राजेन्द्र सुवेदीगुडबाई वासुदेव दाइ !
दाइ । यो सानो रचनामा मैले अलिकति मात्र आजको विसङ्गतिको चित्र उतार्न प्रयत्न गरे । यसमा त्यस्तो पठनीय वस्तुको विन्यास भने थोरै पनि गर्न सकेको छैन । तपाईकै विसङ्गतिको दृष्टिसापट मागेर अलिकति टिप्पणी गर्ने जमर्को मात्र गरेको हुँ।

राजेन्द्र सुवेदी :
एउटा समाचार झ्वाट्ट मेरा कानमा पर्यो। समाचार थियो- ‘नेपाली साहित्यका विशिष्ट व्यक्तित्व, हास्यव्यङ्ग्यकार वासुदेव लुईटेलको निधन भयो ।’ जीवन नश्वर छ भन्ने कुरा मलाई पहिले नै राम्ररी बोध भइसकेको कुरा थियो। श्वर चाहिँ के छ त भन्ने दिशामा मेरो विचार मोडियो । दिमागले पनि कम चक्कर खाएको होइन । तर परिणाममा म आफैले समस्या सुल्झाएँ। म जेमा टेकेर यी पङ्क्तिहरू लेख्दैछु तिनका मूलभूत आधारहरू नै एउटा सष्टाको चिरजीवन प्रदान गर्ने श्वर सत्य हुन् भन्ने कुरा फुर्यो दाइ मलाई त ।
मलाई किन दाइ ! म लुईटेल, तपाई सुवेदी, को कसको र कसरी दाइ ? अनि को कसको र कसरी भाइ । यो दाइ, भाइको कुरा आयो भनेर तपाईले मलाई हप्काउन लाग्नुभयो भने त मेरो सातो तुरुन्त जान्छ । जिउ सल्याकसुलुक्क नै सुकिदिन्छ । मैले तपाईंलाई दाइ यस अर्थमा मात्र भनिरहेको छु – तपाईप्रति मेरो श्रद्धा छ, आस्था र विश्वास छ अनि धेरै आत्मीय संवेदनाको भावना पनि छ । त्यसकारण मात्र तपाईलाई दाइका रूपमा सम्बोधन गरेको हुँ। यस किसिमको आत्मीयता प्रकट गर्दा गाली नै गर्नुभयो भने पनि मेरा निमित्त त्यो तपाईले दिनुभएको आशीर्वाद नै हुनेछ ।
२०२८ सालदेखि २०६० सालसम्म तपाईसँग भएको सम्पर्क र आत्मीय व्यवहारले मलाई निकै अन्तरङ्ग व्यक्तिके रूपमा उभ्याइदियो । तपाईलाई दाइ भनिरहँदा म मेरा पिताजीको उमेरसँग तपाईलाई उभ्याउँछ । काठमाडौंको दङ्गाअड्डामा जन्मिने तपाई वासुदेव लुईटेल र पाँचथरको अमरपुरमा जन्मिने मेरा पिता पद्मप्रसाद सुवेदी दुवै विक्रम संवत् १९७४ सालमा जन्मेका व्यक्तित्व हुन् भन्ने थाहा पाएपछि अलि हीनताबोध जन्मिन थाले पनि मैले यसलाई अन्यथा लिने धृष्टता भने गरिनँ । म बावुभन्दा २८ वर्षपछि जन्मिएको व्यक्तिले तपाईंलाई दाइ भनिरहेछ । अनि तपाईंले सोचिरहनुभएको होला ! आफूभन्दा २८ वर्षपछि जन्मिने छाउराको म कसरी दाइ।
मदनपुरस्कार गुठीको परिसरभित्र छिरिसकेपछिको अनुशासन छुट्टै किसिमको रहेको छ । त्यस अनुशासनका केन्द्रमा तपाईको अस्तित्व प्रबल रूपमा स्थापित भएको रहेछ । हास्यव्यङ्ग्य सर्जकका नाताले आफ्ना ब्रह्मले जे देख्यो त्यसलाई निर्धक्कसँग प्रस्तुत गरिदिने र सटीक टिप्पणी गरिदिने खुबी तपाईमा पूर्णरूपमा उपस्थित भएको देखिन्छ । तपाईको सिर्जनात्मक चेतना कलिलै उमेरमा पनि निकै प्रखर रहेको थियो भन्ने कुरा तपाई स्वयंका सिर्जनात्मक कार्यले पुष्टि गरेका छन् । तपाईले विद्यालयमा पनि पढाउनुभयो । तपाईले गोरखापत्रको प्रकाशनमा पनि संलग्न भएर काम गर्नुभयो । पत्रिकाको प्रेसमा काम गर्ने पत्रकार, विद्यालयमा पढाउने शिक्षक र मदन पुरस्कार गुठीको पुस्तकालय र प्रेसमा निर्देशक भएर म्यानेजरी पनि गर्ने तपाईले निर्देशकको व्यवहार पनि गर्नुभयो । त्यस प्रेस र प्रकाशनमा काम त लामो समय गर्नुभयो तर त्यस कामबाट तपाईले केकस्तो लाभउठाउनुभयो आधिकारिक ज्ञान भने छैन । यसबारे यहाँ प्रश्न उठाइरहन पनि मलाई त्यति उचित लागिरहेको छैन ।
कहिलेकाहीं तपाईं मलाई फोनमा समाचार छोड्नुहुन्थ्यो – त्यस समाचारको शैली हुन्थ्यो – ‘पाटनढोकाबाट हबल्दारको फोन आएको थियो भन्दिनु । ढुङ्गाअड्डाबाट हवल्दारको फोन आएको थियो भेटनुपर्ने छ रे भन्दिनु ।’ श्रीमतीजीबाट हस्तान्तर भएको यस्तो समाचार पाउना साथ म थाहा पाउथे – त्यो फोन वासुदेव लुईटेलको थियो भनेर । आफूलाई हवल्दार उद्घोष गर्ने तपाईमा ईमान र सत्यता सधैं मुखरित देखिन्थ्यो । कसैलाई मूल्याङ्कन गर्नुपर्यो भने तपाईको तरीका अत्यन्त सटीक रहेको थियो। ‘बाबुकी छोरीको कार्यक्रम छ रे, उसको निम्तो बाबुको टेबुलमा पुऱ्याएर राखिदिनु ।’ ‘बाबुकी छोरी यस शब्दावलिमा सार्चिक मूल्याङ्कन हुन्थ्यो -गोपाल पाँडे असीमकी छोरी रमा शर्माको र बाबुको अर्थ हुन्थ्यो यहाँ रमा शर्माका पिता गोपाल पाँडे असीम र कमल दीक्षित । अनि कहिलेकाही आमाकी छोरी र सासूको ज्वाईंको प्रसङ्ग चल्थ्यो त्यसलाई यसरी बुझ्ने गरिन्थ्यो ।
गोमाकी छोरी गार्गी शर्मा आमाकी छोरी र भगीरथ काफ्ले गोमा शर्मा अर्थात् सासूको ज्वाई। यस नाउँमा कसैमाथि गाली र आक्षेपको चोट भने लेस मात्र पनि हुन्नथ्यो। वासुदेव दाइ। तपाई भंगेरे काङ्ग्रेसको सज्ञाबाट सम्बोधन गरिएका व्यक्ति थिए अच्युतरमण अधिकारी । यो पनि सार्थक सन्दर्भमा मायाका साथमा उच्चारण गर्नुहुन्थ्यो। दाइ। अबको अवस्थामा तपाईको कथन कहां यथास्थितिमा छ र ? भगेरो अब भगेराको आकृक्तिबाट धेरै माथि उठिसकेको छ । तपाईंले भुसतिघे भनेर सम्बोधन गरिने व्यक्ति कोषराज न्यौपाने हुन् । उनको अवस्था के कति फेरियो । त्यसको प्रतिक्रिया म व्यक्त गर्दिनँ। दाइ। तपाईंले मेरै पनि त कुनै नाम राखेको हुँदो हो, त्यो मैले कसरी थाहा पाउने ? अब आएर तेरो नाउँ यस्तो थियो भनेर भन्यो भने मैले पत्याउनुपर्छ र दाइ ।
तपाईंलाई हेर्ने दृष्टिकोण अनेक चाहिन्छन्, तपाईंको मूल्याङ्कन एउटै कोणबाट पर्याप्त हुँदैन। तपाईको सृजनाको पाटो मैले प्रस्तुत गरेकै छैन, यहां त जीवनीको सपाट वर्णन मात्र छ। मैले यस पक्षलाई यसरी हेर्ने गरेको छु – तपाई हास्यव्यङ्ग्यका सचेत स्रष्टा हुनुहुन्थ्यो । पहिलोपल्ट कवि भर्तृहरिको शतक ग्रन्थको वैराग्यशतक र नीतिशतक (२०००) कृतिअनुवाद गरेर प्रकाशनमा देखिएका तपाईंका अन्य कृतिहरू प्रशस्तै प्रकाशमा आएका छन् ।
तपाईं एकातिर हास्यव्यङ्ग्ययुक्त निबन्धात्मक गद्यका र अर्कातिर हास्यव्यङ्ग्यगद्य र पद्यात्मक कविताका स्रष्टा हुनुहुन्थ्यो । भूत छैन (२००६), जय नेपाल (२०२८) बाट (२०४३), बाटको बाँकी (२०४६), काकाका कुरा (२०४६), कुराउनी (२०४६), व्यक्तिगत चिठी (२०५२) जस्ता निबन्धात्मक कृतिहरू प्रकाशमा आएका छन् । पद्मका सन्दर्भमा पनि तपाईको नाम जोडिएको छ । गद्यपद्यमिश्रणमा तयार भएको कृति चिठी चपेटा ( २०२२) र पद्यमा तयार भएको कविताक्ति भीमसेन पाती (२०२४) पनि उल्लेख्य सामग्रीका रूपमा पाठकसमक्ष प्रस्तुत हुन आएको छ । विभिन्न संस्थाका मुखपत्रहरूको सम्पादन र प्रकाशनमा क्रियाशील बनेका तपाईको खबी व्यापक सन्दर्भमा उपयोग भएको कुरा बिसन कृतघ्नता ठहर्छ ।
तपाईलाई एउटा सबल संस्थाको सङ्गठक र परिचालकका रूपमा पनि लिने गरिन्छ । २०२३ सालपछिको समयमा कौवा प्रकाशनको स्थापना, सङ्ग्रह प्रकाशन २०३० भैरव प्रकाशन २०६३, दङ्गाअड्डा प्रकाशन २०४३, तयां नैकाप भञ्ज्याङ प्रकाशन २०४५ र तेत्तीस पुतली प्रकाशन २०५० जस्ता संस्था गठन गरेर तपाईंले धेरै कृतिहरूको प्रकाशन पनि गर्नुभएको छ। त्यस संस्थामार्फत अनेकौँ कृतिको सम्पादन र प्रकाशनको काम पनि गर्नुभयो । मदन पुरस्कार पुस्तकालयको मुख्य प्रवन्धकको जिम्मा लिएर तपाईंले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यालयको सबै काम जिम्मा लिएर पनि तपाईं आफ्नो काम गर्न पछि पर्नुभएन । तपाईबाट छ्याकन (२०२३) मा हास्यव्यङ्ग्य कविता र निबन्धको सङ्कलन गर्ने काम भयो। भालू पुराण (…) हास्यव्यङ्ग्य कथा र निवन्धको सम्पादन गरेर प्रकाशित गर्ने काम गर्नुभयो । उल्लीबिल्ली । ……, डाढो (……), जस्तातस्तै (…..) लगायतका कृक्तिहरू प्रकाशनमा आए। तपाईंको आफ्नो सृजनागत वैशिष्ट्यको केन्द्र हास्यव्यङ्ग्यलाई नै बनाउने गर्नुभएकाले कौवा प्रकाशनको प्रकाशनमा पनि सोहीअनुसारको अनुशासन कायम रह्यो । सृजनात्मक कार्यमा प्रायःजसो तपाईंले भूतको भिनाजुको नामबाट चिनिने तपाईका प्रस्तुतिबाट व्यङ्ग्यात्मक संवेदना नै प्रतिपादन हुने कुरा पुष्टि गरेको छ । हास्यव्यङ्ग्यले लक्षणा र व्यञ्जनाका माध्यमबाट जीवन र जगत्का विकृति र विसङ्गतिलाई बाह्य यथार्थमा प्रकट गरिदिन्छ र त्यसमा आउनुपर्ने सुधारका पक्षहरूको पनि सङ्केत गरिदिन्छ । यस पक्षमा तपाईंको पूर्ण विश्वास थियो ।
हास्यव्यङ्ग्यलाई आफ्नो अध्ययनको केन्द्र बनाएर अनुसन्धान गर्ने स्नातकोत्तर र विद्यावारिधि गर्ने अनुसन्धाताहरूलाई प्रोत्साहित गर्ने दृष्टिले वासुदेव शान्ति विद्यावृत्तिको स्थापना गर्नुभयो । प्रत्येक वर्ष स्नातकोत्तर तहमा हास्यव्यङ्ग्यलाई अनुसन्धानको विषय बनाएर शोधपत्र तयार गर्ने विद्यार्थीलाई एकमुष्ट रूपमा २४०० रूपैयांको विद्यावृत्ति प्रदान गर्ने परम्परा कायम रहेको छ । त्यस्तै हास्यव्यङ्ग्यलाई विद्यावारिधितहमा अनुसन्धान गर्ने शोधार्थीहरूलाई पनि केही हदसम्म भए पनि आर्थिक सहयोग पुऱ्याउने उद्देश्यले स्थापित भैरव वासुदेव विद्यावरिधि शोधक्तिको माध्यमबाट पनि शोधवृत्तिको व्यवस्था गरिएको छ । हास्यव्यङ्ग्यक्षेत्रका अनुसन्धानहरूले यस कोषबाट मासिक ११०० रूपैयाँ शोधवृत्तिको सहयोग प्राप्त गर्दछन् । आजका सन्दर्भमा यो राशि न्यून लाग्न सक्ला, तर तपाईंले त यो कोष आफ्नै निजी सम्पत्तिको भागबाट स्थापना गर्नुभएको थियो ।
वासुदेव दाइ । तपाईंले राखेको अक्षयकोषको मूल पूंजी नै न्यून भएका कारण आजको घट्दो व्याजदरका समयमा रकम न्यून हुने भएका कारण अनुसन्धाताहरूलाई सहयोग गरेको जस्तो बोध हुन सक्ने अवस्था पनि घट्दै गएको छ। साहित्यलाई र कलालाई अनुत्पादक क्षेत्र हो भनेर व्याख्या गर्नुपर्यो भने आकाशपाताल जोडेर अत्यन्त कलात्मक ढङ्गले व्याख्या गर्ने सीप आर्जन गरेका शठ र सत्ताधीशहरू नै साहित्यको आवश्यकता नभएको विषयमा लामालामा भाषण गर्दछन् । दाइ। यिनको यो छुचो थुतुनो पनि त्यही व ना र साहित्यले मान्छेमा कोमलता थप्छ । आत्मीयता र सहिष्णुता थप्छ । प्रस्तुतिमा मिठास थप्छ । प्रस्तुतिमा मिठास थप्ने साहित्यका यसै पक्षका दुरूपयोग गरेर यी शठ सत्ताधारीहरू आफ्नो चोथालो उध्याइरहेछन्, होइन र दाइ ।
अग्लाअग्ला चुली र धरोहरहरू ढाल्न पाए आफै अग्लो कहलाउन पाउने दाउमा लागेका छन् आज नैतिकताका बामपुड्केहरू । अग्ला बोधिवृक्षहरू ढालेर अँडीरका बुटाहरू हुर्काउने धुनमा लागेका छन् सरकारका बामपुड्केहरू । सभ्यताका उत्तुङ्ग शृङ्गहरू भत्काएर राज्यका मरु बालुवाका ढिम्की उठाउनमा जुटेका छन् आजका फोसिल चिम्पान्जीहरू । व्यापक आयतनका मैदानमा विस्तारित राष्ट्रलाई तहसनहस बनाएर सनातिना घडेरीको चक्लाबन्दीमै सन्तुष्ट हुन लागेका छन् – आजका असफल परिवारनियोजनका परिणामहरू । मुलुकको सन्दर्भसँग जोडिएका यी प्रश्नहरू पहिलोपल्ट त तपाईंलाई पनि भावुकझै लाग्लान् तर अग्लो मान्छेको कपालमा चढेका जुम्राका चम्कना र लिखाहरूले नेटमार्फत् भूमण्डलका सबै दृश्यहरू देख्ने हैसियत म स्वयले आर्जन गरेको हुँ भन्ने ठानेकामा हामीले आश्चर्य मानिरहनुपर्ने स्थिति छ जस्तो लाग्न पनि छोडिसक्यो दाइ । मलाई त ।
भत्काउने कार्यमा सफलता पाउनेहरू सयोजन र निर्माणकार्यमा पनि सफल भइहाल्छन् भन्ने ठान्ने गर्यो भने पनि ठूलै भूल हुने रहेछ । देशको आधारशिला भत्काएर असफल परिवार नियोजनका भाइभाइहरूमा अशबण्डा गर्न चाहने कपूतहरूका कुकृत्यको वर्णन गरेर लिपिसङकेतहरूलाई अपवित्र बनाउँदै यो सेतो र निर्मल कागजमा म किन दर्गन्धको लेप पो त ?
दाइ । यो सानो रचनामा मैले अलिकति मात्र आजको विसङ्गतिको चित्र उतार्न प्रयत्न गरे । यसमा त्यस्तो पठनीय वस्तुको विन्यास भने थोरै पनि गर्न सकेको छैन । तपाईकै विसङ्गतिको दृष्टिसापट मागेर अलिकति टिप्पणी गर्ने जमर्को मात्र गरेको हुँ। आजको दुर्गन्धित मैदानमा मजस्ताको साँगुरो दृष्टि सबैतिर कहाँ पुग्न सक्छ र सजिलैसंग । अहिले अनायासै एउटा प्रसङ्ग मेरा दिमागमा आयो, भेट हुनासाथ तपाई सोध्ने गर्नुहुन्थ्यो ‘त्यो होम कतातिर पुगेको छ हिजोआज ?’ यो प्रश्न लक्षित हुन्थ्यो धेरै वर्ष मदन पुस्तकालयमा काम गरेर मेची क्याम्पसमा प्राध्यापन गर्न पुगेका होम सुवेदीप्रति । अनि कहिलेकाही अर्को प्रश्न हुन्थ्यो ‘त्यो कोटेश्वरी अचेल के गर्दै छ ? त्यसको कुनै हालखबर पाइँदैन त ।’ यो प्रश्न लक्षित हुन्थ्यो लीला लुइंटेलप्रति । यस्ता निकै अन्तरङ्गजस्ता लाग्ने खालका प्रश्नोत्तरहरू पनि हुन्थे हामीबीच ।
समाचारका वाक्यहरू सिद्धिन नपाउँदै मेरो हात आफ्नै आँखा पुछन पुगेछ । मेरा दुवै आँखा रसाएका रहेछन् । जीवनको नियति पनि त्यही त रहेछ – दाइ । मसक्क मुटु निचोरेर जानेहरूलाई महाभिनिष्क्रमणका निम्ति बाई बाई गर्नुपर्दो रहेछ । माफ रहोस्-मैले गरिरहेको यो गन्थन पनि त त्यही मात्र हो । यो एउटा महायात्रीका निम्ति गरिएको बिदाईको सङ्केत त हो। धेरै गन्थन भयो – दाइ। हाम्रो गन्थनको सीमाभन्दा देशको यथार्थ धेरै टाढा पुगिसकेको छ । अहिले यति मात्र दाइ ! बाँकी कुराहरू पछि मौका मिल्दा गरौंला ।
०००
वासुदेव लुइँटेल स्मृतिग्रन्थ (२०६८)
Subscribe
Login
0 Comments
Oldest








































