साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुलाको मुरली : एकसरो हेराइ

जिम्मेवारी किन लिनु ! बिनाविभागीय मन्त्री जस्तो, बिना विषयको लेख लेख्यो बस्यो । योजना बिनाको काम गर्न सजिलो हुन्छ । जे गर्‍यो त्यही ठिक, जे गरेन त्यो झन् ठिक, नेताहरूको शैली जस्तो ।

Nepal Telecom ad

कोमलप्रसाद पोखरेल :

लक्ष्मीकान्त भट्टराई र सावित्रा भट्टराईका पुत्ररत्नका रूपमा वि.स.२०१३ कार्तिक ४ गते इलामको कन्याम, गोगने (सूर्योदय नपा) मा जन्मिनुभई स्थायी बसोबास शान्तिनगर झापा (बुद्धशान्ति ६) र हाल भद्रपुर ८ निवासी प्रसिद्ध हास्यव्यङ्ग्यकार चूडामणि वशिष्ठको नाम सुवास जिल्ला, प्रदेश र केन्द्रमा पनि चलेको छ । उहाँका कुरा यिनै हुन् कसो पो गर्ने र ! हास्यव्यङ्ग्य (२०६१)यात्रारत पाइलाहरू (२०७८) प्रकाशित भइसकेका छन् । उहाँका सिर्जनामा हास्य र व्यङ्ग्य एकैसाथ उपस्थित भएका हुन्छन् ।

उहाँको प्रस्तुत मुलाको मुरली शीर्षक हास्यव्यङ्ग्य निबन्ध- सङ्ग्रहमा सङ्कलित निबन्धहरूका बारेमा जानी-नजानी एउटा छोटो टिप्पणी लेख्न अघि सरेको छ यो पङ्क्तिकार । यस कृतिभित्र हास्य र व्यङ्ग्य एकैसाथ आएका छन् भन्ने कुरालाई पुस्तकको नामले नै प्रमाणित गरेको छ । यहाँ धेरै भनिरहनु पर्ने देखिँदैन ।

‘बिहेका नाङ्गा डँडाल्न’ यस सङ्ग्रहको पहिलो निबन्ध हो । यसमा बिहेमा हुनेगरेका विविध विकृति, विसङ्गतिहरूलाई माइलाबाका मुखारविन्दबाट प्रस्ट पार्दै निबन्धकार भन्नुहुन्छ :
बिहे खाँदा खाँदै यो बेला भयो भन्दै ठुलो साँझमा माइलाबा मेरा घरमा आएर यसरी कैरन कोरल्न थाले— “आइमाई मान्छेका चोलो अगाडि मात्रै भए पनि तल घाग्री चाहिँ भुइँ बढार्ने लामा, प्रत्येकले छड्के पारेर घोडाको पुच्छर जत्रो पोतेमा पहेंली मकैको सप्रिएको घोगो जत्रो तिलौरो लाएका ।” माइलाबा यसरी देशका विकृति र विसङ्गति ओकल्ने एकजना प्रतिनिधि पात्र हुन् । एकै दिनमा धेरै बिहे भ्याउन सक्ने यिनी पुसमा लगन नजुराएकामा रिसले भुतुक्क भएर भन्छन् —
“घुस खाने कमिसन हसुर्ने बेइमानहरूलाई कुनै गते बार महिनाले छेक्तैन । हामी बिहे खाने सर्वसाधारणलाई चाहिँ साउन, कात्तिक, पुस महिना बर्जित अरे ! कालो कपाललाई सेतो, सेतोलाई कालो पार्न हुने, रातो बनाए पनि हुने, अर्धनग्न भएर हिँड्न हुने” भन्दै मरिहत्ते गरेर बिहे खान नछुटाउने यस निबन्धका एकमात्र पात्र माइलाबा तिनचार बिहे भ्याएर भुँडी फुट्न लागेको छ र पनि “यसो पाचकका रूपमा ऐँठनपानीको बन्दोबस्त कतै छ कि भनेर निकै विचार गर्दा पनि छेउभेउ पाइएन” पो भन्छन् त । खाएर कहिल्यै नअघाउने मान्छे हुन्, तर यिनी देशमा हुँदै गरेका अनेकौं विकृति, विसङ्गति, भ्रष्टाचार आदिलाई प्रमुख निसाना बनाएर व्यङ्ग्य गर्ने आफ्ना भतिजाको लेखनशैलीलाई जस्ताको तस्तै व्यवहारमा उतार्न सफल भएका छन् । यो उनको प्रशंसनीय पक्ष हो ।

यस सङ्ग्रहको अर्को शीर्षक हो ‘पैसावालले किन पढ्नु ?’ “धनीका छोराछोरीले पढेर हड्डी घोट्ने, गिदी गिजोल्ने कामै छैन । मोजमस्ती गर्ने, अनेक मनोरञ्जन गर्ने, ऐस आराम गर्ने, चैन गर्ने, फेसन देखाउने, आफैँलाई बिर्साउने जस्ता चिज खोजीखोजी खाने, घुम्ने, रतिक्रीडामा रम्ने, जिन्दगीलाई असली रसमा मस्तसँग पौडी खेलाउने पो हो त !” यी भनाइहरू सर्जकका वारेस, माइलाबाका हुन् भन्ने कुरा निबन्धका अन्त्यतिर मात्र यसरी चाल पाइन्छ :
“माइलाबा थोते गिजा देखाएर एक पटक मजाले हाँसे ।…उनले आफ्ना कुरा उगेलीसकेर बाटो लागेपछि मात्रै मेरा कान न्याना भए ।”

माइलाबालाई पनि निबन्धकारले पढाएर आफूजस्तै बनाउनुभएको रहेछ । यहाँ माइलाबा हास्यव्यङ्ग्य-निबन्धकार नभए पनि हास्यव्यङ्ग्य प्रवक्ता भएका छन् । वास्तवमा केहीलाई छाडेर अधिकांश धनीमानीका छोराछोरीहरू त्यति पढालेखा भएको पाइँदैन । केही पढालेखा पनि झोला विश्वविद्यालयका डिग्रीधारी छन् । यहाँ यस निबन्धभित्रको थोरै मात्र विकृति, विसङ्गतिको चर्चा गरियो । आगे पाठकको मर्जी ।

बिना योजना जे पायो त्यही लेख्ने लेखक, आजका कलेजका विद्यार्थीहरू र भ्रष्टाचारी नेताहरूलाई स्रष्टाले एउटै ड्याङ्का मुलाको संज्ञा दिनुभएको छ । उहाँले निर्वाचन आयोगलाई पनि बाँकी राख्नुभएको छैन । यसबारे उहाँ लेख्नुहुन्छ “हाम्रो देशको निर्वाचनको कैरन कोरल्न कलमै लजाउँछ ।”

वर्तमान समयमा गिर्दै गएको लेखन सँस्कृतिलाई नाङ्गेझार पारेर सिस्नुपानी लाउन खप्पिस वशिष्ठ सर ‘सकें भनें कुनै दिन लेखौँला’ शीर्षक निबन्धमा आफ्नो हास्यव्यङ्ग्य कला देखाउन पूर्ण सफल हुनुभएको छ ।

‘केही नभए दुक्की फ्याँक्नु’ शीर्षक निबन्ध तपाईं, हामी सबैका लागि नपढी नहुने निबन्ध हो । किनभने यसभित्रका चोटिला चट्नीहरूले पाठकलाई बाफरेबाफ पार्छन् । शीर्षकको परिचय दिँदै सर्जक भन्नुहुन्छ —
“केही नभए दुक्की फ्याँक्नु भनेर बारमासेहरूले भनेको सुन्या थिएँ । मैले पनि त्यही दुक्की फ्याँक्ने विचार गरेँ । अहिले हाम्रो देश र दुनियाँको सन्दर्भमा दुक्की फ्याँक्नु भनेको झिँगा भन्किएको राजनीतिको गर्तमा फाल हान्नु नै हो । आज चाहिँ राजनीतिको दुक्की फ्याँकेर पत्रिकाको छाक टार्ने निधोमा म पुगेँ ।”

यस शीर्षकमा पनि देशभित्रका अनेकौं विकृति र विसङ्गतिका रमाइला र चाखलाग्दा कुराहरू आएका छन् । आफ्ना सबै कुरा छर्लङ्ग पारेर, नढाँटी भन्ने कलामा निपुण चूडामणि सरको प्रस्तुति कला देखेर म मात्र होइन यहाँहरू पनि नहाँसी रहन सक्नुहुन्न । हेरौँ त उहाँको प्रस्तुतिकला –
“उहिले सानो छँदा बाआमाले राम्ररी पढ्नुपर्छ छोरा, भन्नुभयो, पढेँ । पढिसकेपछि जागिर खानुपर्छ भन्नुभयो, खाएँ । लु अब बिहे गर्नुपर्छ भन्नुभयो, गरेँ । त्यसपछि हामीलाई नातिनातिनाको मुख हेर्ने रहर छ भन्नुभयो, त्यो पनि मैले थाहै नपाई पूरा गर्दिएँछु ।” पुस्तक पढ्दा अझ धेरै कुरा थाहा हुन्छ । यो त एउटा क्षेपण (कास्टिङ् मात्र हो । माइलाबाकै मुखबाट राजनीतिक विकृति र विसङ्गतिप्रति कटु व्यङ्ग्य गरिएको ‘रहस्यको भ्वाङ्’ शीर्षक निबन्धमा पनि प्रसस्तै व्यङ्ग्यका वाणहरू बर्सिएका छन् । माइलाबाका गल्तीहरू पनि धेरै होलान्, तर उनले ओकलेका कति कुरा चाहिँ यथार्थपरक छन् । माइलाबा स्वयम्ले भ्रष्टाचारका अनेकौं विकृति र विसङ्गतिहरूलाई नाङ्गेझार पारेका छन् । उनको एउटा मात्र भनाइ हेरौं त –
उहिलेका कुरा मात्रै होइन अहिलेकै कुरा पनि देशमा भएका पदखोरहरू र राजनीतिका नाङ्गा बाबाहरूको करतुत सबै मलाई थाहा छ । कार्यालयका हजार पन्ध्रसय घुस खाने खरिदार र सुब्बाहरूलाई पक्रेर जग्गर ठड्याउने, नाक फुलाउने अख्तियार करोड करोडै सुम्ठ्याउनेहरूसँग आफैँ भाग बस्छ होला र नै कहिल्यै पक्रँदैन ।

‘सम्पादकीय लेख्नु ठट्टा कुरो होइन’ शीर्षक निबन्ध मूलतः नेपाली पत्रकारिता जगत्मा सम्पादकलाई विज्ञापनले दिएको सास्तीको उपज हो । यस पङ्क्तिकारलाई यस्तो लाग्नु स्वभाविक हो, किनभने वशिष्ठ सर निबन्धकारका साथै समीक्षक, सम्पादक स्तम्भलेखक पनि हुनुहुन्छ । सम्पादकीय विषय छान्ने क्रममा उहाँ लेख्नुहुन्छ –
“उकुच पल्टिएको राजनीतिको घाउबाट दुर्गन्ध फैलिएर देश हैजाले सिकिस्त छ इत्यादि गिदीमा अटाउँदै नअटाउने छिन्किन, पर्गेल्न, निफन्न, चाल्न, बताउन नसकिने अनगिन्ती सम्पादकीयका विषय छन् ।”

वास्तवमा सम्पादकीय लेख्ने विषय अनगिन्ती भए पनि कुन विषयमा लेख्ने भनेर छान्न धेरै मुस्किल छ । यो लेखकको विचार हो र यथार्थ पनि यही हो । यसै विषयमा उहाँ भन्नुहुन्छ : “सरकारी अस्पतालको किलो दाम्लो उखेलेर चारचौरास चर्न हिँड्ने डाक्टरका बारेमा पनि गइन्ड सम्पादकीय लेख्न सकिन्छ ।” प्रस्तुत निबन्धको शीर्षकले सबै कुरा छर्लङ्ङ पारेको हुनाले यहाँ सङ्केत मात्र गर्न खोजिएको छ ।

“नेपालका राजनीतिक खेलाडीहरूका कैरन बखानौँ भने बरू गैँडालाई कुत्कुती लायो भने छ महिनापछि भएपनि हाँस्छ अरे तर यिनलाई कुनै व्यङ्ग्यका शब्दले छुँदैन ।” यो भनाइ ‘अहिले हाँस्नलाई बौलाउनुपर्छ’ शीर्षक निबन्धबाट निकालिएको हो । यो हास्यव्यङ्ग्यात्मक भनाइमा गहनतम व्यङ्ग्य र हास्य छन् । राति एक निन्द्रा सुतेर बिउँझिएपछि पनि गैँडाको काउकुतीले यस कलमीलाई एक्लै हँसायो खितिती । यो त निबन्धको सानो अवतरणिका मात्र हो । यस्ता घतलाग्दा कुरा यहाँ कति छन् कति । हाम्रा देशमा भएका यस्ता अनेकानेक विकृति र विसङ्गति नै हास्यव्यङ्ग्यका साधन हुन् भन्दै निबन्धकारले हास्यव्यङ्ग्यलाई नै व्यङ्ग्य गर्नुभएको छ ।

यस कलमीलाई औधी मन परेको निबन्ध ‘मानुचामल’ पनि हो । हाम्रो पूर्वीय परम्परा अनुसार हुने गरेको अन्तिम संस्कार र त्यसमा भएका र हुँदैगरेका यावत् विकृति र विसङ्गतिको यथार्थपरक कायाकैरन प्रस्तुत गर्ने कलाको उत्कृष्ट नमुना हो यो निबन्ध । यस कलमीलाई मात्र होइन यसका पाठक सबैलाई यसले मन्त्रमुग्ध बनाउँछ । यस किसिमको हास्यव्यङ्ग्यात्मक शैलीले निबन्धलेखन कलालाई धेरै माथि उठाएको छ र उहाँ देशकै एक उच्च कोटिको हास्यव्यङ्ग्य निबन्धकारमा प्रतिष्ठापित हुनुभएको छ । हेरौँ यस निबन्धमा भएका केही महत्त्वपूर्ण काया-कैरनहरू :
(क) कति दुच्छरहरूले त राम्ररी सास पनि गैनसकी फोटो खिचेर श्रद्धाञ्जलि भनेर मोवाइलमा पोस्ट्याउँछन् ।
(ख) एउटा खैँजडे दुच्छरले क्रियापुत्रीसँग सेल्फी हान्न पनि भ्यायो ।
(ग) क्रियापुत्रीहरू हैरान हत्तु भएर टुसुक्क बसेका मात्रै के थिए, आन्दोलनको ब्यानर जत्रो समवेदनाको मान्द्रो बोकेर सहकारीको टोली टुप्लुक्कै आइपुग्यो ।
(घ) एकजनाले भन्दैथिए तेर दिनका तेरवटा पिण्ड सात दिनमा दुईदुईवटाका दरले चौधवटै लडाइदिए भयो । प्रेतात्मालाई एउटा पिण्ड फाउ पनि हुन्छ ।
(ङ) तेसपछि ऐँठनपानी र गोसका कुरा पनि निकाल्दै थिए । मेरो चाहिँ अर्को ठाउँमा पनि मानुचामल पुर्‍याउनुपर्ने भएकाले उठेर हिँडेँ ।

विज्ञापनमुखी प्राइभेट बोर्डिङ् स्कुलभित्र र बाहिर देखिएका अनेकौं विकृति र विसङ्गति तथा बोर्डिङ स्कुल र कलेजका सञ्चालक, मास्टर र विद्यार्थीहरूप्रति कडा व्यङ्ग्य प्रहार गरी लेखिएको ‘बोर्डिङ र कलेजको उत्तरआधुनिक विज्ञापन’ शीर्षक निबन्ध पनि निकै चोटिलो र घोचिलो छ । यसमा भएको एउटा चाखिलो भनाइ हेरौँ :
विद्यार्थीहरू एउटै पोसाक लाउँदा लाउँदा हैरान भएका हुन्छन् । यो मनोविज्ञानलाई पक्रेर निश्चित पोसाक लाउनु नपर्ने, आफूखुसी लाउन पाउने विज्ञापन गर्दा काइदा हुन्थ्यो । फेरि काँचा तिघ्रा देखाउँदै नाङ्गा नाङ्गै आए भने विद्यार्थीहरू त बिग्रिन्छन् बिग्रिन्छन्, मास्टरले पनि दाम्लो चुँडाउलान् भन्ने पिर !

‘स्कुल पुग्नै भ्याइँदैन, पुगे पढाउनै पाइँदैन’ शीर्षक निबन्धमा सरकारी विद्यालयका अधिकांश शिक्षकहरूले गर्ने गरेको ठग प्रवृत्तिको हाँसउठ्दो यथार्थको चित्रण गरिएको छ । शीर्षक नै यस कुराको साछी छ तापनि एउटा उदाहरण हेरौं :
अस्ति दुईचार दिनअघि आज एक दिन चाहिँ स्कुलमा मुख देखाउनै पर्‍यो भनेर पुगेको मात्र के थिएँ, विद्यार्थीहरू प्रार्थना गर्दै थिए । त्यसै वेला गाईले गोरु खोज्यो झट्ट आउनुपर्‍यो भनेर घरबाट जरुरी फोन आयो । हेडसरलाई बिन्ती बिसाएर तुरुन्तै नफर्कि भएन ।”

‘राजनीति गर्नु भनेको के गर्नु हो ?’ शीर्षक निबन्धमा भएको काकाभतिजाको संवादले राजनीति र राजनीति गर्ने नेता भनाउँदाको आन्द्राभुँडी देखाएको छ । वास्तबमा हाम्रो देशको राजनीति लाजनीति र भ्रष्टनीतिमा रूपान्तरित भएको छ । घुमाउरो र चाखलाग्दो शैलीमा सो कुराको यथार्थ चित्रण यस निबन्धमा देख्न सकिन्छ । भानुभक्तका कवितासँग एकल संवादको शैलीमा लेखिएको ‘भानुभक्त नाउँको जो कोहीले कुटाइ खान सक्छ’ शीर्षक निबन्धलाई एउटा नयाँ र नौलो प्रयोग मान्न सकिन्छ । उनका कवितालाई अगाडि राखेर मरेका भानुभक्तसँग गरिएको गफमा भएको स्वैरकल्पनात्मक तर यथार्थपरक शैलीलाई यो पङ्क्तिकार प्रशंसा नगरी रहन सक्तैन । वर्तमान सन्दर्भमा यस निबन्धले तेराखको मयवादलाई पनि सम्झाएको छ, किनभने यो नाटकीय शैलीमा लेखिएको एक प्रकारको आलोचना पनि हो । भानुभक्तले नारीका विषयमा लेखेका कविता हिजो आज हुने गरेका कुनै गोष्ठीमा सुनाउने हो भने त्यो सुनाउनेले पनि कुटाइ खान सक्छ भने भानुभक्त नाम भएका व्यक्तिले त कुटाइ खाने नै भयो भन्ने कुरा यथार्थमा आधारित छ । यदि कसैले त्यसो गर्‍यो त्यसले गोरु चुटाइ भेट्छ ।

‘नेता भनेर चिनेको भए मार्ने थियो’ नामक निबन्धमा नेता र तिनीहरूबाट हुनेगरेका चरम भ्रष्टाचारलाई सिस्नुपानी लगाएर तिनले गरेका यावत् काला कर्तुतहरूलाई दुधको दुध, पानीको पानी छुट्याउने गरी बकाउन निबन्धकार सफल हुनुभएको छ । ‘अभिनन्दन’ शीर्षक निबन्धमा पनि आरोही स्वर (राइजिङ्ग टोन) मा अभिनन्दन गरिएकाले यो पनि सर्वथा नकारात्मक तथा व्यङ्ग्यात्मक रहेको देखिन्छ । यस निबन्धले पनि अन्य निबन्धलेझैँ व्यञ्जनात्मक रूपमा नेताको कालो कर्तुतलाई नङ्ग्याएको छ । ‘हामी भ्रष्ट नै हौँ, के गर्छौ गर’ भन्दै भ्रष्टाचारीहरूले नै पत्रकारहरूलाई दरो चुनौती दिएपछि अब नेपालमा भ्रष्टाचार संस्थागत भइसक्यो, यसमा कसैको केही चल्दैन भन्ने मूल सन्देश प्रवाह गरी लेखिएको प्रस्तुत निबन्धको शैलीशिल्प हास्यव्यङ्ग्यकार चूडामणि वशिष्ठको शैलीशिल्पसँग ठ्याक्कै मिलेको छ । यो कुरा यस पङ्क्तिकारको अनुसन्धानले पुष्टि गरेको छ ।

जुनसुकै कुरामा पनि तत्सम्बन्धी कटाक्ष शैली प्रयोग गर्ने कार्यमा दक्ष सर्जक चूडामणि वशिष्ठले कालगतिले मृत्यु वरण गर्ने र अकालमा सिल्टिम्मुर खाने, आफैँ सेन्तेरेम हुने, जिब्रो टोक्ने नेपालीहरूको मृत्युले नेपालको जनसङ्ख्यामा कमी आएको कुरा व्यङ्ग्य-विनोदी शैलीमा व्यक्त गर्नुभएको छ । यसको समाधानका लागि उहाँ ‘जनसङ्ख्याको बजेट भाषण’ शीर्षकको अन्त्यमा लेख्नुहुन्छ : “आजको यो घाटाको बजेट वैदेशिक सहायताबाटै परिपूर्ति हुने आशा, विश्वास र भरोसा गरेको छु । जय नेपाल ।” निबन्धकारको यो भनाइ विदेशीहरूलाई नागरिकता दिनेहरूका निमित्त पनि दरो झापड हो ।

‘कार्यालयको पीपल’ शीर्षक निबन्धमा सम्मानित अदालतको अलिकति पनि विरोध नगरी उसले गरेका फैसलाको मात्र यसरी लङ्गौटी खुस्काइएको छ :
सबैले फैसला जान्न बुझ्न थाहा पाउन उत्सुकता देखाए तर फैसला यत्रो ठुलो पुस्तकको ठ्यासफुमा वा, अथवा, तथापि, यद्यपि, तापनि, र, तर, अनि, पनि, जो, सो, जब, तब, आदि जस्ता संयोजकले जेलिएको, गाँजे, गेजु, गोज्याङ, गजमौरो भाषामा लेखिएको फैसलाले कुरोको चुरोको प्राणपखेरु उडाएको रहेछ । जति पटक पढे पनि बुझियोस् त मर्नु ! आयामेली कवि, उत्तरआधुनिक कविका कविता बरू बुझिएला, फैसला कसैले बुझेनछ । यस घानमा आयामेली कवि र उत्तरआधुनिक कविहरूका कविता पनि परेका छन् ।

मान्छे पनि हेर्नाका हुन्छन् -धनीमानी, ठुलाबडा, प्रभावशाली, प्रभुत्वशाली, वरिष्ठ, विशिष्ट मान्छे मर्दा समाचार बन्नु ठिकठिकै होला तर यी दुनियाँभरिका लुम्रे, झुम्रे, अनिकाले, हरिनासे, कङ्गाली, अनपढ, माग्ने, थाङ्ने, गरिब-गुरुवा आदि जस्ता मान्छे मरेको पनि मिडियाले छाप्न भट्याउन सुहाउने कुरो हो ? यी गरिब-गुरुवाको कामै मर्ने हो, मर्छन् त ! माथिका कुरा ‘राजनीतिबाट सिक्नु पर्दैन ?’ भन्ने निबन्धका हुन् । यसमा पत्रकारतिर ताकेझैं गरेको बन्दुकले विकृत र विसङ्गत राजनीतिको छातीलाई निसाना बनाएको छ । जय व्यङ्ग्य, जय कलम ! ‘लोकतन्त्र दिवसका दिन पनि भोकै’ शीर्षक निबन्धले हाम्रो देशको लोकतन्त्रको सटीक चित्र उतारेको छ । यस निबन्धमा पनि निबन्धकारले माइलाबालाई नै प्रमुख वाचक नियुक्त गरी आफू उपवाचकमै रहनुभएको छ । प्रस्तुत शीर्षकले नै लोकतन्त्रबारे सबै कुरा छर्लङ्ङ पारेको हुनाले यस कलमीले धेरै भनिरहनु परेन तापनि माइलाबाले भनेका केही कुरा राखेर यसको बिट मार्दैछु – “लोकतन्त्राँ लुटेर, धुतेर, ठगेर, चोरेर, धम्क्याएर भए पनि मिठो खानु राम्रो लाउनु पर्दैन ? यति पनि ज्ञान, बुद्धि, अक्कल, सिप नभएका आफ्नै सुतिखेती गरेर खान खोज्नेहरू सुकेर मर्छन् ।”

प्रस्तुत निबन्धको मनोरम व्यङ्ग्यात्मक शैली प्रशंसनीय छ । ‘बजाइराख मुलाको मुरली’ यस कृतिको अर्को शीर्षक हो । यस कलमीले बाँस, मालिङ्गो, निगालो आदिबाट मात्र मुरली, बाँसुरी बनिन्छ भन्ने देखेको, सुनेको थियो । यहाँ निबन्धको शीर्षक नै मुलाको मुरली आएपछि कनीकुथी यसको अर्थ थाहा पाउन करै लाग्यो । व्यञ्जना शक्तिबाट निबन्धको भित्री आशय बुझ्दा सरकारले आफ्ना मातहतका कर्मचारी, शिक्षक, नेता, मन्त्री आदिलाई सम्पत्ति विवरण बुझाऊ भन्नू र मुलाको मुरली बजाऊ भन्नु एकै रहेछ भन्ने थाहा पाइयो । निबन्धभित्रको निम्न उद्धरित अंशले यसलाई झन् स्पष्ट पारेको छ :
“सम्पत्ति विवरण माग्ने सरकारी निकाय नै वैदेशिक बोरा देखेपछि अललिँदै टोप्ला कसेर भाग्छ । लु माग सम्पत्ति विवरण, बजाइराख मुलाको मुरली ।”

‘लेखेर के पो हुन्छ र’ शीर्षक निबन्धमा चूडामणि वशिष्ठ लेख्नुहुन्छ —
अहिलेको जिम्लिएको, चाम्रिएको, थाङ्निएको परिस्थितिमा व्यङ्ग्यको आरो हान्न नयाँ किसिमका हात हतियार चाहिन्छ । भ्रष्टाचारका दुर्व्यसनीलाई व्यङ्ग्यका मट्याङ्ग्राले जिस्क्याउनु भनेको गैँडालाई कुत्कुती लाउने असफल प्रयास जस्तै मात्र हो ।

उहाँ अझ अगाडि लेख्नुहुन्छ :
“नबुझिने अन्योल गजमौरा कुरा कोरलेर दुनियाँलाई बोरामा हाल्न सक्यो भने त्यस्तो लेखकले सम्मान पुरस्कार पाउँछ ।” यसरी यस निबन्धमा पनि गाण्डिवधारी अर्जुनले आफ्ना शत्रुलाई निसाना बनाएझैँ हाम्रो देशका निरीह कवि-लेखकहरूले भोग्नुपरेका विकृति र विसङ्गतिहरूलाई लक्ष्य गरी वशिष्ठ सरले शब्दवाणको वर्षा गराउनुभएको छ ।

व्यङ्ग्यविनोदी चूडामणि वशिष्ठका माइलाबा र कवि केशव आचार्यका बाको विचार एउटा कुरामा चैं ठ्याक्कै मिल्दो रहेछ । केशवका पिताले आफ्ना छोरालाई “ए केसे ! तैँले कविता लेखेर के हुन्छ !” भन्नुभएको छ भने ‘आफ्नो चाहिँ जुँगामुठे छोरो कविता लेख्छ’ शीर्षकमा वशिष्ठ सरका माइलाबा भन्छन् –
यसरी समय छिप्पिएर कहाँ पुगिसक्यो आफनो जुँगामुठे छोरो प्लास्टिकको छेस्को कलमले कविता कन्छ । ढुङ्गामाथि तरुल रोपेर हुन्छ कतै ? छोरो लेखनको गाँजामा सल्किएर दुर्व्यसनीजत्तिकै भइसक्यो । पैसाको विपरीत ध्रुवमा बसेर न्यानो खोज्दा कहाँ पाइन्छ ? यी भनाइले एकातिर पैसालाई सर्वोपरि मान्ने द्रव्य पिशाचप्रति गुलेली मट्याङ्राले कन्चटमा दनक दिएको छ भने अर्कातिर नेपालका निरीह लेखक कविहरूप्रति सहानुभूतिक कटाक्ष गरिएको छ ।

समापन
बाइसवटा विभिन्न निबन्धहरू भएको प्रस्तुत कृतिको मूल शीर्षक मुलाको मुरली हो । ‘मुलाको मुरली’ भन्नु र ‘मेवाको खाँबो’ भन्नु एकै हो जस्तो लाग्छ । नेता, मन्त्री, प्रशासक सबै मुलाका मुरली हुन् भन्दै यस शीर्षकभित्रका विषयवस्तुहरूले हाम्रा देशमा भएका अनेकौं विकृति र विसङ्गतिप्रति औँलो ठड्याई तिनप्रति कडा व्यङ्ग्य प्रहार गरेको छ । पाठकप्रति उत्सुकता जगाउन उपयोगी देखिएको यो शीर्षक सर्वतोभावेन सार्थक रहेको छ र व्यञ्जनाका दृष्टिले कृतिभित्रका सबै निबन्ध ‘मुलाको मुरली’ भित्र अटाएका छन् ।

निबन्धको कलापक्ष अत्यन्त सबल रहेको छ, किनभने यस सङ्ग्रहका प्रत्येक निबन्धमा विषय अनुसारको शब्दावलीको प्रयोग भएको छ । सोबाहेक सरल वाक्य रचना, भावानुकूल भाषा, विचारको क्रमबद्धता, सरलता एवं सजीवता यस सङ्ग्रहभित्रका जल्दाबल्दा विशेषता हुन् । अठार पुराण, अठार उपपुराण, महाभारत आदि ग्रन्थका रचयिता वेदव्यासले उपर्युक्त ग्रन्थहरूमा कहीँ कतै पनि ‘व्यास उवाच’ लेखेको पाइँदैन । त्यहाँ मुखपात्र अरूलाई नै बनाएर घटनाको वणर्न गरिएको छ । पुराण-वाचक शुकदेवले परीक्षितलाई श्रीमद्भागवतको कथा सुनाउँदा अरु व्यक्तिहरूलाई नै समाख्याता बनाएका छन् । यसो गर्नाले विषयवस्तु विश्वसनीय र आकर्षक बन्दछ । प्रस्तुत कृतिमा पनि निबन्धकार वशिष्ठले माइलाबालाई समाख्याता बनाउनुभएको छ भने केहीमा आफु स्वयम् पात्र बनेर आफूले भोगेका विषयलाई निबन्धन गर्नुभएको छ । यी दुवै तरिकाले निबन्धहरू विश्वसनीय र कलात्मक बनेका छन् ।

यसरी नै प्रस्तुत कृतिको भावपक्ष पनि मनोरम र अर्थपूणर् देखिएको छ । विचारमा नवीनता, लेखकीय व्यक्तित्वको सघन उपस्थिति, मौलिकता तथा प्रभावोत्पादकता जस्ता कुराले कृतिको भावपक्ष पनि खँदिलो बनेको छ ।

समग्रमा “गद्यं कवीनां निकषं वदन्ति” भन्ने पूर्वीय विद्वान्हरूको उक्तिलाई यस कृतिमा प्रयुक्त काव्यात्मक गद्य शैलीले सार्थक बनाएको छ । संस्कृतका पूर्वाचार्यहरूले गद्यपद्य दुवैलाई काव्य भनेका छन् । काव्यको परिभाषा दिने क्रममा आचार्य विश्वनाथ भन्छन्, ‘वाक्यं रसात्मकं काव्यम्’ (रसयुक्त वाक्य नै काव्य हो । अर्थात् जुन वाक्यमा रस हुन्छ त्यो रसात्मक वाक्य हो । मुलाको मुरली नामक कृतिको अन्तर्वस्तु छिपछिपे हास्य रसमा मुछिएको हुनाले यसलाई गद्यकाव्यका रूपमा परिभाषित गर्न सकिन्छ । किनभने दण्डीको दशकुमारचरितम्, सुबन्धुको वासवदत्ता एवं बाणभट्टका कादम्बरी र हर्षचरितम् संस्कृत साहित्यका उत्कृष्टतम गद्य काव्य हुन् । गद्यकाव्यको उदाहरणका रूपमा श्रीमद्भागवतको पञ्चमस्कन्धलाई पनि लिन सकिन्छ ।

नेपालीमा समस्तरीय गद्यलेखनलाई गद्य भन्नेगरेको देखिन्छ भने उध्र्वस्तरीय लेखनलाई कविता भन्ने गरेको पाइन्छ, तर लेखनको तरिकाले मात्र गद्यलाई काव्य मान्न सकिँदैन अर्थात् कुनै पनि रसको उपस्थिति नभएको अभिधात्मक गद्य जसरी लेखे पनि काव्य हुन सक्तैन । त्यति मात्र होइन अभिधार्थमा लेखिएको पद्य पनि काव्य हुन सक्तैन । लक्षणा, व्यञ्जना, रस, अलङ्कार भएको गद्य जे जसरी लेखे पनि गद्यकाव्य नै हुन्छ ।

एउटा उदारण हेरौं :
त्यस्तो झन्झट को गरिरहोस् ! जे भेट्टायो त्यही खायो, जहाँ पुग्यो त्यहीँ बस्यो, जे मन लाग्यो त्यही गर्‍यो, जसले जे भने पनि अँ अँ हो हो भन्दियो, कति ढुक्क ! कति आनन्द ! प्रतिवाद गरेर, तर्क तेस्र्याएर किन टाउको दुखाउनु ! कुनै एउटा विषयलाई किन लखेट्नु ! जिम्मेवारी किन लिनु ! बिनाविभागीय मन्त्री जस्तो, बिना विषयको लेख लेख्यो बस्यो । योजना बिनाको काम गर्न सजिलो हुन्छ । जे गर्‍यो त्यही ठिक, जे गरेन त्यो झन् ठिक, नेताहरूको शैली जस्तो ।

माथिको उद्धरण कृतिभित्रको समस्तरीय लेखको एउटा उदाहरण हो । हामीले यसलाई गद्य मात्र भन्ने गरेका छौँ, तर यसलाई निम्नानुसार उध्र्वस्तरीय बनाउने हो भने हामी त्यसैलाई काव्य अर्थात् कविता भन्छौ :
त्यस्तो झन्झट को गरिरहोस् !
जे भेट्टायो त्यही खायो,
जहाँ पुग्यो त्यहीँ बस्यो,
जे मन लाग्यो त्यही गर्‍यो,
जसले जे भने पनि
अँ अँ, हो हो भन्दियो,
कति ढुक्क ! कति आनन्द !
प्रतिवाद गरेर,
तर्क तेस्र्याएर
किन टाउको दुखाउनु !
कुनै एउटा विषयलाई
किन लखेट्नु !
जिम्मेवारी किन लिनु !
बिनाविभागीय मन्त्री जस्तो
बिना विषयको लेख लेख्यो बस्यो ।
योजना बिनाको काम गर्न सजिलो हुन्छ ।
जे गर्‍यो त्यही ठिक,
जे गरेन त्यो झन् ठिक,
नेताहरूको शैली जस्तो ।

यसरी व्यङ्ग्यार्थप्रधान निबन्धद्वारा निबन्धका साथै गद्यकाव्यको भोक मेटाउन सफल चूडामणि वशिष्ठलाई आभ्यन्तरिक साधुवाद । कल्याणमस्तु । जयराम, जयकृष्ण, जय लेखक, जय लेखनी ।

०००
कनकाई ३, सुरुङ्गा, झापा ।

‘मुलाको मुरली’ (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
0
Would love your thoughts, please comment.x
()
x