साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता र जनता

जनता भनेका पनि अद्भूत प्राणी हुन्छन् । कहिले पहाडौँ मूर्त देखिन्छन् त कहिले अमूर्त चित्र जस्तै अस्पष्ट । सुनामी हुन् जनता जसले उत्पात सच्याइदिन सक्छन् । कहिलेकाहीँ भोटद्वारा भए पनि व्यङ्ग्यवाण बर्साउँछन् र साधुलाई सूली र दुर्जनलाई विजयमाला पहिराउँछन् ।

Nepal Telecom ad

सृजन लम्साल :

नेता भनेका नेता हुन्छन्, जनता भनेका जनता । नेता र जनतामा कुनै कुरामा पनि समानता हुँदैन । भिन्न प्रकृतिका मात्र होइनन्, यी दुई विपरीत ध्रुवका प्राणी भए तापनि यिनीहरूको एक आपसमा गहिरो एवम् घनिष्ठ सम्बन्ध हुन्छ । जस्तो पहिले पहिले राजा र प्रजाका बिचमा घनिष्ठ सम्बन्ध भने हुन्थ्यो, त्यो अपरिहार्य पनि हुन्थ्यो । राजा नभए प्रजाको अस्तित्व हुन्थेन, प्रजा नभए राजाको अस्तित्व हुन्थेन । माटाको भर ढुङ्गा र ढुङ्गाको भर माटो पनि भन्ने गरिन्थ्यो तर माटो खलबलिएपछि माटोलाई थिचेर बसेका ढुङ्गा भत्क्यो र प्रजा जनता भए । अहिले पनि त्यस्तै वा अझ त्योभन्दा पनि गहिरो र गाढा सम्बन्ध छ नेता र जनताका बिचमा । नेताकै कारण जनता जनता भएका छन् र जनता छन् र पो नेताले नेता हुन पाएका छन् । जनतालाई माटो सम्झेर ढुङ्गाले झै थिचेर बसेका छन् नेताहरूले पनि उहिलेका राजाहरूले जस्तै ।

तर अहिलेको युग अत्याधुनिक युग भएकाले यति कुरामा चाहिँ अलिकति फरक छ । त्यो के भने उहिले उहिले जनताले राजालाई मात्र होइन राजाका भावी पुस्तादरपुस्तालाई समेत ‘मालिक’ वा ‘सम्प्रभु’ मान्दथे। अहिले चाहिँ नेताले जनतालाई मालिक वा सम्प्रभु भन्दछन् । भन्ने त हो नि। मुखको बाउको केही पनि जाँदैन भनेर नै उनीहरूले त्यसो भनेका हुन् । जनता मालिक वा सम्प्रभु हुने भनेको पाँच वर्षमा एक दिन त हो नि । अहिलेका नेताहरू त्यो पनि बढी भयो भन्दै छन् । उनीहरू त जनता एक युगमा एक दिन मालिक भए पुग्छ भन्दैछन् र आफूहरू नै सदाको लागि मालिक वा सम्प्रभु हुने दाउ खोज्दै छन् ।

नेतासँग मुख हुन्छ, जनतासँग कान । नेतालाई नाक, कान, आँखा वा ज्ञान, वृद्धि विवेक आदि केही कुरा नभए तापनि त्यति फरक पर्दैन तर मुखचाहिँ नभई हुदैन । मुख्यतः नेतालाई दुई कामका लागि मुख चाहिएको हुन्छ ।

एक- जनताले अर्पण गरेका वा कर बल छलद्वारा जनताबाट प्राप्त भएका मुस्वादु अन्नादि तथा बहुमूल्य द्रव्यादि वस्तुहरू उदरस्थ गर्न ।

दुई- चमत्कारिक भाषण जनताका कानमा भर्न। नेताको मुख नै कमाइ खाने भाँडो हो । त्यो भाँडो नै नेताको बहुमूल्य सम्पत्ति हो । कालो हाँडी र नेताको वाणी एक समानका हुन्छन् । कालो हाँडीमा मुरली मकै फुरेभन्दा बढी फुर्दछ नेताको वाणीमा भाषण । नेपालमा दाल, चामल, घ्यु, तेल, तरकारी आदि अत्यावश्यक उपभोग्य सामग्रीहरू महँगा हुन्छन्, छोइसक्नुका हुँदैनन् तर नेताको भाषणचाहिँ सर्वसुलभ हुन्छ । विनामूल्य प्राप्त हुन्छ । त्यसैले जनता बडो आश, चाख र मिठाइपूर्वक श्रवण गर्दछन्, नेताको भाषण ।

भोका जनता नै ठहरे । नेताको कणर्प्रिय भाषण कणर्स्थ गरेर नै भोक मेटाउँदछन् । नेताजीले भाषणमा सबै थोक दिएका हुन्छन् । केही पनि दिन बाँकी राख्दैनन् । देशमा उद्योग, उद्यमी र उत्पादन होस् कि नहोस् त्यससँग मतलब हुँदैन । कहाँबाट ल्याएर जनतालाई दिने हो त्यो पनि उनी जान्दैनन् तर दानी छन् । दिँदै जान्छन् । नेताजीसँग जादुको पेटारो हुन्छ त्यस पेटारोबाट सबैलाई नाना, खाना र छाना प्रदान गर्दछन् । नेताको भाषण श्रवण गरेर जनता तृप्तिको अनुभव गर्दछन् ।

नेताजी भाषण गर्दै जान्छन् । उनको भाषणमा विकासको चरमचुली चुलिन्छ । यस्तो प्रतीत हुन्छ कि अहिलेसम्म नेपालको विकास नभएको त भाषण गर्ने नेताको कमीले पो रहेछ । उनको भाषणले हिमाल, पहाड, तराई वा मधेसका जनताका घर आँगनआँगनमा कार गुड्न थाल्दछन्, रेल कुद्ध थाल्दछन्, छानाछानामा हेलिकोप्टर र प्राङ्गणप्राङ्गणमा हवाइजहाज बस्न थाल्दछन् । उद्योगधन्दाले विश्व बजारलाई उछिन्दछ । नेपालको विकास त चमत्कारिक रूपमा एकैछिनमा भएको हुन्छ । नेपालको बिजुली भारत, चीन, जापान आदि देशमा बेचेर पनि पूरा खपत नभएकाले चीन, मङ्गोलिया हुँदै रुससम्म बजार विस्तार गर्ने योजना बनाउँदै छन् । नेताजी ! त्यति मात्र होइन, भाषण गर्दागर्दै नेपाललाई जुरुक्क उचालेर विश्वमानचित्रको कुन ठाउँमा राख्न उपयुक्त हुन्छ विचार गर्दै छन् । उनी भन्छन्- ‘यु.एस.ए., यु.के., स्विट्जरल्यान्ड वा जापानकहाँ लगेर राख्दा ठिक पर्ला हैँ नयाँ नेपाललाई ? लौ भन्नुस् त तपाईंहरू ।’ नेताजी जनचाहना बुझ्दै छन् । पहिलेका राजाले जस्तै नै जनचाहनाअनुसार शासन गर्ने सदीक्षा छ उनको ।

जनता ट्वाँ परेर नेताको भाषण श्रवण गर्दछन् । कुन देश छान्दा ठिक पर्ला भनेर सपनामा डुब्दछन् । तर भाषण सुनेर घर फर्केपछि लोडसेडिङले गर्दा कोठै अँध्यारो, टोलै अँध्यारो र पूरा सहरै अँध्यारो हुन्छ । त्यति बेला जनतालाई जूनकीरीहरूले गुलुफ बालेर कोठा उज्यालो पारिदिन्छन् र व्यङ्ग्य गर्दै भन्छन्- ‘तिमीहरूलाई चाहिने हामीहरू नै हौँ । बरू सक्ने भए तिम्रो नेताले हाम्रो जनसङ्ख्या वृद्धि गरून् ।’ तर जूनकीरीको मौन व्यङ्ग्यले नेतालाई केही असर गर्दैन ।

लोकतन्त्रमा मुखको महत्त्व ठूलो छ । जे गर्छ मुखले नै गर्छ । धम्काएर, थर्काएर, गालीगलौज, सत्तोसराप गरेर वा के गरेर कसैलाई ठिक पार्न सकिन्छ त्यही गरिन्छ । तर जनतालाई चाहिँ त्यस्तो गरिँदैन । भजनकीर्तन गाएर जनताको पूजाआराधना गरिन्छ । लोकतन्त्र भनेकै जनतालाई मुखले पूजा नेतालाई ठूलठूला बुजा हो । यही सिद्धान्तमा चल्दछ लोकतन्त्र । लोकतन्त्रलाई जनताद्वारा चलाइने शासनपद्धति जस्तो सामान्य अर्थमा लिन हुन्न । त्यसको विशेष अर्थ हुन्छ तान्त्रिक विधिद्वारा लोकको बखान गर्ने र लोक अर्थात् जनतालाई आफू अनुकूल वशीभूत पारेर आफ्नो दुनो सोभ्याउने पद्धति नै लोकतन्त्र हो । त्यसैले सम्पूणर् नेतागण चाहे दक्षिणपन्थी हुन् चाहे उत्तरपन्थी, चाहे देब्रे हुन् चाहे दाहिने सबैका सबै जनता रिझाउने चटके खेलमा लागेका हुन्छन् । जनताको नाम दिनमा सयौं पटक जप्दछन् । तर नेताले भनेको नमान्ने र नेताका पछि नलाग्नेहरू चाहिँ जनताको परिभाषा भित्र अटाउँदैनन् ।

नेताका लागि जनता धेरै महत्त्वपूणर् वस्तु हुने गर्दछ । नेता र जनताबिच गहिरो सम्बन्ध हुनुको कारण पनि यही हो । यी दुईबिच आकाशपातालको अन्तर भए तापनि लोकतन्त्रमा दुवैको मूल्य हुने गर्दछ । नेता अर्थात् जनताले चुनेका जनप्रतिनिधिको संसदमा एक भोटका लागि न्यूनतम मूल्य एक करोड हुने गर्दछ भने नेताले आह्वान गरेको जुलुसमा हिँड्ने जनताको अधिकतम मूल्य दैनिक रु. एक सय हुने गर्दछ र पनि नेता र जनताका बिचको सम्बन्ध प्रगाढ छ । नेतालाई जनता नभई हुँदैन । जनता नभए पार्टीलाई चन्दा आउँदैन । चन्दा नआए पार्टी चल्दैन । पार्टी नचले कार्यकर्ताको अस्तित्व रहन्न । कार्यकर्ताहरूको अस्तित्व नरहे पार्टीको अस्तित्व रहन्न । पार्टीको अस्तित्व नरहे नेताकै अस्तित्व रहन्न । नेता महत्वपूणर् वस्तु हो, उसको अस्तित्व रहनैपर्दछ । देश जेसुकै होस्, नेता रहनैपर्छ ।

नेतालाई जनता नभइनहुने वस्तु भएजस्तै जनतालाई पनि नेता नभई हुँदैन । नेता नभए उनीहरूको कान खाली रहन्छ । हजुरआमाले थरीथरीका गाउँखाने कथा हालेर वा गीत गाएर गीतको लोलीमा नातिनातिनालाई लट्ठ पारेर सुताएझैँ जनतालाई सुताउनका लागि नेता चाहिन्छ । नेताले पनि हजुरआमाले जस्तै रोचक एवं मनोरञ्जक गाउँखाने कथा हाल्दछन् अझ उनीहरू त देश खाई शेष पल्टिसकेकाले देश खाने कथा पनि जान्दछन् । आफ्नै बारेमा मिठामिठा गीत सुनाउँछन् र जनताका कानमा टन्न गाँजा भाङ धतुरो भरेर लट्ठ पार्दछन् । जनता आफ्नो भाषणमा लट्ठिइराखून् र त्यही मौका छोपेर आफूले आनन्दपूर्वक देश ज्यूनार गर्न पाइयोस् भन्ने जस्ता देशभक्ति पूणर् पवित्र भावनाले भरिएका हुन्छन् नेताहरू ।

नेतालाई जनता यसकारण पनि आवश्यक पर्दछ कि मागेर खान पनि जनतै चाहिने, खोसेर वा लुटेर खान पनि जनतै चाहिने । पार्टी देखाएर मात्र वा नेता नै बन्धकी बसेर पनि विदेशी दान, अनुदान, ऋण सहयोग आदि केही पनि नपाइने । भूगोल देखाएर पनि नहुने, जनतालाई नै भिक्षापात्र नबनाइनहुने, जनतालाई बन्धकी राखेपछि भने जे पनि पाइने, जनता नभए नेताजीको पेट सारङ्गी जस्तै खोक्रो रहने भएपछि मान्नु परेन त जनतालाई जनार्दन ? त्यसैले नेता र जनताबिचको अन्तर्सम्बन्ध प्रगाढ भएको हो । समग्रमा त्यो सम्बन्धको निचोड यस्तो देखिन्छ ।

निर्मल गङ्गा, जमुना र सरस्वती हुन जनता जसमा राजनैतिक नेताहरू पौडी खेलेर प्रदूषित पार्दछन् । कामधेनु गाई पनि हुन् जनता जसले नेतालाई पञ्चगव्य प्रदान गर्दछन् तर आफू रगत आउने गरी चुसिन थालेपछि टाँगन घोडाले झैँ लात मार्दछन् । उर्लँदो खहरे वा नदी हुन् जनता जसले नेताले विस्ट्याएको फोहरमैला बगाएर स्वच्छ सफा पार्दछन् । हिरण्य गर्भले भरिएको धरती हुन् जनता जसले आफू थिचिन थालेपछि थिच्ने ढुङ्गारूपी नेताहरूलाई कम्पनद्वारा उखालेर फ्याँकिदिन्छन् । जनता भनेका पनि अद्भूत प्राणी हुन्छन् । कहिले पहाडौँ मूर्त देखिन्छन् त कहिले अमूर्त चित्र जस्तै अस्पष्ट । सुनामी हुन् जनता जसले उत्पात सच्याइदिन सक्छन् । कहिलेकाहीँ भोटद्वारा भए पनि व्यङ्ग्यवाण बर्साउँछन् र साधुलाई सूली र दुर्जनलाई विजयमाला पहिराउँछन् । जनताको अनुहार प्रकृति जस्तै खुला हुन्छ त्यसैले जस्ताको तस्तै देखिन्छ तर नेताको अनुहार मकुन्डो टाँसिएको हुन्छ जसमा सच्चाइँ, इमान्दारी र नैतिकताका रङहरू लेपन गरिएका हुन्छन् । नेता र जनता छुट्टयाउने असली कसी पनि यही हो । यति ।

०००
नेपालगञ्ज
‘मृत्यु अधिकार’ (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x