अशोककुमार शिवासत्य मर्दैन
अनेकन आशाहरूको कुम्लोहरू त्यसै कतै बेवारिसे भयो होला तर, कुरा के हो भने त्यसरी अपत्यारिलो र असत्यको कुम्लो बोकेर गोठबाट दाम्लो चुँडाएर कुदेको साँढे जस्तो कुद्नु कति ठिक थियो त्यो पनि विचारनीय छ ।

अशोककुमार सिवा :
संसारमा त्यस्तो कुनै चिज छैन जो अजम्वरी होस् । हरेक वस्तुको उत्पतिसँगै उस्को अन्त्यको निश्चितता हुन्छ । निश्चित अवधिसम्म जीवन रहे पनि अन्त्यमा जीवन परित्याग अनिवार्य छ । परित्यक्त जीवन पाइनत के कसरी रहन्छ त्यसको लेखाजोखा सरल छैन । सांसारिक मायाजालमा रहुन्जेल मायाका अनेकन जालहरूमा अल्झिँदै जीवन व्यतित गर्नुपर्छ । तर एउटा यस्तो चिज छ जुन कहिल्यै मर्दैन त्यो हो सत्य । सत्यलाई असत्य सावित गर्न कसैले खोज्दछ भने त्यो व्यर्थ हुन्छ ।
सत्य आफै एक शास्वत् चिज हो । यो जहिले पनि अन्तरकुन्तमा प्रकटित भएर रहिरहेकै हुन्छ । भलै सरल तरिकाले चिन्न र बुझ्न कठिन हुन सक्दछ तर सबैले बुझ्ने त सत्य नै हो । मैले कुनै कुराको विपरित व्याख्या विश्लेषण गरेर त्यसैलाई सत्य साबित गर्न खोजेँ भने म आफैभित्र रहेको सत्यले मलाई हरदम कोसिरहेको हुन्छ । चिमोटिरहेको हुन्छ । घच्घच्याई रहेको हुन्छ । यसरी कोस्ने, चिमोट्ने र घच्घच्याउने चिज कसरी मर्ला त ? हो, त्यही हो सत्य ।
गलत कुरा गरेर कसैको चरित्र हत्या गर्न कसैले खोज्दछ भने उसको प्रयास प्रयत्नले जतिसुकै यत्न गरेपनि सफलता हासिल गर्न सक्दैन । यस्को तत्वले सफलता हासिल नै गरेपनि जस्ले गलत कुराको उठान गरेको हो उसको मनमा सत्य वा सही कुराले सधैँ ढोल बजाएकै हुन्छ । अर्काको सफलता देख्न नचाहने नसक्नेहरूले अनेक मुद्धा बनाएर उसको सफलताको सिँढी झिकिदिने प्रयत्न गर्ने गरेको देखिन्छ । तर सिढि झिकिदिएर ऊ कहिले सन्तुष्ट चाहिँ हुदैन किनकी उसले गलत काम गरेको हुन्छ । सिँढी निकालिदिएकोमा भलै दुईचार दिन रमाउला त्यो अर्कै कुरा हो ।
आफ्नो सफलताको सिँढी झिकिएको थाहा पाएर पनि कसैले निर्धक्क आफ्नो कर्मलाई निरन्तरता दिन्छ भने ऊ तल ओर्लिरहनु पर्दैन उसको उचाई त्यहीबाट अरु चड्दछ । केही सफलताहरूको निकट विगतका घटनाक्रमहरुलाई हेर्दा पनि यो कुरा स्पष्ट हुन्छ । चाहे त्यो पल पलको घटना होस वा एकपलको घटना होस आखिरमा जित हुने भनेको त्यो असत्यले ढाकेको झिनो तर दर्बिलो सत्य कै त हो । अनि यो साबित पनि भएको छ ।
अर्काको तरक्की देख्न नसक्नेको पछिल्लो विरक्तिपूर्ण चित्कार पनि उत्तानोटाङ परेको खबरले म चाहिँ कति पनि विरक्तिएको अवस्था छैन । विरक्तिनु सहि कुरालाई गलत कुराले परास्त गर्न खोज्यो भने न हो । सही कुराले गलतलाई उत्तानो पार्दा त खुसी पो लागेर आउँछ । नेपालको क्रिकेट जगतको नितान्त सत्यलाई कुनै असत्यले छोप्ने लाख कोशिस गरेको देखेर शुरुमा विरक्तिएकाहरू पछिल्लो समाचारले रक्तिएका होलान् । रक्तसञ्चार राम्ररी हुँदा र नहुँदा शरीरको आकृति नै फरक देखिन्छ । हो, अहिले शरीर त्यो पनि क्रिकेटको तन्दुरुस्त देख्दैछु र यो लेख्दै पनि छु ।
नगरकोटदेखि गौशालासम्म झुटको माला बिछ्याएर सजिसजाउ पारी माइती आउने चेलीले लुकेर ल्याएको कोसेली माइत कि आमाले खान नपाउँदै बिछ्याएको माला सत्यवति गाईले चपाइदिएर सजिएको असत्य ध्वस्त पारिदिइछन् । देख्दा राम्रो देखिएता पनि र सुन्दा मीठो सुनिएता पनि अन्तर्य विचलित छ भने त्यसको कुनै अर्थ रहँदैन । सत्य सत्य नै हो, हुन्छ र रहिरहन्छ यो नै एक मात्र सत्य ।
सत्यलाई किन सत्य भनेको होला भनेर एकछिन घोरिएर विचार गरेको सत भनेको साँचो, सत्य स्वेत्य अथवा सेतो हो जसमा कुनै दाग लागेको हुँदैन । यो आफैमा वलिष्ठ, गठिलो र दमदार हुने गर्दछ । मलाई यसो भन्दै गर्दा माइत जाने चेलीको पनि माया नलागेको होइन अनेकन आशाहरूको कुम्लोहरू त्यसै कतै बेवारिसे भयो होला तर, कुरा के हो भने त्यसरी अपत्यारिलो र असत्यको कुम्लो बोकेर गोठबाट दाम्लो चुँडाएर कुदेको साँढे जस्तो कुद्नु कति ठिक थियो त्यो पनि विचारनीय छ । जय होस सत्यको सदा विजयी भव :
०००
गल्कोपाखा, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































