अनिल अदृश्यइन्द्रेणीको अनुहार
पेस्छ सबुत नभएको प्रमाण खोज्छ अपराधको असली परिभाषा। गुपचुप बिक्छ नदी प्यासले ब्याकुल छ घैटोको आँत युग परिवर्तनको विज्ञान र वैज्ञानिक कोर्छ क्यानभासमा एक घुट्की तिर्खा ।
अनिल अदृश्य :
ऊ हिर्काउछ पुच्छरले मलाई
राख्छ यति बिघ्न रंगहरुको हुङ्कार र
बिथोल्छ प्रकृतिको आँचल।
चोर्छ कखराको रंग
हात फुकेर बसेको छ गलफुलाको डर
पर्खिन्छ मौका एक फिरङ्गी आँखा
पठाउछ मिठाइका हाउगुजी ।
अस्थिर प्रतिबिम्ब
बदल्छ आफ्नै नक्साको दिशा
नचाउछ औलामा चित्रकारको कुची
दिन्छ अन्धकारको धाकधम्कि ।
सुनाउछ फुरुङ्ग सपना
गाउछ जात र वर्णको गीत
फुक्छ वेस्वादको कानेकुरि
पड्काउछ स्वतन्त्रताको मेटाफोर ।
बाल मस्तिस्कको निडर प्रेम
रोजाउछ भाग्यको क्रम संख्या
खेलाउछ गाउँखाने कथाको सिरिज
माग्छ मेरो गाँउको सेरोफेरो।
गणितको पुरानाे हिसाब
कन्तुरभित्र कैद बाजेको तमसुक
दौडिन्छ समयको मसिनो त्यान्द्रो
उठाउछ उपचारको महङ्गो महसुल ।
पत्रिकाको पहिलो पृष्ठ
लुकाउछ न्यायको अनुहार
पेस्छ सबुत नभएको प्रमाण
खोज्छ अपराधको असली परिभाषा।
गुपचुप बिक्छ नदी
प्यासले ब्याकुल छ घैटोको आँत
युग परिवर्तनको विज्ञान र वैज्ञानिक
कोर्छ क्यानभासमा एक घुट्की तिर्खा ।
फराकिलो छाती
चेप्छ ढोकाको साँघुरो फ्रेमभित्र
लिन्छ स्वाभिमानको हुर्मत
खेल्छ रक्तक्रान्तिको भुलभुलैया ।
छुट्छ भोकको एजेण्डा
गुजगुजाउछ रंगहरुको विरासत
च्यातिन्छ बादलको भर्जिनिटि
हुन्छ स्वादहीन स्खलन।
निकाल्छ लजिकको परिमार्जित संस्करण
बोक्छ क्रान्तिको संसोधित नमुना मतपत्र र
बाँड्छ अलिखित व्यवस्थाको खल्लो बिगौती ।
०००
Subscribe
Login
0 Comments
Oldest





































