रमेश विकलहल्लुँडे कान्छाले कोर्रा फट्कार्यो
पेटभर ब्राह्मण भोजन र गहकिलो दान-दक्षिणा पाएर तृप्त भएका गरीब विशेषज्ञ ऋषिमुनि पण्डितहरूबाट ब्राह्मणशीर्वादरूपी कागतका सात कोर्रा फट्कार्दै आज हल्लुँडे कान्छा सारा गरिबीका विरुद्ध पाखुरा सुर्कदै छ ।

रमेश विकल :
उसको नाउँ त अर्कै होला तर मानिसहरू उसलाई हल्लुँडे कान्छो भन्ने गर्थे । किनभने देख्नमा ऊ हल्लुँडो (हलोमा जुवा झुण्ड्याउने छालाको लुँडो) जस्तै लाग्थ्यो । त्यसमाथि ऊ गोरु जोत्दा पनि पछाडि अनौमा समातेर नजोतेर हल्लुँडो समातेर घिच्याउने गर्थ्यो। त्यसैले मानिसले उसको नाम हल्लुँडे कान्छो राखिदिए । के लाग्छ, जनताकै सनक न हो !
त एक रात यही हल्लुँडे कान्छो आफ्नो तारामण्डल छानो र सिमलचरी भित्तावाल जरजर झुपडीभित्र जीर्ण कन्था भिरेर थिलथिलो झल्लरी सुकुलको थाङ्नामा दरिद्रताका उडुसउपियाँले टोकेर छटपटाउँदा छटपटाउँदै एक्कासि रिस र जोसले जुरुक्क उठ्छ र झ्यालबाट बुरुक्क हाम्फालेर सडकमा पुग्छ। अनि त्यहीँ नजिकैको बकैनाका रुखबाट एउटा हाँगो भाँचेर जोड-जोडसँग उराल्दै कुर्लन थाल्छ – “पख तिमी राणीका वानहरूको छाला नकाडी त …।’
उसको यो कुबेलाको कुर्लाइले छर छिमेकीका निद्रा बिउँझन्छ । उनीहरू बाहिर निस्केर आश्चर्यले विचित्र ताण्डवनाच गरिरहेको हल्लुँडे कान्छालाई हेर्न थाल्छन् – “होइन, के भो ए हल्लुँडे ? आधारातमा बौलाहाजस्तो के कराउँदैछस् ?”
“के कराउनु अब !” – हल्लुँडे वरिपरि जम्मा भएका छर छिमेक र इष्ट- मित्र, नातागोतालाई हेर्दै भन्छ- ‘यी क्या त यिनै गरिबीका उडुसउपियाँ। यिनले टोकेर सुत्नै दिए पो । यिनका उछित्तो काटेर यिनलाई सात डाँडा नकटाई त कहाँ छोडूँला ?”
“के रे ?” – आश्चर्य मूढ भएका छिमेकीले आँखा च्यातेर भने- “यो लुलो बकैनाको सिन्किनाले गरिबीका उडुसउपियाँको उछित्तो काट्ने ? तँ छँटाउन त छँटाइनस् कान्छा ?”
“यसलाई मामुली बकैनाको हाँगो नठान । यसको तीतो रसले यी क्षुद्र गरिबीको उडुसउपियाँको पित्त छदाउँछ, हेरिराख ।”
अब जम्मा भएका मानिसले ठाने हल्लुँडे कान्छो त अब नेता पो भैसकेछ। लौ यसलाई काँध चढाओ। अनि सबै मिलेर उसलाई काँध चढाए । हल्लुँडे कान्छो जिन्दावादको नाराले चारै दिशा घन्काउँदै उसलाई ल्याएर अमरावतीको अन्धो मेचमा बसालेर फनफनी घुमाए ।
यसरी एक्कासि अन्धो मेचमा बसेर घुम्न थालेपछि हल्लुँडे कान्छाले आफ्नो जीउका थोत्रा कन्थामा झुन्डिएका गरिबीमा आँखा घुमायो । सबैभन्दा पहिले त यिनैलाई पो त लखेट्न पर्याे भन्ने सोचेर उसले तुरुन्त इन्द्रचोकको
कोडीमल-पकौडीमललाई डाकेर उर्दी ठोक्यो “साहुजी, लौ तपाईकहाँ भएभरकोमा उम्दा उम्दा कपडाहरू उधारो पठाइदिनोस्, म तपाईंहरूले मनपरी भाउ बढाउन पाउने गरी प्रतिकिर्यात्मक खुला बजारको विधेयक पास गराएर त्यो ऋण तिरौंला । पहिले आफ्नो आडको गरिबी नभगाई अन्त हात हाल्नु भएन ।”
अनि यसरी खुला बजारको प्रतिस्पर्धा विधेयकले ऋण तिर्ने गरी कौडीमलसँग कपडा लिएपछि नयाँ सडकको भी. आई. पी. टेलर्सलाई डाकेर उम्दा आधुनिक डिजाइनको दौरा, सुरुवाल, कोट र टोपी सिउन लगायो । यसरी त्यो महँगो पोसाक लगाएर डटिडटाउ भएभछि त वा ! हल्लुँडे । अब उसको आङमा गरिबीको चिह्न कहाँ पाउनु ? त्यो त विष्णुमती र बाग्मतीको बगरतिर पो लुक्न पुगिसकेछ। यो एउटा युद्धको ठूलो फत्ते भएको थियो। उसले सन्तोषको लामो फेन्यो।
अब उसका आँखा आफ्ना चारैतिर शिवजीका भूतप्रेत, पिशाच, प्रथम गणझै झ्याम्मिएका भाइ-भतिजा, भान्जा-भान्जी, फुपू-फुपाजु, चम्चे-हनुमान र धुपौरेका फौजमा घुमे । अब यी चारतिरका हाउँ-हाउँ गर्ने गरिबीलाई लखेट्ने पालो। तर कसरी लखेट्ने यिनलाई ? निकै बेर मथिङ्गल हल्लाउँदा बल्ल बल्ल उसका घैँटामा घाम लागे। उसले तुरुन्त देशका सिपालु-सिपालु सिकर्मीहरूलाई बोलाएर दश-आठ ओटा अन्धा मेचहरू बनाउने आडर दियो । ती मेचहरू तयार भएपछि उसले आफ्ना केही साक्खे प्रथम गणहरूलाई ल्याएर थपक्क राखिदियो। अनि उनीहरूलाई छिमेकी र अछिमेकी दुई-चार मुलुकका भोजभतेर (ब्राह्मण भोजन) – को निम्तामा पठाएर कुस्त दान – दक्षिणा बटुल्न लगायो। अनि दङ्ग पर्दै उसले जुँघा मुसायो देशको आधी गरिबी त उसले यसरी चुट्की बजाउँदैमा धपाइदियो ।
तर जनता आखिर जन्तु न हो। ऊ जति गरे पनि चित्त बुझाउने हो र ? असन्तोषी जात । गरिबी धपाएको हल्लुँडे कान्छाको दाबी सुनेर उसले लप्वा ख्यायो – “यी धपाइस् गरिबी । आफ्ना केही ज्वाइँ-भानिजको ढुकुटी भरेर बड देशको गरिबी भगाएँ भनेर फुइँ गर्ने । जा त हेर्न, देशका कुनाकाप्चा ! कसरी गरिबी खुकुरी नाच नाच्तै छ ?”
“लौ त त्यसो भए म पनि जनताको आँगन-दैलामा पुगेर आफ्ना आँखाले हेर्छु ।” यति भनेर बडो जोसिएर तुरुन्त हेलिकोप्टर तयार गर्न आदेश दियो। अनि हेलिकोप्टर चढेर ऊ देशका कुनाकाप्चा गयो। जनताका आँगन-दैलोमा त ऊ पुग्न सकेन, किनभने त्यहाँ हेलिकोटर उत्रने जग्गै थिएन । तर धुरीमाथिबाट च्याउने जमर्कोचाहिँ उसले गर्यो । जमर्को मात्रै गरेन । उसले भन्यो- “हेर जनता हो, अब यो देशमा म मात्रै छु । त्यसैले नोट-भोट जे दिनुपर्छ मलाई देओ । म तिमरूका गरिबीको सातो खाएर भगाउँछु ।”
तर नयाँसडकको बीचमा सारा सवारी आउजाउलाई रोकेर ढसमस्स बसेको बूढो साँढेजस्तो गरीबी उसले ‘हट्ट हट्ट’ भन्दैमा के भनेर हठ्थ्याे त ? हल्लुँडेलाई अलि चिन्ता पन्यो । कसरी हटाउनु यो गरिबी साँढेलाई ? ऊ निकै बेर घोर्रियो। अनि उसले एउटा गरिबी ‘भगाऊँ गोष्ठी’ गर्ने निधो गरेर देशका बडेबडे गरिबी विशेषज्ञलाई बोलाउन योजनापण्डितलाई आदेश दियो। योजनापण्डितले संसारका प्रजातन्त्रका हिमाइते संस्थाहरू र धनढुकुटीहरूलाई गुहारेर एउटा ठूलो पाँचतले होटेलमा लाखौँ रुपैयाँ खर्च गरेर एउटा भव्य गरिबी भगाऊँ गोष्ठीको आयोजना गराए । त्यस तीन दिने गोष्ठीमा भाग लिन सयौँ चिल्ला विदेशी कारहरूका मालिक बडेबडे दिग्गज गरीबी विशेषज्ञहरूको भेला भयो ।
नेताहरूले ठूला-ठूला डाँकाले भाषण हप्काएर गरिबीको सातो खान खोजे । कुखुराका साँप्रा च्यात्तै, विदेशी स्याम्पेन र ह्विस्कीले कुल्ला गर्दै दिग्गज गरिबी विशेषज्ञ पण्डितहरूले तीन दिनसम्म आफ्ना मथिङ्गलको कसरत गरेर सात ओटा कागतका कोर्रा तयार पारेर हल्लुँडेका बाहुलीमा टक्र्याए – “लौ महाशय, तपाईंका प्रजातान्त्रिक निगाहाले हामीले तीन दिनसम्म नगद-नगद भोजन – मिष्ठान्नको ब्राह्मण भोजन र राजसी दानदक्षिणाले आफ्नो गरिबी भगाउने अवसर पायौँ । यसका बदला अब हाम्रा आशीर्वादस्वरूप यी सात ओटा कागतका कोर्रा तपाईलाई टक्र्याउँछौं। अब तपाई यिनैलाई फट्कारेर देशका जन्तु जनार्दनबाट गरिबी बढार्नोस्- गरिबी भगाउनोस् । देशका सबै कुनाबाट नभए पनि तपाईंका आफ्ना आशा गुर्जा वीरभद्र, महाकाली, भूतप्रेत, पिशाच, प्रथम गणका घरका गरिबी अवश्यै भाग्छन् । धन्दै नमान्नोस् ।”
पेटभर ब्राह्मण भोजन र गहकिलो दान-दक्षिणा पाएर तृप्त भएका गरीब विशेषज्ञ ऋषिमुनि पण्डितहरूबाट ब्राह्मणशीर्वादरूपी कागतका सात कोर्रा फट्कार्दै आज हल्लुँडे कान्छा सारा गरिबीका विरुद्ध पाखुरा सुर्कदै छ – “लो आओ ए गरिबीका बान हो ! अब पाँच वर्षभित्र तिम्रा गिदी मथिङ्ङ्गल निकाल्न सकिनँ र तिमीहरूलाई आफ्ना र आफ्ना नातागोताका घरबाट भगाएर सारा विरोधीका घरघरमा पुऱ्याउन सकिनँ भने त मेरो नाउँ हल्लुँडे कान्छै होइन ।”
अब हेर्नु छ, पाँच वर्षभित्र हल्लुँडे कान्छाले कति गरीबलाई भगाएर कतिका गरिबी हटाउने हो।
०००
भाँडभैलो/वर्ष -९/अङ्क-९/ गाईजात्रा पर्व २०४९
श्रीमानजी (२०८०)
Subscribe
Login
0 Comments
Oldest







































