साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिब्रो

तर यी हातखुट्टा त्यस्ता साँढै हुन् जसलाई एउटा फिस्टे केटाले हातमा सिप्किनो लिएर खेदेको हुन्छ भने त्यस्तै हात्ती हुन् जसलाई माउते नामको एउटा सुइँखुट्टेले खुट्टा कन्चटमा राखेर नचाइरहेको हुन्छ ।

Nepal Telecom ad

रमेश समर्थन :

‘मिठो जिब्रे अल्छी तिघ्रे’ भन्ने उखानको गर्भबाट नै सामन्तवादको जन्म भएको हुनुपर्छ भन्ने कुरो मेरो बोधो मथिङ्गलको रिसर्चको निष्कर्ष हो । कामको नाउँमा वरको सिन्को पर नसार्ने र खोपाभित्रका देउताझैँ खोपीभित्र बसीबसी नैवेद्य नामको सुस्वादु भोजन ज्युनार गर्न पल्केको हाम्रो जिब्रो पनि एउटा सामन्त हो । हाम्रा परिश्रमी हातहरूले कडा श्रमद्वारा उब्जाएको वस्तुमा लप्लपाउँदै असल र स्वादिष्ट वस्तुलाई आफ्नो प्रभु महासामन्त भुँडीकहाँ पठाउने जिब्रो महासामन्तको दलाल सामन्त हो भने हाम्रा हातखुट्टा शोषित, हेपित, दलित तथा सीमान्तीकृत श्रमिकवर्ग हुन् ।

यो जैरे जिब्रो नभएको भए पो के नापिन्थ्यो होला र भनेर त भन्नुहोला तर तपाईंको भनाइ सोह्रै आना अल्पमतमा पर्ने निश्चित छ । यो नभएको भए मान्छे बोल्न सक्दैनथ्यो र अहिले भन्न नहुने तर भन्नैपर्ने लाटो हुन्थ्यो । तर जिब्रो हुनेहरूलाई पनि बोल्न नसकेको देख्दा र लाटो भएर आपूmमाथिको शोषण, हेपन, दलन तथा सीमान्तीकरणलाई दैवको देन ठानेर सहेको देख्दा भने लाग्छ यो छुसी जिब्रालाई भुँडीले हाम्रा हातगोडाको श्रमको शोषण गर्न राखेको दलाल नै भन्नुपर्छ । यस्तै दलाली गर्ने भएर त यसमा हाड हुँदैन नि ! अनि हाड नै नभएपछि अडानको कुरो नै उठ्ने भएन । त्यसैले घरी यता लफ्रक्क, घरी उता लफ्रक्क । ताक परे तिवारी नत्र गोतामे ।

हुन पनि हाम्रा श्रमिक हातहरूले कमाएर, बनाएर र उठाएर मुखरूपी भन्सारमार्फत् भुँडीरूपी राजस्वमा पठाएको वस्तुरूपी धौको यो भ्रष्ट जिब्राले बिचमै तर चाटिदिन्छ विदेशीले हामी गरिबीको पनि खिल्ली उडाउने जनताको न्यूनतम स्तर उठाउन भनी पठाएको अनुदान हाम्रा सरकाररूपी सामन्तहरूले चाटे झैं । भन्न त भन्लान् जसले मह काट्छ उसले हात चाट्छ । तर यिनले त मह काट्नु त कहाँ कहाँ हात पनि अरूले चाटेर स्वाद उनीहरूले पाउनुपर्ने काम र कुरो गर्छन् र पो उदेक लाग्छ । अर्को अर्थमा भुँडीभगवान्लाई चढाएको प्रसाद यो जिब्रो पुजेरीले बिचमै जिप्ट्याइदिन्छ । क्या मज्जा ! काम न साम, बसी बसी माम । यसको यही दलाली चरित्रलाई बुझेर नै भुँडीदेवले यसमाथि बत्तीसदन्ते र चौबिसघण्टे पहरा लगाइदिएको हुनुपर्छ । तर दलाल न हो । चौकिदारलाई पनि झुक्याइदिन्छ । दाँतलाई चपाउने काममा अल्झाएर आफूले ट्वाक ट्वाक गर्दै स्वाद लिन थाल्छ । फेरि खाने मुखलाई जुँगाले कहाँ छेक्छ र ? आखिर निकासी गर्ने मार्ग अर्कै भए पनि पैठारी गर्ने भन्सार त मुखै हो र त्यसको निर्विकल्प हाकिम जिब्रो नै हो । पुस्तौनी बिर्ता जो पाएको छ । न कसैले खोसुवा गर्न सक्छ, न सरुवा गर्न सक्छ । अब भन्सारको भनसुनविनाको हाकिम भएपछि स्वाद नलुटोस् पनि किन ? भन्सारको पिउनले त करोडौंको सम्पत्ति कमाउँछ भने यो त हाकिमसाब नै भयो । चाहे दाँते पिउन वा प्रहरी होऊन् वा जिब्रे मुखिया वा हाकिम होऊन् पैठारी गरिने वस्तुको स्वाद त लिन्छन् लिन्छन् । त्यसै हो त अन्तर्राष्ट्रिय भनिने विमानस्थलमा लगेजबाट सामान हराउने ? बात गर्नुहुन्छ ! यसै स्वादमा पल्केर होला लोकसेवा आयोग पास गर्नासाथ नवनियुक्त कर्मचारीहरूले भन्सारमा भर्ती हुन न्वारानदेखिको बल, गोरुबेचेदेखि आमाको मामातिरको पनि मितेरी साइनोको जुइनो समाएर कर्म कुकर्म र धर्म अधर्म सबैथोक गर्न तम्तयार रहने गरेको । भन्सारको धन्सारमा जान पाएपछि त मुसो पनि हात्ती बन्छ भन्छन् ।

‘बढ्ता नबोल् है, जिब्रो थुतिदिउँला ।’ मानौं कर्मचारीलाई भन्सारबाट हटाएर हुलाकमा पजनी गरिदिउँला भनेर हाकिम वा नेताको चेतावनी हो यो । दुःख त दुःखै छ नि बिचरालाई पनि । दलाल बन्न पनि त्यति सजिलो त कहाँ छ र ? कहिले भित्री धम्की, कहिले बाहिरी धम्की । बाहिरकाहरू थुत्ने मात्र धम्की दिन्छन् तर भित्रकाले त अलिकति तलबितल पर्‍यो कि कचक्क ! हाइ ! हाइ ! हाइ ! नमार, नमार । नियतिले दलाल बनाए पनि यो त यो पनि कर्मचारी नै ।

बुझ्नेहरू भन्छन् एक छटाकको जिब्रो चलाउनुभन्दा एक धार्नीको टाउको हल्लाउनु बेस । कुनै गुमनाम कविले त यसमा अनुष्टुप् छन्दको एउटा सिलोक नै बनाइदिए – धार्नीको टाउको हल्ले नबन्ने काम बन्दछ । जिब्रो छटाकको चल्दा बन्ने काम बिगार्दछ । मलाई लाग्थ्यो, के भनेको होला यस्तो ? तर अब पो थाहा पाउँदै छु, यो नकच्चरो जिब्रो त छटाकको भएर पनि बडो मापाको पो हुँदो रहेछ । हुँदो खाँदोको सुविधा खोसिदिने पनि यही र दिनै नमिल्ने पद, पैसा र प्रतिष्ठा दिलाउने पनि यही । एकपल्ट हेडमास्टर साहेबको प्रतिकूल हुने गरी यो छुसी जिब्रो छ्वास्स के छुस्किएथ्यो मेरो त अपायक सरुवाको पत्र पो तयार भयो त । यी हेडमास्टरहरू पनि अर्धपागल नै हुन्छन् । त्यसैले त यिनलाई एच. एम. भनिन्छ । एच. एम. अर्थात् हाफमाइन्ड हेडमास्टर ! अब भने धार्नीको टाउको जति पनि हल्लाउँछु तर छटाकको जिब्रो मरे चलाउन्नँ । नोकरी बचे लाखौँ पाए ।

जिब्राहरू पनि थरीथरीका हुन्छन् । कुनै स्वादका कुरामा त कुनै वादका कुरामा । पहिले स्वादे जिब्राकै माहात्म्य गाऊँ । एकथरी जिब्राहरू घाँसपात र भुसमा रमाउँछन् भने अर्काथरी जिब्राहरू नजराना र घुसमा रमाउँछन् । एकथरी जिब्राहरू निरीह पशुको आलो रगत र फड्किँदो मासुको स्वादमा पड्किन्छन् भने अर्काथरी जिब्राहरू दुध, दही र घिउमा अड्किन्छन् । एकथरी जिब्राहरू रसभरी र लालमोहनादि मिष्टान्न पाए गन्थनिन्छन् भने अर्काथरी जिब्राहरू पिरो, अमिलो र नुनिलोसित रन्थनिन्छन् । शुद्ध नेपाली जिब्राहरू गुन्द्रुक र ढिँडोमै मक्ख पर्छन् । त्यसमा स्वाद बढाउनुपर्‍यो भने बासी महीमा सही थाप्छन् । बङ्गाली जिब्राहरूलाई माछाभात भए अरू व्यञ्जन फिक्का लाग्छ । मदरासीहरूलाई मासको डोसा र साम्बर भनिने अमिलो झोल अमृतसमान हुन्छ । चिनियाँ जिब्राहरूलाई छेपारा, भ्यागुता, माउसुली, सर्प र बाँदरभन्दा प्रिय प्रसाद अरू हुँदैन । नेपाली उखान ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाबुको अनुहार’ चिनियाँ जिब्राका लागि अफाप सिद्ध हुन्छ । कोरियाली जिब्राहरू गोब्रे किरा, साङ्ला, फट्याङ्ग्रा, बिच्छीजस्ता क्षुद्र जीवमा रमाउँछन् । नागाल्यान्डका नागा जातिका जिब्राहरू कुकुर पाए भने ढुकुर पनि ढुक्दैनन् र सुँगुर पनि सुँघ्दैनन् । यसरी थरीथरीका जिब्राहरू आफ्नै प्रकारको स्वादमा रमाउँछन् । तर घिउको स्वाद मन पराउनेले षड्रसमध्ये कुन रस पाइरहेको हुन्छ भन्ने कुराको भेउ मेरो मन्दबुद्धिले पाउन सकेको छैन ।

जिब्राको धुर्त्याइँ त त्यति बेला झन् उदेकलाग्दो हुन्छ जब अरुले स्वाद लिँदा भित्रभित्रै छट्पटिन र सल्बलाउन थाल्छ । अझ ती मिठे जिब्राहरू त्यति बेला टिठलाग्दा देखिन्छन् जब हातखुट्टाले विद्रोहस्वरूप अल्छी गरी खुम्चिन रुचि देखाउँछन् । अब त ती मिठे जिब्राहरू मिठो त परै जाओस्, काँचोकचिलो, तितो, टर्रो, पर्पराउँदो जस्तो वस्तु पाए पनि लप्लपाउँदै अघि सर्छन् आफ्नो र आफ्नो महाप्रभु अधिनायक भुँडीमालिकको तृप्तिका लागि ।

तर विडम्बना के छ भने प्रकृतिले पनि सामन्तवादलाई नै परिपोषण गरेको छ र सामन्तवादीको नै संरक्षण गरेको छ । श्रमिक दुखियाको दुःखलाई प्रकृतिले पनि अनदेखा गरेको छ । सर्वहारा वर्गका श्रमिक हातगोडाले सामन्त र महासामन्तको हजुरमा केही नपठाउने भनेर हडताल सुरु गर्नासाथ आफैभित्र हडताल सुरु हुन्छ । अर्थात् भुँडीले खाएपछि मात्र यिनले शक्ति पाउँछन्, अन्यथा भुँडीको अतिरिक्त भार पनि थपिएर यिनै थङ्लिन्छन् । जसरी करको र महङ्गीको मार यिनै श्रमिकमाथि पर्छ त्यसै गरी भुँडीको भार पनि यिनै हातगोडामाथि पर्छ । बिचरा अर्काले खाएकोबाट शक्ति प्राप्त गरेर उसैको सेवा गर्न बाध्य छन् यी दुखियाहरू ठ्याक्कै सामान्य नेपाली जनताले कर तिरेर असामान्य नेतालाई पालेजस्तो । अर्थात् भुँडीरूपी शासक भोको हुनासाथ हातगोडारूपी जनता शिथिल, लल्याकलुलुक ! अनि त आफैलाई तन्दुरुस्त राख्न पनि बिचराहरू उही दलाल सामन्त जिब्रो र महासामन्त भुुँडीको सेवामा तम्तयार रहन्छन् राणाकालका चाकडीबाजहरूझैँ । हेर विवशता श्रमिकको !

यत्रो थन्थन र गन्थनको वास्तविकता के हो भने मजदुर र किसानहरूले आफ्नै अस्तित्वरक्षाका लागि पनि दलालवाद र सामन्तवादको सेवा गर्नैपर्ने । यस जिब्रालाई दक्षिणा (कमिसन वा उत्कोच) दिँदै महाप्रभु भुँडीलाई रुचि र तृप्तिअनुसारको प्रसादको उत्प्रेषण नगर्ने हो भने यी हातखुट्टा आफै थङ्लिन्छन् । तर मृत्युको भयलाई त्यागेर यिनीहरूले जिब्रो भुँडीविरुद्ध विद्रोह गरे भने जिब्रो पानीविनाको माछो हुन्छ अनि भुँडीले पनि भुँडी कुइँ कुइँ पार्दै यिनै हातखुट्टालाई गुहानुपर्ने हुन्छ । तर यी हातखुट्टा त्यस्ता साँढै हुन् जसलाई एउटा फिस्टे केटाले हातमा सिप्किनो लिएर खेदेको हुन्छ भने त्यस्तै हात्ती हुन् जसलाई माउते नामको एउटा सुइँखुट्टेले खुट्टा कन्चटमा राखेर नचाइरहेको हुन्छ । एउटा जोतिएको जोतियै छ र अर्को हाँकिएको हाँकियै छ युगदेखि युगसम्म । रह्यो जिब्राको कुरो त यसको त जातै दलाल । कहिले सामन्तको त कहिले श्रमिकको । त्यसैले त जिब्राको भर पर्दैनन् मान्छेहरू र न्यायालयले पनि बकितम्लाई प्रमाण मान्दैन । हाड नभएको लुच्चो एउटा सिद्धान्तमा अडिनै सक्दैन । यता पनि ठिक्क उता पनि ठिक्क, पिपलपाते मोरो ।

युगै दलालको हो र रोगै दलााली हो । दलाललाई लाल (उपहार) नटर्क्याइकन त दाल पनि गल्दैन श्रमिकका भड्डुमा । त्यसैले लगाउने हैन त नारा … ।
दलालवाद जिन्दावाद !
जय जिब्रो !

०००
रुपन्देही
सगर १६, २०५७ जेठ, असार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
फागुका तीन लाेला

फागुका तीन लाेला

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x