साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उनी सभापतित्व गर्न पनि आफ्‌नो तसबीर पठाउँछन्

सभापतिको मेचमा वासुदेव लुइँटेल आएर बस्ने अपेक्षा गरिरहेका दर्शकश्रोताहरू उनको सट्टा उनको तैलचित्र आएर बसेको देखेर छक्क पर्छन् । अर्थात् त्यस सभामा सभापतित्व गर्न वासुदेव लुईटेलले आफू सशरीर नआएर आफ्नो अनुकृक्ति (पोर्ट्रेट) पठाइदिएछन् ।

Nepal Telecom ad

रमेश विकल :

मास्टर साहेब अर्थात् वासुदेव लुइँटेल । तर उनी पाठक सामू आउँदा पहिलोपल्ट तर्साउनेको रूपमा भूतको भिनाजु भएर पो आएका थिए। हो, जहाँसम्म मलाई सम्झना छ, मेरो पहिलोपल्ट उनीसँगको साक्षात्कार वासुदेव लुईटेल अथवा मास्टर साहेबको रूपमा होइन ‘भूतको भिनाजु’ का रूपमा (उनले लेखेको एउटा कथासंग्रहका रूपमा) भएको थियो । त्यो पुस्तक पढ्दा मलाई साँच्चै नै ‘भूत’ सँग भेटेकै अनुभव भएको थियो । त्यस संग्रहमा परेको एउटा कथा थियो- भूत छैन ?

हो, एउटा केटो थियो भूतमाथि विश्वास नगर्ने । अरू साथीहरूसँग ऊ दृढ स्वरमा बहस गर्छ, कहाँ छ भूत ? त्यो भ्रम हो। यस्तै वहसका बीच एक दिन उसको साथीहरूसंग बाजी पर्छ- आधा रातमा एउटा स्मशानघान नजीकैको पीपलको रूखसम्म गएर एउटा कीला ठोकेर फर्कने बाजी। साँच्चै त्यो निडर केटो आफ्नो अठोट पूरा गर्न आधा रातमा एक्लै त्यो मशानमा जान्छ । होड बमोजिम एउटा ठूलो फलामे कीला पीपलको काण्डमा ठोक्छ । अनि फर्कन लाग्दा उसलाई लाग्छ, भूतले उसको हात समातेर तान्छ । उसको यतिञ्जेलको विश्वास डग्छ । फलस्वरूप ऊ आत्तिन्छ अनि यसै अतासमा …. ।

उता साथीहरू आफ्नो ‘भूत छैन’ भन्ने साथी फर्कला भनेर बाटो हेर्दै रात काट्छन् । तर ऊ फर्कदैन । अनि सबै मिलेर विहान खोज्न जान्छन् । साथी त त्यही पीपलको रूखमा टास्सिएर मरिराखेको । भएछ के भने रूखमा कीला ठोक्दा उसले बेहोशीमा आफ्नो कोटको बाउलासमेत ठोक्न पुगेछ । अनि काम सकेर फर्कन खोज्दा कीलासँगै ठोकिएको बाउलाले तानेछ । उसलाई लागेछ भूतले तान्यो, उसको मुटु डरले ठ्याप्पै बन्द भएछ ।

कथा हूबहू यस्तै नभए पनि त्यसको आशय यस्तै थियो । यो कथा पढेपछि मलाई पनि लाग्यो, भूत भनेको त साँच्चै मनको भ्रम मात्र रहेछ । तर केटाकेटीदेखि नै ठूला-बडाको मुखबाट भूतप्रेतका कथा सुन्दासुन्दा मस्तिष्कमा लेसारिएर बसेको ‘भूत’ को छायां पूर्ण रूपमा त के मेटिन्थ्यो र । तैपनि भूतको भिनाजुसँगको यस साक्षात्कारले मेरो अन्तरको भूतप्रतिको अन्धविश्वासलाई भने निकै मत्थर गरायो । यस अर्थमा भन्ने हो भने चौरासी गुरुमध्ये एक गुरु भने हुन्छ उनलाई । किनभने मेरो रूढीगत अन्धसस्कारमा एउटा सानो भए पनि प्वाल पार्ने मानिस उनै हुन् ।

तर भूतको भिनाजु र मास्टर साहेब वा वासुदेव लुईटेलका बीचमा सम्बन्ध जोड्ने सूत्र पछिल्लोपल्ट नक्साल रात्रि-पाठशालामा मिलेको थियो । शायद २०१५।१६ सालतिर होला म, रामजीप्रसाद अर्याल (शायद त्यतिखेर त्यहांका प्रधानाध्यापक र महेन्द्र बहादुर थापा, शिक्षक) सँग । पुस्तकको सिलसिलामा भेट्न त्यहाँ गएको थिएँ। त्यही मैले भूतको भिनाजुलाई मास्टर वाजे वासुदेव लुइँटेलका रूपमा भेट्‌ने सौभाग्य पाएँ । एकोहोरो जीउका लामो मुहुँडा, अग्लो बाहुने नाक, फराकिलो निधार, छिचरो मिजास, २५।२६ वर्षका होलान् (मेरो अन्दाज) उनलाई देख्दा एउटा अनौठो अनभूति जागेको थियो मनमा – ए भूतको भिनाजु त यिनै मास्टर साहेब पो रहेछन् ।

तर यो पहिलो भेटघाट त्यति घनिष्ठ परिचयका रूपमा विकसित हुन सकेन । निकटताको सम्बन्ध चाहिं उनीसित धेरैपछि गएर मात्र बढ्ने अवसर मिल्यो । शायद यो सम्बन्धको प्रगाढत्ता २०४६ सालमा भैरव पुरस्कार गुठीको स्थापनाको सिलसिलामा भयो । भैरव अर्यालको सम्बन्ध उनीसंग घनिष्ठताको सीमासम्म थियो भन्ने सुनेको थिएँ । हामीले भैरव पुरस्कार गुठीको स्थापना गरेपछि वासुदेवजी निकै प्रभावित भएछन् र रोचक घिमिरेमार्फत उनले गुठीलाई सहयोगको हात बढाए । आफ्ना तर्फबाट र कौवा प्रकाशनका तर्फबाट त उनले ठूलै आर्थिक सहयोग गरे, त्यसका अतिरिक्त अरू उत्तका प्रभावका परिचित व्यक्तिहरूद्वारा पनि गहकिलो सहयोग दिलाए । लौ त भने भैरव पुरस्कार गुठीको वर्तमान अवस्था वासुदेव लुइँटेलकै प्रोत्साहन र सक्रिय सहयोगले सम्भव भएको हो ।

वासुदेव लुइँटेल मास्टर साहेबको कुरा गर्दा एउटा विचित्र व्यक्तित्वको चित्र हाम्रा आँखाअगाडि नाच्न थाल्छ । प्रायशः मयलपोश सुरुवाल, खद्दरको कोट, भादगाउँले टोपीमा (टोपी फुकालेका बेला खल्वांट टाउकोमा) खाइहाल्दो मूर्ति । वाक्य-वाक्यमा तीखो हास्यको चास्नीमा डुबाएको तीखो व्यग्यका धारले अगाडिको मानिसको प्रवृत्तिमाथि प्रहार गरिरहने, छिचरो मुख, ठाडो स्वभावको त्यस मानिसको स्वभाव (अर्थात् पूर्वाग्रहरहित, खुलस्त व्यवहार) लाई नबुझेको मानिस त उनीसँग पहिलो भेटमा त शायद चिढिन पनि सक्छ, कस्तो काँठे मिजासको खस्रो मानिस भनेर ।

तर जतिजति उनीसंग नजीकको सम्बन्ध हुँदै जान्छ, उनको त्यस व्यवहारभित्रको खुलापन र आत्मभावनाको अनुभूतिले उनका ती रूखा शब्द, व्यग्य वाक्यहरूको तीखो र घोच्ने धार मेटिएर त्यसमा एक किसिमको खुला दिल र आत्मीयताको मिठास अनुभव हुन थाल्छ । उनी कसैलाई पनि न्वारान गर्न अर्थात् न्वारानमा पुरेतले राखेको अथवा वाबुआमाले घरमा प्यारोसँग बोलाउने गरेको कसैको नाउँलाई भाँचुकुची गरेर बंग्याएर, टेढ्याएर नयाँ नाउँ राख्न अत्यन्त सिपालु छन् । तर उनको यो अनधिकार पुरेत्याइंप्रति रिसाउन चाहेर पनि रिसाउन सक्दैन ।

मास्टर साहेब वासुदेव लुईटेल रानी जगदम्बा, केदारमणि, कमलमणिको संसर्गमा निम्तमध्यम वर्गीय भौतिक स्थितिबाट निकै माथि उठेका छन् तर उनले आफूलाई र आफ्नो विगतको स्थितिलाई पटक्कै बिर्सिएका छैनन् ।

त्यति मात्र होइन, उनले आफ्नो भौतिक उन्नतिको प्रतिफल आफू र आफ्ना परिवारले मात्र भोगेका छैनन् अपितु त्यसबाट धेरै व्यक्ति र सघसस्थालाई सहयोग पुऱ्याएका छन् । तर अचम्म चाहिं के छ भने उनी आफ्ना यस्ता दान र सहयोगलाई सकेसम्म गुप्त राख्ने प्रयास गर्छन् अर्थात् उनी आफ्नो दान र सहयोगको प्रचार ज्यादै कम मात्रामा गर्न रुचाउँछन् । यतिसम्म कि उनी रानी जगदम्बासँग सम्बन्धित समारोहमा बाहेक अरू कुनै पनि संघसस्था वा सामाजिक समारोहमा देखा पर्नसम्म पनि रुचाउँदैनन् । त्यसैले उनलाई आजभोलि मानिसहरू त्यस्ता सभासमारोहमा पाउकष्ट गर्ने आग्रह पनि गर्दैनन् । कसैले निम्तो गर्यो भने त्यसले निराशै हुनुपर्छ । यसबारे एउटा रमाइलो प्रसंग छ :

एकपल्ट – दुईतीन वर्षअगाडि हासने समाज (हास्यव्यंग्य समाज नेपाल) ले आफ्नो एउटा कार्यक्रममा उनलाई सभापति वनाउने निधो गरेर निमन्त्रणा कार्ड पनि छपाएर वितरण गर्यो । वासुदेव लुइँटेलको सभापतित्वमा हुने त्यस हास्यव्यंग्य उत्सवमा भाग लिन निश्चित दिन र समयमा मानिसहरू राजकीय प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा पुगे । सभा शुरू हुने बेला सभापतिको मेचमा वासुदेव लुइँटेल आएर बस्ने अपेक्षा गरिरहेका दर्शकश्रोताहरू उनको सट्टा उनको तैलचित्र आएर बसेको देखेर छक्क पर्छन् । अर्थात् त्यस सभामा सभापतित्व गर्न वासुदेव लुईटेलले आफू सशरीर नआएर आफ्नो अनुकृक्ति (पोर्ट्रेट) पठाइदिएछन् । यो रहस्य खुलेपछि ‘हासने’ को समारोह साँच्चै हसाउने समारोहमा परिणत भयो ।

वासुदेव लुइँटेल एउटा जिउँदो मान्छे २०५२

०००
वासुदेव तुइँटेल स्मृतिग्रन्थ (२०६८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x