काेमलप्रसाद पोखरेलहाम्रा साँडे
आफै मात्रै रनवन घुमी घाँस माडेर चर्छन्, अर्को कोही अघितिर गए जोर लात्ती भकुर्छन् । दुब्ला साँडे परतिर गई थान थापेर बस्छन्, मोटा डुक्रेपछि त यिनले आत्तिई टाप कस्छन् ।

कोमलप्रसाद पोखरेल :
दल्छन् साँडे विविध दलका एकसाथै मिलेर
छल्छन् साँडे अबुझ जनता पूर्व वाचा भुलेर ।
चल्छन् साँडे प्रतिदिन तिनै माफियाका पछाडि,
फाल्छन् साँडे गतिमति सबै घाँस देख्दा अगाडि
झुक्छन् डाम्ने क्रम हुनुअघि स्यालजस्तै भएर
छाडा छाडेपछि त यिनले हान्न खोज्छन् फिरेर ।
चर्छन् बेलाबखत दगुरी अन्य देशीय घाँस,
मात्रै उग्राउनु छ यिनको कार्य, के गर्नु आस !
हाँस्छन् साँडे पशु-महलमा बास्मती टन्न खाई,
रुन्छन् मान्छे दरर चुहुने गोठमा क्यै नखाई ।
पानी छिर्ने सबतिर ठुला सात ओटा दुला छन्,
चोरी लाने तलतिर सबै झ्यालढोका खुला छन् ।
साँडेद्वारा चउरतिरको घाँस नै मासिदैछ,
बाली छर्ने जमिन पनि ता वज्रजस्तै हुँदैछ ।
जानी जानी परजन यहाँ आज भित्र्याइँदै छ,
छाडा डाम्नाहरु सब मिली खेत रित्याइँदै छ ।
आफै मात्रै रनवन घुमी घाँस माडेर चर्छन्,
अर्को कोही अघितिर गए जोर लात्ती भकुर्छन् ।
दुब्ला साँडे परतिर गई थान थापेर बस्छन्,
मोटा डुक्रेपछि त यिनले आत्तिई टाप कस्छन् ।
डामी छाडेपछि त यिनले खेत जोत्नै हुँदैन,
लाठो लाऔं न त अब भने शास्त्र आज्ञा दिँदैन ।
खान्छन् बाली टुलुटुलु यहाँ हेर्नुपर्ने छ धर्म,
देख्ला कस्ले गरिब-जनको दुःख, पीडा र मर्म ।
०००
सुरूङ्गा, झापा
Subscribe
Login
0 Comments
Oldest









































