साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पशुपतिका बाँदरहरू

यदि बाँदर मान्छेको पुर्खा हो भने कहाँनिरको पुस्तामा गएर पुच्छर चुडिन गयो ? रौँ खुइलिन गयो ? त्यही पुच्छर चुँडिएको र रौँ खुइलिएको कारण मान्छेले आफूलाई पशु जगतको सर्वोच्च र सर्वश्रेष्ठ गणना गरिरहेको छ ।

Nepal Telecom ad

सृजन लम्साल :

जबसम्म मानिस दुःखको भुमरीमा पर्दैन तबसम्म ऊ मैमत्त साँढे झैँ भएर हिँड्दछ । आफूलाई संसारकै सर्वज्ञाता, सर्वद्रष्टा र सर्वेसर्वा ठान्दछ तर जसै ऊ आपतविपतको जालोमा जेलिन पुग्दछ तब भने ऊ एउटा निरीह प्राणीको रूपमा मन्दिर, मस्जिद वा गिर्जाघरको ढोका ढक्ढकाउन थाल्दछ र त्यहाँ भित्रको पत्थरको मूर्ति वा मझेरीमा थाप्लो बजार्दछ वा खुल्ला आकाशमा अलापविलाप गर्दछ ।

मान्छे, म पनि उही ड्याङको मुला न हुँ । काठमाडौं आएको यतिका दिन भइसक्दा पनि अहिलेसम्म आफ्नै दुनियाँमा रल्लिइरहेको रहेछु र देवाधिदेव महादेवलाई चाकरी बजाउन त परै जावस् सम्झनसम्म पनि भुसुक्कै बिर्सेको रहेछु ! गए राति देखेको त्रासदीपूर्ण दुःस्वप्नले बल्ल मेरो घैँटोमा घाम लाग्यो र मलाई पशुपतिनाथको चाकडीमा दौडायो !

गए राती मैले भयङ्कर त्रासदीपूर्ण सपना देखेँ र भयभीत भएँ । सपनामा ममाथि बाँदर सेनाहरूले आक्रमण गरे र ज्यानै लिन तम्सिए । मानो ती मान्छेकै आततायी दस्ताहरू हुन्, जोसित म विपनामा पनि त्रसित भइरहन्छु । ती बाँदरहरूले घरमा भएका सरसामान केही सग्लो बाँकी राखेनन् । केही खाएर, केही कोपरेर, केही चिथोरेर घरका सम्पूणर् सरसामानहरू नष्ट पारे, केही साथमा लिएर गए । त्यतिले नपुगेर ममाथि नै आइलागे । बाँदरको दलबलले मेरो ज्यान लिन तम्सिएकै अवस्थामा म आत्तिएर बिउँझेँ । त्यसपछि मेरा आँखाका परेलीहरू दक्षिण र उत्तर ध्रुव भएर बसे । पटक्कै जोडिन मानेनन् । निदायो कि सपना देखिन्छ र फेरि सपनामा बाँदरको फौजले आक्रमण गरिहाल्छ भन्ने सोचले त्रसित बनाइ राख्यो मलाई ।

त्यसैले म एकाबिहानै नित्यकर्मबाट निवृत्त भएर ज्यान धनको सुरक्षाको दुहाई माग्नको निमित्त भोलेबाबा पशुपतिनाथकहाँ जान भनेर हिडेँ किनकि नेपाल र नेपालीको रक्षा पशुपतिनाथबाहेक अब अरू कसैले गर्न सक्दैन । देश र जनताको रक्षा गर्ने काम सरकारको भएर पनि ऊ त्यो जिम्मेवारी बहन गर्न असमर्थ छ । ऊ आफैँ सुरक्षित छैन आफैँ पशुपतिनाथको भरोसामा छ, त्यसैले उसले अरूको सुरक्षा के गर्ला ? तर पुजारीको हायर-फायरको राजनीतिले गर्दा पशुपतिनाथ पनि रिसाएर बसेका पो छन् कि ? त्यही झोकमा मलाई लोप्पा ख्याएर पठाई दिने पो हुन् कि ? वा पशुपतिनाथले पनि अब देश र जनताको रक्षा गर्ने छोडिदिने पो हुन् कि ? धर्म निरक्षेपताको निणर्यले गर्दा भोलेबाबा पनि बुम् वुम् भएर बसेका पो छन् कि सशङ्कित हुदै म गौरीघाटसम्म पुग्दछु ।

गौरीघाटबाट म पशुपतितिर लम्कन्छु । कस्तो अचम्म । मेरा अगाडि हुलका हुल तिनै सपनाका बाँदरहरू पो छन् । कोही बाटामा, कोही कान्लामा, कोही रुखमा झुन्डका झुन्ड भएर मलाई घेरा हाल्न खोजे जस्ता ! ती बाँदरहरू भिन्दाभिन्दै दलमा विभक्त भएर लम्घाङ र लुड्छुङ्ग पुच्छर हल्लाउदै च्यारच्यार र चुरचुर, ख्याङ्ख्याक् र खुकखुक गर्दै एक दलले अर्को दलमाथि चूडान्त प्रहार गर्न खोजेजस्ता देखिन्थे । उनीहरूको भाषा मैले बुभन सकिनँ । के विषयमा कुरा नमिलेर एक आपसमा लडिरहेका र बाझाबाझ गरिरहेका थिए कुन्नि ? यस्तो प्रतीत हुन्थ्यो कि ती एकआपसमा भिडे भने चिचोराचिचोर, कोपराकोपर गरेर नेपालका राजनीतिक दलहरूका युवा दस्ताहरूले कै एकले अर्काको प्राणान्त गरी छाड्ने छन् । त्यो देखेर म अत्तालिएँ । यिनीहरूको कोप ममाथि नै भाजन हुने हो कि भनेर म त्रसित भएँ । सपनामा जस्तै यिनीहरूले मैमाथि साङ्घातिक आक्रमण गर्न के बेर ? संयोगवश म त्यो परिस्थितिबाट उम्केर अगाडि बढेँ।

यी पशुपतिका बाँदरहरू । यिनीहरूको स्वउद्यम केही पनि हुँदैन । यिनीहरू परिश्रम गर्न रुचाउँदैनन् । खेतीपाती, उद्योग व्यवसाय केही पनि हुँदैन यिनीहरूको । धाकधम्की प्रदर्शन गर्ने, छलबलद्वारा अर्काको खोसेर वा लुटेर खाने, अरूलाई दुःखकष्ट दिने काम नै यिनीहरूको स्वउद्यम हो। बाँदरको जातीय वा वर्गीय पहिचान नै यही हो । भक्तजनहरूले भगवानलाई चढाउन ल्याएको प्रसाद, भेटी, मिठाइ आदि खोस्यो खायो । अर्काको घरभित्र, बारीभित्र वा बगैँचाभित्र पस्यो लुट्यो खायो र खानुभन्दा बढी नोक्सान गयो, बाँदरको कामै यस्तै हो। वनजङ्गल यिनीहरूको विर्ता नै हो ।

भनिन्छ, बाँदरले आफ्नो पनि घर बनाउँदैन र अरूको पनि घर बन्न दिँदैन । त्यसैले यिनीहरूको न घर हुन्छ न द्वार तर अरुहरूले बनाएको पाटी, पौवा, सत्तल वा महलमा बास बस्दछन् र त्यसमा आफ्नो हक जमाउन खोज्दछन् । यिनीहरूलाई सिमानामा बाधिएको देश चाहिँदैन, संसार आफ्नै हो भनेर लखरलखर यो जङ्गल र त्यो जङ्गल चाहार्दछन् । तर अर्को जङ्गलका बाँदरहरूले लेखेटेपछि फर्केर आउँछन् र यहीँ हुँदो बस्दछन् । यिनीहरूलाई जङ्गल मन पर्छ र जङ्गली अवस्थामै बस्न रुचाउँछन् । यिनीहरूलाई देशको उन्नति, प्रगति, विकास केही पनि चाहिँदैन २१ उद्योगधन्दा बाटोघाटो, नहर, पुल, कपि व्यवसाय आदि नै चाहिन्छ । बाँदरहरू सभ्यता संस्कृति के हो भन्ने कुरा जान्दैनन् । पिता पुर्खाको अस्तित्वलाई मान्दैनन् । त्यसै उनीहरूको श्रद्धा र सम्मान गर्न जान्दैनन् । उनीहरू सिर्जना मन पराउँदैनन । उनीहरूको कोही पनि हुँदैन, केही पनि हुँदैन । तर त्यसो भन्दैमा यिनीहरू सामाजिक मोहबाट मुक्त भएका साधु सन्यासी वा जोगी भने होइनन् । मान्छेले जस्तो दीर्घकालीन सञ्चय गर्दैनन् तर क्षणिक सञ्चय भने गर्दछन् त्यसको लागि शक्ति मोह हुन्छ । यिनीहरूलाई अरुसँग लड्नको लाग पनि शक्ति चाहिन्छ । त्यही शक्तिद्वारा अरुमाथि दमन गरेर आफ्नो हैकम जमाउन चाहन्छन् ।

पशुपतिमा बाँदरहरूको वास छ । म पशुपति जाँदा जहिले पनि बाँदर नभेटिएको दिनै हुँदैन । बाँदरहरू प्रायः पशुपतिमै मात्र किन भेटिन्छन् ? प्रश्न मेरो अगाडि तेर्सिन्छ । यो एउटा शोधको गहन विषय हुन सक्दछ । त्यो बेग्लै कुरा हो । तर यम विषयमा म अहिले नै सोचमग्न हुन पुग्दछु । पशुपतिमा किन बाँदरहरू बस्दछन् मन्ने विषयमा घोत्लिदै जाँदा म एउटा निष्कर्षमा पुग्दछु कि बाँदरहरू शक्ति पिपाशु भएकाले शक्ति केन्द्रमा बस्न रुचाउँदा रहेछन् । पाशपत क्षेत्र नेपालको प्रमुख दैवी शक्ति केन्द्र हो । त्यसैले यहाँ बाँदरहरूको अखडा छ । पशुपतिमा जङ्गल पनि छ । जङ्गल जनावरहरूको शक्ति केन्द्र हो । त्यसैले जङ्गलमा बाँदरहरू बस्दछन् । तर बांदर बस्नका लागि जङ्गल भएर मात्र पुग्दो रहेनछ । शक्ति केन्द्र हुनै पर्दो रहेछ । शक्ति केन्द्रको चुम्बकले बाँदरहरूलाई आफूतिर तान्दो रहेछ भन्ने कुरा धेरै समय पहिलेदेखि सिंहदरबार हाताभित्र हुलकाहुल बाँदर देखिनुबाट पुष्टि हुन्छ ।

सिंहदरबार नेपालको शासकीय शक्ति केन्द्र हो । सिंहदरबार कमजोर शक्ति केन्द्र रहेको बेला भने बाँदरहरू नारायणहिटीको बाँसघारीभित्र यत्रतत्र निर्वाध रूपमा घुमेको देखिन्थ्यो तर अहिले नारायणहिटीको बाँसघारी बाँदर शून्य देखिन्छ । शक्ति नभएको ठाउँमा खरायोको टाउकोमा सिङ्ग हराएजस्तै हराउँदा रहेछन् बाँदरहरू । अचेल शितल निवासको हाताभित्र एउटा पनि बाँदर पसेको देखिन्न किनभने त्यो ठाउँ अहिले शक्ति शून्य छ । बालुवाटारतिर भने केही बाँदरहरूको हुल देख्न सकिन्छ । वसन्तपुर दरबार स्क्वायर अहिले बाँदरविहीन छ । तर म अनुमान गर्न सक्छ कि कुनै जमानामा वसन्तपुर दरबार र त्यसको आसपासमा पक्कै पनि बादरहरूको विगविगी थियो होला । नेपालमा भूमिगत रूपमा पनि शक्ति केन्द्रहरू हुन्छन् । त्यस्ता शक्ति केन्द्रहरूमा पनि बाँदरहरूको उपस्थिति अवश्य नै रहेको हुनुपर्दछ । काठमाडौंको लैनचौर नेपालको अर्को अघोषित शक्ति केन्द्र बन्दै गइरहेको ओपन सेक्रेट छ । त्यहाँ गोप्य रूपमा बाँदरहरू प्रवेश र बहिर्गमन गर्दछन् भन्ने कुरा बारम्बार सुन्नमा आइरहन्छ ।

शक्ति केन्द्रमा बस्न रुचाउने यी बाँदरहरू र शक्ति पिपासु मान्छेहरूमा हुबहु समानता देख्दछु म । रौँ र पुच्छरको भिन्नता भएर के भो र । स्वभाव, सोँच, चित्त, चरित्र र क्रियाकलापहरू सबै उस्तैउस्तै छन् । अलि गौर गरेर हेर्‍यो भने बाँदरको अनुहारमा घरि म हजुरबुवा देख्दछु घरि म आफै झल्किन्छु र घरि आफ्नै सन्तानका अनुहारमा बाँदर पाउँछु । सदियौँदेखि मान्छे र बाँदर एकअर्काका पर्याय रहदै आएका छन् । त्यसै भएर त विकासवादी लेखक वा चिन्तकहरूले बाँदरलाई मान्छेसँग लगेर जोडेका होलान् । डार्विनले पनि त मान्छे र बाँदरको व्यवहार, स्वभाव चरित्र र प्रवृत्तिमा समानता देखेर न मानिसका पुर्खा बाँदर हुन् भनेका होलान् ।

म सोच्ने गर्दथे- आफूलाई ब्रह्माको सन्तानवाट विस्थापित गरेर बाँदरको कित्तामा लगेर राख्ने कस्तो मूर्ख होला मानिस । तर अहिले जब म मान्छे र बाँदरका व्यवहार स्वभाव चरित्र र प्रवृत्तिमा हुबहु समानता देख्दछु । डार्विनले ठिकै भनेका रहेछन् जस्तो लाग्दछ र अण्डा र कुखुराको जिन एउटै भएजस्तै मान्छे र बाँदरको जिन पनि एउटै हो भन्ने ठान्दछु । यति मात्र छुट्याउन अलि गाह्रो छ कि मान्छे जेठो हो वा बाँदर ? घुमाइफिराइ कुरा उही आउँछ- कुखुरा पहिले कि अण्डा पहिले भनेजस्तै । यहाँ कुरा अलि जटिल पनि छ । यदि बाँदर मान्छेको पुर्खा हो भने कहाँनिरको पुस्तामा गएर पुच्छर चुडिन गयो ? रौँ खुइलिन गयो ? त्यही पुच्छर चुँडिएको र रौँ खुइलिएको कारण मान्छेले आफूलाई पशु जगतको सर्वोच्च र सर्वश्रेष्ठ गणना गरिरहेको छ र यदि त्यसो नभएर बाँदरभन्दा मान्छे नै जेठो हो र मान्छे नै बाँदरको पुर्खा हो भने कहाँनिरको पुस्तामा गएर बायोलोजिकल मिस्टेक हुन गयो र पुच्छर र रौँ उम्रिएर मान्छेका सन्तान बाँदरमा परिणत भए । (वर्तमानमा मान्छेको स्वभाव, चरित्र र क्रियाकलाप देख्दा यही कुरा सत्य हो जस्तो पनि लाग्दछ । यो कुरा वैज्ञानिकहरूले पनि अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् । तर यतिसम्म त प्रमाणित भइसकेको छ कि बाँदर र मान्छेको जिन एउटै हो ।

यी कुराहरू मनमा सोच्दै अब म फूलप्रसादीको दुनो हातमा लिएर पशुपतिनाथ मन्दिरको मूल द्वारबाट भित्र पस्दछु एउटा बाँदर मेरो काँधमा हामफाल्दछ र हातको दुनो खोसेर भाग्दछ । म आँत्तिएर भुइँमा पछारिन्छु । एकछिनपछि उठ्छु र थरर काम्दै भयभीत अवस्थामा दर्शनार्थीहरूको पङ्क्तिमा गएर उभिन्छ र सोच्दछु के सधैँभरि बाँदरसँग भयभीत भइरहनु हाम्रो नियति हो । ???

०००
गैँडाकोट, नवलपरासी
मृत्यु अधिकार (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
नेता र जनता

नेता र जनता

सृजन लम्साल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x