सृजन लम्सालनैतिकता हराएको सूचना
नैतिकता, मानवता, कर्तव्यपरायणता, इमान्दारी, सदाचार आदि शब्दहरू त अब शब्दकोशमा राखिरहन आवश्यक देखिदैन । आकाशपुष्प, शशविषाण (खरायोको सिङ्ग) बन्ध्यापुत्र आदि शब्दहरू जो उपमाको रूपमा प्रयोग गरिन्छ, त्यसको कुनै प्रयोजन छ ?

सृजन लम्साल :
एउटा अनाम पत्रिकामा छापिएको थियो- नैतिकता हराएको सूचना- “केही समय यतादेखि नैतिकता हराएको छ, पाउनु हुने महानुभावले नजिकको प्रहरी चौकीमा वा फोन नं. ००-०००००० मा खबर गरिदिनु भएमा बम्पर पुरस्कार दिइनेछ ।” सूचना पढेर म लालायित हुन्छु तर हराएको वस्तु सूक्ष्म छ, हराएको समयबिन्दु र पुरस्कारको रकम किटान छैन । नैतिकता जस्तो सूक्ष्म तत्त्व कता हराउँछ हराउँछ, कसरी पत्ता लगाउने ? कुन बेलादेखि हराएको हो, पुरस्कारको राशि कति हो, त्यो पनि उल्लेख छैन । आ ! छोड यस्ता बकम्फुसे सूचना, मेरो मनले बेवास्ता गर्न खोज्दछ । आयोतोल्ला रहोल्ला खोमेनीले जाबो एउटा लेखक सल्मान रुश्दीको टाउको काटेर ल्याउनेलाई त दशलाख अमेरिकी डलरको पुरस्कार घोषणा गरेका थिए, नैतिकताको खोजी गर्नेलाई बम्पर मात्र ? बम्पर भनेको कति हो ? सल्मान रुश्दीलाई कुर्मुर्याएर खोमेनीको सामु राख्न सकेको भए दशलाख अमेरिकी डलर कतै नजा ।
आचे ! टाउकै काट्न त के हुन्थ्यो, टाउको खोमेनी आफैले काट्थे वा जे गर्थे। तर अहिले त वर्तमान सूचना पो अगाडि छ । प्रायशः रेडियो र पत्रिकाहरूले बालक हराएको, बालिका हराएको वृद्ध महिला वा पुरुष हराएको, महत्वपूणर् कागजात सहितको व्याग, पर्स वा झोला हराएको सूचनाहरूमात्र भन्ने र छाप्ने गरेका थिए र मैले सुन्दै र पढ्दै आएको थिएँ तर कुनचाँहि शनकीले यस्तो सूचना निकालेछ कुन्नि ? हुनत टी. भी. र रेडियोले भन्ने गरेका पत्रिकाले छाप्ने गरेका सूचनाहरू भन्दा यो सूचना धेरै खोजपूणर् हुनुपर्ने हो । हराएको नैतिकताको खोजी गर्नु जोसुकैको कर्तव्य हुनुपर्ने हो । त्यसैले म नैतिकताको खोजी गर्ने अठोट गर्दछु । एउटा मटेङ्ग्राले दुइटा चरा मार्ने लक्ष्य पहिलोमा पुरस्कार प्राप्ति, दोस्रोमा कर्तव्यको निर्वाह ।
नैतिकताको खोजीको कार्यारम्भ गाउँ-गाउँ वा वडा-वडाबाट गर्ने मनसायले नेपाल अधिराज्य भरिका गाउँ-गाउँ वा वडा वडामा पुगेँ । प्रथमतः वडा कार्यालयहरूतिर लागेँ । कतिपय वडा कार्यालयहरू बन्द, कतिपयमा पालेमात्र उँधेर बसेको पाएँ। पालेसित सोधेँ “खै त अध्यक्षज्यू, सचिवज्यू ?”
उसले भन्यो “सचिवज्यू विकासको पैसा झिक्न बैङ्क जानुभा’छ, अध्यक्षज्यू चैं सचिवले एक्लै लप्काउला कि भनेर उहाँकै पछि-पछि जानु भा’ छ । ए ! हजुर को नि ?” मैले भने “म अनामनगरबाट । नैतिकता हराएको छ, यता पाइन्छ कि भनेर आएको ।” उसले भन्यो “खै हजुर त्यो त मैले देखिनँ, के थाहा ?” वडाकार्यालयबाट पनि केही पत्ता नलाग्ने भएपछि अन्य वडावासीहरू, गाउँवासीहरूसित प्रश्न गर्दै हिडेँ । “नैतिकता हराएर खोज्न हिडेको म त तपाईंहरूले देख्नु भाथ्यो कि ?” उनीहरूले भने “हाम्रो गाउँमा पनि मैना, चमेली, फूलमाला, दिलमायाहरू हराएका छन् तर अरू थोक हराएको थाहा पाइएन । हामी जग्गा दिन्छौँ, काम दिन्छौँ, माम दिन्छौँ, घरवास र सबैथोक दिन्छौँ, तपाईंहरूले हामीलाई चन्दा दिनुपर्यो भन्ने मान्छेहरू त यहाँ आएका थिए तर त्यसभन्दा बढ्ता अरू केही आएको पनि थाहा भएन ।” यसरी गाउँ-गाउँ घुमेर नैतिकता पत्ता लाग्ला जस्तो लागेन, त्यसैले म गाउँ छोडी जिल्लातिर हिडेँ ।
जिल्लामा पनि प्रथमतः कार्यालयतिरै धाएँ । नैतिकता कतै लुकेको पो छ कि भनेर प्रत्येक कार्यालयहरूमा चियाउँदै हिडेँ । कार्यालयको वातावरण निकै रोचक लाग्यो । पहिलेभन्दा अहिले निकै फरक भएछ । अचेल कार्यालयका कर्मचारीहरू मेचमा बसेर काम गर्नुभन्दा कि त चौरमा बसेर गफ गर्न, कि त हाकिमको कोठामा बसेर ठट्टा गर्न, कि त सबै एउटै कोठामा बसी वाद-विवाद, तर्क वितर्क गर्न बढी रुचाउँदा रहेछन् । समयको पावन्दी पनि रहेनछ, आफू खुसी आऊ, जाऊ ।
अचेल कार्यालयहरू क्लब वा क्याम्पस जस्ता भएका रहेछन् । कर्मचारीले कर्तव्यको बोझ मिल्काएर अधिकारको सोझतिर लागेका रहेछन् । कर्मचारीहरू दुई समूहमा विभाजित भएर छाईछुत्ति र जुहारी जस्ता खेल खेल्दा रहेछन्, दोहोरी गीत पनि गाउँदा रहेछन् । कुनै-कुनै कार्यालयमा जनताको भीड पनि निकै हुँदोरहेछ । आदिकवि भानुभक्त आचार्यको पालादेखिको डिट्ठाविचारीसितको बिन्ती भने जस्ताको तस्तै रहेछ । यस्ता भीड हुने कार्यालयमा टेबुलको घर्रा अलिकति खुल्ला राखिँदो रहेछ । टिप्पणी उठाउन आनेकाने गरेपछि गभर्नरले दस्तखत गरेको कागज जस्तो खोस्टा घर्राभित्र छिराएपछि टिप्पणी तयार भइहाल्दोरहेछ र सदर पनि फटाफट हुँदोरहेछ ।
हाकिमसाबहरू भने भन्त्रालयका सचिवज्यूहरू, मन्त्रीज्यूहरू र नेताज्यूहरूसित फोनमा नै व्यस्त देखिनुहुँदो रहेछ । कार्यालयको रमाइलो वातावरणले म त खोज्न हिंडेको कुरै बिर्सेछु । बाहिर पीपलबोटमुनि आएर एकजना भलाद्मी (हेर्दा लेखन्दास जस्ता) सित सोधें । “ए ! हजुर म त नैतिकता हराएर खोज्न हिडेंको, हजुरले देख्नुभाथ्यो कि यता ?“ मेरो कुरा सुनेर उनले त झर्केर पो हपार्न थाले मलाई ! “कस्तो मान्छे तपाईं हँ ? मगज खुस्क्याछ कि क्यो हो ? हात्तीको फूल खोजेर पनि पाइन्छ कहीँ ?” म त अक्क न बक्क भएँ । मगज मेरो खुस्क्या हो कि सूचना निकाल्नेको ? के नैतिकता पाइने तत्त्व होइन ?
जिल्लातिर पनि नैतिकता फेला पर्न नसकेपछि ममा नैराश्यको बादल मडारिन थाल्यो । खोजीको अभियान यही छोडेर अब घरतर्फ लागौँ कि जस्तो लाग्यो तर पुनः हिम्मत बटुलेर नैतिकता पत्ता लगाइछाड्ने अठोटले अब म अञ्चल तथा क्षेत्रीय सदरमुकामतिर भौतारिदै हिँड्न थालेँ । जो जो फेलापरे उनीहरूसित आफ्नो प्रश्न राख्दै गएँ । “हजुरहरूले यतातिर नैतिकता हराएको त देख्नु भएन कहीँ ?” उनीहरूले भने- “खै यतातिर अचेल माओवादी हुँ भन्ने मुकुन्डोधारीहरूले मस्त निदाएका जनताको घाँटी रेट्दै हिँडेको, हातखुट्टा काट्दै हिँडेको त थाहा छ तर अरू देखिएन ।” हाम्रो क्षेत्रीय सदरमुकामका घुम्नेमेचहरू खाली देखिन्थे । टेण्डर खोल्नेबेला र बिलको भुक्तानी हुनेबेला मात्र यी मेचहरूले भार बहन गर्नु पर्दोरहेछ, अरूबेला भने बडो आराम मिल्दोरहेछ यी मेचहरूलाई ।
मैले एउटा कुरा भने पत्ता लगाएँ । यी मेचहरूलाई धेरै आराम मिल्ने भएकाले पो ‘आरामदायी मेच’ भनिँदोरहेछ । तर मेरो खोजको विषयको भने सिङ पुच्छर केही फेला पर्न नसकेपछि कहीँ नैतिकता पलायन त भएन ? कहीं विदेशिन त गएन ? भन्ने आशङ्का बढ्यो, त्यसैले म अधिराज्य भरिका भन्सार कार्यालयतिर लागेँ । आयात निर्यात जाँचकीसित सोधेँ “ए ! हजुर म नैतिकताको खोजमा हिँडेको हूँ । नैतिकता निर्यात त भएन कतै ? यहाँले देख्नुभाथ्यो कि” उसले भन्यो “खै यताबाट पुराना मूर्तिहरूको चोरी निकासी भएको, केही महिला र पुरुष भएर गर्भपतन गराउन छिमेकी देशतिर लागेको, फिल्म स्टार बन्ने रहरमा युवतीहरू विदेशिएको वा केही व्यक्तिहरू विदेशी मुद्राको भोजन गरेर विदेशतिर लागेको वा देशको अमूल्य जडीबुटी वा लागूपदार्थको आयात- निर्यात गर्नेगरेको, गुदद्वारमा सुन राखेर केही व्यक्तिहरू विदेश भ्रमणबाट आउने गरेको कुरा र विदेशी नेपालीहरू विदेशको बाटो भएर बेरोकटोक आएर नेपालमा शरणार्थी बनेको तर घर फर्कन खोज्दा बाटामै थुनिन परेको कुराहरूसम्म थाहा छ तर नैतिकताको बारेमा म यसै भन्न सक्दिनँ ।”
नैतिकता निर्यात भएको कुरा पनि केही पत्ता नलागेपछि अब म नेपालको राजधानीतिर लम्केँ । राजधानी काठमाडौं-आदिकवि भानुभक्त आचार्यको ‘अलकापुरी कान्तिपुरी नगरी’ हालसालै पदोन्नति प्राप्त काठमाडौं महानगरीमा भ्रमण गर्ने क्रममा कुनै ठाउँ बाँकी राखिनँ मैले । वाग्मती, विष्णुमती, धोबीखोला र टुकुचाका किनारतिर नवजात शिशु फेला पर्थे, रानीपोखरी र पानी पोखरीतिर उत्रेका लाश फेलापर्थे, शहरका पेटीहरूमा नाङ्गा बालक फेला पर्थे, पर्यटकहरूले व्यस्त होटलहरूमा युवतीहरूको लाभा फेला पर्यो, पाटी पौवातिर लागुपदार्थले लठ्ठिएका दुर्व्यसनीहरू फेला पर्थे, शहरका गल्ली गल्छेडाका होटलहरूमा एच. आई. भी. पोजेटिभ आयातकर्ता होटलहरू फेला पर्थे, शहरकै मध्यभागतिर विदेशी प्रहरीहरू छापामार्न हिडेको फेला पर्थे, तर नैतिकताको गन्ध चाहिँ कतै पाइएन । पाइयो, फोहर मैला, नाथ्री फुट्ने दुर्गन्ध, धुँवा धुलो, उकुसमुकुस नारा जुलुस, तोडफोड, हिंसा विध्वंस ।
म ट्वाल्ल परेर जुलुसतिर हेरिरहेको थिएँ । एकजना बुजुक जस्ता महानुभावले मलाई भने “के हेर्दै छौ ए ! लाटाले केरा हेरे जस्तो ।” मैले भनेँ “त्यै के नैतिकता हराएको सूचना निस्केको थियो नि पत्रिकामा, त्यै खोज्दै हिंडेको म ता ।” ती महानुभावले आक्रोश व्यक्त गर्दै भने “नैतिकता खोज्न त ऊ. त्यहाँ टुँडिखेलमा नेताले भाषण गरेको ठाउँमा जाऊ, त्यतै पाइएला अन्य पाउन गाह्रो छ । यहाँ त अनैतिकता मात्र पाइन्छ । ऊ हेरन, अनैतिकताको बिउबाट उम्रेका च्याउजस्ता महलहरू । खुला र खाली ठाउँ भन्ने कहीं रहेन । खोला, बगर, ढल, नाला, कान्ला कुनै ठाउँ बाँकी छ ? अनैतिकताको धनको प्रदर्शनी दुर्गन्धित स्थलमाथि सिंगमरमरका चिल्ला महलहरू खडा छन् ।
हिजोका नाङ्गलेका आज गगनचुम्बी महलहरू छन् । हिजोका खर्दार आज सर्दार बनेका छन्, तस्करको लस्कर छ । पुराना किल्ला जस्ता थुम्का अहिले भिल्लामा परिणत भएका छन् । जसरी गगनचुम्बी महल ठडिएका छन्, त्यसैगरी महगाइ धराहरा बन्दै गएको छ। यहाँ त अब बाँच्नै गाह्रो छ । पानीको कुरा छोड, साँसफेर्नै गाह्रो छ । सरकारले पानी त मेलम्चीबाट ल्याउँछु भन्छ, हावा कहाँबाट ल्याउने हो ? अक्सिजनको आयात कहाँबाट गर्ने हो ?” ती बुजुक झन् झन् आक्रोशित हुँदै थिए । यत्तिकैमा “…. चोर देश छोड” भन्ने नारा लगाउँदै आएको जुलुसले उछिट्टिएर म रत्नपार्कको बारभित्र पसेंछु तर ती महानुभाव कता पुगे पत्तै भएन ।
उनको अर्ती मानेर म टुँडिखेल खुला मञ्चमा भाषण सुन्न गएँ । नेताजी साँडेजस्तो डुक्रिदै थिए, उनको डुक्राइ प्रतिध्वनित भैरहेको थियो । होहल्ला र प्रतिध्वनिको सम्मिश्रणले उनले बोलेको सबै कुरा प्रष्ट बुझ्न सकिन्नथ्यो तर छिट-पुट वाक्यहरू यस्ता थिए- “हामी मात्र देशभक्त र राष्ट्रवादी हौँ, हामी बाहेक अरू अराष्ट्रवादी हुन् । हामी सत्तामा रहेमात्र प्रजातन्त्र बाँच्न सक्छ नत्र भने हामी नै बाँच्न दिन्नौँ । कुनैपनि सन्धी सम्झौता हामीले मात्र गर्नुपर्छ, अरूले गरेको राष्ट्रघाती हुन्छ । बजेट हामीले बनाए जनवादी अरूले बनाए धनवादी हुन्छ ।” आदि-आदि । नेताजीको भाषण धारावाहिक रूपमा गइरहेको थियो । भाषणमा भन्न लाजलाग्ने नाङ्गा वाक्यहरू पनि थिए । नैतिकता र अनैतिकताका वाक्यांशहरू पनि थुप्रै थिए तर ध्वनि र प्रतिध्वनिको ठक्करले गर्दा मैले केही बुझ्न सकिनँ र नैतिकताको कतै क्यै सिंग पुच्छर फेला पार्न सकिनँ ।
अब म किंकर्तव्यविमूढ भएर लड्बडाउँदै लरबर-लरबर हिँडिरहेको थिएँ र सोच्दै थिएँ । आखिर नैतिकता कता लुक्यो होला त ? कहीँ नैतिकता ती ठूल्ठूला चिल्ला महलहरू भित्र लुकेर बसेको त छैन ? कहीँ मन्त्रीज्यूहरूको आलयतिरका वा सचिवज्यूहरूको आलयतिरका घर्राभित्र कोचिएका त छैनन् वा रद्दीको टोकरीतिर फेंकिएका त छैनन् ? मलाई यी बडेमानका महलहरू र मन्त्रालय र सचिवालयका कुना काप्चासम्म पसेर नैतिकताको खोजी गरी निकाल्ने इच्छा जाग्रित भएर आयो । भुसुनो बनेर भित्र पसी एक-एक कुनाकाप्चा र कन्दराको खानतलासी लिने इच्छा जागेर आयो तर मलाई कुनै ऋषि वा देवताहरूले भुसुनो बन्ने वरदान नदिएको हुँदा ती महलहरू मन्त्रालयहरू र सचिवालयहरूलाई बाहिर सडकबाट हेर्न बाहेक अरू केही गर्न सकिनँ, सक्न पनि कसरी सकिन्थ्यो र !
घरको बाहिर लेखिएको हुन्थ्यो कुकुरदेखि सावधान ! मन्त्रालय र सचिवालयहरूमा प्रहरीको पहरा नै हुन्थ्यो । यसरी रल्लिएर हिँडिरहेको बेला म आफैले भोट दिएका सांसदज्यूलाई सम्झेँ । निर्वाचन हुनुभन्दा पूर्व उहाँ उम्मेदवार हुनुहुन्थ्यो त्यतिबेला उहाँ दुब्लो, पातलो, ख्याउटे, मरन्च्याँसे हुनु भएको देखेर टिठै लागेर आयो, त्यसैले उहाँलाई नै भोट दिएँ मैले तर उहाँ त अहिले टिमिक्क परेको पुटुक्क भुँडी फुलाएको चिल्लो-चाप्लो हुनुभएको छ रे भन्ने सुनेको छु । पहिले त उहाँ खद्दरको पोशाकमा चप्पल प्याट्-प्याट् पड्काएर पैदल भ्रमण गर्नुहुन्थ्यो तर अहिले त टाई शूटमा पजेरोमा सुलुल्ल बग्नुहुन्छ रे भन्ने पनि सुनेको छु ।
त्यसैले उहाँलाई भेट्न संसद भवनतिरै जानुपर्यो भन्ने विचार गरेँ । त्यहाँ आजभोलि महाकाली मन्थन भइरहेको छ । यस मन्थनबाट अमृत निस्कन्छ निस्कन्न द्विविधा छ । केही गरी अमृत ननिस्की हलाहल विषमात्र निस्क्यो भने त्यो कसले पिउने हो ? यी सब कुराको जानकारी लिने लालसा र सांसदज्यूलाई भेट्ने तीव्र इच्छाले सिंहदरबार गेटसम्म पुगेँ । भित्र पस्न के खोजेको थिएँ प्रहरीले पास खोज्यो । “आफ्नै सांसदलाई भेट्न आफ्नै संसदभवनभित्र जान पनि केको पास चाहियो” भनेर भित्र छिर्न खोज्दा त प्रहरीले घ्रोकेठ्याक लगाएर बाह्रहात पर पुर्याइदियो ।
म युद्ध हारेर फर्केको सिपाही जस्तै लुरुलुरु भद्रकालीतिर लागेँ । भद्रकाली मन्दिरमुनि रुखको छायाँ परेको पेटीमा एकजना लामो दाढी पालेका झलक्क हेर्दा लेखनाथ पौड्यालै हुन् कि जस्ता लेखक, कवि, बुद्धिजीवी वा दार्शनिक जे भनेपनि सुहाउने खालका वृद्ध व्यक्ति भेटिए । उनकै बगलमा थचक्क बसेर सुइइय ! सुस्केरा हालेँ । मेरो उल्झन बुझ्ने मनसायले मलाई लक्ष्य गर्दै उनले भने “के भो थाक्नु भो कि क्या हो ?” मैले भने “थाक्नसम्म थाकेँ र अब हरेस पनि खाइसकेँ हजुर मैले त ।” उनले कुराको सिलसिला नबुझेजस्तो लागेकोले प्रष्ट पार्दै भने “त्यै नि हजुर, हराएको नैतिकता फेलापार्नेलाई पुरस्कारको घोषणा गरेको थियो नि, अनाम पत्रिकाले, त्यो पत्ता लगाएर पुरस्कार लिइछाड्ने धोकोले गर्दा खोज्नसम्म खोजेँ तर कही फेलापार्न सकिनँ ।”
मेरो कुरा सुनेर उनी मुसुमुसु हाँस्न थाले । “यो कलियुग हो बाबु कलियुग ! द्वापर र त्रेता युगमा नै नैतिकता हराउन थालिसकेको थियो, यो घोर कलियुगमा त हराइसक्यो । अवशेषको रूपमा जे जति बचेको थियो त्यो हिटलरको ग्याँस चेम्बरमा, नागासाकी र हिरोसिमामा जलिसक्यो । अब त नैतिकता यदि कहीँ छ भने मानिसको वाणीमा र शब्दकोशको पानामा मात्र छ । मानिसको मुखको बाउको के जान्छ र नैतिकताको भाषण गरिदिन्छ, अथवा कलम पनि चलाइदिन्छ, बस् । नैतिकता त अब कवि वा लेखकहरूको लागि विशेषण र उपमा वा लेखनको विषय, पत्रकारको लागि पत्रिका बिकाउने साधन र नेताहरूको लागि जनता झुक्याउने वा अल्मल्याउने भाँडो मात्र भएको छ, जोसुकैले पनि आफ्नो आङको भैँसी देख्दैन अरूको आङको चाहिँ लिखा केलाउन छोड्दैन ।
नैतिकता, मानवता, कर्तव्यपरायणता, इमान्दारी, सदाचार आदि शब्दहरू त अब शब्दकोशमा राखिरहन आवश्यक देखिदैन । आकाशपुष्प, शशविषाण (खरायोको सिङ्ग) बन्ध्यापुत्र आदि शब्दहरू जो उपमाको रूपमा प्रयोग गरिन्छ, त्यसको कुनै प्रयोजन छ ? जुन कुराको अस्तित्व नै छैन त्यसको उच्चारण र प्रयोग किन गरिरहने ? किन खोजी गर्ने ? नैतिकता वाणीमा वा भाषणमा वा लेखनमा मात्र रहने वस्तु होइन, यो त मानिसको आचरण र व्यवहारमा हुनुपर्ने गुण हो । ईश्वर खोज्न हिँडेर कहीँ पनि पाइँदैन तर ईश्वर प्राप्त गर्नेले आफूभित्रै प्राप्त गर्न सक्दछ, यदि उसमा त्यस किसिमको गुण छ, लगन छ, साधना छ, आचरण र व्यवहार छ भने ।
तपाईं पत्रिकाले घोषणा गरेको पुरस्कारको जुन कुरा गर्दै हुनुहुन्छ त्यो पुरस्कार त केही दिन पहिले एकजना निकै चनाखो व्यक्तिले पड्काइसक्यो, तपाईंलाई थाहै रहेनछ । उसले मन्त्रीज्यूले दिनुभएको भाषणको टेप, अनाम पत्रिकाको सम्पादकीयको फोटोकपी र शब्दकोशको पाना जुटाएर प्रमाणको रूपमा पेश गरेपछि पुरस्कार उसैलाई मिल्यो ।” यो खबर सुनेपछि म त आकाशबाट भुइँमा थेचारिए जस्तै भएँ । मेरो कन्चेट तातेर आयो। म केही पनि बोल्न सकिन उनको दाढीतिर ट्वाल्ल हेरिमात्र रहेँ ।
०००
‘नैतिकता हराएको सूचना’ (२०५५)
Subscribe
Login
0 Comments
Oldest







































