सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मेरो पुच्छर

उपयोग गर्न जानेमा अत्यन्त उपयोगी नजानेमा अत्यन्त खतरनाक पुच्छर हो । त्यही पुच्छरले आज पुच्छरका स्रोत गोरु, गधा र ब्वाँसाहरूलाई, स्याल, कुकुर र चितुवाहरूलई हल्लाइरहेछ ।

Nepal Telecom ad

राजेन्द्र सुवेदी :

वैज्ञानिक महामनीषि डार्विनले मलाई एकपल्ट आफ्नो पुच्छर छाम्न बाध्य तुल्याए । मैले छामिहेरेँ तर पुच्छर पलाउने ठाउँमा एउटा सानो टुटुल्को सिवाय केही थिएन ! अझ बढी छाम्न प्रयास गरेँ, पुच्छर त पक्कै थिएन परन्तु गोरुको पुच्छर समाउँदा उसलाई हुने कुतकुतीले भन्दा बढ्ता सम्वेदनाको अनुभव म स्वयम्ले गरेँ । यदि मेरो यस पुच्छर पलाउने ठाउँमा अरू कसैले कुतकुती लगाइदियो भनेँ ! मलाई निकै रोमाञ्च भयो । यति सम्वेदनशील अङ्ग मान्छेको पुच्छर हुँदाहुँदै पनि कसरी दृष्टि नपुगेकोे आजसम्म ! टाउको भैरव अर्यालले चिरफार गरे । बल्लभमणिले ‘हाँच्छ्यु’ आउन्जेल नस हालेर नाक निमोठे ! दाँत कोट्याउन धनुष्चन्द्र गौतमले बाँकी राखेनन् । दाह्री लीलाध्वज थापाले पूरै खौरे । जुँगा ह्रदयचनद्र सिंहले पूरै मुसारे । भुँडीको पनि अच्छा राई ‘रसिक’ले केही बाँकी राखनेन् । तर पुच्छरको कुरा कसैले उठाउनसम्म पनि हिम्मत गरेनन् । डार्विनले पुच्छर खिएर सिद्धिएको भनेर आफू उम्किने मात्र काम गरे । वास्तवमा अरू सबै जनावरको भन्दा मान्छेको पुच्छर बढ्ता निमोठ्ने काम भयो । बिचरो पुच्छर नखिएर के चाहिँ गरोस् त !

त्यसरी वणर्नीय रूपमा खिएर सिद्धिने पुच्छरको अध्ययन गर्दा आज के कुरा सिद्ध भएको छ भने पूराभौतिक कालदेखि आजसम्मका पुच्छरहरूलाई केलाएर हेर्दा ५ किसिमका पुच्छरहरू हामीसँग भएको हुनुपर्छ (क) पूराभौतिक पुच्छर, (ख) पौराणिक पुच्छर, (ग) धार्मिक पुच्छर (घ) लौकिक पुच्छर र (ङ) वैज्ञानिक पुच्छर । पुच्छरहरूको उपादेयता र औचित्यलाई अध्ययन गर्दा हामी निम्न अनुसारका निष्कर्षमा पुग्छौँ ।

(क) पूराभौतिक पुच्छर :

यस किसिमका पुच्छरहरू मान्छेमा पुराण कालभन्दा अगाडि नै पलाइसकेका थिए । पश्चिमी सभ्यतामा पुराभौतिक पुच्छर भएको जनावर मिनोटावर (अद्र्धमानव) हो र पूर्वीय सभ्यतामा यस्तो जनावर अद्र्ध नारीश्वर हो । मिनोटावर मान्छेको शिर र जनावरको शरीर भएको जीव थियो, अब त्यसको पुच्छर चाहिँ मान्छेको जस्तो हुने कि जनावरको जस्तो हुने ? अद्र्धनारीश्वर पुरुष र स्त्री, त्यसको पुच्छर मात्र होइन, सारा अङ्गहरू स्त्री अनुकूल हुने कि पुरुष अनुकुल हुने ? मान्छे अनुकूल हुने कि अरू कुनै प्राणी अनुकुल हुने ? वैज्ञानिक जीव अध्ययन पद्धतिमा जेलिफस जो एक्लैमा नारी पुरूष दुवै गुण भएको उभयलिङ्गी जीव ! यसमा पुच्छर दुई थिए कि एक मात्र ? अनि पुच्छरको गुण भाले प्रभावित थियो कि पोथी प्रभावित ? डार्विनले जसको टाउको छ त्यसको पुच्छर हुन्छ पनि भनेनन् ।

जस्को शरीर छ त्यसकै पुच्छर हुन्छ पनि भनेनन् । बरु त्यस्तो अवस्थामा प्राणीका पुच्छर खिएका हुन् भन्नु वैज्ञानिक सिद्ध हुन्छ । किन भने मानव विकासको इतिहास पहिल्याउँदै जाने हो भने आजका मानवका पुर्खा यिनै मनोटावर अर्धनारीश्वर र जेलीफिस हुुन् भन्नु उपयुक्त हुन्छ । त्यसो हुँदा त्यस पुख्र्यौली कालदेखि नै मान्छे जातका जनावरको पुच्छर खिइन लागेको थियो भन्ने कुरा प्रमाणित हुन्छ । यी पुराभौतिक जीवहरूमा पुच्छर खिइने प्रचलनको व्यापक प्रभाव परिसकेको थियो । आज पनि मिनोटावरहरू संसारमा प्रशस्त छन् तर तिनको पुच्छर निमोठ्ने प्रचलन घटेको छैन । अर्धनारीश्वर (नपुङ्सक) हर पनि त्यतिकै छ्यास्छ्यास्ती छन्, तिनको पनि पुच्छर ननिमोठी पारै लाग्दैन । अझ जेलिफिसहरूले अन्तर्सहवासबाट अनेकौँ फुल र बच्चाहरू कोरलिसकेका छन् । तिनको पुच्छर सभ्यता र इतिहासले सार्‍है धेरै निमोठी सक्यो ।

आज पुच्छर पलाउने ठाउँबाहेक पुच्छरको नमोनिसान केही बाँकी छैन । यी पुराभैतिक पुच्छरहरूमा ग्रीसेलीहरूले मिनोटावरको पुच्छर निमोठे, अद्र्धनारीश्वरको पुच्छर व्यासले निमोठे, जेलिफिसको पुच्छर मानव विकासको सभ्यताले निमोठ्यो । यसरी एकातिर पुच्छर निमोठ्ने प्रवृत्तिको विकास भयो भने अर्कातिर नमोठिएका पुच्छर फेदमा सुमसुम्याउँदा सम्वेदनाको अनुभव हुने प्रवृत्तिको पनि विकास भयो ।

(ख) पौराणिक पुच्छर : 

पौराणिक कालमा आएपछि पुच्छरको उपादेयता निकै बढ्यो । पुच्छरले एउटा वादकै रूप लिने काम गर्‍यो । पुच्छरले वादको रूप लिनुअघि शरीरले पुच्छरलाई हल्लाउने गथ्र्यो तर जब पुच्छरले वादको रूप लियो अनि पुच्छरले शरीरलाई हल्लाउन थाल्यो । नृसिंह एउटा पुच्छरको विवाद भएको जीव : सिंहको शिर र मानवको शरीर ! प्रल्हाद भएर उनको पुच्छर पलायो : पुच्छरले सारा शरीर हल्लायो । दक्षप्रजापति एउटा पुच्छरको विवाद भएको जीव : बोकाको शिर मान्छेको शरीर ! रुद्रगण भएर उनको पुच्छर पलायो पुच्छरले सारा शरीर हल्लियो । हयग्रीव त्यस्तै पुच्छरको विवाद भएको जीव : घोडाको शिर र मानवको शरीर ! भक्तहरू भएर पुच्छर पलायो, पुच्छरले सारा शरीर हल्लायो । गणेश फेरि पुच्छर विवाद भएको जीवः हात्तीको शिर र मानवको शिर ! भूतगण भएर पुच्छर पलायो : पुच्छरले सारा शरीर हल्लायो । अश्विनिकुमार अर्को पुच्छर विवाद परेको जीवः घोडाको शिर र मान्छेको शरीर । धनवन्तरीगण भएर पुच्छर पलायो, पुच्छरले सारा शरीर हल्यायो ।

नृसिंहको पुच्छर निमोठ्ने काममा प्रल्हादलाई नियुक्ति गर्ने व्यासले आफूलाई सिङ्गै सभ्यताको पुच्छर बनाए । चम्चेहरूले पुच्छर समाउन पाए भने सारा शरीर हल्लाइदिन्छन् भन्ने कुरा व्यासले पुराणमा प्रयोग गरेर देखाए । शिवजीले बतासे छोरालाई हात्तीको टाउको टाँसेर चम्चाहरूलाई सुरु गराएको पुच्छर निमोठ्ने अभियान आजसम्म पनि कायम छ । यी सारा पौराणिक पुच्छरहरू आज पलाउनै नसक्ने गरी निमोठिइसके । पुच्छर खिइँदै गयो, जति खिइँदै गयो त्यति नै सम्वेदना तीब्र हुँदै गयो । पौराणिक युगमा लागेको पुच्छर निमोठ्ने बानी आजसम्म पनि कायम छ । पुच्छर निमोठ्ने बानी परेका र निमोठिमाग्ने बानी परेकाहरू एक छिन मात्र पनि यो काम गर्न पाएनन् भने सारै चिल्चिलाएको अनुभव गर्छन् ।

पुराणका सारा पुच्छर निमोठेर पेट पाल्ने बानी परेका पण्डितजीको पुच्छर निमोठ्ता यजमानलाई सन्तुष्टि मिल्छ । झारफुके तन्त्र-मन्त्रको पुच्छर निमाठेर पेट पाल्ने बानी परेका धन्वन्तरीको पुच्छर निमोठ्ने ओझा बिजुवालाई सन्तुष्टि मिल्छ । यसरी पुच्छर निमोठ्ने सभ्यताले पौराणिक काल पार गरेपछि पुच्छर वादले धार्मिक रूप लिन पुग्छ ।

(ग) धार्मिक पुच्छर :

पौराणिक कालमा पुच्छरमा धार्मिक र सामाजिक महत्वको वैज्ञानिक संमिश्रण थियो । पुच्छरले एउटा विचार अर्थात् वाद मात्र प्राप्त गरेको थियो । जब धर्मिक रूप लियो पुच्छर मात्र रहेन, अनेकौँ अतिरन्जनाको साधन बन्यो । गाईको पुच्छर भवसागर पार तर्ने नाउ बन्यो ः भक्तहरूले गाईको पुच्छरको टिकट काटेर भावसागरको बन्दरगाहबाट नाउ चढ्न भीड लाग्न थाल्यो । टिकट बिक्री केन्द्र गाउँगाउँमा खुले । बिक्रेताहरू टिकट लिएर घर आउन थाले । गाईको पुच्छर, कन्याको पुच्छर, शैइयाको पुच्छर र भूमिदानका पुच्छरहरू परमधाम यात्राको पासपोर्ट र देवलोकको प्रवेशाज्ञा बने । यसरी पुच्छरवाद अलौकिक यात्राको दुर्लभ साधन बन्न पुग्यो । पुच्छर भने ठाउँ कुठाउँ पलाए । टाउकामा पुच्छर पलायो : निष्ठ र मर्यादाको नमूना भएर टुप्पी ।

घाँटीमा पुच्छर पलायो : पवित्रता र ब्रहज्ञको प्रमाणपत्र भएर यज्ञोपवित । आसनमा पुच्छर पलायो, यम, नियम आदि विधिविधान ब्रह्मकर्म भएर । यज्ञ, दान, व्रत र तपको पुच्छर पलायो, भुक्ति र मुक्तिको साधन भएर कर्मकाण्ड । हामी हिन्दूहरू पुच्छरहरू छिनेर गएको हीनत्व ग्रन्थिलाई टुप्पी पालेर क्षतिपूर्ति गरौँ । हामी इश्लामहरू पुच्छर खिएर गएको हीनत्व ग्रन्थिलाई चिउँडामा दारी पालेर क्षतिपूर्ति गरिरहेछौँ । हामी क्रिश्चियनहरू पुच्छर चुँडिएर गएको हीनत्व ग्रन्थिलाई घाटीमा क्रस आकारको लकेट झुण्डाएर क्षतिपूर्ति गरिरहेछौँ । अब बिचार गरौँ । के पुच्छरहरू थाप्लामा पलाउन सक्तैनन् ? के पुच्छरहरू शरीरका अन्य अङ्गमा पलाउन सक्तैनन् ? सक्छन् त्यस कारण धार्मिक पुच्छर पौरणिक पुच्छरभन्दा व्यापक विस्तृत बन्दै गएको देख्न पाइन्छ ।

(घ) लौकिक पुच्छर :

पुच्छरको यो स्वरूप माथिका सबै पुच्छरभन्दा पनि जटिल डरलाग्दो भएर पलाएको छ । रामले अहिलेलाई मुक्ति दिन हल्लाएको पुच्छर सीतालाई त्याग्न पुग्यो, यस पुच्छरको के भरोसा ! आफगानिस्तानलाई मुक्ति दिन व्रेजेनेभले हल्लाएको पुच्छर आफ्नै तहसनहसमा पुग्यो : यस पुच्छरको के विश्वास ! इजराईललाई धुरी चढाउन बुसले हल्लाएको पुच्छरले प्लेष्टाइनहरूको अस्तित्व संहारमा पुर्‍यायो : यस पुच्छरको के भर ! बुसले र गोर्भाचोभले समातेका सारा पुच्छरहरू उखेलिएर जाँदैछन् । यसबाट के स्पष्ट हुन्छ भने पुच्छर जति समाउँदै गयो उति चुडिँदै जान्छ : जति चुडिँदै जान्छ त्यति नै सम्वेदनशील हुँदै जान्छ । जब पुच्छर फेदैसम्म चुडिँन्छ तब पुच्छर भएतिर हात लान मात्र थाले पनि सम्वेदनाले मान्छेलाई खपिनसक्नु हुन लाग्छ ।

मान्छेका छाम्न सकिने पुच्छर सकिएपछि मात्र सम्वेदना, आवेग र आक्रोश जन्मिएका छन् भन्ने कुरा हिलामा बसेको गोरु पुच्छर निमोठ्ता पनि नउठ्नुले प्रमाणित हुन्छ । सम्वेदनाको क्षतिपूर्ति गर्ने लौकिक पुच्छरहरू पनि हामीहरूसँग प्रशस्तै छन् । सङ्घर्ष र बलिदानबाट प्राप्त गरेका राजनीतिक व्यवस्थामा सक्रिय देखिने नेता र प्रशासनको चरित्र जस्ताको तस्तैः बाह्र वर्ष ढङ्ग्रामा हालेको कुकुरको पुच्छर झिक्नासाथ बङ्गाबाङ्गै ! तपाइँले देशमा, समाजमा र जीवनमा कुटखेल गरेर जतिष्ठा आर्जन गर्नुभयो तर अर्जित प्रतिष्ठाको विज्ञापनका लागि गोब्रे दिमाग बोकेर देश विदेश घुम्ने कार्यक्रम बनाउनु भयो । तपाईंको लिँडे पुच्छर डोलाउन थालेको देख्नेहरू भन्न लाग्छन्- डाको न बोलायो लिँडे पुच्छर डोलायो ।

तपालाई मुलुकको शान्ति र सुव्यवस्थाको स्रोत ठानिएको हुन्छ । तपार्इंलाई मनवकल्याणको कारण ठानिएको हुन्छ । तर तपाईंको उपादेयता खोरमा बस्ने सुँगुरको पुच्छरको भुसुना हटाउने उपादेयता जति हुन्छ त्यति हुँदैन, थलामा बाँधिएका गोरुका पुच्छरको झिँगा धपाउने काममा जति उपादेयता जति हुन्छ त्यति पनि हुँदैन, थलामा बाँधिएका गोरुका पुच्छरको झिंँगा धपाउने काममा जति उपादेयता हुन्छ त्यति पनि हुँदैन । आहालमा बस्ने भैँसीको पुच्छरको पानी छ्याप्ने काममा जति उपयोग हुन्छ त्यति पनि हुँदैन ।

यस्तो अवस्थामा तपाईं सावित हुनुहुन्छ- बान्द्रा पुच्छर लौरो न हतियार । छोराछोरीलाई भन्नुहोस्- “खैनी चुरोट नखानु है ।” विद्यर्थीलाई भन्नुहोस्, ‘मादक द्रव्य नखानु होस्’, मठमन्दिर र वरिपरि लेख्नुहोस्’ यहाँ दिसा पिसाब गर्न मनाही छ । ‘अनि तपाई ठूलो भाषण गर्नुहोस्’ देशको बन फाँडेर बेच्नेलाई, देशका चेलीबेटी बेचबिखन गर्नेलाई, मूर्ति र पुरातात्विक बस्तु विक्री वितरण गर्नेलाई र लागुपदार्थको कारोबार गर्नेलाई कार्यवाही गरिनेछ ।’ यसको परिणाम निस्कनेछ- बाख्रीको पुच्छर खिएर फेद लागेपछि पलाएका पुच्छर हुन् । यी पुच्छर छाम्दा र हेर्दा फेला पर्दैनन् तर यिनको परिणाम भयानक बन्न पुग्छ ।

साँपको पुच्छर एकपल्ट भाँचिदिनुहोस्, चुडाल्नु भएन भने घुमाएर नाकमा पुर्‍याएर सुँगेपछि साँप ठाडै ब्यूँझन्छ । भित्तीको पुच्छर एकपल्ट चुडालिन दिनुहोस्, छिनेको पुच्छर पिसेर मादक द्रव्य सेवन गर्नेले खाइदिन्छ । अब हेर्नुहोस्, पुच्छर चुँडाल्दा पनि धर छैन, पुच्छर नचुँडाल्दा पनि धर छैन । तपाईं अलिकति दिमाग घुमाएर हेर्नुहोस् त ! तपाईंले एकाध वर्षअघि पुच्छर भाँचिदिएका साँपहरू पुच्छर सुँघेर बौरिसकेका छन् र पुच्छर चुँडालिदिएका भित्तीका पुच्छर पलाइसकेका छन् । यसबाट तपाईं के सिक्नुहोस् भने त्यस्ता विषालु पुच्छर भएका जनावरलाई नै समाप्त गर्नुहोस् पुच्छरले टाउको जोगाउने र पुच्छर भएका जनावरलाई नै समाप्त गर्नुहोस् र पुच्छरले टाउको जगाउने र पुच्छर आफैँ पलाउने प्रक्रिया नै अन्त होस् भन्ने कला ।

(ङ) वैज्ञानिक पुच्छर :

माथिका विभिन्न खण्डमा व्याख्या भएको पुच्छरमा केही न केही आधारहरू छन् भन्ने कुरा हामीलाई आधुनिक युगका विभिन्न वैज्ञानिक उपकरणका पुच्छरका संरचनामाबाट थाहा हुन्छ । हामी पुच्छर तानेर रेडियो बजाउँछौ, त्यहाँ त्यहाँ ध्वनि तरङ्ग एरियलले तानिरहेको हुन्छ । हामी पुच्छर तानेर टेलिभिजन हेर्छौ, त्यहाँ दृश्य र ध्वनि एन्टिनाले तानिरहेको हुन्छ । हामी पुच्छर तानेर टाढाटाढा कुरा गरिरहेका हुन्छौँ त्यहाँ पुच्छर (भू-उपग्रह) ले ध्वनि र दृश्य प्रसारण गरिरहेको हुन्छ । यी सारा ठाउँमा (भू-उपग्रह) ले ध्वनि र दृश्य प्रसारण गरिरहेको हुन्छ । यी सारा ठाउँमा हेर्नुहोस् त कहीँ न कहीँ पुच्छरले नै सम्वेदनाको काम गरिरहेको हुन्छ ।

पुच्छरको यति लामे बहसमा मान्छेको पुच्छर सबभन्दा सम्वेदनशील हो भन्ने कुरा फेला परेको छ । यस्तो सम्वेदनशील पुच्छरलाई परबाट कुरीकुरी मात्र गरिदियो भने शरीरै हल्लाएर बटारिन थाल्छ । सम्वेदनशील यी पुच्छरहरूले मौका पाउने बित्तिकै शिरदेखि पाउसम्मको सारा शरीर हल्लाइदिन्छन् ।

हेर्दा नदेखिने र छाम्दा नभेटिने पुच्छरको करामत हिजोआज देशदेखि विदेशसम्म फैलेर विकराल बन्दै गएको छ । यस पुच्छरले कति ठाउँमा मानमर्यादाको सिङ्गो रचना हल्लाइरहेछ । कतिपय दुर्योधनले हस्तिनापुर हल्लाएको ताजै छ । खु्रश्चेभमा पलाएको पुच्छर गोर्वाचोभले सोभियत सङ्घ हल्लाएको जिउँदै छन् । अमेरिकाको पुच्छर एउटा यस्तो सम्वेदनशील अङ्ग हो जसले धेरैजसो आफू पलाएका अङ्गका स्रोतलाई नै हल्लाएर तहसनहस गर्न बेर लगाउँदैन ।

तपाइँ जे पढ्दै हुनुहुन्छ, त्यसलाई पनि ठान्नुहोस्- राजेन्द्र सुवेदीको पुच्छर : जो अहिले आफ्नै हातमा छ । अनि आफ्नो स्थिति विचार गर्नुहोस् ः त्यस पुच्छरले तपाईंंलाई कत्तिको हल्लाइरहेछ । अब त तपाईंलाई पक्कै विश्वास भयो होला नि ! पुच्छर सबैभन्दा सम्वेदनशील अङ्ग हो र त्यसमा पनि समाउनै नसकिने गरी खिइँदै गएको पुच्छर चाहिँ बढी जटिल हो भन्ने डार्बिनले पहिल्याएको पुच्छर अथवा मान्छेको पुच्छर चाहिं उपयोग गर्न जानेमा अत्यन्त उपयोगी नजानेमा अत्यन्त खतरनाक पुच्छर हो । त्यही पुच्छरले आज पुच्छरका स्रोत गोरु, गधा र ब्वाँसाहरूलाई, स्याल, कुकुर र चितुवाहरूलई हल्लाइरहेछ ।

म त यहाँ पुच्छरले जनावरलाई होइन, मान्छेले पुच्छर हल्लाएको पहिल्याउन लागेको हुँ । आशा छ तपाईंका हातमा परेको यस मेरो पुच्छरले ब्वाँसो र चितुवा जस्ता जन्तु बिउँझाउन र हल्लाउन नपाउओस् भन्ने आशाका साथ टुङ्ग्याइदिन्छु । बस् ।

०००

‘खाली शिशी पुराना कागज’ निबन्धसङ्ग्रह  (२०४९) 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हाइड्रो प्राज्ञ

हाइड्रो प्राज्ञ

राजेन्द्र सुवेदी
विष्णु नवीनको चिन्तन र उनका रचनाको प्राप्ति

विष्णु नवीनको चिन्तन र...

राजेन्द्र सुवेदी
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली