सृजन लम्साललेख्ने विषयको खोजीमा
मानिसले विरासतको रूप लिई आएको यो पाशविक प्रवृत्तिले गर्दा समाजमा बराबर अशान्ति, आतङ्क र युद्धहरू चर्किँदै मन्थर हुँदै चर्किँदै मन्थर हुँदै समयको गति अगाडि बढिरहेको छ ।

सृजन लम्साल :
खाना खाइसकेपछि गरिमा पढेर सुत्ने तरखर गर्दै थिएँ । बत्ती निभाएर ओछ्यानमा पल्टेँ, तर निद्रादेवीले पटक्कै निम्त्याइनन् । गरिमामा विद्यार्थी जीवनका आफ्नै साथीहरूका रचना झलझल्ती सम्झिराखेँ । साथीहरू साहित्यिक यात्रामा निकै अगाडि गइसके, उनीहरूले आ-आफ्नो क्षेत्रमा निकै कीर्तिमान कायम गरेका छन्, म मात्र डुकुलन्ठ्याङ्ग भएर बसेको छु । अँ साँच्ची, के म पनि कलम चलाउन सकुँला ? के सकिएला र अब । समय बितिसक्यो धेरै अन्नजल पेटमा परेर मलमुत्र बनिसक्यो । भेरीको पानी बगेर समुन्द्रमा पुगेरपनि धेरै पटक ओहरदोहोर गरिसक्यो । अब के गर्न सकिएला र । यस्तैयस्तै तर्कनाहरू मनमा खेलिरहे तर निन्द्रा पटक्कै लागेन । उठेर बत्ती बालेँ र कलम समातेर कापीमा कोर्न थालेँ, अनायासै । कापीका तीन चार पाना त्यसै कोरकार पारेँ अनि च्यातेर फालेँ ।
के लेखौं त म ? सम्झन्छु कुनै विषय दिमागमा आउँदैन । सिकारु भएको हुँदा आराधना साहित्य वा स्तुतिवादलाई नै समातौँ क्यार । केको आराधना गर्ने ? कस्को स्तुति गान गाउने ? यो त धेरै पुरानो कुरा, प्राचिनकालको । नेपाल जस्तो सुन्दर र रमणीय देशमा लेख्नको लागि विषयको के कमी छ ? त्यत्रो हिमालय छ, पर्वत छ, नदीनालाहरू, महापुरुषहरू छन्, वीरहरू छन्, शहीदहरू छन्, यिनैका विषयमा लेखौँ कि ? यी विषयहरू पनि, सबैले लेखिसकेका छन् । लेख्नको लागि नौलो विषय नै किन चाहियो र ! खूबी भएकोले जे सुकै विषयमा लेख्न सक्छ, अनुसन्धान गर्न सक्छ, त्यसैमा नयाँ विषय भेटाउन सक्छ, पीएचडी गर्न सक्छ । त्यसो भन्ने हो भने त के नै नौलो विषय छुटेको छ र ।
प्राकृतिक सुन्दरताको बारेमा लेखौँ कि त ? अहो, प्रकृति त झन् कठीन छिन, बुझ्नै नसकिने, जान्नै नसकिने । कालिदास, विलियमवर्डस्वर्थ, किट्स, रविन्द्रनाथ टैगोर, लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठ आदि महाकविहरूले लेखेको विषयमा मैले लेख्ने हिम्मत गर्ने ? अँ हँ, सकिन्न । मानवजीवन कै बारेमा लेखौँ कि ? मानवजीवन, मानवजीवनको बारेमा त झन् सबै कविहरू, सबै लेखकहरू, सबै कथाकारहरू सबै निबन्धकारहरू लेख्छन् । सबैको विषय मानवजीवन नै छ । मानवजीवनको कुन पक्ष बाँकी छ र । लौ भन त ? मानवजीवनका नारी-पुरूष उनको हकअधिकार, सुखदुःख, हर्षउल्लास, आशानिराशा, उत्थानपतन, उतारचढाव, दमनउत्पीडन, व्यसनदुर्व्यसन, घातप्रतिघात, सम्पन्नताविपन्नता, जीवनमरण आदि सबै विषयमा कति साहित्य रचिए कति। मानवजीवनको आर्थिक पक्ष, सामाजिक पक्ष, मान्छेको शरीर यहाँसम्म कि काखीको गन्ध, मोजाको गन्ध, साँढेका गन्ध, पोबीगन्ध समेतमा पनि साहित्य रचिसकिए । मान्छेको मन-मस्तिष्क, सोचाइ, गराइ, मानसिक अवस्थाचेतन अर्धचेतन र अचेतन अवस्था आदि सबै विषयको मनोविश्लेषण गरेर सबै चिरफार गरेर राखिसकेका छन् लेखकहरूले ।
त्यसो हुनाले यसमा नौलो विषय भेट्टाउन सकिन्न । त्यसो भए नारी सुन्दरता र प्रेमको बारेमा लेखौँ कि त ? सबभन्दा रोचक विषय यही होला । नारी सुन्दरताको वणर्न कसरी गर्ने ? प्रेमकथा कसरी रच्ने ? पूर्णिमाको चन्द्रमा जस्तै उज्याली वा गहुँगोरी, कालोकपाल भएकी, उत्तुङ्ग छाती भएकी, सुडोल र पुष्ट शरीर भएकी, पुष्ट नितम्ब भएकी, मृगनयनी जस्ती आदि भनेर । झन् यो पुरानो शैली हो। आधुनिक शैली पो ठिक होला । आधुनिक शैली भनेको नग्नताको वणर्न हो, तर त्यो पनि कहाँ नयाँ विषय हो र । धेरैबेरसम्म मनमा कुरा खेलाउँदा पनि मैले लेख्ने विषयवस्तु फेला पार्न सकिन, त्यसैले निदाउने प्रयास गर्न थालेँ तर आज के भो के भो निद्रा लागेन ।
यस्तै मनमन्यन गर्दागर्दै मैले घरमा पालिराखेको कुकुरलाई सम्झे, उसको पुच्छर सम्झे। कति राम्रो झम्म परेको पुच्छर । बाहिरबाट घर पुग्यो कि उसले त्यसै चौरीको चमरजस्तो पुच्छर झप्ल्याक झुप्लुक पारेर हल्लाउँछ र पुनः पुच्छर बङ्ग्याएर कुन्डलाकार पार्छ, सुध्छ र दुई खुट्टा उठाई शरीरमै चड्छ । यसो गर्दा उसले माया गरेको सम्झेर मलाई बडो आनन्द आउँछ । घरका अरू सदस्यभन्दा ऊ नजिकको लाग्छ । उसलाई कसैले कुकुर भन्यो भने मलाई रीस उठ्छ । कुकुर होइन टाइगर भन्नुपर्छ भन्छु म । केहीबेरसम्म त्यस कुकुरमै मेरो विचार अडिइन्छ । अनि ‘कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि जस्ताको तस्तै’ भन्ने उखानको सम्झना आउँछ र मलाई यही कुकुरको पुच्छरको बारेमा लेख्न मनलाग्छ ।
बाँदरको पुच्छर लौरो न हतियार, भन्छन् । त्यसैले होला मान्छेको पुच्छर डार्विनले चुँडाली दिए । नत्रभने अहिलेसम्म लोख्याक्क मान्छेको पुच्छर झुण्डिरहेको हुन्थ्यो । डार्विनले ठिकै गरे । कमसेकम मान्छेलाई पुच्छर बोक्न त परेको छैन । कुकुर चाहिँ विकासको क्रममा यथास्थानमा रहेछ क्यार । त्यसैले उस्को पुच्छर बाङ्गो नै छ । विकासको क्रममा पनि सोझिन सकेन र चुडिन पनि सकेन । वर्तमान बाँदरहरू भने कहिले मान्छे हुने हुन् डार्विनले केही निक्र्योल गरेजस्तो लाग्दैन । डार्विनले मान्छेको पुच्छर चुँडाली दिए, रौ खौरिदिए, दुई खुट्टाले हिँड्नेसम्म बनाइदिए, यत्ति न हो । मान्छेले आफ्नो पुर्खा बाँदरको मनोवृत्ति चाहिँ बोकेरै ल्याएको छ । मान्छे चाहिँ निरक्षर होस्, चाहे फुट्पाथमा गुजारा गर्ने होस् चाहे झोपडीमा बस्नु होस्, चाहे महलमा विराज गर्ने किन नहोस्, चाहे साधारण मान्छे होस्, चाहे बडेमानकाे नेता किन नहोस्, पुर्खा बाँदरको मनोवृत्ति बोकेर ल्याएकै छ । पुच्छर लोप भएजस्तै त्यो मनोवृत्तिको लोप हुन अझ कति समय लाग्ने हो भन्त सकिन्न ।
कुकुरको पुच्छर सोझिन नसकेजस्तै मान्छेको बाँदर-प्रवृत्ति बदलिन सकेको छैन । बदलिएको भए मान्छेको जमातले बाँदरलीला गर्ने थिएन, आफ्नै घर भत्काउने थिएन । मान्छेको लागि मान्छेले नै सिर्जना र निर्माण गरेको वस्तु भत्काउने, तोडफोड गर्ने थिएन, यौटा हुलले अर्को हुलमाथि आक्रमण गर्ने थिएन । पर्दाभित्र बस्ने नाइके ढेडुले साधारण बाँदरको हुललाई उचाल्ने थिएन । ढेडुबाँदरले अरू चुच्चेफुच्चे, भुन्टे, ख्याउटे, बाँदरहरूलाई ख्याक ख्याक, चिचिँ, च्यारर च्यारर् गरी सृष्टि सिर्जनालाई भत्काउन उक्साउने थिएन ।
साँच्ची कुकुरको पुच्छर सोझो हुन नसक्ने नै हो त ? के त्यो पुच्छर सोझ्याउन सकिन्न ? यस विषयमा घोत्लिँदा म के महसुस गर्दछु भने अरूको अध्ययन गर्नुभन्दा पूर्व आफ्नै अध्ययन किन नगरूँ ? म आफ्नै बाल्यकालतिर पुगेको हुन्छु । म सानो छँदा सारै लज्जालु केटो थिएँ । बोल्न पनि लाज लाग्थ्यो । केटीहरूसँग बोल्न पर्यो भने त झन् लाजले भुतुक्कै हुन्थें र गाला रातो हुन्थ्यो । अरूहरूले व्यङ्ग गरे भने वा होच्याएर केही भने भने स्वाभिमान कुर्लेर आउँथ्यो र त्यसबखत एकदम आक्रामक भइहाल्थेँ म । उमेर बढ्दै गएपछि विस्तार विस्तार यी कुराहरूमा प्रगति भएको महशूस गरेँ मैले । यस अर्थमा कुकुरको पुच्छर पनि पक्कै सोझिन पर्ने हो जस्तो लाग्थ्यो तर अहिले आएर आफ्नो बाल्यकालकै उमेरको छोरोलाई हेर्छु उही गुणहरू विद्यमान छन् । यसबाट कुकुरको पुच्छर सोझिने कुरा गलत सावित हुन आउँछ ।
बाल्यकालको कममा मेरो दाइलाई बिर्सन सक्दिन म । मेरो दाइ अलि सनकी मिजासको हुनुहुन्थ्यो सानैदेखि । त्यसैले निकै यातना सहनुपर्यो मैले । उहाँको सबभन्दा ठूलो दुर्गुण के थियो भने पैसा गोजीमा पर्यो कि त त्यो पैसा काउसो भइहाल्थ्यो वा सिस्नो भइहाल्थ्यो । यस्तो चिलाउँथ्यो र पोल्थ्यो कि खप्नै नसक्ने, अथवा भनौँ लघुशङ्काले पिरोलेर खप्नै नसक्ने जस्तो । पैसा खल्तीमा भएको बेला दही, दूध, मिठाई, मासु के मात्रै खाने सबै एकैचोटी । त्यति मात्रै नभएर लुगाफाटो मनोरञ्जन, सबै एकैचोटि । लघुशङ्काले पिरोलेर खप्नै नसक्ने जस्तो । लघुशङ्काबाट निवृत्त भएपछि मुत्रनली खाली भएजस्तै खल्ती पनि खाली । मानौँ उनको संसार आजै हो । भोलि छैन । भोलिको संसारै छैन । भोलि आउँदै आउँदैन । अनि सापटी माग्ने काम शुरू । अहिले पचपन्न वर्षको उमेर र दश जनाको परिवार हुँदा पनि स्वभावमा सिन्को जत्ति पनि फरक देख्दिन म । त्यसो हुनाले ‘कुकुरको पुच्छर बाह्र वर्ष त के बाह्र सय वर्ष ढुङ्ग्रोमा हाले पनि सोझो नहुने ठहर गर्छु म ।
यी त व्यक्तिगत कुरा भए, एकदम व्यक्तिगत जीवनका कुरा । यो क्षेत्र साह्रै सीमित छ र सङ्कुचित पनि । त्यसैले सार्वजनिक फाँटको खुला मैदानतिर यसो चियाऔँ । ताजा वायुपान गर्न मिल्छ कि । सार्वजनिक फाँटको विशाल मैदानतिर कुकुरपुच्छ्रे सिद्धान्त लागू हुन्छ किन हुँदैन । वास्तवमा व्यक्तिगत जीवन एउटा साँगुरो घेरा हो । व्यक्तिगत मनोविज्ञान र सामूहिक मनोविज्ञानमा अवश्य फरक हुनुपर्ने हो । व्यक्तिगत मनोविज्ञानले सामूहिक मनोविज्ञानलाई असर पार्न सक्छ भन्ने कुरालाई नकार्न त सकिन्न तर सामूहिक मनोविज्ञानको फाँट विशाल हुनाले व्यक्तिगत मनोवृत्तिका लहरहरू छालहरूलाई समुद्रमा आउने छालहरूलाई समुद्रले नै समाहित गरेझै सार्वजनिक फाँटले पनि यी व्यक्तिगत छप्ल्याक छुप्लुकलाई समाहित गर्नुपर्ने हो । तर सार्वजनिक फाँटहरूमा पनि समुद्रका लहरहरू समुद्रभन्दा बाहिर आइदिन्छन्, आफ्नो सीमाना नाघेर, आफ्नो घेरा नाघेर, आफ्नो सिद्धान्त र घेरा नाघेर । यस अर्थमा उदाहरणस्वरूप राज्यका चतुर्थ अङ्ग मानिने सञ्चार माध्यम वा जगतलाई हेरौँ । यिनीहरूले जति नै इमानदारी निस्वार्य र निष्पक्षताको वखान गरे पनि पक्षपातको छिटा उछिट्टिइहाल्छ आखिर । संसारका प्रख्यात र स्तरीय सञ्चार संस्थाहरूमा पनि पक्षपातको छिटा उछिट्टिएको देखिन्छ ।
संसारमा मैमात्र राम्रो, मैमात्र असल अरू सबै खराब र अरू सबै बेकम्मा र निकम्मा भन्ने व्यक्तिगत सोचाइको रूपान्तर ठूल्ठूला संस्था र निकायहरूमा पनि पाइन्छ, अथवा भनौँ विश्वका प्रख्यात सञ्चार माध्यमहरूले पनि कहिलेकाहीँ पुच्छर बङ्ग्याई नै हाल्छन् । नेपालको सन्दर्भमा हेर्ने हो भने त झन् कुनै पनि सञ्चार माध्यमले तिलको पहाड बनाई कुनै दल विशेषको समूह वा वर्ग विशेषको वकालत र बखान गर्नुबाहेक वास्तविकताको धरातलमा हिड्न सिकेका छैनन् । सरकारी सञ्चार माध्यम त झन् तत्कालीन सरकारको बखान गर्नु र मालश्री गाउन बाहेक जनतालाई वास्तविक सुसूचित पटक्कै गराउँदैनन् । सरकारी सञ्चार माध्यमको पुच्छर प्रायः बाङ्गै हुँदोरैछ । २०१७ सालपछि बाङ्गिएको पुच्छर २०४६ सालसम्म पुरै कुण्डलाकार रह्यो र २०४६ सालपछि यो पुच्छर ढुङ्ग्रोमा हाल्ने र तन्काउने प्रयास गरियो । कुकुरको पुच्छर नै त हो किन सोझिन्थ्यो ? वर्तमान समयमा यो पुच्छर सोझिएला भन्ने भयले फेबिकोल लगाएर यसरी जोडिएको छ कि सोझिनै नसकोस् । अब यो पुच्छर सोझ्याउन दुवैतर्फ एकएक हात्तीले नपुगी दुई दुई वा तीन तीन हात्ती लगाउनु पर्ने भएको छ ।
सञ्चार माध्यमहरूलाई मात्र दोषारोपण नगरौँ । यिनीहरूको मात्र अर्घल्याई छैन किनभने यो प्रवृत्ति यत्रतत्र सर्वत्र व्याप्त छ । मानव जीवनको प्रारम्भदेखिनै भनौँ वा ब्रह्माको सृष्टिदेखिनै मानिसले विरासतमा लिएर आएको छ । त्यसैले समयको अन्तरालमा कैयौँ रावणहरूको, कैयौँ कंशहरूको, कैयौँ कौरवहरूको सृष्टि हुँदै आएको छ र त्यसको अनुपातमा कमै रामहरूको कमै कृष्णहरूको कमै पाण्डवहरूको र कमै बुद्धहरूको सृष्टि हुँदै आएको छ । मानिसले विरासतको रूप लिई आएको यो पाशविक प्रवृत्तिले गर्दा समाजमा बराबर अशान्ति, आतङ्क र युद्धहरू चर्किँदै मन्थर हुँदै चर्किँदै मन्थर हुँदै समयको गति अगाडि बढिरहेको छ । त्यसैगरी सृष्टिको चक्र पनि चलिरहेकै छ । सृष्टिचक्रको क्रममा एउटै स्वभाव र चरित्रका पात्रहरू दोहरिँदै जान्छन् र इतिहास पनि दोहोरिँदै जान्छ, त्यसैले होला सायद कुकुरको नवीनतम् सृष्टिमा पनि उसको पुच्छर बाङ्गिएकै हुन्छ ।
खै उहिले र अहिलेमा म त कत्ति फरक देख्दिनँ । शासकवर्गल शासितवर्गमा भयको कोरामिन दिएर शासन गर्ने तरिका उस्तै छ । जंगबहादुरले विभिन्न हत्याकाण्ड गराई जनतामा भय र सन्त्रासको बाताबरण सिर्जना गराई सकुशल शासन गर्न सफल भएका थिए भने वर्तमान शासक वर्गले पनि उही नीति अपनाएको देखिन्छ । अलिकति फरक के छ भने उहिले कोरामिन दिने साधन बन्दूक र खुकुरी मात्र थियो भने अहिले त्यसमा रेडियो, टेलिभिजन पनि थपिएको छ । जंगबहादुरले भाइ भरदारहरूबाहेक अरू कसैलाई उच्च पद दिएका थिएनन् भने अहिले पनि आफ्नै वर्गबाहेक अर्को वर्गलाई दिने नीति छैन । राष्ट्रसेवकहरूको स्थिति पनि उहिले र अहिलेमा फरक छैन । उहिलेका शासकवर्गले बाङ्गो रूखलाई देखाई यो रूख कति सोझो छ ह कि ? भन्दा जवाफमा एकदम सोझो छ सरकार भन्नुपर्यो भने अहिले पनि त्यसो भनिएन भने जागीरबाट हात धुन परिहाल्छ । रह्यो जनता जनार्दनको कुरा जनता जनार्दनलाई जंगबहादुरले पनि कहिलेकाहीं निगाहाको पोको खोल्ये भने अहिलेका शासकवर्गले पनि राहतको भ्वाङ्वाले पेटारो देखाइरहेकै छन् ।
यस्तै यस्तै मनमन्थन गर्दागर्दै कतिखेर निद्रादेवीले पोल्टोमा हालिछन् कुन्नि पत्तै भएन । भोलिपल्ट बिहान नौ बजे पो निद्रा खुल्यो ।
०००
‘नैतिकता हराएको सूचना’ (२०५५)
Subscribe
Login
0 Comments
Oldest







































