काेमलप्रसाद पोखरेलकवि बन्न खोज्दा
पोसाक गेरू रङको स्वयं भिरी, रुद्राक्ष माला सिउरी गलाभरि । निधार यो चन्दनले सिंगारियो, तथापि फुर्दैन कवित्व, हारियो ।। गोष्ठीहरूमा दिनरात धाइयो, चिया समोसा पनि खान पाइयो । राती हुँदा हन्डर धेर खाइयो, तथापि फुर्दैन कवित्व, हारियो ।।

काेमलप्रसाद पाेखरेल :
आजन्म घाँसी हुन घाँस काटियो,
चुरोटमा दैनिक नोट साटियो ।
कपाल दाह्री लटरम्म पालियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।
बनी भवानीपति भस्म लाइयो,
उमा सती जीवित देख्न पाइयो ।
त्यसो हुँदा भाव सबै गुमाइयो,
तथापि फुर्दैन कवित्व, हारियो ।।
उन्मुक्त बन्ने म स्वयं भनीकन,
स्वच्छन्द आयामिक धार लीकन ।
सुराग्निमा देह सबै पगालियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।
विरागमा राग थपी अनेकन,
शून्यत्वमा क्लिष्ट मुछी मनैमन ।
पाण्डित्य शैली नव गाँस हालियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।
ऐना नहेरी कवि लेख्न थालियो,
वरिष्ट यो शब्द अगाडि हालियो ।
गमक्क गम्की कविता सुनाइयो,
तथापि फुर्दैन कवित्व, हारियो ।।
चोरी कसैको कविता छपाइयो
झन्डै पुरस्कार त्यसै पकाइयो ।
स्रष्टा महान् बन्न जुँगा मुसारियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।
पक्वान्न पारी रस छन्द खाइयो,
तथा अलङ्कार अनेक लाइयो ।
उपाधिका साथ अहं थुपारियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।
प्रभातको शीतल स्वच्छ वातमा,
उद्यानको सुन्दर भाव साथमा ।
पन्छीहरू साथ स्वयं कराइयो
तथापि फुर्दैन कवित्व, हारियो ।।
वसन्तमा कोकिल गीत गाइयो,
हेमन्तको शीत यथेष्ट खाइयो ।
अज्ञानको टिम्टिम दीप बालियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।
यो राष्ट्रभाषा किन व्यर्थ सिक्नु छ,
विदेशको आङ्गल भाव झिक्नु छ
भनी स्वयं देश विदेश भ्याइयो,
तथापि फुर्दैन कवित्व, हारियो ।।
गरेर चिप्ला महतुल्य भाषण,
ठगेर सोझा जनता जनार्दन ।
नारा उराली जय भन्न लाइयो,
नथापि फुर्दैन कवित्व, हारियो ।।
पोसाक गेरू रङको स्वयं भिरी,
रुद्राक्ष माला सिउरी गलाभरि ।
निधार यो चन्दनले सिंगारियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।
गोष्ठीहरूमा दिनरात धाइयो,
चिया समोसा पनि खान पाइयो ।
राती हुँदा हन्डर धेर खाइयो,
तथापि फुर्दैन कवित्व, हारियो ।।
पहाडका जङ्गलभित्र योछ कि !
नेताहरूका मुखभित्र पो छ कि !
भनेर खोज्दा वय अन्त्य पारियो
तथापि फुर्दैन कवित्व, हारियो ।।
०००
सुरूङ्गा, झापा









































आभारी छु सर !