राजेन्द्र सुवेदी‘वधशालाको डिस्को धुन’मा व्यङ्ग्यका स्वरहरू
तिनलाई आकृति दिँदा विसङ्गत तत्वलाई समेटेका छन् र निबन्धको आयतनमा सजाएका छन् । भाषामा प्राञ्जलताको चयनतर्फ प्रयास गरिएको छ । प्रस्तुतिको शैलीमा हास्य र व्यङ्ग्यको सहायता लिइएको छ ।

प्रा.राजेन्द्र सुवेदी :
नेपाली साहित्यको निबन्धका क्षितिजमा उदाउँदै गरेको प्रस्तुत कृति निकै महत्वका साथ प्रकाशनमा आउँदै गरेको स्थितिमा यो भूमिका लेख्ने काम भएको छ । यस सङ्ग्रह ‘वधशालाको डिस्को धुन’ शीर्षकमा प्रकाशित हुँदैछ । यस सङ्ग्रहमा रहेका निबन्धहरूले निबन्धकार सुरेन उप्रेतीको सृजनयात्रा र सृजनात्मक प्राप्तिको साक्ष्य गरेको देखिन्छ । यिनै तथ्यलाई आधार बनाएर यो भूमिका लेख्ने काम भएको छ ।
उप्रेती विशेषतः बालसाहित्य सृजनामा काम गर्ने प्रतिभा हुन् । उनका गैरबालसाहित्यिक सृजनात्मक कृतिहरू आजका स्वरहरू (कवितासङ्ग्रह २०५३), आनन्द यात्रा (कथासङ्ग्रह २०६९), वधशालाको डिस्को धुन (निबन्धसङ्ग्रह २०७४ तपाईंको हातमा) निकै प्रभावकारी विषय बनेर प्रकाशमा आएका छन् । बालसाहित्यको सीमामा पर्ने कृतिहरूमा अजम्मरी माया (बालकथासङ्ग्रह २०५८), पछुतो (बालकथासङ्ग्रह २०६४), आकासे परी (बालकथासङ्ग्रह २०६४), झिलिमिली तारा (बालगीतसङ्ग्रह २०६४), पाठकसमक्ष आएका छन् । यिनका अतिरिक्त उप्रेतीका फुटकर सामग्रीहरू कथा, कविता, गीत, गजल, निबन्ध तथा संस्मरण आदि कृतिहरू प्रकाशमा आएका छन् ।
उनका कृतिहरूमा सामाजिक तथा सांस्कृतिक सोचाइलाई परिवर्तन गरिनुपर्ने उल्लेख भएका छन् । विसङ्गत र अवैज्ञानिक रूपमा विकास भएका सांस्कृतिक विषयका सूचनाहरू रचनाका आयतनभरि उपयोग भएका छन् । सङ्ग्रहमा जम्मा उन्नाइसओटा निबन्ध समावेश भएका छन् । तिनमा ‘भुँडी’, ‘डनवाद’, ‘चस्मा’, ‘कर्म’, ’आस्था, ‘म’, ‘काठमान्डु’, ‘पब्लिक सर्भेन्ट’, ‘कुमारी आमा’, ‘मरुभूमिको खेती’, ‘घोडाहरू’, ‘भेदभावको पराकाष्ठा’, ‘वधशालाको डिस्को धुन’, ‘खाली सिसी पुराना कागज’, ‘तलाउ’, ‘मृत शरीरलाई छाम्दा’, ‘डाक्टर’, ‘बिङ्गोको व्यवसाय’, ‘भकुन्डे भूत’ जस्ता शीर्षकमा निबन्ध प्रकाशित भएका छन् ।
आज मान्छेको भुँडी युद्ध, आतङ्क, आक्रमण र सांसारिक वितण्डाका कारण विकराल बनेको स्थिति सार्वजनिक भएको छ । मान्छेमा आक्रमण, लुटपाट, शोषण तथा हत्या, हिंसासम्मका आचरण जन्मजात रहेका हुन्छन् र ती ‘डनवाद’ कै उपज हुन् र मान्छे संस्कारदेखि नै ‘डनवाद’ वादबाट पीडित छ भन्ने आशय यहाँ प्रस्तुत भएको छ । आजको मान्छेमा आफ्नै मौलिक दृष्टि पुरै अन्धो बनिसकेको छ र जसले जसलाई जस्तो वैचारिक रङ्गको चस्मा भिराइदिन्छ अनि त्यस चस्माधारीको दृष्टि पनि चस्मा भिराइदिनेकै जस्तो बन्छ भन्ने कुरा चस्माले प्रस्तुत गरेको छ । कामको अर्थमा अर्थिनुपर्ने ‘कर्म’ शब्द बिचरो अन्धविश्वासका कारण मान्छेको भाग्य र दुर्भाग्यको अर्थ बेहोर्न विवश बनेको सन्दर्भ पनि यहाँ ‘कर्म’ शीर्षकको निबन्धबाट प्रकटमा आएको छ ।
मान्छेमा अनेक किसिमका संस्कार र संवेदनाहरू गाँजिएर रहेका हुन्छन् । तिनको प्रभाव बेहोर्न मान्छे विवश बनेको छ भन्ने कुरा ‘आस्था’ निबन्धले प्रस्तुत गरेको छ । मान्छेमा अहम्का तहहरू खातका खात रहेको स्थिति पनि एकै मान्छेमा अनेक वैचारिक र भाव संवेगका स्थितिहरू ‘म’ शीर्षकको निबन्धले प्रकटमा ल्याएको छ । आज समाजमा त्यो पनि नेपालको राजधानी विकृतिलाई ‘काठमान्डु’ शीर्षकको निबन्धले प्रतिनिधित्व गरेको छ र नेपालको प्रशानिक क्षेत्रमा मौलाएको आर्थिक, सांस्कृतिक र सामाजिक भ्रष्टाचारका झाँको झार्ने काम ‘पब्लिक सर्भेन्ट’ शीर्षकको निबन्धमा भएको छ । यौनको दुराचार मौलाउँदै गरेको र सन्ततिको मोहभङ्ग हुँदै गएका विकसित नामका समाजमा मान्छेका मानवीय मूल्यको ह्रास भएको सन्दर्भ ‘कुमारी आमा’ शीर्षकको निबन्धमा प्रकट भएको छ ।
‘मरुभूमिको खेती’ नेपालजस्तो उर्वर धर्तीको मान्छे मान्छे मात्र होइन, प्रकृतिमा हुँदै नभएको मरुभूमिमा पनि खेती गरेर आफ्नो पुरुषार्थ देखाउन सक्षम बनेको कुरा युवायुवती घामको भुङ्ग्रोले डढेको खाडी प्रदेशमा पठाएर पुरुषार्थ देखाउने यहाँका वैैदेशिक रोजगारीको व्यवसाय गर्ने र तिनलाई प्रोत्साहन गर्ने प्रशासकमा पनि फुर्ती बढेको सन्दर्भ यहाँ देखाउन यहाँका प्रशासकहरू तँछाड र मछाड गर्छन् भन्ने आशय यस निबन्धमा प्रकट भएको छ । प्रकृतिका समग्र परिवेशमा सबभन्दा इमानदार जीव घोडा हो । यसले अथक श्रम गर्ने क्षमता राख्छ । मान्छे त्यस घोडालाई पनि माथ गर्ने गरी श्रम त गर्दछ तर उसले इमानदारिता चाहिँ पुरै भत्किाइदिएको सन्दर्भ ‘घोडाहरू’ शीर्षकको निबन्धले प्रकट गरेको छ । नेपाली मान्छेमा रहेका अवैज्ञानिक र अदूरदर्शी व्यवहारका कारण मान्छेमान्छेमा भएका भेदभावको सन्दर्भ ‘भेदभावको पराकाष्ठा’ शीर्षकको निबन्धमा प्रस्तुत भएको छ ।
जीवन बाँच्न पनि नसकिने बन्दै गएको आजको सहरिया पर्यावरणका आचारव्यवहारले मान्छेलाई वधशालाको बोको बनाउँदै गएको स्थिति ‘वधशालाको डिस्को धुन’ शीर्षकको निबन्धले प्रकट गरेको छ । आज मान्छे खोक्रो र सांस्कृतिक शून्य धूनमा झुमेर जीवन बिताउन लागेको छ भन्ने आशय यस निबन्धले प्रकट गरेको छ । मान्छे सामाजिक सद्भाव र सांस्कृतिक सहिष्णुताको मूल्यबाट शून्य बन्दै गएको कुरा ‘खाली सिसी पुराना कागज’ शीर्षकका निबन्धले प्रकट गरेको छ । संसारलाई एउटा तलाउको बिम्बका रूपमा प्रस्तुत गर्ने ध्येयले चयन गरिएको विषय ‘तलाउ’ जीवन र संसारका अनेक बिम्ब संयोजन गर्न सफल भएको निबन्ध हो । यात्राको विषयलाई आधार बनाएर लेखिएका ‘मृत शरीरलाई छाम्दा’ शीर्षकका निबन्धले दुर्घटनाको दारुण स्थिति र त्यस दुर्घटनामा मरेका व्यक्तिको शव उद्धार गर्नु परेका भाव संवेदनालई यहाँ निबन्धको रूप प्रदान गरिएको छ ।
औषधिमूलोको सन्दर्भमा र सुई घोच्ने सन्दर्भमा डाक्टरको नाम आयो भने केटाकेटी आतङ्कित बन्ने स्थितिजस्तै आज डाक्टर नामका डाक्टरको घटाटोपबाट इमानदारीपूर्वक ज्ञानार्जन गरेका शिष्ट विद्वान्हरूले आतङ्कित बन्नु परेको स्थिति विकसित बनेकोे छ भन्ने कुरा ‘डाक्टर’ शीर्षकको निबन्धले साक्ष्य गरेको छ । दुराचार र भ्रष्टताका अनेक सन्दर्भहरू आज इमानदार मान्छेले भोग्नु परेका सन्दर्भलाई ‘बिङ्गोको व्यवसाय’ को बिम्ब बनाएर आजको समाजमा प्रचलित, सहकारी, ढिकुटी, बैङ्किङ लगायतका अनेक आर्थिक दुराचारको उदाङ्गो रूप पनि यहाँ प्रकटमा ल्याएको स्थिति देखिन्छ । यस आचरणलाई ‘बिङ्गोको व्यवसाय’ शीर्षकको निबन्धले प्रकट गरेको छ । यसरी नै सङ्ग्रहको अन्तिम निबन्ध हो— ‘भकुन्डे भूत’ शीर्षकमा रहेको छ । सामाजिक संंरचनामा अन्धविश्वासले जरा गाडेर बसेको हुन्छ र त्यसले समाजका नयाँ पुस्ता र बालबालिकाको मनमा डर जन्माउन खप्पिस हुन्थे भन्ने कुरा ‘भकुन्डे भुत’ शीर्षकको निबन्धले प्रकट गरेको छ ।
उप्रेतीका निबन्ध सृजनाले मान्छेले भोगिरहेका सामाजिक, सांस्कृतिक, पारिवारिक स्थितिले विषयको रूप प्राप्त गरेको छ । मानवीय संवेदना र सांस्कृतिक आवहवाहरू आज निकै विकारग्रस्त बन्दै गएका छन् । स्रष्टाले यो सबै भोगेका छन् । आर्थिक दुराचारका पक्षहरू पनि स्रष्टाले सामना गरेका विषयका रूपमा यहाँ प्रकट भएका छन् । राजनीतिक र धार्मिक विकृति पनि स्रष्टाले भुक्तमान् काटेका छन् । पर्यावरणभरि मौलाएको सांस्कृतिक वितण्डा भोगेका स्रष्टाले तिनमा रहेका विकृतिहरू निर्मूल पार्नु पर्ने कुरा पनि यहाँ निबन्धका विषय बनेका छन् । यस्ता विषयहरू हामी सबैको वरिपरि बग्रेल्ती छरिएका छन् । यस स्थितिलाई हामी सबैले भोगिरहेका हुन्छौँ । तर एउटा स्रष्टाले ती विषयभित्र राम्रा राम्रा सृजनाका आकृति र ती आकृतिभित्र अनेक संवेदनाहरू फेला पार्दछ । स्रष्टा कवि भए त्यहाँ कविता देख्छ र कथाकार भए त्यहाँ कथा भेट्छ । स्रष्टा उपन्यासकार भए त्यहाँ उपन्यास देख्छ र नाटककार भए त्यहाँ नाटक देख्छ ।
यहाँ प्रश्न निबन्धको छ । स्रष्टा उप्रेतीले यहाँ आफैले भोगिरहेका पर्यावरणभरि निबन्ध छरिएर रहेको देखेका छन् । तिनलाई आकृति दिँदा विसङ्गत तत्वलाई समेटेका छन् र निबन्धको आयतनमा सजाएका छन् । भाषामा प्राञ्जलताको चयनतर्फ प्रयास गरिएको छ । प्रस्तुतिको शैलीमा हास्य र व्यङ्ग्यको सहायता लिइएको छ । विचार प्रक्षेपण गर्ने सन्दर्भमा प्रगतिवादी पक्षको अनुशरण गरिएको छ । सन्देशात्मक संवेदनाका सन्दर्भमा आचार, व्याहार आदिमा परिमार्जन हुनु पर्ने दिशातर्फ जोड दिइएको छ । चिन्तनमा निकै गम्भीरता ल्याउन खोजिएको छ । नयाँ किसिमको विश्वदृष्टि सम्प्रेषित गर्ने प्रयास पनि स्रष्टाको चिन्तनको विषय बनेको छ । यसरी उप्रेतीको निबन्ध सृजनाचिन्तन नयाँ पुस्ताका र नयाँ विषयका स्रष्टाहरूका निम्ति अनुकरणीय बनेर आएका देखिन्छन् ।
अन्त्यमा केही औपचारिकता— नेपाली निबन्ध भण्डारले नयाँ र थप कृति पाएको छ— त्यस कारण साहित्य भण्डार धन्य छ । स्रष्टाको निबन्ध कृति साहित्य भण्डारमा समर्पित छ— त्यस कारण स्रष्टा बधाईका पात्र बनेका छन् । नइले एउटा राम्रो कृति प्रकाशित गरेर साहित्य भण्डारमा थपेको गुन त झन् बिर्सनै मिल्दैन । त्यस कारण ऊ आफै पनि धन्य भएको छ । त्यसो त हामी सबै पनि आभारी बनेका छौँ ।
०००
वधशालाकाे डिस्काे धून (२०७४) भूमिका
Subscribe
Login
0 Comments
Oldest







































