साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुङ्गी : न टाँक न इजार

मिटिङ्गपछि 'इटिङ्ग' सकेर 'म्यारिज- फिटिङ्ग'मा नारिनु छ र म्यारिजमा टट्टीटाँट भएर फेरि पाखो बारीको मेलोमा फर्किनु छ भने उसलाई सुहाउने पहिरनै लुङ्गी थियो ।

Nepal Telecom ad

ईश्वर पोखरेल :

“टाउको दुखे— फेटा; गानो दुखे— पटुका; जाडो चढे— गलफन; गर्मी चढे— ओछ्यान; के हो” भनेर गाउँखाने कथाको ढाँचामा कसैले प्रश्न गरे अब के भन्नु हुन्छ ? सोच्नोस् । पहिले चाहिँ ‘लुङ्गी’ भनिदिए हुन्थ्यो ।

एक समय लुङ्गी सर्वेसर्वा थियो; पतलुङको कालखण्डपछि र फुलपैन्टको साम्राज्य देखापर्नुअघि लुङ्गीले एकलौटी राज गर्‍यो । यसको सर्वस्वीकार्यता यति स्थापित भयो; नयाँ लुङ्गी लगाएर बरियात जाने जन्ती पनि देखिए; ससुराल जाने ज्वाइँ पनि धेरै भए । हो, कछाड बाँध्नेको कछाड र धोती लगाउनेको धोतीसंग लुङ्गीको केही लागेन; बाँकी सबैसंग कम्तीमा एक थान लुङ्गी हुन्थ्यो ।

लुङ्गी थियो र लुङ्गी नै एउटा यस्तो वस्त्र थियो; जुन दाजुको भाइलाई र भाइको दाजुलाई मात्र होइन; ज्वाइँको जेठानलाई र जेठानको ज्वाइँलाई मात्र पनि होइन; बाजेको नातिलाई र नातिको बाजेलाई पनि चल्थ्यो ।

पहिरिने सवालमा लुङ्गी सजिलो पनि कति सजिलो भने– न टाँक, न इजार, न तुना, न खिप, न खुट्टा उचाल्नु परोस्; न ‘कुर्कुच्चा छिराउन साँगुरो भयो’ भन्नु परोस् । लामो पारेर लगाए पनि हुने, दोबारेर लगाए पनि हुने, साह्रै हतार छ भने, बेरबार मात्र पारे पनि— लौ ! न छेकाउनु पर्ने, न नापजाँच गर्नु पर्ने । छेउ सिलाए पनि— ‘नो कमेन्ट’; नसिलाए पनि— ‘नो कमेन्ट’ । लुङ्गीको लोकप्रियताको के कुरा गर्नु; तरुण वयको बटुवाको झोलामा टुथब्रस हुन्थ्यो, हुँदैनथ्यो; लुङ्गी हुन्थ्यो ।

लुङ्गीलाई कसैले नाम्लो बनाए; कसैले बरियो । यसलाई कसैले झोलुङ्गो बनाए; कसैले झोलुङ्गाको डोरी । कसैले कुम्लोमा लुङ्गी बोके; कसैले लुङ्गीलाई कुम्लो बनाए । मौकाअनुसार कतिले लुङ्गी मुख पुछे र लुङ्गीलाई रूमालको दर्जा दिए; कतिले लुङ्गीलाई झटपटमा पर्दा बनाएर टाँगे; कसैले लुङ्गीलाई काँधमा गम्छा जसरी राखे; लुङ्गी तन्ना, तौलिया, नाम्लो र झोलुङ्गो पनि हुन्थ्यो । पाखो बारीमा हलो जोत्दाजोत्दै कसैलाई उतैबाट मिटिङ्गमा जानु छ; मिटिङ्गपछि ‘इटिङ्ग’ सकेर ‘म्यारिज- फिटिङ्ग’मा नारिनु छ र म्यारिजमा टट्टीटाँट भएर फेरि पाखो बारीको मेलोमा फर्किनु छ भने उसलाई सुहाउने पहिरनै लुङ्गी थियो ।

एक पटकको घटना सम्झना छ : जगरमान काकालाई कसैले नपत्याउने । यो कुरा सबैभन्दा बढी जगरमान काकालाई नै थाहा थियो । कसैले केही नदिए पनि जगरमान काका केही पाउने आशामा जिम्दारको घरमा जान नचुक्ने । जिम्दार सधै यताउताको कुरा गरेर भुलाउने । एक दिन जिम्दार्नीलाई कुन्नि कसरी दया पलाएछ । भनिन्— “कनिका छ; लिएर जा, साहिँला!”

जगरमान काका दयाको यस्तो वृष्टि सामना गर्ने तयारीसहित गएका थिएनन् । अचानक भएको यो करुणाको वर्षा थेग्ने साधन जगरमानको दिमागमा झ्वाट्ट आएनछ । उनले झट्पट् लुङ्गी फुकाएर बिछ्याए । भित्र लगौंटी मात्र रहेछ । (पटकौंपटक चुनाव जितेर, सरकारमा गएर लोकतन्त्रप्रतिको प्रतिवद्धता र आफ्नो विश्वसनीयता पूरै गुमाएर यतिखेर फेरि ङिच्चङिच्च हाँस्दै, हात जोड्दै, गोडामै ढोगौंला झै गर्दै भोट माग्दै घरगाउँमा जगरमान काकाकै झल्को मेटाउने गरी जो भौतारिदै हुनुहुन्छ; आशा गरौं— भित्री वस्त्रका बारेमा सजग हुनुहुन्छ र जगरमान काकाको हबिगतमा पुग्नु हुने छैन ।)

तर लुङ्गीको रजगज सधै रहेन ।

नेपालको कपडा बजारमा चाइनिज उत्पादनको बाहुल्यतापछि हाफपैन्ट, फुलपैन्ट र टाउजर मैदानमा आयो; अनि ‘कहिले सासूको पालो; कहिले बुहारीको पालो’ भन्ठानेर लुङ्गी भलादमी पारामा छेउ लाग्यो । पहाडका सहरबजारमा अचेल बरु कछाड भेटिएला; खोज्ने नै हो भने प्रजातन्त्रको पुर्नस्थापनापछि राजनीतिमा लागेका, पटकपटक मन्त्री भएका जगरमान काकालाई कारको कालो सिसाभित्रबाट सान्नानीको वक्षस्थलमा दृष्टि खोपी रहेको अवस्थामा भेटिएला, लुङ्गी भेटिदैन; लुङ्गी भेट्न हाट लाग्ने दिन पारेर तराईका बजारमा पुग्नु पर्छ ।

०००
बोझेपोखरी, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x