काेमलप्रसाद पोखरेलनिमित्त प्रमुख अतिथि
स्थायी प्रमुख आएछ र उठेछन् सबै जना, के जानोस् उसले यस्तो निमित्त परियोजना । उसकै मेचमा ल्याई स्थायीलाई बसाइयो, माल्यार्पण तथा बिल्ला उसैलाई लगाइयो ।

काेमलप्रसाद पाेखरेल :
मुख्य पण्डित या मुख्य ठेकेदार समानको,
सभा प्रमुख हो स्थायी आफ्ना ती जजमानको ।
एकै समयमा कार्य-क्रम धेरै जुधे पनि
म भ्याउदिन भन्दैन, भित्री गुठिल के छ नि !
पूर्व-पश्चिम आफैले नभ्याई नहुने हुँदा,
निमित्त राख्छ स्थायीले, हुँदैन ऐनको बुँदा ।
आफु स्वयं फर्किआए निमित्त सकिने गरी
नियुक्ति मुखले दिन्छ, त्यही हो नियमावली ।
तीन, चार समारोह मात्र भ्याउन सक्दछ,
बाँकी, निमित्तलाई नै अरु जिम्मा लगाउँछ ।
यो मौका पाउँदा के के भेटें भन्छ निमित्तले,
पाई प्रमुखको कुर्सी मन्त्रीझै फुल्छ दम्भले ।
रेडियो, पत्रिकाबाट अब नाम प्रसारित
हुन्छ भन्दै कल्पनाको दहमा स्नान गर्दछ ।
सो सभा सकिनासाथ तुरुन्त घर फिर्दछु
लु नपत्या बुढी ! भन्दै कथा आफ्नो सुनाउँछु ।
सो सुनेर दिएको त्यो पत्नीको धन्यवादले,
अघिका दिलका घाउ छाड्छन् पोल्न तुरुन्त नै।
यस्तै गम्दैथियो भित्र, बिल्ला माला दुवै लिई,
उसका सामुमा आए महिलाद्वय सुन्दरी ।
हतारिदै उठ्यो झट्ट बिल्ला, माला लगाउन,
उठे त्यहाँ त्यसैबेला उपस्थित सबै जन ।
संझ्याे निमित्तले मेरै उठे सम्मानमा भनी,
धन्यवाद दियो आफ्नो भाग्य-लाई मुरीमुरी ।
स्थायी प्रमुख आएछ र उठेछन् सबै जना,
के जानोस् उसले यस्तो निमित्त परियोजना ।
उसकै मेचमा ल्याई स्थायीलाई बसाइयो,
माल्यार्पण तथा बिल्ला उसैलाई लगाइयो ।
थिएन धुम्म आकाश हुन्डरी नै थियो न त,
उसको कल्पनामाथि वज्रपात भयो स्वतः ।’
ओर्लियो त्यो मञ्चबाट के के बरबराउँदै,
एकाएक सभा छाडी अन्तर्ध्यान भयो कठै !
०००
सुरूङ्गा, झापा
म फर्केर आएँ (२०७८)
Subscribe
Login
0 Comments
Oldest









































