यको लागि बिहान बिहान सडकमा दौडने कर्मयोगीहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । बिहानको समयमा हावा अक्सिजनयुक्त स्वच्छ हुन्छ । त्यसमा धुलोको विकिरण हुँदैन । शहर तुमुल कोलाहलमुक्त हुन्छ । त्यसैले फोक्सोमा अलिकति बढी अक्सिजन पुर्याउन, पसिना काढेर अलिकति भएपनि बोसो पगाल्न र शरीरका अन्य विकारहरू निकाल्नको लागि प्रातकालीन भ्रमण राम्रो हुन्छ भनेर स्वास्थ्य विज्ञहरूले भनेको हुँदा उनीहरूको आज्ञा पालन गरेर म पनि बिहान बिहान सकिनसकी सडकमा दौडने गरेको छु । तर यो मेरो शहरमा बिहानको बेला वा समय मात्र स्वच्छ, स्निग्ध र अमृतमय हुन्छ, डुल्ने ठाउँ र त्यहाँको वातावरण भने एकदमै फोहर र विषाक्त छ । सडकमा फोहोर थुप्रिएको हुन्छ, दुर्गन्ध फैलिएको हुन्छ, त्यसैले बिहानको डुलाइमा नाकका दुईटा प्वालले रोगव्याधीका भाइरस आयात गर्ने प्रबल सम्भावना हुन्छ ।
बिहानीपखको डुलाइ लाभकारी हुनको लागि डुल्ने ठाउँ र त्यहाँको वातावरण पनि त स्वच्छ र सफा हुन पर्यो नि ! यहाँ त सहर आयो कि फोहर आयो भनेर जाने हुन्छ । हुन त यो सहर अत्याधुनिक उचाइमा रहेको वर्तमान युगका मान्छेकै हो । कुनै गाई, भैँसी, घोडा-गधाको होइन तर यहाँको फोहोर र दुर्गन्धको प्रकृति हेर्दा त कस्तो लाग्दछ कि यो सहर यिनीहरूकै हो । मैले यो सहर यति विधि फोहोरी हुनुको कारण पत्ता लगाउन सकेको छैन । बालक र बूढाबूढीहरू फोहोर स्याहाने सक्दैनन्, जान्दैनन् । यो सहरलाई बालक भनौँ भने डेढ शताब्दीको भइसक्यो, बूढो भनौँ भने भर्खर पन्ध दशक पुगेकालाई के बुढो भन्नु ? शहरले अहिलेसम्म ठिक ढङ्गले मलमूत्र त्याग गर्न पनि जान्दैन । बिहान बिहान लोटा लिएर हिँड्दछ र बाटो छेउमा, नाली छेउमा वा खेतका आलीमा चुचुक्क बस्दछ । गम्छाले नाक, मुख, आँखा छोप्दछ र लाज पचाएर कार्य सम्पादन गर्दछ । सहर फोहोरमैलामा डुबेको हुन्छ, गुमृतको गन्ध र घोडा गधाहरूको लिदीको गन्धले नाथ्री फुट्ला जस्तो हुन्छ । बिहान बिहान गाउँ देहातका चाँचेहरू सहरमा चर्न आउँछन्, त्यसैले विहान विहान अक्सिजनयुक्त अमृतपान गर्न निस्केका सबै डुलुवाहरूले नाक थुन्ने मास्क लगाउन नितान्त आवश्यक भएको छ ।
शहरको यस्तो दुर्गन्धयुक्त दुर्दशाको दोषीको सखारैका डुलुवाहरूका तर्फवाट उजुरी लिएर म कसकहाँ जाने ? कसलाई तं नै दोषी होस्, तँ नै गैरजिम्मेवार होस्, तँ नै कर्तव्यच्युत होस्, तँ नै लापरवाह होस्, तँ नै फोहरी, तँ नै असभ्य, तँ नै पदभ्रष्ट होस् भनेर कसको टाउकोमा दोष थोपर्ने ? सरकारको ? राजनीतिक दलका नेताहरूको ? नगरपालिकाको ? नागरिक सरोकारवाला अन्य सङ्घ सस्था वा सहरवासी नागरिकहरूको ? कसको ? हुन त दोष आफूबाहेक अरू जोसुकैको थाप्लोमा थोपर्न मिल्छ तर माथिका व्यक्ति वा संस्थाहरूभित्र स्वयं आफ्नो उपस्थिति पो छ कि ? अरुमाथि थोपरेँ भनेको दोष बुमेर्याङ् बनेर आफ्नै थाप्लोमा बजारिने पो हो कि ? बडो अन्योल र घोर दुविधामा परेको छु म ।
शहरको फोहोरको उजुरी लिएर सरकारकहाँ जाँदा आफ्नो स्वास्थ्य नीति देखाएर भन्छ- “यी हेर सरकारको सरसफाइ तथा स्वास्थ्य नीति यस्तो छ । यस्तो उत्तम नीति त एसियाका कुनै देशमा पनि छैन । त्यसको सही कार्यान्वयन गर्ने काम त सरोकारवाला निकायको पो हो ।”
यो मुद्दा लिएर भैँसीको भन्दा ठुल्ठुला टाउका भएका राजनीतिक दलका नेताहरूकहाँ जाँदा रटेर कण्ठ पारेको यस्तो उत्तर आउँछ- “हामीले त यो शहरलाई लन्डन, पेरिस, बर्लिन, जापान वा स्विजर्ल्यान्ड बनाउने भनेका छौँ । नपत्याए लौ हेर्नोस् हाम्रो चुनाव घोषणापत्र । यो कुरा हाम्रा कार्यकर्ताहरूले जनताको घर घरमा गएर भनेका छन् । हाम्रो एकलौटी सरकार हुन नपाएर पो त नत्र माथि उल्लेख गरिएको सहरहरूभन्दा राम्रो भइसक्थ्यो यो शहर ।”
सरसफाइको मामिला लिएर यो सहरको दुई फुली छातीमा टाँसेको (‘उप’ र ‘महा’) नगरपालिकामा जाँदा कार्यकारी प्रमुख सानले आफ्नो लाचारी व्यक्त गर्दछन् र समस्या मेरै थाप्लोमा थोपर्दछन् । भन्छन्- “कर्मचारीले टेर्दैनन्, युनियनले कर्मचारी बिगार्यो । कि त युनियन खारेज गरेर टेर्ने कर्मचारी भर्ना गर्ने वातावरण बताउनीस कि फोहोर व्यवस्थापन गर्ने काम व्यक्तिगत कम्पनीको जिम्मा लगाउने काम गर्नुहोस् ।” मैले खुला ठाउँमा दिसा गर्ने यो सहरको प्रचलनको प्रसङ्ग उठाउँदा उनी भन्छन्- “हामीले यो शहरलाई मिति तोकेर खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकेका छौ । सहरबासीले खुला ठाउँमा जति मल मूत्र त्याग्नु छ त्यो मिति भित्रै त्यागुन, त्यसपछि त्याग्न पाउँदैनन् ।”
सहरको सरसफाईसँग सरोकार राख्ने अन्य कैयौँ निकायहरू पनि छन्, यहाँ सहस्रौँ विद्यालय, महाविद्यालय, मेडिकल कलेजहरू छन्, जहाँ विद्यार्थीहरूद्वारा नियन्त्रित योग्य, शिक्षक, अध्यापक, प्राध्यापकहरू छन्, जसले पढाउने भन्दा नक्कल गराउने काममा बढी ध्यान दिन्छन् किनकी उनका नियन्त्रकहरू त्यही चाहन्छन् । यहाँ पैसाको पेटी चढाउन सक्ने चिकित्साशास्त्रका विद्यार्थीहरू पनि छन्, जसले सामान्य रोगीलाई सिटामोल लेख्न र अलि गम्भीर रोगी आए लखनउ रिफर गर्न सिक्दछन् किनकी उनका गुरुहरूले त्यही गर्दै आएका छन् । त्यसैले यहाँका विद्यार्थी बालुवा हुन्, उनीहरूले प्राप्त गर्ने शिक्षा, दीक्षा र ज्ञान पानी हो । त्यो बालुवामा पानी सड्लनै गाह्रो हुँदोरहेछ । संस्कार र सभ्यता हुर्कनै गाह्रो हुँदो रहेछ ।
त्यहाँ ज्ञान, सीप, यसको अलावा पनि यहाँ सहरको सरसफाइमा सरोकार राख्ने कैयौँ सङ्घ संस्था, एनजीओ, आइएनजियो आदि पनि छन् जसले सहर सफा राख्न ठुल्ठुला होटेलहरूमा गोष्ठी सेमिनार आदि गर्दछन्, लन्च, डिनर उदरस्थ गर्दछन्, भत्ता हस्तगत गर्दछन्, गोष्ठको निणर्य पारित गर्दछन् समाचार पत्रहरूमा भँगेरा टाउके अक्षरमा प्रकाशन गर्दछन् र प्रगति देखाउँदछन् तर सहरको फोहोर मैला हल न चल छ ।
यो सहरका निवासीहरूलाई नै आदम जमानाका क्रूर, गँवार, फोहरी, असभ्य भन्ने हो भने त्यसभित्र आफै पनि परिन्छ, त्यसैले त्यसो भन्नु पनि भएन र फेरि यो सहरका निवासीहरू त्यति विधि असभ्य खालका फोहोरी पनि छैनन्, कमसेकम आफ्नो घर आँगनको फोहोर अरूको आँगनतिर फालेर भएपनि वा नाला र सडकमा फालेर भएपनि आफ्नो घर आँगन सफा सुग्घर राख्न जानेकै छन् ।
शहरबासीहरू साह्रै गरिब भएर वा पुरानो जमानाका वर्तमान विश्वको विज्ञान प्रविधि र त्यसको प्रतिफलबारे अनभिज्ञ र वञ्चित भएर हो कि भनौँ भने पनि होइन किनभने हल बयल गोठ भकारी र दुईतले पक्की घरको मालिकलाई मेरै आँखाले लोटा लिएर खोलामा दिसा गर्न हिँडेको देखेको छु र बाटो छेउमा दिसा गर्न बसेकाहरूले मोबाइलमा कुरा गरेको वा फेसबुक खोलेर बसेको पनि मेरा यिनै आँखाले देखेका छन् । त्यसैले फोहोर र दुर्गन्धी हुनुको कारण गरिबी मात्र पनि होइन रहेछ र विज्ञान प्रविधि वा सञ्चार सुविधाबारे अनभिज्ञता र वञ्चना पनि होइन रहेछ ।
म त दोष एउटाको हैन, सबैको देख्छु । सबैका आडमा जुम्रारूपी भैंसी हिंडेको देख्छु । त्यसकारण अब कहिलेदेखि सबैले आ-आफ्ना आङ्का भैंसी आफै देख्न सक्लान् ? कहिलेदेखि सरकार सरकार जस्तो बन्ला ? कहिले यो सहरको विकासमा ध्यान देला ? कहिले समुचित ढङ्गले सहरी सडकहरू निर्माण र विस्तार होलान् ? कहिले बिजुली पानीको समुचित व्यवस्था होला ? कहिले ढल तथा आकाशे पानीको निकासको व्यवस्था होला ? कहिले सहरभित्र वृक्षारोपण होला ? र सहर हराभरा बन्ला ? कहिले नेताहरूको घैँटोमा घाम लाग्ला ? र नेपालका शहरलाई विदेशको सहर जस्तो होइन नेपालकै सहर जस्तो बनाउनुपर्छ भन्ने चेत पलाउला ? र देशलाई खेलौना बनाउन हुन्न भन्ने सद्बुद्धि यिनमा कहिले पलाउला ? कहिले नगरपालिकाले नगरको सरसफाईमा ध्यान देला र नगरको संरक्षकत्व वहन गर्ला ? कहिले शिक्षा र स्वास्थ्य संस्थाहरूमा रहेका विकृतिहरूको अन्त्य होला र योग्य तथा सक्षम जनशक्ति उत्पादन होला ? त्यसको लागि एउटा देशभक्त चिकित्सकले प्राणको बाजी थापेर दसौँ पटक अनसन बसिरहनु नपर्ने दिन कहिले आउला ? साथै योग्य व्यक्ति विदेसिने, अयोग्यले देश चलाउने देशको यो नियतिको अन्त्य कहिले होला ? कहिलेदेखि यी नागरिक सरोकारवाला निकायहरू सतहमा बग्न छोडेर यथार्थ काम कुरो गर्लान् ?
कहिलेदेखि यो नगरका निवासीहरूमा नागरिक चेतनाको विकास होला ? र यी सडक, यी ढल, यी नालाहरू पनि आफ्नै घर हुन्, सहर आफ्नै घर हो भन्ने भावना पलाउला ? सहर सफा सुग्घर हुनु नै आफ्नो घर सफा सुग्घर हुनु हो र रोगव्याधीबाट मुक्ति पाउनु हो भन्ने नागरिक चेतना कहिले पलाउला ? र मलगायत सखारैका यी डुलुवाहरूका सकसको अन्त्य कहिले होला ? कहिलेदेखि यिनका फोक्सोमा शुद्ध र स्वच्छ अक्सिजनयुक्त हावाले स्पर्श गर्ला ? दिन गनेरै दिन वितिरहेका छन् मेरा ।
०००
अभिव्यक्ति, पूर्णाङ्क १८१
‘मृत्यु अधिकार’ (२०७८)
Subscribe
Login
0 Comments
Oldest







































