रमेश विकलनयाँ दापभित्र पुरानो खुकुरी
त्यसको सा रे ग म मा अमेरिकाभन्दा तलको संरचना नै छैन । पहिलेका पञ्चहरू एसिया रागमात्र गाउँथे अहिले राग अमेरिका, भारती राग गाइन सुरु भएको छ- यो एउटा प्रगतिको लक्षण नै मान्नुपर्छ । अब त जनता पनि ढुक्क हुँदैछ ।

रमेश विकल :
अब के भन्ने यी बज्रठिङ्गा नारदजीको स्वभावलाई पनि आज पूर्वमा छन् भने भोलि पश्चिममा पुगिसकेका हुन्छन् । अस्तिमात्र इन्द्रचोकको डबलीमा उभिएर चारैतिर दुर्बिन लाएर हेर्दै रहेका देखिएथे, हिजो त हुम्लाको सिमीकोटमा लरखराइरहेका छन् रे भन्ने आ. वा. आउँछ गृहमन्त्रीको गोप्य रिपोर्ट विभागमा । अब आज त उनी पुगिसकेछन् कैलाश दरबारको शिव-पार्वतीको एकान्त
मिथुन कक्षमा ! नन्दी, भुङ्ग्री र चौसगी जोगिनीले पनि रोक्न नसकेका, कस्तो अचम्म ! अरूलाई भैदिया भए ? … यसरी लोग्नेस्वास्नीको एकान्त क्रीडामा, ठट्टा रमाइलोमा कन्सुत्लोझै लुसुक्क पस्ता शिवजीले पनि बाँकी राख्ने थिएनन्, उढाइदिन्थे कामदेवलाई झै आफ्ना तीनै आँखाबाट आगोको ज्वाला निकालेर। तर यी त नारद न ठहरिए हावा जस्ता। हावालाई कसले छेकथुन गर्ने ?
यसरी एक्कासि यी नारदलाई आँधीको धूलो जसरी आँखामा आएर उभिएको देख्दा पार्वती रातो डल्ले खुर्सानी भएर शिवको काखबाट उछिट्टिएर कुनातिर लुक्न पुगिन् । उनका आँखाबाट शरमको र क्रोधको मुहान फुट्न खोजिरहेको थियो। उनी त्यही कुनामा उभिएर आफ्नो खजमजिएको पेटिकोट तहलाउन थालिन् । तर शिवजी ? यिनी भने त साँच्चै नकचरा नै हुन् बा ! उनी त झन् पिसाब गर्न लाग्दा केटाकेटीले आएर च्यायो भने जसरी ठूलो मान्छे हाँस्छ त्यसै गरी हाँस्दा पो रहेछन् । यतिसम्म कि आफ्नो कमरको स्थानान्तरण भएको बाघम्बर सम्म पनि तहलाउने खायस नगरेका ।
– ‘अँ, तिमी त आइपुगेछौ ।’ शिवले हाँस्ते प्रश्न गरे-‘के-के देखेर आयौ त? …. कस्तो छ मेरो विन्टर क्यापिटलको हालखबर ?… मेरो प्यालेसको रखवाला गिरिजा प्रसादलाई सञ्चै छ ? मरिचेको अन्धो मेचमा बसेर त ऊ बडो दङ्गदास होला !’
– ‘कहाँ दङ्गदास हुनु प्रभु ।’ नारदले हात जोडेर विन्ती गरे । … ‘भुङ्ग्राको माछोझै छटपटिरहेछ । मरिचेको मेचमा बस्न नाना तिकडम लगाएर आफ्नै दाँतरी बूढा सन्तलाई पनि झोली भिराइदिएथ्यो, तर अहिले त्यही मेच उसलाई भालुका कन्पट भैरहेछ- छाड्नु कि समाउनु ।’
– ‘हँ ? … त्यस्तो पो छ ?’ … शिवजी दङ्ग परेर हाँसे-‘अगि मेचमा बस्ने दौडमा त के-के न गर्छु… जनतालाई जिउँदै स्वर्ग पुयाइदिन्छु, देशलाई भोलि नै अमेरिका बनाइदिन्छु भन्थ्यो त…’
– ‘भन्नु एउटा कुरा, गर्नु अर्कै कुरा ।’ नारदले मुख चेप्याए ‘तर भन्ने हो भने उसले आफूले भनेका कुरा एक किसिमले पुर्याएको पनि हो ।
देशलाई अमेरिका पुऱ्याउने कुरा ! … अब छिमेकी देशमा अमेरिकी मुद्राको भाउ बढाउनासाथ उसले पनि पुच्छर लाएर बढायो । … अब बजारमा पनि भाउ बेसाहाले अमेरिका छोइहाल्यो । त्यही भाउ बेसाहामा जनताले बाँच्ने पर्ने भएपछि देश अमेरिका बनिगो नि !’
‘तर यो त उल्टो कुरो भयो नि त ?’ शिवले भने…
– ‘उनीहरूको राजनीतिमा उल्टोको सुल्टो, सुल्टोको उल्टो हुनु नै सफलता मानिन्छ रे ।’ नारदले भने-‘अब यही हेर्नुहोस् न प्रभु !… अगि मरिचेले पञ्च नहुने नेपाली नै हुँदैन भन्यो भनेर यिनै भन्थे ! यो भएन,… यो स्वतन्त्रताको हनन भयो । … अब आफ्नो अन्धो मेचमा बस्न पुगेपछि आफैँ भन्न थाले-हामीबाहेक प्रजातन्त्रै हुँदैन, हामीबाहेक नेपाली नै हुँदैन, हामीले बाहेक यो देशको हित कसैले गर्दै गर्दैन ।’…
‘अनि त्यहाँ अरू के हेरेर बस्छन् त ?’….. – शिवजीले जिज्ञासा गरे ।
– ‘के गर्नु प्रभु ।’ नारदले भने- ‘अब उनीहरूका कुरालाई जसले विरोध गर्छ, त्यो प्रजातन्त्र विरोधी भैहाल्छ (अगि मरिचेको पालामा उसका विरोधी अराष्ट्रिय तत्त्व र असामाजिक तत्त्व भएझै) ….. अनि त त्यहाँ अहिले उसैको स्वर ठूलो भैरहेछ ।’
शिव नारदको संवाद सुन्दासुन्दै पार्वतीलाई पनि जिज्ञासा भएछ । उनले पनि अँध्यारो कुनाबाट उज्यालामा आउँदै सोधिन्- ‘होइन नारदजी ! … तिमीले त कुनै नौलो कुरा सुनाएनौ। त्यहाँ त ठूलो परिवर्तन भयो रे, अब सब उज्यालोतिर लम्कँदै छन् भन्ने सुनेर्थे, तर तिम्रा कुराले त…..
– ‘हो माते । त्यहाँ ठूलो परिवर्तन भएकै छ’ नारदले भने-‘मरिचेको अन्धो मेचमा गिरिजाप्रसाद बस्या छ, अगिको मरिचेका आशा-गुर्जा आदि सबै….. अब गिरिजाका आशा-गुर्जा बस्या छन्, अघि पञ्च आरती गाइन्थ्यो, अब चार तारा आरती गाइन्छ, अगि मरिचे मन्दिर धाउँथे अहिले गिरिजा मन्दिर धाउँछन् । बद्धिजीवी भन्ने एउटा चमेरो वर्ग छ त्यो अघि पञ्चे बाजाको तालमा मारुती नृत्य नाच्थ्यो, अहिले ढोलबाजाको तालमा भारत नाट्यमको अभ्यास गर्दछन ।
यस्तै अनेक परिवर्तन त्यहाँ हुँदैछन् ।… अघि नेपाली हुन्, राष्ट्रलाई माया गर्ने देशभक्त हुन्, पञ्चायतको लकेट लाउनुपर्थ्यो, अहिले देशभक्त र नेपाली हुन चार ताराको पट्टी पाखुरामा बाँध्नुपर्छ। यो सानो परिवर्तन हो त ?’
– ‘त्यो त ठिकै हो’ शिवले सन्तोषको मुस्कान हाँसे-‘आखिर राष्ट्रियता र देशभक्तिको एउटा मापदण्ड त हुनैपर्छ । चाहे त्यो अमेरिकाली होस्, चाहे एसियाली, चाहे त्यो भारतेली होस्, चाहे तिब्बतेली।… नेपाल नै त नेपालको मापदण्ड कहाँ बनाउन मिल्छ र ?…’
– ‘तर जनता ?’… पार्वतीलाई शिवको सन्तोषले सन्तोष लागेन, उनले अलि निचोरेको ज्यामिरजस्तो अनुहार लाएर भनिन्-‘लौ चार ताराले त अन्धो मेच पायो, हँसिया-घनले उल्टो मेच।… तर जनताले के पायो ?’
‘जनताले राहत पायो’, नारदले भने-‘नून, मट्टितेलमा पाँच-छ रुपैयाँ मात्रको वृद्धि गरेर पचास पैसाको भाउ नियन्त्रण गन्यो, त्यस्तै सिमेन्टी, अनि अरू वस्तुमा पनि बीस-तीसको वृद्धिको तुलनामा हजारौं पैसाको राहत दिइयो।
. सबैभन्दा राहत त देशका प्रमुख जनताले (व्यापारी, तस्कर, कालाबजारीले) भने जस्तो राहत पाएका छन् । उदाहरणका लागि धेरै कुरामा भन्सार (राजस्व) घटाइएको छ । …. तेलको भाउ पच्चीसबाट पैंतीस तुल्याएर उनीहरूलाई नाफाको राहत बढाइएको छ। यहाँभन्दा राहत के दिन सकिन्छ जनतालाई ?’
‘तर उनीहरूले गाउने राग त मीठे छ ?’- शिवजी कुनै अदृश्य धुनमा मग्न भएझै आँखा चिम्लेर लेटे।
– ‘त्यो त मीठो प्रभु !’ नारदले विनम्र भएर हात जोडे- ‘गायकको सम्मान सबैको भन्दा ठूलो छ ।… एउटा बजेट भन्ने ललित रागको रचना त्यहाँ गरेका छन् । त्यसको सा रे ग म मा अमेरिकाभन्दा तलको संरचना नै छैन । पहिलेका पञ्चहरू एसिया रागमात्र गाउँथे अहिले राग अमेरिका, भारती राग गाइन सुरु भएको छ- यो एउटा प्रगतिको लक्षण नै मान्नुपर्छ । अब त जनता पनि ढुक्क हुँदैछ । त्यसैले ऊ बादले नभएको आकाशमा दैलो-दैलोमा विकास वर्षने आशाले ठाडो मुन्टो लाएर हेर्दैछ।’
– ‘त दैलोमा विकास बर्सने कुरा जनताले विश्वास गर्छ ?’- पार्वतीले भनिन् ।
‘नगरेर के गर्नु, माते ! … जनताको हातमा डाडुपन्यौ छैन, लाठीमुङ्ग्री छैन ।…. आखिर एउटै शक्ति छ, केटाकेटीले चिच्याउनु । तर त्यसरी चिच्याउनु पनि प्रजातन्त्रमा सुहाउँदैन भन्छन्, असहयोग भयो भन्छन् । अनि त उनीहरूले गाएको रागिनीमै मस्त भएर भुल्नै पन्यो ?’
‘तर जनताले कतिसम्म सन्तोष गरेर बस्ने ?’ पार्वतीले चिन्तित भएर सोधिन् ?
– ‘ढुङ्गो नटुसाएसम्म, उन्यू नफुलेसम्म ।’ नारदले भने-‘आखिर जनता न हो, सहन जन्मेको, सन्तोष गर्न जन्मेको … सहने नै भयो… सहनै सकेन भने दोहऱ्याउँला नि त २०४६ साल विक्रमीय ।’
– ‘यसको अर्थ, … पार्वतीले अर्थ निचोर्न खोजिन्- ‘दाप नयाँ भए पनि खुकरी त उही पुरानै छ ?’
– ‘अब, जगदम्बाले जे अर्थ लगाइबक्सिन्छ ।’ नारदले शिर झुकाए ।
०००
भाँडभैलो/वर्ष-८/अङ्क-८/ गाईजात्रा पर्व २०४८
श्रीमान्जी भन्नुहुन्छ (२०८०)
Subscribe
Login
0 Comments
Oldest






































