ईश्वर पाेखरेलशुभ नाम ?
परिचयका क्रममा नाम बताई सकेपछि एउटा नाम सिर्फ एउटा व्यक्तिको मात्र हुन सक्छ भनेर बुझे झै ट्वाल्ल परेर अनुहार हेर्याहेर्यै गर्ने उपबुज्रुकहरूप्रतिको दयाभाव उर्लेर कहिले त मर्नु हुन्छ भन्या !

ईश्वर पोखरेल :
‘तपाईंको शुभ–नाम ?’ चिनापर्चीको जस्केलोमै सवालको तगारो तेर्सियो । समस्या त के भने, त्यतिबेला मसँग ‘शुभ–नाम’ होइन; ‘कामचलाउ नाम’ मात्र थियो । वास्तवमा त्यो समय म नाम परिवर्तन गर्ने ‘म्याराथुन दौड’मा थिएँ : साविक नाम मलाई मन परेको थिएन; नयाँ नाम फुरिसकेको पनि थिएन ।
मलाई नाममार्फत् अत्याधुनिक हुनु थियो; तर आफ्नो साविक नाम आधुनिकभन्दा पनि दुईचार पाइला अगाडिको थियो । एक मन त अत्याधुनिक युगको मानिसको देउतासँग सोझै जोडिएको नाम राखिदिएकाले पुरेतबाको नाउँमा गालीबेइज्जतीको नालिसै पो दिनुपर्छ कि भन्ने पनि सोच्दै थिएँ; त्यसमाथि गाउँबाट शहर पसेपछि काँचुली फेरेर ठूलीबाट ‘जुली’ बनेकी चर्कुलीसँग धरहरानेर भेट हुनु के थियो; दुत्कारी हाली— ‘आबुई…तिमीले त अझै नाम चेञ्ज गरेकै रहेनछौ ।’
सबैलाई थाहा छ— जुलीका लागि म नाम त के, हुलियै बदल्न पनि तयार रहदै आएकोछु । अब आफू र आफूले मनपराएकीलाई समेत मन नपरेको थोत्रो नामलाई म आफ्नो ‘शुभ–नाम’को दर्जा दिऊँ ? यो हुनसक्ने कुरा थिएन ।
जवाफमा मैले भने— ‘अहिलेलाई ‘शुभ–थर’बाट मात्रै काम चलाउन मिल्दैन ?’
एक मन त लाग्यो— नाम बदल्ने बहानामा यतिधेरै टाउको दुखाई किन ? नाम र थर दुबैका एक–एकवटा अक्षर ‘डिलिट’ गरिदिए, कुरै खलास । नामको ठाउँमा नाम, थरको सम्बन्धमा त केही चिन्तै गर्नु परेन ।
मुमताजको प्रेममा नुरजहाँले ताजमहल बनाए, जुलीको प्रेममा म यति बलीदान पनि नगरुँ ? पुरेतबा भविष्यद्रष्टा परेछन्; नत्र यति गहिरो अक्किल कसरी आउँदो हो र ? फेरि कवि–लेखकहरू छद्म नाम राख्छन् र लोकसेवाका उम्मेदवारहरूलाई थप एक–डेड घन्टा ‘डिस्टर्ब’ गर्छन्; नाम थर दुवै छद्म भयो भने एकैचोटि महाकविमै दरिन पो के बेर ? तर फेरि ‘टाप्टिपेलाई लिस्नो’ भने जस्तै छँदाखाँदाको ‘ईश्वर’बाट ‘स्वर’ हुँदा दुश्मनलाई ‘चोर’ भन्न सजिलो बनाइदिएको पो ठहरिने हो कि भन्ने पनि लाग्यो र हच्किएँ ।
नामका कारणले मैले सास्ती मात्रै पाएको छु भन्ठानुभएको छ भने तपाईको ठम्याई आधासरो गलत छ । एक समय म आफ्ना लेखौटहरू पत्र पत्रिकामा इ–मेल गर्थे र सम्पादक महोदयलाई टेलिफोन गर्थे । मैले यताबाट आफ्नो नाम बताउनु के छ, उताबाट अत्यन्त विनम्रताका साथ प्रश्न हुन्थ्यो— ‘हजुर बल्खुबाटै ?’
संजोग पनि कस्तो परेको थियो भने, डेरा सर्ने क्रममा केही समय अघिदेखि म बल्खुमै डेरा सरेको थिएँ । मलाई त्यो डेरा फाबेको पनि थियो । लाग्थ्यो, बल्ल उचित ठाउँमा डेरा सरेछु । त्यतिबेला मेरा लेखहरू रोकिँदैनथे, भटाभट छापिन्थे ।
यो लेख यहाँ छापिनुलाई पनि तपाई नाम र थरको आधारमा मैले उठाएको फाइदाका रूपमा बुझ्न सक्नु हुन्छ ।
आश्चर्य के भने, यो यहाँ ‘हास्य–व्यङ्ग्य’को बिल्लासहित छापिएको छ । स्वाभाविक हो— तपाई यसमा न हास्यको सिङ्ग फेला पार्न सक्नुहुनेछ न व्यङ्ग्यको पुच्छर ।
यसलाई हास्यव्यङ्ग्य मानिनुको आधार खोज्न थाल्नु भयो भने, सके सम्पादक महोदयले भन्नेछन्— ‘यो आधुनिक हास्यव्यङ्ग्य हो । तपाईहरू आजका हास्यव्यङ्ग्यलाई भैरव अर्याल र ‘जयभुडी’को ‘ह्याङ्ग–ओभर’बाट मुक्त भएर पढ्ने गर्नोस् । आजका हास्य–व्यङ्ग्यहरू पाठकले पहिले सरसर्ती पढ्नु पर्छ, पढ्दै जाँदा ‘हास्यव्यङ्ग्य’मा त्यतिबेलै हास्य र हास्यव्यङ्ग्यको केही छनक फेला परिहाल्यो भने भाग्यमानी हुनुहुँदोरहेछ; सन्तुष्ठ हुनुहोस् । फेला परेन भने चाहिँ काउकुती लगाइदिने मानिसको यथोचित व्यवस्था गरेर पाठकले फेरि ‘ट्राई’ गर्नुपर्छ ।’
अँ, म नामको कुरा गर्दै थिएँ । कहिले त मलाई लाग्छ— ‘ठीकै छ नि; काम चलेकै छ; किन चेन्ज गर्नु पर्यो ।’ तर परिचयका क्रममा नाम बताई सकेपछि एउटा नाम सिर्फ एउटा व्यक्तिको मात्र हुन सक्छ भनेर बुझे झै ट्वाल्ल परेर अनुहार हेर्याहेर्यै गर्ने उपबुज्रुकहरूप्रतिको दयाभाव उर्लेर कहिले त मर्नु हुन्छ भन्या !
०००
बोझेपोखरी, ललितपुर
‘युवामञ्च’ (माघ, २०६२)










































हास्यव्यङ्गमा नुरजहाँले ताजमहल बनाएका होलान् वास्तवमा भने शाहजहाँले ममताजको सम्झनामा ताजमहल बनाएका हुन् भन्ने व्यहोरा ठिक साँचो हो।
मुमताजको