साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म भ्रष्टाचार गर्दिनँ

बसहरूमा लेखिएको हुन्छ— पकेटमारदेखि सावधान ! तर बसकै स्टाफले पकेटमार पालेर हिस्सा खान लागे के भन्ने ? भ्रष्टाचार गर्नु त हुँदैन । हो, तर गरिहालेदेखि गर्नेले माथिसम्म बाँडचुँड गरेर खाए त्यो भ्रष्टाचार संरक्षणयोग्य हुन्छ ।

Nepal Telecom ad

भाउपन्थी :

धेरै भयो त्यही कुरा दोहोर्‍याइरहेको— ‘भ्रष्टाचार निर्मूल गरिने छ, निर्मूल गर्न नसकिए पनि शून्य सहनशीलता अपनाइनेछ ।’ घर पुगेपछि नेताजीलाई छोराछोरीले एकै स्वरमा सोध्ने गर्छन्, ‘भ्रष्टाचारको के भयो ?’ मानौँ उनीहरू जन्मँदै भ्रष्टाचारविरोधी भावना लिएर आएका हुन् । नेताजी गम्भीर भए । सन्तान तर लाग्ने भएनन् ? सुन, सहकारी र नक्क्ली शरणार्थी काण्डका नाइके नेतापुत्रहरू झैँ यी हुने भएनन् । नेताजीलाई अलिकति अफसोस पनि लाग्यो । सन्तान भ्रष्टाचारको विरोधी बाटोमा त लाग्न खोजेका हैनन् ? तर नेताजीले मुख खोलेर यो भनेनन्— ‘भ्रष्टाचारको के हुनु, यथावत् कायमै छ ।’

नेताजी सन्तानका प्रश्न सुनेर चकित हुँदैनन्, मौन बस्दै आएका छन् । उनका सन्तानमा पनि भ्रयष्टाचारप्रति विरोधको भावना जागेत भयो कि भनेर । बरु थकित हुन्छन् । बुझ्दै जाँदा त्यसो होइन रहेछ । सन्तानहरू नेतचाजीको बिँडो थाम्न अग्रसर रहेछन् । संसार समाजले पनि त्यही सोध्छ— ‘भ्रष्टाचारको के भयो ?’ मानौँ देशव्यापी भ्रष्टाचार नेताजीकै कारण भइरहेछ । नेताजीलाई अचानोमा राख्छन्, नेताजी बिचरा के गरून् ? उनको पार्टीले चुनाव लड्दा भ्रष्टाचारको मुद्दाबारे घोषणा गरेको थियो— ‘देशबाट भ्रष्टाचार उन्मूलन गरिनेछ ।’ भलै भ्रष्ट तरिका अपनाएर उनको पार्टीले बल्लतल्ल चुनाव जितेको होस्, कुरा के थियो भने भ्रष्टाचार उन्मूलन गर्ने घोषणा त गरियो तर उनको पार्टी सत्तामा आएको दिनदेखि नै भ्रष्टाचार झन् मलखलाएर आएको छ, डढेलोले झैँ मुलुकलाई खाँदै आएको छ ।

बाहिर मिडियाले पनि यही सोध्छ, नेताजीलाई— ‘भ्रष्टाचारको के भयो ?’ भ्रष्टाचारको के हुनु ? उही भ्रष्टाचार हो, भएकै छ, हुँदै छ र हुने नै छ । दुबो जस्तो छ यो— चट्टानमा लगेर फालिदेऊ, फैलिन थाल्छ । यो बोध छ नेताजीलाई । यही बोधले भ्रष्टाचारको के भयो भन्ने प्रश्नमा नाइटैदेखि कुतकुत्याएर नेताजी मुसुक्क हाँसेपछि अनि गम्भीर भइहाल्छन् मानौँ भ्रष्टाचारले मलाई कसै गरे पनि उन्मूलन नगरियोस् भनेर सुटेकसका सुटकेसका क्याँट उनको पाउमा राखेको छ । भ्रष्टाचार एक राष्ट्रिय धर्मसंकट हो । उन्मूलन गर्ने हो भने गोजी रित्तै हुन्छ, स्रोत सुक्छ नगरौँ भने जनताले नेता हो भ्रष्टाचार नगर, त्यसलाई उन्मूलन गर भन्ने माग गरेर सुत्नै दिँदैनन् । तर नेताजीको बौद्धिक तीव्रता यो हो, भ्रष्टाचार समस्याको समाधान छ भनेझैँ पहिले मुसुकक हाँसेका हुन्छन् तर पछि समस्या जटिल छ भनेभैझैँ गम्भीर बनेका हुन्छन् । उनको पार्टीको थेगो पनि छ— ‘मुलुकका समस्याप्रति हाम्रो सरकार गम्भीर छ ।’ मुलुकका समस्याप्रति उनको पार्टीको सरकार गठन भएको दिनदेखि गम्भीर हुने गरेको छ । गम्भीरको गम्भीरमै जान्छ सत्तासमय र भ्रष्टाचार भने मौलाएको मौलायै हुन्छ ।

मुलुकमा एउटा समस्या मात्र भए पो गम्भीरतासाथ समस्या समाधान हुने, समस्यैसमस्याको थुप्राको डम्पिङ साइटमा मुलुक बसेपछि गम्भीर हुने काम कहिल्यै टुट्दैन । भ्रटाचारको डसिम्पङ साइट कस्तो छ भने— प्रणालीगत भ्रष्टाचार छ, नीतिगत भ्रष्टाचार छ, नेतागत भ्रष्टाचार छ र संयन्त्रगत भ्रष्टाचार छ । अनि ? शपथ लिएकै दिन नेताजीले कुर्सी समालेदेखि भनेकै छन्— ‘भ्रष्टाचार सह्य विषय होइन, अप्रिय विषय हो । जति दाबी गरे पनि गरे पनि नसकिने ।’ भन्न त भनिन्छ, भ्रष्टाचारलाई शून्यमा झारेरै छाड्छौँ । तर यसमा एउटा बाधा छ, अड्चन छ । नेताजी यति सोच्छन् र केहीबेर थामिन्छन् । मथिङ्गल तातेको हुन्छ, भ्रष्टाचार हुन त रमाइलो विषय हो, तर त्यसैलाई उन्मूलन गर्नुपर्छ भन्ने असम्भव कुराका कारण ।

मुलुकमा बजेट आउँदै थियो, व्यापारीले जनताको ढाड सेक्ने कर मिलाउन आफ्ना मानिस गोप्य तवरमा पठाइदिन्छु भनिरहेका थिए । त्यताबाट पनि आउँथ्यो रकम जुन यहाँ राख्न नसकिए विदेशको बैङ्कमा थन्क्याउन सकिन्थ्यो । अनि बजेटपछि कुन योजनाबाट कति खाने ? उनको दिमागलाई यो हिसाब बसाल्न सकस परिरहेको थियो । अर्कोतिर प्रतिपक्ष थियो जसले अब कुर्सीमा बसेकाहरूले मात्र खाने भए मुलुकको ढुकुटी भनेर सत्तावाललाई हटाउने तिकडममा लागेका थिए । प्रतिपक्षले पनि नखाई अुहने, अरूले खाएको कति हेरेर बस्ने ? तर भन्नै पर्ने हामी सत्तामा आएपछि भ्रष्टाचारलाई शून्यमा झारेर छाड्छौँ । कति वटा शून्य भएको रकम खाने त्यो समस्या भइरहेको हुन्छ प्रतिपक्षलाई पनि, शून्यमा झार्छौं भन्नुमा यही तर्कले काम गरिरहेको हुन्थ्यो ।

जुन दिन शपथ ग्रहण समारोह सकिएर बाँकी सबै औपचारिकता सम्पन्न भएपछि घर फर्कँदा नेताजीको झन्डावाल चिल्लो कारमै बसेको थियो भ्रष्टाचार । धेरैले सम्झना राखेनन्, नेताजीको शपथ ग्रहणमा एउटा मेच खाली राखिएको थियो । त्यसमा को बस्ने हो ? त्यो धेरैले अनुमान गर्न सकेनन् । त्यसमा को बस्ने ? धेरेले यो मेचमा बस्ने अतिथि आएनछ भनेर आश्चर्य माने । तर त्यहाँ अदृश्य भ्रष्टाचार आएर विराजमान भइसकेको थियो, त्यसलाई सबैले देख्ने कुरो भएन । तर नेताजीले देखे र आश्वस्त भए कि भ्रष्टाचारले उनको शपथग्रहणलाई बहिष्कार गरेन । बहिष्कार गरेको भए शपथ गरेको अर्को दिनमै उनको कुर्सी जान सक्थो । भ्रष्टाचार यति प्रभावशाली थियो मुलुकमा ।

भ्रष्टाचार झन्डावाल कारबाट उनीभन्दा अगाडि ओर्लेर घरभित्र पसिसकेको पनि थियो । अहिले नेताजीको अगाडिको सोफामा डम्म साधिकार बसेको पनि थियो । नेता दुईचार सुन्तानका पिता पनि थिए, खातापिता । भ्रष्टाचार उनलाई नडराई बुद्धि पुर्‍याएर काम गर्न उक्साइरहेको थियो । सन्तानहरूले पनि लाडिएर भनिरहेको थिए, ‘बाबा हामीले भ्रष्टाचार गर्ने ल ?’ नेताजी सन्तानहरूप्रति पितृवात्सल्यले भरिए र भावुक भने, ‘हुन्छ, हुन्छ गर ।’ तर त्यस बे्ला उनले यो सोचेनन् केही तलबितल भए सन्तान जेल जान सक्छन् । जेल जानु त नेतागिरीको एउटा प्रमाणपत्र हो । जेल नगएको नेता पनि के नेता ? जेल नगएका नेताका सन्तान के सन्तान ? उनी यो सोच्दै थिए भ्रष्टाचारले सन्तानहरूलाई सुन तस्करी गर्ने उपाय सुझाइहाल्यो ।

पछि जनताका बीचमा भ्रष्टाचारको प्रश्नमा नेताजी हास्य उत्पन्न गर्न उनले खुइय्य सास फेर्दै भने, ‘खै भ्रष्टाचारको के भयो भनौँ । भ्रष्टाचार उन्मूलन आफैँबाट सुरु गर्नुपर्छ भन्छन् । आफैँबाट कसरी उन्मूलन सुरु गर्ने ? कसैले कुरै बुझ्न चाहँदैन ?’ कुरा बुझ्नु पर्ने के थियो र ? नबुझ्ने कुरा पनि केही थिएन । उनको स्थापना यत्ति थियो, यो एउटा जटिल र असम्भव कायर हो, भ्रष्टाचार उन्मूलन आफैँबाट सुरु गर्ने । बडो विद्वत्तासाथ यस्तो पनि भनिन्थ्यो, ‘राजनीतिको गङ्गोत्री शुद्ध नभएसम्म भ्रष्टचार उन्मूलन असम्भव छ ।’ नेताजी टाेपीभित्र हात छिराएर टाउको कन्याउँदै दिमागलाई जागरूक गराउँथे र स्वगत भन्थे, ‘कताको गङ्गोत्री ? यैँ हामीले बागमतीको सरसफाइ गर्न त भ्याएका छैनौँ झन् गङ्गोत्री ? यो कस्तो काम हो ?’

छोराछोरीलाई पनि उनले आश्वस्त पार्न यही भनेको थिए । आफ्नो मन्त्रिमण्डलका मन्त्रीहरूलाई अभयदान दिन यही भनेको थिए र सचिवहरूलाई कि आफ्नै बागमती त सरसफाइ गर्न सकेका छैनौँ, गङ्गोत्रीलाई कसरी शुद्ध पार्न सकिन्छ ?’ पिताबाट भ्रष्टाचार उन्मूलन हुँदैन, यो असम्भव छ तसर्थ भ्रष्टाचार राम्रो उपायले सम्पन्न गर्न इसार गथे । आगामी समय भ्रष्टाचारको छ । त्यसैले नेताजीका सन्तानहरूले माफिया र तस्करलाई यो खुसखबरी दिन मोबाइलको नम्बर मिलाउनतिर लागे । माफियातस्करहरू त्यो खबरले पनि खुस भए । भ्रष्ट भयो मुलुक भनिरहन्छन्, तर भ्रष्टाचारकै सरक्षणका लागि सरकार छ, प्रतिनिधि छन् र कर्मचारी तन्त्र छ । भ्रष्टाचारकै आश्रयमा नेताहरू छन् । माने तस्करहरू, माफियाहरू र अझ भन्ने हो भने भ्रष्टाचारको विधि नजान्ने हो भने उद्योग व्यापार पनि चल्दैन ।

नेताजीले ठिकै भने, आफैँबाट भ्रष्टाचार उन्मूलन कसरी गर्ने ? पत्रु भइन्छ । भ्रष्टाचार यो मुलुकमा कर्णाली भएर बगेको छ, कोसी भएर बगेको छ र महाकाली भएर बगेको छ । भ्रष्टाचार उन्मूलन कसरी गर्ने ? सुत्दा, उठ्दा, हिँड्दा बोल्दा खाँदा सबै तरिकाले राजनीतिमा भ्रष्टाचार छ । भ्रष्टाचार गर्ने अवससर पाउने व्यक्तिले नै कसरी आफ्नै शुद्धीकरण गर्ने ? तर यो एउटा घोषणायोग्य कामचाहिँ हो— आत्शुद्धिका लागि— ‘म भ्रष्टाचार गर्दिनँ ।’ नेताजीले यो नारा आविष्कार गरे । त्यो जताततै देखा पर्‍यो ठूलठूला अक्षरमा । तर ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने नितवाक्य पालन गर्नेहरूले त्यसलाई अर्कै अर्कै नारामा बदलिदिए । त्यो थियो— ‘म भ्रष्टाचार गर्छु ।’

बसहरूमा लेखिएको हुन्छ— पकेटमारदेखि सावधान ! तर बसकै स्टाफले पकेटमार पालेर हिस्सा खान लागे के भन्ने ? भ्रष्टाचार गर्नु त हुँदैन । हो, तर गरिहालेदेखि गर्नेले माथिसम्म बाँडचुँड गरेर खाए त्यो भ्रष्टाचार संरक्षणयोग्य हुन्छ । यसैले यो निरर्थक छ कार्यालयको ढोकामाथि लेखिएर टाँसिएको— ‘म भ्रष्टाचार गर्दिनँ’ । भित्र पस्ने सबैले यही भन्छन्— ‘म भ्रष्टाचार नगरी छाड्दिनँ’ । भित्र पस्नेले पनि सोच्छ— ‘बिनाभ्रष्टाचार काम बन्ने होइन । म भ्रष्टाचार गर्दिनँ भन्ने मुन्तिर टाउको झुकाएर भित्र पस्नु परिरहेछ । यो मुलुकमा सबै उल्टो छ ।’

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x